मुख्य समाचार
नोकियाले चन्द्रमासम्म फोर–जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षी योजनालाई अन्तिम रूप
नोकियाले चन्द्रमासम्म फोर–जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षी योजनालाई अन्तिम रूप

— नोकियाले चन्द्रमासम्म फोर–जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षी योजनालाई अन्तिम रूप दिएको छ । यही फेब्रुअरीभित्र नोकियाले चन्द्रमामा फोर–जी सेवा सञ्चालनमा ल्याउने गरी आफ्नो ‘लुनार सर्फेस कम्युनिकेसन सिस्टम’लाई चन्द्रमामा बनाइएको ‘एथेना’ नामक बेस स्टेसनमा जोड्ने काम पूरा भएको कम्पनीको विज्ञप्तिमा भनिएको छ । यसले अन्तरिक्ष सञ्चार प्रविधिमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।


नासाको ‘टिपिङ पोइन्ट’ कार्यक्रमअन्तर्गत सञ्चालित उक्त परियोजनाले चन्द्रमाको सतहमा पहिलो सेलुलर नेटवर्क स्थापना गर्न लागेको हो । नोकिया बेल ल्याब्सको अत्याधुनिक फोर–जी/एलटीई प्रविधि प्रयोग गरिने यस प्रणालीलाई चन्द्रमाको कठोर वातावरण, अत्यधिक तापक्रम र विकिरण सहन सक्ने गरी डिजाइन गरिएको नोकियाले जनाएको छ ।


पृथ्वी र चन्द्रमाको दूरीका कारण अहिले चन्द्रमाबाट पृथ्वीसम्म सन्देश आदानप्रदान गर्न झन्डै डेढ मिनेटको समय लाग्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ठहर छ । अहिले उपलब्ध प्रविधिका रेडियो वेभहरूमा समस्या देखिने र बारम्बार सञ्चार विच्छेद हुने गरेकोमा नोकियाको यो प्रविधिले भरपर्दो सेवा दिने दाबी गरिएको छ ।

चन्द्रमामा फोर–जी विस्तारका लागि झन्डै १ करोड ४१ लाख अमेरिकी डलर खर्च हुने र सम्पूर्ण खर्च नासाले व्यहोर्ने जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवसहितको सतहमा महत्त्वाकांक्षी मिसनहरू सञ्चालन गर्न र चन्द्रमामा बसोबासकै प्रबन्ध गर्ने तयारीमा रहेको नासालाई भरपर्दो सञ्चार सेवाका लागि नोकियाले प्रविधिमा सहयोग गरेको हो ।

कुनै बेला मोबाइल फोन बजारको सबैभन्दा शक्तिशाली ब्रान्डका रूपमा चर्चित नोकिया केही वर्षयता नेटवर्क पूर्वधार, दूरसञ्चार प्रविधि र इन्टरप्राइज सलुसन निमार्णमा लागेको छ । कम्पनीले सन् २०१४ मा मोबाइल फोनसम्बन्धी व्यवसाय माइक्रोसफ्टलाई बिक्री गरेको थियो । हाल फाइभ–जी नेटवर्क पूर्वाधार विकासमा नोकिया विश्वमै अग्रणी मानिन्छ । नोकियाले २०७९ सालमा नेपाललाई पनि फाइभ–जी विस्तारमा सघाउने बताएको थियो ।


फोर–जी परियोजनाका लागि नोकियाले चन्द्रमामा उपकरण पुर्‍याउन र जडान गर्न ‘इन्ट्युइसिभ मसिन्स’ नामक एरोस्पेस कम्पनीसँग सहकार्य गरेको थियो । २०२६ अप्रिलमा नासाले ‘आर्टेमिस–२’ मिसनमार्फत चार जना अन्तरिक्ष यात्रीलाई १० दिनका लागि चन्द्रमाको परिक्रमामा पठाउन लागेको छ ।
उनीहरूले ‘ओरियन’ भनिने स्पेसक्राफ्ट र अन्य प्रविधिहरूको परीक्षण गर्नेछन् । यो ‘फ्लाइ बाई’ अर्थात् अवतरण नगरी माथिबाटै परिक्रमा गरिने मिसन हो । सन् २०२७ मा भने नासाले झन्डै ५५ वर्षपछि चन्द्रमाको सतहमा मानव पाइला राख्ने गरी ‘आर्टेमिस–३’ मिसन सञ्चालन गर्दै छ । यसका लागि पनि बलियो सञ्चार सेवा निर्माण गर्न लागिएको हो ।

चन्द्रमामा अन्य मिसनहरूका लागि नासाले लुनार गेटवे, अन्तरिक्ष यात्रीहरू लामो समय चन्द्रमामै बस्न मिल्ने गरी आर्टेमिस बेस क्याम्प र व्यावसायिक सामान ओसारपसार गर्ने सुविधा पनि दिने तयारी गर्दै छ । यी सबैका लागि नोकियाको फोर–जी सुविधा महत्त्वपूर्ण हुने वैज्ञानिकहरूको विश्वास छ ।

चन्द्रमाको फोर–जी/एलटीई प्रणाली नोकियाले इन्टुइसिभ मेसिनको ‘नोभा–सी’ नामक ल्यान्डरमा बेस स्टेसन राखेर स्थापना गरेको कम्पनीको वेबसाइटमा उल्लेख छ । यस प्रणालीले ल्यान्डर (जमिनमा बस्ने) र रोभर (जमिनमा गुड्ने) बीच सहज सञ्चार स्थापित गर्नुका साथै पृथ्वीमा रहेका मिसन कन्ट्रोलरहरूलाई प्रत्यक्ष डेटा र तस्बिरहरू उपलब्ध गराउनेछ ।

फेब्रुअरी २६ मा फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट स्पेस एक्सको फाल्कन–९ रकेटमा राखेर यो प्रविधि चन्द्रमासम्म पठाउने तयारी पूरा भएको नोकिया बेल ल्याब्सले जनाएको छ । पृथ्वीबाट पठाइएको प्रविधिलाई ‘एथेना’ नामक ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुपको सतहमा उतार्न र त्यहाँ जोड्न मद्दत गर्नेछ । चन्द्र सतहमा अवतरण भएपछि एउटा बक्समा रहेको सञ्चार प्रणालीलाई त्यहीं भएको रोभरको सहायताले ल्यान्डरबाट निकालेर एक्टिभेट गर्ने तयारी नोकिया र नासाको छ ।

अहिलेका लागि नोकियाको फोर–जी/एलटीई नेटवर्कले १० देखि १०० एमबीपीएस डाउनलोड र ५ देखि ५० एमबीपीएस अपलोड गतिमा सञ्चार सुविधा स्थापित गर्ने कम्पनीले जनाएको छ । सुरुवाती चरणमा चन्द्रमाको दक्षिणी ध्रुवबाट पृथ्वीतर्फ फर्किएको भागमा मात्र सञ्चार सुविधा हुने नोकिया बेल ल्याब्सको बेवसाइटमा जानकारी राखिएको छ ।

नोकिया बेल ल्याब्स सोलुसन्स रिसर्चका अध्यक्ष थिएरी क्लेनले यो परियोजनाको महत्त्वबारे भनेका छन्, ‘बसाइ, खानेकुरा र जीवनको सहजता जति अत्यावश्यक छ, त्यत्तिकै सञ्चार सुविधा पनि भविष्यका चन्द्रमा वा मंगल अभियानका लागि अत्यावश्यक हुनेछ । पृथ्वीमा अर्बौं स्मार्टफोनहरू जोड्न प्रयोग गरिने प्रविधिलाई नै अन्तरिक्षमा पनि विस्तार गर्न सकिने गरी हामी नयाँ तरिका अपनाउँदै छौं । यसले पृथ्वी र अन्तरिक्षबीचको दूरीलाई घटाउनेछ ।’

नोकियाको यो परियोजना अन्तरिक्षमा आधारित इन्टरनेट व्यवसायमा रहेको प्रतिस्पर्धात्मक दौडको पछिल्लो हिस्सा हो । यो दौडमा स्पेस एक्स, अमेजन र वानवेबजस्ता कम्पनीहरू पनि सक्रिय रूपमा लागेका छन् । यी कम्पनीहरूले पृथ्वीको दुर्गम र सञ्चार सुविधाबाट वञ्चित क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट पुर्‍याउन ‘लो अर्थ अर्बिट’मा भूउपग्रहहरू स्थापना र सञ्चालन गरिरहेका छन् । नेपालमा समेत आउन जोड गरिरहेको स्टारलिंक परियोजनाले अन्तरिक्षमा चार हजारभन्दा धेरै भू–उपग्रहहरू राखेर विश्वव्यापी ब्रोडब्यान्ड नेटवर्क बनाउने लक्ष्य लिएको छ ।

चन्द्रमामा उच्च गतिको फोर–जी/एलटीई नेटवर्क स्थापना गर्दा अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीसँग जोड्न सहज हुने एक्सियम स्पेसका कार्यकारी उपाध्यक्ष रसेल रल्स्टनले जीएसएमएको ‘मोबाइल वर्ल्ड लाइभ’ सँग बताएका छन् । यसले महत्त्वपूर्ण डेटा आदानप्रदान सहज बनाउनुका साथै लामो दूरीसम्म उच्च गुणस्तरको भिडियो सञ्चार सम्भव बनाउने उनको ठहर छ ।

चन्द्रमामा लामो समयसम्म बस्ने र यसलाई मंगललगायत अन्य ग्रह र चन्द्रमाहरूमा पुग्ने आधार क्षेत्र बनाउने गरी वैज्ञानिकहरूले काम गरिरहेका छन् । अमेरिका, चीनजस्ता देशहरूका लागि चन्द्रमाको सतहमा फोर–जी सुविधा हुनु महत्त्वपूर्ण उपलब्धि हुन सक्ने रसेलको निष्कर्ष छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...