मुख्य समाचार
युक्रेन युद्ध अन्त्य गर्न रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ताको सहमति
युक्रेन युद्ध अन्त्य गर्न रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ताको सहमति

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग रुस–युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन् । मंगलबार साउदी अरबमा अमेरिका र रुसबीचको बैठकपछि ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने शक्ति आफूसँग रहेको बताएका हुन् ।


युक्रेनमा शान्ति सम्झौता हासिल गर्न सकिनेमा आफू बढी विश्वस्त रहेको ट्रम्पको भनाइ छ । तर मंगलबारको वार्तामा भने युक्रेनी पक्षलाई संलग्न गराइएको थिएन । दुवै देशका विदेशमन्त्रीको नेतृत्वमा भएको वार्तामा रुस र अमेरिकाबीच युक्रेन युद्ध अन्त्य गर्ने सहमति भएको थियो । त्यसका लागि दुवै देशले उच्चस्तरीय वार्ता गर्ने निर्णय भएको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जनाएका छन् ।


वार्तामा रुसी पक्षबाट लाभरोभसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभ सहभागी थिए । विदेशमन्त्री मार्को रुबियोले नेतृत्व गरेको अमेरिकी टोलीमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विटकफ सहभागी थिए । त्यस्तै वार्तामा आयोजक साउदी अरबका तर्फबाट राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल–साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल–ऐवान सहभागी थिए ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने आफ्नो देशलाई वार्तामा निमन्त्रणा नगरिनु आश्चर्यजनक भएको बताएका छन् । त्यसको प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न युक्रेनले पहिले नै ‘सम्झौता गर्न सक्थ्यो’ भनेका छन् । अमेरिका र रुसबीचको वार्तापछि राष्ट्रपति जेलेन्स्कीले यसै साता तय भएको साउदी अरबको भ्रमण १० मार्चसम्मका लागि स्थगित गरेका छन् । उनले बारम्बार युक्रेनको संलग्नताबिनाको वार्तालाई मान्यता नदिने बताउँदै आएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा कसैलाई पनि किनारा नलगाइएको बताएका छन् । रुस युद्ध अन्त्य गर्ने गम्भीर प्रक्रिया सफल हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । रुबियोले मंगलबार भएको वार्ता ‘लामो र कठिन यात्राको पहिलो चरण’ भएको जनाएका छन् । युरोपेली देशले पनि युक्रेनको सहभागिताबिनाको वार्तालाई मान्यता नदिने बताएका छन् । अमेरिका र रुसबीच वार्ता सुरु भएसँगै फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, इटाली, स्पेन र डेनमार्कलगायतका युरोपेली देशहरू युक्रेनको प्रतिरक्षामा एकजुट भएका छन् । युक्रेनबिना वा युरोपको संलग्नताबिना कुनै पनि सम्झौता हुन नसक्ने उनीहरूको भनाइ छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा नेटो सेनालाई कुनै पनि शान्ति सम्झौताको हिस्साको रूपमा स्वीकार नगर्ने चेतावनी दिएका छन् । रुसले युरोपेली संघमा आबद्ध हुने विषय रुस–युक्रेनको निर्णय भएको र त्यसमा आफ्नो कुनै लेनदेन नभएको प्रस्ट पारेको छ । तर युक्रेन सुरक्षा, रक्षा वा सैन्य गठबन्धनका विषयमा भने रुसले कुनै सम्झौता नगर्ने जनाएको छ ।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेसँगै युद्ध सुरु भएको हो । तीन वर्ष लामो युद्धका क्रममा दुवै देशले ठूलो क्षति बेहोरेका छन् । यस अवधिमा रुसले कम्तीमा २० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको छ । युक्रेनले पनि रुसी जहाज, सेनाका गाडी तथा कतिपय सहरमा ड्रोन आक्रमण गर्दै आएको छ । रुसी आक्रमणका कारण कम्तीमा ४० हजार युक्रेनीको ज्यान गइसकेको छ । ६८ लाख युक्रेनी देश छाड्न बाध्य भएका छन् भने ४० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भइसकेका छन् । १ करोड ४६ लाख मानिसलाई मानवीय सहायता आवश्यक भएको बताइएको छ ।



रुसी आक्रमणयता युक्रेनले ४ खर्ब ७ अर्ब अमेरिकी डलर बराबरको अनुदान प्राप्त गरिसकेको छ । योमध्ये १ खर्ब १८ अर्ब डलर बराबरको अनुदान अमेरिकाले प्रदान गरेको हो । तर ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालेसँगै युक्रेनले प्राप्त गरिरहेको सैन्यलगायतको सहयोग रोकिने देखिएको छ ।

ट्रम्प प्रशासनले रुसविरुद्ध लड्न गरेको सहयोगको बदलामा युक्रेनले आधा खनिज स्रोतको स्वामित्व दिनुपर्ने बताएको छ । अर्थमन्त्री स्कट बेसेन्टले गत बुधबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भएको भेटमा हालसम्मको सहयोग र त्यसको निरन्तरताका लागि आधा खनिज दिनुपर्ने सर्त राखेका हुन् । तर ट्रम्प प्रशासनले राखेका सर्त युक्रेनले अस्वीकार गरिसकेको छ ।

युक्रेनी अधिकारीले भने खनिज पदार्थका साथै अन्य प्राकृतिक स्रोत, तेल र ग्यासमा पनि स्वामित्व खोजिएको बताएका छन् । जेलेन्स्कीले प्रस्ताव अस्वीकार गरेकाले ट्रम्पले सैन्य र आर्थिक सहायता रोक्ने र युद्ध अन्त्यको पहल सुरु गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अमेरिका र इसराइलका साथ युद्धविराम नचाहेको बताएको छ । विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’ सँगको कुराकानीमा इरानले युद्धविराम नभएर युद्धको स्थायी अन्त्य चाहेको बताएका छन् । अरागचीले भनेका छन्, ‘इरान युद्धविराम चाहँदैन । बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्थ्य चाहन्छ ।’ युद्धलाई पूर्ण रुपमा समाप्त गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने ...
। संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट ४ करोड ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई ‘नौरोज’ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार उनले एक सन्देश पठाउँदै मस्को र दुशान्बे बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि मेरुदण्ड भएको बताएका छन् । ताजिकिस्तानी राष्ट्रपतिको प्रेस सेवाद्वारा आज शनिबार सार्वजनिक गरिएको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै राष्ट्रको मौलिक हितलाई ...
: इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ। फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्- 'अबू मुसा र ग्रेटर टुनब टापुहरूमा ...
। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त ...