मुख्य समाचार
ट्रम्पको घोषणापछि तीन सातामा २३ जनालाई नेपाली निष्कासन
ट्रम्पको घोषणापछि तीन सातामा २३ जनालाई नेपाली निष्कासन

— अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता २३ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् । कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने क्रममा ४ महिला र १९ पुरुषलाई काठमाडौं ल्याएर अध्यागमनको जिम्मा लगाइएको छ ।


अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो । त्यसपछि नेपाली दूतावासबाट ‘ट्राभल डकुमेन्ट’ बनाएर उनीहरूलाई नेपाल फिर्ता गरिएको हो । डिपोर्टमा परेका सबै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको जिम्मा लगाइएको छ ।


विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले गत जनवरी २२ यता २३ जना नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएर आएको पुष्टि गर । त्यसमध्येका पछिल्लोपटक सोमबार एक जना काठमाडौं आइपुगेका छन् । डिपोर्ट भई आएकालाई अध्यागमनले कागजात गराएर छाड्ने गरेको छ । त्यसरी छाडिएका व्यक्तिलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि सोधपुछ गर्दै आएको छ ।

ट्रम्प प्रशासनले अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई) मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको छ । अमेरिकाबाट डिपोर्टमा परी २२ र २४ जनवरीमा १/१ जना विमानस्थल आइपुगेका थिए । ५ दिनपछि जनवरी २९ मा थप १ जना आइपुगेका थिए । जनवरी ३० मा २ जना, ३१ मा थप १ जना फिर्ता भएका थिए । फेब्रुअरी १ मा ३ जना, फेब्रुअरी ५ मा थप ३ जना, फेब्रुअरी ६ मा २ जना, फेब्रुअरी ८ मा ६ जना, फेब्रुअरी १६ मा २ जना र सोमबार (फेब्रुअरी १७) मा १ जना नेपाल फिर्ता भएका हुन् ।

‘जनवरी २२ यताको विवरणअनुसार हालसम्म २३ नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएर आएका छन्, त्यसरी आएकालाई अध्यागमनमा कागज गराएर प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउँदै आएका छौं,’ भट्टराईले कान्तिपुरसँग भने ।

मानव तस्करमार्फत अमेरिका पुगेकादेखि पर्यटक भिसा र अन्य कार्यक्रममा गएर उतै लुकेर बसेकासम्मलाई फिर्ता गरिएको छ । संगठित गिरोहको प्रलोभनमा परी गैरकानुनी रूपमा नेपाली नागरिक मोटो रकम तिरेर अमेरिका छिर्ने गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यले अमेरिकाबाट ‘डिपोर्ट’ मा परी आएकासँग मानव तस्करीको गिरोहबारे सूचना वा जानकारी आउन सक्ने विश्वासमा मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि सोधपुछ गर्ने गरेको बताए ।

‘मोटो रकम असुलेर गिरोहले नेपालीलाई एसिया, अफ्रिका र युरोपका विभिन्न रुटबाट दक्षिण अमेरिका हुँदै लैजाने गरेका तथ्यहरू त प्रहरी अनुसन्धानबाटै स्थापित भइसकेको छ, यो धन्दामा संलग्न गिरोहको सञ्जाल ठूलो छ, त्यो सञ्जालबाटै गएको हुन सक्ने आशंकालाई मध्यनजर गरेर डिपोर्ट भएर आएकासँग पनि सोधपुछ गर्ने गरेका हौं,’ प्रवक्ता आचार्यले भने, ‘यदि गिरोहलाई रकम बुझाएरै कोही गएका रहेछन् र त्यहीमध्येका व्यक्ति डिपोर्टको सूचीमा भेटिए अपराध अनुसन्धानका लागि सूचना/जानकारी हाम्रा लागि महत्त्वपूर्ण हुन सक्छन ।’ गिरोहलाई रकम बुझाएर अमेरिका छिर्ने आसमा नेपाली युवा युरोप, अफ्रिका र दक्षिण अमेरिकाका विभिन्न मुलुकमा बन्धक भएका खबर पटक–पटक बाहिर आएका छन् ।



यसअघि सन् २०२१ देखि २०२४ सम्म ४ वर्षमा अमेरिकाबाट १ सय ४० नेपाली निष्कासनमा परेका थिए । विमानस्थल अध्यागमनका अनुसार सन् २०२१ मा ३८ जना, २०२२ मा २४ जना, सन् २०२३ मा २५ जना र सन् २०२४ मा ५३ जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो । पछिल्लो तीन सातामा निष्कासनमा पर्नेको संख्या हेर्दा कागजातविहीन र अन्य प्रकृतिका कसुर लागे पनि अस्थायी बसोबासको अनुमति पाएका थुप्रै नेपाली डिपोर्टमा पर्ने सम्भावना बढेको हो ।

आईसीईले २०२४ नोभेम्बर २४ सम्म डिपोर्टका लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेकालाई धमाधम नियन्त्रणमा लिने क्रमलाई तीव्रता दिएको छ । पहिलो चरणमा आईसीईले २०१५ जुन २४ पछि अमेरिका प्रवेश गरेका र अमेरिका छाड्नुपर्ने आदेश पाइसकेका कागजातविहीन डिपोर्टको जोखिममा छन् । यो अवधिमा अमेरिका पुगेका त्यस्ता व्यक्ति ‘टेम्पोररी प्रोटेक्ट स्टाटस’ (टीपीएस) अन्तर्गत बस्दै आएका छन् । ३ हजार ५ सयभन्दा बढी नेपालीलाई अमेरिकी अदालतले देशबाट निष्कासन गर्न आदेश दिएकामा टीपीएसको संरक्षणमा करिब २ हजार हाराहारीमा रहेको अनुमान छ ।

पहिलो चरणमा कागजपत्रविहीन र त्यहाँको कानुनविपरीत गतिविधिमा संलग्न रही निष्कासनको आदेश भइसकेकालाई पक्राउ गरी फिर्ता पठाउनेक्रम चलेको ह । यस्तो सूचीमा समेटिएकामध्ये पहिलो चरणमा करिब १ हजार ३ सय नेपाली रहेको अनुमान छ । आईसीईले नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने सूची सार्बजनिक गरिसकेको छ । अमेरिकामा सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, भेनेजुएलाका नागरिक गैरकानुनी रूपमा बसोबास गरेको अमेरिकी अधिकारीको भनाइ छ । उनीहरूको बसोबास क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, न्युयोर्क, न्युजर्सी, इलिनोईलगायत राज्यमा बढी रहेको विवरणहरू बाहिर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...
। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी, एक ...
। कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा भएको आक्रमणमा परेर उनको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकको रुपमा कार्यरत नेपालीको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । उनका अनुसार घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको छ ...