मुख्य समाचार
ओडिसाका नेपाली विद्यार्थीको बयान : ‘सीसीटीभी हेरेर छानबिन होस्’
ओडिसाका नेपाली विद्यार्थीको बयान : ‘सीसीटीभी हेरेर छानबिन होस्’

सुरक्षाको कारणले यहाँ मेरो नाम उल्लेख गर्न चाहन्न । उच्च शिक्षा अध्ययनका लागि छिमेकी मुलुक आएका बेला हामीले भोग्नु परेको पीडा र एक जना नेपाली विद्यार्थीको न्यायका लागि आवाज उठाइदिनु भएकोमा सबैलाई धन्यवाद ।

हाम्रो कलेज (कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी–केआईआईटी) मा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्सालको निधन भएको घटना अब सबैलाई थाहा छँदैछ । पहिले प्रकृतिले दुई पटक आफूलाई त्यो केटा (अड्वीक श्रीवास्तव) ले ह्यारेसमेन्ट गरेको भनेर इन्टरनेशनल रिलेसन अफिसर (आरआरओ) लाई निवेदन दिएकी थिइन् ।




तर, कलेजबाट निवेदनमाथि गम्भीरतापूर्वक सुनुवाइ भएको थिएन । पहिलो पटक केही दिन सस्पेन्ड गरिए पनि दोस्रो पटक पनि त्यत्तिकै छाडियो । त्यही कारण आज हाम्री साथी प्रकृतिले ज्यान गुमाउनुपर्‍यो ।

उनले ज्यान गुमाएपछि हामीले त्यस्तो घटना फेरि नदोहोरियोस् भन्ने उद्देश्यले पनि विरोध प्रदर्शन गर्‍यौं । विरोध गर्ने कुरा प्रकृतिको न्यायका लागि त छँदै थियो, सँगै आइन्दा यस्तो नदोहोरियोस् भन्नलाई खबरदारी पनि थियो ।


तर, हामी विद्यार्थीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पनि पाएनौं । हामीले न्याय माग्नु नै अपराध जस्तो ठान्यो कलेज प्रशासनले ।

विद्यार्थी लखेट्न गुण्डाको प्रयोग

सोमबार बिहान करिब ८ बजेतिर हाम्रो होस्टलको कोठामा कलेजका बाउन्सर (स्थानीय गुण्डाहरू जस्तो लाग्ने) जबरजस्ती प्रवेश गर्न थाले ।

कलेजको अन्तर्राष्ट्रिय होस्टलको केपी८ए, केपी८बी/सी र केपी२६ मा उनीहरू ढोका ढक्ढक्याउँदै आइपुगेका थिए र हामीलाई जबरजस्ती निकालेका थिए । छिर्नेवित्तिकै उनीहरूले सुरुमा ‘नेपाली हो ?’ भनेर सोध्थे । त्यसपछि हो भन्ने वित्तिकै उनीहरूले केही नसोधी बाहिर निस्किन भन्थे । अलिकति ढिला गर्ने बित्तिकै बाहिर निकाल्थे ।

उनीहरूले हामी विद्यार्थीलाई धेरैमा दुईदेखि तीन मिनेट मात्र दिए, ब्याग प्याक गर्नलाई । बरु ढिला गरे कुटपिट गर्ने चेतावनी दिइरहे ।

त्यस्ता गुण्डाहरूले फोन गरिरहेका विद्यार्थी देखे भने मोबाइल खोस्थे । करिडोरमै कुटपिट गर्थे । एउटा विद्यार्थीलाई पिट्न ५/७ जना त्यहाँ जम्मा हुन्थे र निर्घात कुटपिट गर्थे । कतिपय विद्यार्थीहरूको रगत बगिरहेको तस्वीरहरू सामाजिक सञ्जालमा समेत भाइरल भएका छन् ।

त्यसरी विद्यार्थीको होस्टल कोठामा प्रवेश गरेका बाउन्सरहरूले हाम्रो मोबाइल फोन लिएर इन्स्टाग्राम, ह्वाट्स एप, फोटो र म्यासेजहरू हेर्थे । यदी विरोध गरेको तस्वीर वा कुनै पोष्टहरु भेटे, डिलिट गरिदिन्थे र शारीरिक यातना समेत दिन्थे ।

कसैले मोबाइल दिन नमान्दा जबरजस्ती खोसेर कुटपिट पनि गर्थे । एक जना साथीले धेरै जनाले आक्रमण गर्दा पनि मोबाइल दिन मानेनन् । उनले यति पिटाइ खाए कि उभिन नसक्ने भए । तर, अन्तिममा ट्राउजर तानेर समेत उनीहरूले मोबाइल लगिछाडे ।

यदी कसैले आफ्नो साथीको पक्ष बोल्यो अथवा के भइरहेको छ भनेर प्रश्न गरियो भने उनीहरूलाई तत्कालै घिसारेर बाहिर निकालियो । कहिले भित्तामा लगेर पटकपटक गालामा झापड हानियो । हाम्रा कतिपय साथीहरूले यति पिटाइ खाए कि उनीहरूको निकै बेरसम्म रगत बगिरह्यो । हामी हाम्रै कलेजभित्र कैदी जस्तै भयौं ।

जब हामीले यो आक्रमणबारे सोधपुछ गर्‍यौं, त्यतिबेला जवाफ सुनेर छक्क पर्‍यौं । उनीहरूले दाबी गरे कि नेपाली विद्यार्थीलाई निकाल्नलाई प्रशासनको उच्च तहबाटै खटाइएको हो ।



शारीरिक आक्रमण, कुटपिटपछि नेपाली विद्यार्थीलाई दबाबपूर्ण रुपले भुवनेश्वर, कटक, खुर्दा र माँचेश्वरमा रहेको विभिन्न रेलवे स्टेशनतिर लगे । जतिबेला नेपाली विद्यार्थीसँग केही खाने कुरा थिएन, टिकट थिएन । फर्किनलाई पैसा पनि थिएन ।

यसरी हामीलाई जबरजस्ती निकालिएकामा पुरुष विद्यार्थी मात्र थिएनन्, महिला पनि थिए । केटीहरूलाई जबरजस्ती आफूहरूले स्वेच्छाले कलेज छाड्न लागेको भनेर कागजमा हस्ताक्षर गर्न लगाइएको थियो ।


यस्तो घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नोटिसमा लिएको भन्दै फेसबुकमा लेख्नुभयो । दिल्लीस्थित नेपाली दूतावासले पनि यसबारे बोल्यो । हाम्रो अवस्थाबारे बोल्न भारतीय सञ्चारमाध्यमहरू पनि विभिन्न ट्रेन स्टेसनमा आइपुगे ।

हामीलाई होस्टल छाड्न भनेर सुरुमा कलेजले नै सूचना जारी गरेको थियो । चौतर्फी दबाबपछि मात्रै कलेज आफ्नो निर्णयबाट पछि हट्न बाध्य भयो । १२ घन्टाको बीचमा कलेजले दुई वटा सूचना जारी गर्‍यो, त्यसमा एउटामा तत्काल होस्टल छाड्न भनेर उद्र्दी जारी गरिएको थियो भने अर्कोमा फर्किएर आएर पढ्न थाल्न भनिएको थियो ।

छोटो अवधिमा आएका दुई फरकफरक विज्ञप्तिले पनि कलेज प्रशासनको नियतलाई स्पष्ट पार्छ भन्ने लाग्छ । सुरुमा केआईआईटीले रेलवे स्टेशन छेउछाउमा आफ्ना मानिस र पुलिसहरू परिचालन गरेको थियो, विद्यार्थीलाई हटाउनलाई । तर, अहिले विस्तारै परिस्थिति साम्य भएको छ ।

हाम्रा मागहरू

आज दिल्लीस्थित नेपाली दूतावासबाट दुई जना सुरक्षा अधिकृत पनि आएर हामीसँग छलफल गर्नुभएको छ । उहाँहरूले प्रशासनसँग भेट्नुअघि आफ्नो देशका विद्यार्थीहरूसँग छलफल गर्न चाहनु भएको रहेछ । हामीलाई यो एकदमै राम्रो लाग्यो ।

उहाँहरूले प्रशासनले निष्पक्षतापूर्वक छानबिन गरेर न्याय दिने प्रतिबद्धता आएको जानकारी पनि गराउनु भएको छ । यतिबेलासम्ममा ओडिसा प्रदेश सरकारले पनि यो मामलामा उच्च स्तरीय छानबिन समिति बनाएको छ ।

हाम्रो प्राथमिक माग के छ भने जसरी हामीलाई सोमबार बिहान ७ बजेदेखि अध्याह्न १२ बजेसम्म कुटपिट गर्दै दुर्व्यहार र अपमानजनक ढंगले कलेजबाट निकालिएको छ, त्यो विषयमा पनि गम्भीरतापूर्वक जाँच होस् । त्यसमा संलग्नलाई कारबाही होस् ।

त्यो अवधिको सीसीटीभी फुटेज निकालेर छानबिन होस् भन्ने हाम्रो भनाइ हो । यो कलेजमा कुनै पनि यस्तो ठाउँ छैन, जुन सीसीटीभीको निगरानीमा नहोस् । कतिपयले त्यतिबेला सीसीटीभी बन्द थियो भनेका छन्, तर त्यसको वास्तविकता के हो भन्ने पनि जाँचबुझ होस् । यदि बन्द थियो भने के नियतले बन्द थियो भन्ने पनि जाँच होस् ।

अरु भिडियोबाट पहिचान खुलेकाहरूको हकमा त्यसकै आधारमा छानबिन हुनुपर्छ । हामी पनि त्यसमा सहयोग गर्न तयार छौं । विद्यार्थीलाई दुर्व्यवहार गर्ने प्रोफेसर र कलेजका प्रशासनलाई समेत कारबाही होस् भन्ने हाम्रो माग हो ।

अन्तिममा कलेजमा भर्खरै पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरू पनि छन् । उनीहरूले अझै तीन वर्ष पढ्नु छ । त्यसैले सधैँभरिलाई सुरक्षा ग्यारेन्टी हुने र प्रतिशोध नसाँधिने परिस्थिति होस् भन्ने हाम्रो भनाइ हो ।

(ओडिसाको केआईआईटी कलेजमा अध्ययतरत एक विद्यार्थीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित सामग्री)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...
: साउदी अरबस्थित नेपाली राजदूतावास रियादको पहलमा ६२ जना नेपाली नागरिकले अन्तिम बहिर्गमन अनुमति प्राप्त गरेका छन् । उक्त अनुमति पाएसँगै उनीहरूलाई यथाशीघ्र स्वदेश फर्किन आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइएको हो । साथै आवास अनुमति अवधि सकिनु, रोजगारदाता ...
। कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो । उद्धार गरिएकाहरूलाई त्यहाँ अवैध रुपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको पाइएको दूतावासले जनाएको छ । दूतावासले अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना ...