मुख्य समाचार
नोकियाले चन्द्रमासम्म फोर–जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षी योजनालाई अन्तिम रूप
नोकियाले चन्द्रमासम्म फोर–जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षी योजनालाई अन्तिम रूप

— नोकियाले चन्द्रमासम्म फोर–जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षी योजनालाई अन्तिम रूप दिएको छ । यही फेब्रुअरीभित्र नोकियाले चन्द्रमामा फोर–जी सेवा सञ्चालनमा ल्याउने गरी आफ्नो ‘लुनार सर्फेस कम्युनिकेसन सिस्टम’लाई चन्द्रमामा बनाइएको ‘एथेना’ नामक बेस स्टेसनमा जोड्ने काम पूरा भएको कम्पनीको विज्ञप्तिमा भनिएको छ । यसले अन्तरिक्ष सञ्चार प्रविधिमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।


नासाको ‘टिपिङ पोइन्ट’ कार्यक्रमअन्तर्गत सञ्चालित उक्त परियोजनाले चन्द्रमाको सतहमा पहिलो सेलुलर नेटवर्क स्थापना गर्न लागेको हो । नोकिया बेल ल्याब्सको अत्याधुनिक फोर–जी/एलटीई प्रविधि प्रयोग गरिने यस प्रणालीलाई चन्द्रमाको कठोर वातावरण, अत्यधिक तापक्रम र विकिरण सहन सक्ने गरी डिजाइन गरिएको नोकियाले जनाएको छ ।


पृथ्वी र चन्द्रमाको दूरीका कारण अहिले चन्द्रमाबाट पृथ्वीसम्म सन्देश आदानप्रदान गर्न झन्डै डेढ मिनेटको समय लाग्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ठहर छ । अहिले उपलब्ध प्रविधिका रेडियो वेभहरूमा समस्या देखिने र बारम्बार सञ्चार विच्छेद हुने गरेकोमा नोकियाको यो प्रविधिले भरपर्दो सेवा दिने दाबी गरिएको छ ।

चन्द्रमामा फोर–जी विस्तारका लागि झन्डै १ करोड ४१ लाख अमेरिकी डलर खर्च हुने र सम्पूर्ण खर्च नासाले व्यहोर्ने जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवसहितको सतहमा महत्त्वाकांक्षी मिसनहरू सञ्चालन गर्न र चन्द्रमामा बसोबासकै प्रबन्ध गर्ने तयारीमा रहेको नासालाई भरपर्दो सञ्चार सेवाका लागि नोकियाले प्रविधिमा सहयोग गरेको हो ।

कुनै बेला मोबाइल फोन बजारको सबैभन्दा शक्तिशाली ब्रान्डका रूपमा चर्चित नोकिया केही वर्षयता नेटवर्क पूर्वधार, दूरसञ्चार प्रविधि र इन्टरप्राइज सलुसन निमार्णमा लागेको छ । कम्पनीले सन् २०१४ मा मोबाइल फोनसम्बन्धी व्यवसाय माइक्रोसफ्टलाई बिक्री गरेको थियो । हाल फाइभ–जी नेटवर्क पूर्वाधार विकासमा नोकिया विश्वमै अग्रणी मानिन्छ । नोकियाले २०७९ सालमा नेपाललाई पनि फाइभ–जी विस्तारमा सघाउने बताएको थियो ।


फोर–जी परियोजनाका लागि नोकियाले चन्द्रमामा उपकरण पुर्‍याउन र जडान गर्न ‘इन्ट्युइसिभ मसिन्स’ नामक एरोस्पेस कम्पनीसँग सहकार्य गरेको थियो । २०२६ अप्रिलमा नासाले ‘आर्टेमिस–२’ मिसनमार्फत चार जना अन्तरिक्ष यात्रीलाई १० दिनका लागि चन्द्रमाको परिक्रमामा पठाउन लागेको छ ।
उनीहरूले ‘ओरियन’ भनिने स्पेसक्राफ्ट र अन्य प्रविधिहरूको परीक्षण गर्नेछन् । यो ‘फ्लाइ बाई’ अर्थात् अवतरण नगरी माथिबाटै परिक्रमा गरिने मिसन हो । सन् २०२७ मा भने नासाले झन्डै ५५ वर्षपछि चन्द्रमाको सतहमा मानव पाइला राख्ने गरी ‘आर्टेमिस–३’ मिसन सञ्चालन गर्दै छ । यसका लागि पनि बलियो सञ्चार सेवा निर्माण गर्न लागिएको हो ।

चन्द्रमामा अन्य मिसनहरूका लागि नासाले लुनार गेटवे, अन्तरिक्ष यात्रीहरू लामो समय चन्द्रमामै बस्न मिल्ने गरी आर्टेमिस बेस क्याम्प र व्यावसायिक सामान ओसारपसार गर्ने सुविधा पनि दिने तयारी गर्दै छ । यी सबैका लागि नोकियाको फोर–जी सुविधा महत्त्वपूर्ण हुने वैज्ञानिकहरूको विश्वास छ ।

चन्द्रमाको फोर–जी/एलटीई प्रणाली नोकियाले इन्टुइसिभ मेसिनको ‘नोभा–सी’ नामक ल्यान्डरमा बेस स्टेसन राखेर स्थापना गरेको कम्पनीको वेबसाइटमा उल्लेख छ । यस प्रणालीले ल्यान्डर (जमिनमा बस्ने) र रोभर (जमिनमा गुड्ने) बीच सहज सञ्चार स्थापित गर्नुका साथै पृथ्वीमा रहेका मिसन कन्ट्रोलरहरूलाई प्रत्यक्ष डेटा र तस्बिरहरू उपलब्ध गराउनेछ ।

फेब्रुअरी २६ मा फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट स्पेस एक्सको फाल्कन–९ रकेटमा राखेर यो प्रविधि चन्द्रमासम्म पठाउने तयारी पूरा भएको नोकिया बेल ल्याब्सले जनाएको छ । पृथ्वीबाट पठाइएको प्रविधिलाई ‘एथेना’ नामक ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुपको सतहमा उतार्न र त्यहाँ जोड्न मद्दत गर्नेछ । चन्द्र सतहमा अवतरण भएपछि एउटा बक्समा रहेको सञ्चार प्रणालीलाई त्यहीं भएको रोभरको सहायताले ल्यान्डरबाट निकालेर एक्टिभेट गर्ने तयारी नोकिया र नासाको छ ।

अहिलेका लागि नोकियाको फोर–जी/एलटीई नेटवर्कले १० देखि १०० एमबीपीएस डाउनलोड र ५ देखि ५० एमबीपीएस अपलोड गतिमा सञ्चार सुविधा स्थापित गर्ने कम्पनीले जनाएको छ । सुरुवाती चरणमा चन्द्रमाको दक्षिणी ध्रुवबाट पृथ्वीतर्फ फर्किएको भागमा मात्र सञ्चार सुविधा हुने नोकिया बेल ल्याब्सको बेवसाइटमा जानकारी राखिएको छ ।

नोकिया बेल ल्याब्स सोलुसन्स रिसर्चका अध्यक्ष थिएरी क्लेनले यो परियोजनाको महत्त्वबारे भनेका छन्, ‘बसाइ, खानेकुरा र जीवनको सहजता जति अत्यावश्यक छ, त्यत्तिकै सञ्चार सुविधा पनि भविष्यका चन्द्रमा वा मंगल अभियानका लागि अत्यावश्यक हुनेछ । पृथ्वीमा अर्बौं स्मार्टफोनहरू जोड्न प्रयोग गरिने प्रविधिलाई नै अन्तरिक्षमा पनि विस्तार गर्न सकिने गरी हामी नयाँ तरिका अपनाउँदै छौं । यसले पृथ्वी र अन्तरिक्षबीचको दूरीलाई घटाउनेछ ।’

नोकियाको यो परियोजना अन्तरिक्षमा आधारित इन्टरनेट व्यवसायमा रहेको प्रतिस्पर्धात्मक दौडको पछिल्लो हिस्सा हो । यो दौडमा स्पेस एक्स, अमेजन र वानवेबजस्ता कम्पनीहरू पनि सक्रिय रूपमा लागेका छन् । यी कम्पनीहरूले पृथ्वीको दुर्गम र सञ्चार सुविधाबाट वञ्चित क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट पुर्‍याउन ‘लो अर्थ अर्बिट’मा भूउपग्रहहरू स्थापना र सञ्चालन गरिरहेका छन् । नेपालमा समेत आउन जोड गरिरहेको स्टारलिंक परियोजनाले अन्तरिक्षमा चार हजारभन्दा धेरै भू–उपग्रहहरू राखेर विश्वव्यापी ब्रोडब्यान्ड नेटवर्क बनाउने लक्ष्य लिएको छ ।

चन्द्रमामा उच्च गतिको फोर–जी/एलटीई नेटवर्क स्थापना गर्दा अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीसँग जोड्न सहज हुने एक्सियम स्पेसका कार्यकारी उपाध्यक्ष रसेल रल्स्टनले जीएसएमएको ‘मोबाइल वर्ल्ड लाइभ’ सँग बताएका छन् । यसले महत्त्वपूर्ण डेटा आदानप्रदान सहज बनाउनुका साथै लामो दूरीसम्म उच्च गुणस्तरको भिडियो सञ्चार सम्भव बनाउने उनको ठहर छ ।

चन्द्रमामा लामो समयसम्म बस्ने र यसलाई मंगललगायत अन्य ग्रह र चन्द्रमाहरूमा पुग्ने आधार क्षेत्र बनाउने गरी वैज्ञानिकहरूले काम गरिरहेका छन् । अमेरिका, चीनजस्ता देशहरूका लागि चन्द्रमाको सतहमा फोर–जी सुविधा हुनु महत्त्वपूर्ण उपलब्धि हुन सक्ने रसेलको निष्कर्ष छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो आर्माडा (विमानवाहक युद्धपोत युएसएस गेराल्ड आर फोर्ड) लाई क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान आदेश दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो आर्माडा (विमानवाहक युद्धपोत युएसएस गेराल्ड आर फोर्ड) लाई क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान आदेश दिएका छन् । अमेरिकाले यसअघि नै मध्यपूर्वमा युएसएस अब्राहम लिंकन युद्धपोत राखिसकेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममाथि दबाब बढाउँदै दोस्रो विमानवाहक युद्धपोत मध्यपूर्व पठाउन लागेको समाचार संस्था अल जजिराले लेखेको छ । शुक्रबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले यूएसएस जेराल्ड आर फोर्ड क्यारिबियनबाट ‘चाँडै’ मध्यपूर्वतर्फ प्रस्थान गर्ने पुष्टि गरेका ...
— बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तारिक रहमानले निर्वाचनपछि बंगलादेशमा स्वतन्त्रता र अधिकार पुनर्स्थापित भएको बताएका छन् । 'यो विजय ती जनताको हो जसले लोकतन्त्रका लागि बलिदान गरे," तारिकले ढाकाको एक होटेलमा आयोजित प्रेस सम्मेलनमा चुनावपछिको सम्बोधनमा भने । संसदीय निर्वाचनमा प्रत्यक्षतर्फका ३ सयमध्ये २ सय ९७ क्षेत्रको नतिजा सार्वजनिक हुँदा उनको पार्टीले दुई-तिहाई सिट ल्याएको छ ...
— युरोपेली युनियन पर्यवेक्षण मिशन ((ईयू ईओएम) ले बिहीबार बंगलादेशमा सम्पन्न निर्वाचन निष्पक्ष र विश्वसनीय रहेको जनाएको छ । मिशनका प्रमुख पर्यवेक्षक तथा युरोपेली संसद्का सदस्य इभर्स इजाब्सले आज ढाकामा आयोजित प्रेस ब्रिफिङमा प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरे । उनले यो निर्वाचन लोकतान्त्रिक र कानुनी शासन पुनर्स्थापनातर्फको 'महत्त्वपूर्ण कदम' रहेको बताए । '२०२६ को संसदीय निर्वाचन साँच्चै प्रतिस्पर्धात्मक ...
— अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत (एयरक्राप्ट क्यारियर) पठाउने निर्णय लिएका छन्। यस विमानवाहक पोतको नाम ‘यूएसएस जेराल्ड आर फोर्ड’ हो र यो पहिले नै मध्यपूर्वमा रहेका अन्य युद्धपोतहरूसँगै सञ्चालनमा जानेछ । यसले अमेरिकाको केन्द्रीय कमान क्षेत्रमा दुई विमानवाहक समूहको उपस्थिती सुनिश्चित गर्नेछ । राष्ट्रपति ट्रम्पले ...