मुख्य समाचार
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : महिला फुटबलका लागि अवसर
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : महिला फुटबलका लागि अवसर

काठमाडौंको दशरथ रंगशालमा चार देश सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप सुरु हुँदैछ । जसमा घरेलु टोली नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई आमन्त्रण गरेर पहिलो पटक महिला फुटबलमा यो किसिमको प्रतियोगिता आयोजना गर्न लागेको हो ।




नेपालमा दक्षिण एसिया बाहिरबाट टिम आएर महिला फुटबलको यो स्तरको प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक हो । यसअघि नेपालमा साफ वुमन्स च्याम्पियनसिप तीनपटक आयोजना भएको थियो भने ओलम्पिक क्वालिफायरमा भियतनाम नेपाल आएर खेलेको थियो ।

पहिलोपटक यस किसिमको प्रतियोगिता आयोजना हुनु नेपाली महिला फुटबलको लागि राम्रो संकेत हो । पहिलो कुरा नेपाल भन्दा माथिको वरियताको टिम आउँदैछ भने अर्को तीनवटै टिम दक्षिण एसिया बाहिरबाट आउँदैछ ।
त्यसमा पनि आफ्नो देश छाडेर विदेशमा लिग खेलिरहेका खेलाडीहरु सबै टिममा छन् । अष्ट्रेलिया देखि अमेरिकासम्म, फ्रान्स देखि डेनमार्कसम्मको लिग खेल्ने खेलाडीहरु अब केही दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रतिस्पर्धा उत्रनेछन् ।


महिला फुटबलमा त्यो स्तरको खेलाडीहरु आफ्नै आँखा अगाडि हेर्न पाउनु नेपाली दर्शकका लागि पनि राम्रो अवसर हुनेछ भने खेलाडीहरु स्वयंका लागि पनि यो अन्तर्राष्ट्रिय फुटबलबारे बुझ्ने राम्रो अवसर हुनेछ ।

यसका लागि नेपालका कप्तान एन्जिला तुम्बापो सुब्बाले एन्फालाई धन्यवाद पनि दिइन् । ‘हाम्रो लागि यो ठूलो अवसर हो । साफलगत्तै अर्को प्रतियोगिता खेल्न पाएका छौं’ उनले आइतबार प्रि म्याच कन्फ्रेन्समा भनिन्, ‘हाम्रो लागि र समर्थकको लागि राम्रो हो ।’

कप्तान एन्जिलाले सबै टिम राम्रो रहेको र बोलेर भन्दा पनि मैदानमा खेलेर प्रमाणित गर्नुपर्ने बताइन् । ‘हाम्रो तयारी राम्रो छ । टिमवर्क राम्रो छ । विपक्षी टिमहरु पनि बलियो छ । बोलेर भन्दा पनि मैदानमा प्रमाणित गर्नुपर्छ’ उनले भनिन् ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनसिपका लागि सबै तयारी भइसकेको र राम्रो प्रदर्शन गर्ने बताए । तामाङले लगातार तेस्रो प्रतियोगितामा नेपालको महिला टिमको प्रशिक्षण सम्हालेका छन् । यसअघि गत वर्ष फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिप र अक्टोबरमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

यस पटक नेपाललाई घरेलु मैदानमा राम्रो खेल्दै उपाधि जित्ने अवसर समेत छ । त्यसका लागि नेपाली टिममा क्षमता रहेको पनि प्रशिक्षक तामाङले दाबी गरे । उनले यसअघि समस्याको रुपमा रहेको डिफेन्स लाइन मजबुत पार्दै खेल्ने बताए ।

अहिले महिला लिग भएकोले सबै खेलाडी फिट रहेको अनि यसपटक टिम राम्रो बनेको तामाङको बुझाई छ । नेपालले तीनवटै विपक्षीसँग यसअघि कम्तीमा एक पटक खेलेको अनुभव छ । तर त्यो बेला र अहिलेको अवस्थामा फरक आइसकेको छ ।

नेपालले म्यानमारसँग ३ तथा लेबनान र कीर्गिस्तानसँग १-१ पटक खेलेको छ । म्यानमारसँग जितविहिन रहेको नेपालले लेबनान र कीर्गिस्तानलाई भने हराएको थियो ।
म्यानमारसँग एक खेलमा ड्र खेल्नु नै नेपालको लागि ठूलो उपलब्धी हो ।

लेबनानसँग नेपालले गत वर्ष वाफ च्याम्पियनसिपमा सेमिफाइनलमा खेलेको थियो । जसमा नेपाल २-१ ले विजयी हुँदै फाइनल पुगेको थियो ।

यस्तै कीर्गिस्तानविरूद्ध भने सन् २०१९ मा भएको नाजेज्दा कपमा खेलेको थियो । कीर्गिस्तानमै भएको उक्त खेलमा नेपाल ८-२ ले विजयी भएको थियो । तर अहिले कीर्गिस्तानको टिममा धेरै परिवर्तन आइसकेको छ ।

प्रशिक्षक तामाङले विपक्षी टिमहरु राम्रो रहेको र आफ्नो योजना अनुसार खेल्ने बताए । ‘६ वर्ष पहिलो र अहिलेको कीर्गिस्तान टिममा फरक छ । उनीहरुले धेरै सुधार गरेका छन् । हामीले जित्छौं तर कठिन भने हुनेछ’ तामाङले भने, ‘लेबनान पनि बलियो टिम छ । उनीहरुको स्ट्रक्चर र ट्याक्टिकल राम्रो छ । म्यानमार बलियो टोली हो । अहिलेसम्म ३ खेल खेल्दा एक ड्र र दुई हार नतिजा छ ।’

वरियतामा म्यानमार सबैभन्दा माथि छ । म्यानमार ५५औं स्थानमा छ भने नेपाल १०३औं स्थानमा छ । यस्तै कीर्गिस्तान १२८औं र लेबनान १३४औं वरियतामा छ ।

म्यानमारका प्रशिक्षक तेतसुरो युकीले नेपाल आएर खेल्न पाउदा खुसी व्यक्त गर्दै ३ टिम विरूद्ध खेल्न उत्साहित रहेको बताए । उनले नेपाली टोली शारीरिक रुपमा बलियो रहेको र सहज रूपमा नलिने बताए ।

यस्तै म्यानमारका फरवार्ड विन थिइनगी तुनले प्रतियोगिताको लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने बताइन् । उनले म्यानमार वरियतामा माथि रहेपनि अन्य टिमपनि राम्रो रहेको उल्लेख गरिन् ।

लेबनानका प्रशिक्षक वेल घरजेद्दीनले एसियन वुमन्स क्वालिफायरको तयारीमा यो प्रतियोगिता महत्वपूर्ण हुने बताए । ‘हामी यहाँ राम्रो फुटबल खेल्न आएका हौँ । युवा टिम हो । धेरै खेलाडी विदेशी लिग खेल्छन् । खेलाडीहरुबीच आपसी तालमेल मिलाउने अपेक्षा छ । ’

उनले प्रशिक्षणका लागि थोरै समय भएको र तीन मुख्य खेलाडी आउन बाँकी रहेको बताए । उनीहरू सोमबारसम्म आइपुग्ने विश्वास व्यक्त गरे ।

लेबनानका कप्तान नाताली मतारले पनि प्रशिक्षककै भनाईमा सहमति जनाउँदै यो प्रतियोगिता राम्रो अवसर रहेको बताए । ‘धेरै खेलाडीहरु विदेशमा खेल्छन् त्यसैले एसियन क्वालिफिकेसनको लागि तयारी गर्न यो राम्रो अवसर हो’ उनले भनिन् ।

प्रतियोगितामा सहभागी भएकोमध्ये कीर्गिस्तान युवा टोलीको रूपमा छ । टिममा सन् २००२ यता जन्मिएका खेलाडीहरू मात्र छन् । सबैभन्दा अनुभवी खेलाडी २००२ मा जन्मेका हुन् ।

कीर्गिस्तानका प्रशिक्षक नेमाट्जान जाकिरोभले यो प्रतियोगिता राम्रो अवसर भएको बताए । ‘हाम्रो लागि फोर नेसन्स कपमा सहभागि हुनु राम्रो अवसर हो । हामी राम्रो फुटबल देखाउन चाहन्छौँ । महत्वपूर्ण कुरा क्यारेक्टर हो’ उनले भने ।

यस्तै कीर्गिज कप्तान अबिबुल्ला किजी दिलनुराले आफ्नो टिम राम्रो रहेको र ट्रफी जित्नै आएको बताइन् । त्यसो नभए पनि नयाँ टिमहरूसँग राम्रो अनुभव लिन खेल्ने उनको भनाइ थियो ।

चार टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि शीर्ष दुईमा रहने टोलीबीच फागुन १४ गते फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...