मुख्य समाचार
पेरिस एआई सम्मेलनको प्रस्तावमा हस्ताक्षर गर्न अमेरिका र बेलायतले गरे अस्वीकार
पेरिस एआई सम्मेलनको प्रस्तावमा हस्ताक्षर गर्न अमेरिका र बेलायतले गरे अस्वीकार

— अमेरिका, भारत, युरोपेली संघ, फ्रान्स, चीनलगायत देशका उच्च नेतृत्वको सहभागितामा फ्रान्सको राजधानी पेरिसमा भएको ‘विश्व एआई सम्मेलन’ मंगलबार सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञलगायत सहभागी थिए । सम्मेलनको प्रस्तावना समेटिएको संयुक्त विज्ञप्तिमा अमेरिका र बेलायतले हस्ताक्षर गर्न अस्वीकार गरे भने युरोपेली संघले एआई नियमनमा अलि उदार हुने संकेत दिएको छ ।


फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले अध्यक्षता गरेको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहअध्यक्षका रूपमा उपस्थित थिए । अमेरिकी उपराष्ट्रपति जेडी भान्स, चिनियाँ उपप्रधानमन्त्री झाङ जियोकिङ, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायतले वक्ताका रूपमा सहभागिता जनाएका थिए ।


सम्मेलनमा समावेशी र दिगो एआई विकासको प्रवर्द्धन गर्ने विषयमा तयार गरिएको घोषणापत्रमा अमेरिकी उपराष्ट्रपति भान्स र बेलायतको प्रतिनिधित्व गरेका विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव पिटर कायलले हस्ताक्षर गरेनन् । भान्सले एआई नियमनमा युरोपेली संघ कठोर भएको र यसले नवप्रवर्तनलाई प्रभाव पार्ने अभिव्यक्तिसमेत दिए ।

फेब्रुअरी १० र ११ मा आयोजित पेरिस एआई सम्मेलनले विश्वका विभिन्न राजनीतिक, व्यावसायिक र प्राविधिक नेतृत्वलाई एकसाथ ल्याएको थियो । एआई नियमनका लागि विश्वव्यापी मापदण्ड स्थापित गर्ने उद्देश्य राखिएको यो सम्मेलनमा एआईको नैतिक, दिगो र समावेशी प्रयोग र विकासको दृष्टिकोणमा जोड दिइएको थियो । सम्मेलनको प्रमुख आकर्षणमध्ये एक युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनको मन्तव्य थियो । उनले युरोपलाई एआईसम्बन्धी नवीनतम विकासमा अग्रसर बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।

‘हामी चाहन्छौं, युरोप एआईको क्षेत्रमा अगाडि बढोस्,’ उनले भनिन्, ‘ता कि हामीले एआईलाई हाम्रो दैनिक जीवन र प्रयोगको अभिन्न हिस्सा बनाउन सकौं ।’ युरोपमा एआई लगानीका लागि २ सय अर्ब युरो परिचालन गर्ने योजना पनि उनले सार्वजनिक गरिन् । यो लगानीलाई ‘सर्न’ भनिने युरोपेली आणविक एजेन्सीजस्तै चारवटा एआई गिगाफ्याक्ट्री स्थापना गर्न प्रयोग गरिने उनको भनाइ थियो ।


अमेरिकी उपराष्ट्रपति भान्सले एआई क्षेत्रमा अहिले व्याप्त अधिक नियमनका प्रयासको आलोचना गरे । त्यसले एआईको विकासमा बाधा पुर्‍याउन सक्ने उनको धारणा थियो । एआई प्रणालीलाई वैचारिक पूर्वाग्रहबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै भान्सले भने, ‘एआई क्षेत्रमा अहिले भइरहेको विकास औद्योगिक क्रान्ति वा स्टिम इन्जिनको विकास जत्तिकै महत्त्वपूर्ण समय हो । हाम्रो प्रयास अमेरिकामा विकास भएका एआई प्रविधि र प्लाटफर्महरू कुनै पनि विचारधाराका पूर्वाग्रहबाट मुक्त राख्नेमा केन्द्रित हुनेछ ।’ उनले प्राविधिक रूपमा अमेरिका सधैं अगाडि रहने र त्यसका लागि युरोपेलीलगायत सरकारहरूसँग मिलेर काम गर्ने प्रस्ट पारे ।

कार्यक्रममा सक्रिय सहभागिता जनाएका भारतीय प्रधानमन्त्री मोदीले एआईको परिवर्तनकारी क्षमता र सम्भावित जोखिमबारे चर्चा गरेका थिए । ‘हामी एआई युगको सुरुवातमा छौं, जहाँ प्रविधिले हाम्रो अर्थतन्त्र र समाजलाई पुनः परिभाषित गर्दै लगेको छ,’ उनले भने, ‘यसको उच्चतम फाइदा उठाउन हामीले पारदर्शी र धेरैभन्दा धेरै ओपन–सोर्स प्रणालीहरू विकास गर्न जरुरी छ ।’ निष्पक्ष र लोकतान्त्रिक एआईको आवश्यकता औंल्याउँदै यसका लागि विश्वव्यापी सहकार्य जरुरी भइसकेको मोदीको निष्कर्ष थियो ।



सम्मेलनमा एआईले रोजगारी, गोपनीयता र सामाजिक सुरक्षामा पार्ने प्रभावबारे पनि गहन छलफल भएका थिए । एआईको व्यापक निगरानी र एल्गोरिदमिक बायस (पूर्वाग्रह) जस्ता सम्भावित दुरुपयोगका विषयमा चर्चा भएको थियो । सो क्रममा एम्नेस्टी इन्टरनेसनलले मौलिक अधिकारहरूको रक्षा गर्न प्रतिबद्धताको आवश्यकता रहेको उल्लेख गर्दै एल्गोरिदमको दुरुपयोगका जोखिमहरूबारे प्रकाश पारेको थियो । सम्मेलनमा एआईको नकारात्मक मात्रै नभएर सकारात्मक पक्षमा समेत पर्याप्त बहस भएको थियो ।

एआईले आर्थिक वृद्धि र नवीनतम सोच विकासमा थपेको सम्भावनाबारे विज्ञहरूले बोलेका थिए । यसै क्रममा सम्मेलन आयोजक फ्रान्सले एआई क्षेत्रमा १०९ अर्ब युरोको निजी लगानी घोषणा गर्‍यो । यसलाई डेटा सेन्टर र एआई प्रविधि पूर्वाधार विकासमा लागनी गर्न प्राथमिकता दिइएको छ । यो लगानीले रोजगारी सिर्जना गर्ने र फ्रान्सलाई विश्वव्यापी एआई क्षेत्रमा एक प्रमुख खेलाडीका रूपमा स्थापित गर्ने अपेक्षा फ्रान्सेली नेतृत्वको थियो ।

सम्मेलनले भू–राजनीतिक तनावहरूलाई पनि उजागर गरेको पाइयो । विशेष गरी अमेरिका, चीन र युरोपबीच चिसिँदै गएको राजनीतिक सम्बन्धको असरको संकेत सम्मेलनमा देखियो । अमेरिकाले सम्मेलनका प्रस्तावनाहरू समेटिएको संयुक्त विज्ञप्तिमा हस्ताक्षर नगर्नुलाई एआई नियमनबारे विभिन्न देशका फरक दृष्टिकोण र त्यसमा रहेको असहमतिका रूपमा व्याख्या गरिएको छ ।

सम्मेलनकै आकर्षणका रूपमा चर्चित चिनियाँ प्रविधि कम्पनी डिपसिकले आफ्नो एआई प्रविधिका प्रगतिहरूबारे प्रस्तुति दिएको थियो । डिपसिकले एआई क्षेत्रमा बढ्दो प्रतिस्पर्धालाई थप चर्काएको र अमेरिकी कम्पनीको एकलौटी प्रभावमा चुनौती दिएको संकेत दिएको थियो । सम्मेलनका लागि मेट्रो स्टेसन बन्द गर्ने र सुरक्षालाई ध्यान दिँदै आवतजावतमा निगरानी गरिएकामा फ्रान्सेलीहरूले आलोचनासमेत गरे ।

सम्मेलनको अध्यक्षता गरेका फ्रान्सका राष्ट्रपति म्याक्रोंले एआईको विकास र विस्तारमा फ्रान्सको प्रतिबद्धता पुनः प्रकट गर्दै फ्रान्स एआई विकासको दौडमा फर्किएको घोषणा गरे । आफूसँग भएको हरित र नवीकरणीय ऊर्जाका स्रोतहरूले एआई विकास सहज बनाउने उनको दाबी थियो । ‘हामीले एआईको विकास अघि बढाउँदा त्यसले मानव जगत्को सेवा गरोस् र हाम्रा मूल्य–मान्यताको सम्मान गरोस् भन्नेमा ध्यान दिन जरुरी छ,’ म्याक्रोंले भने । एआईको विकास र नियमनका लागि अमेरिका, चीनलगायत विश्वव्यापी सहकार्य आवश्यक रहेकामा उनले जोड दिए ।

यसअघि सन् २०२३ मा पहिलो पटक बेलायतमा र गत वर्ष दक्षिण कोरियाको सोलमा एआई सम्मेलन भएको थियो । यस पटक चिनियाँ एआई मोडल डिपसिकको व्यापक लोकप्रियतासँगै सूचना प्रविधि क्षेत्रमा ठूलो परिवर्तनका बीच यो सम्मेलन आयोजना भएकाले यसप्रति धेरैको चासो रह्यो । पहिलो पटक एआई सम्मेलनमा भाग लिएका भारतीय प्रधानमन्त्री मोदीले आगामी सम्मेलन भारतमा गर्ने प्रस्ताव राखेका छन् । सम्मेलनलाई सम्बोधन गर्दै मोदीले एआई फाउन्डेसन र सस्टेनेबल एआई काउन्सिल स्थापना गर्ने विषयको स्वागत पनि गरे ।

पेरिस एआई सम्मेलनले आमप्रयोगकर्तालाई एआईमा स्वतन्त्र, सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने, वातावरणमैत्री एआई विकास गर्ने र प्रभावकारी एवं समावेशी एआईको सुनिश्चितता गर्दै यसको विश्वव्यापी नियमन प्रयासमा जोड दिने लक्ष्य राखेको थियो । एएफपीका अनुसार पेरिसको १२५ वर्ष पुरानो ओपुलेन्ट ग्रान्ड प्यालेसमा भएको सम्मेलनमा एआई क्षेत्रको वर्तमान अवस्थादेखि भविष्यका लक्ष्यबारे छलफल भएका थिए ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...