मुख्य समाचार
इजरायली बन्धकलाई हमासले रिहा नगरे गाजामा युद्धविराम भंग हुने र लडाइँ चर्कने चेतावनी
इजरायली बन्धकलाई हमासले रिहा नगरे गाजामा युद्धविराम भंग हुने र लडाइँ चर्कने चेतावनी

— इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार दिउँसोसम्म इजरायली बन्धकलाई हमासले रिहा नगरे गाजामा युद्धविराम भंग हुने र लडाइँ चर्कने चेतावनी दिएका छन् । उनले इजरायली सेनालाई गाजाभित्र र वरपरको क्षेत्रमा खट्न आदेश दिइसकेको बताएका हुन् ।


नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई स्वागत गर्दै बन्धक रिहा नगरे इजरायली फौजले हमास पराजित नभएसम्म कडा लडाइँ सुरु गर्ने जनाएका छन् । यसअघि राष्ट्रपति ट्रम्पले शनिबार दिउँसो १२ बजेसम्म हमासले सबै बन्धक रिहा नगरे युद्धविराम अन्त्यको घोषणा गर्ने चेतावनी दिएका थिए । इजरायली सुरक्षा मन्त्रिपरिषद्को चार घण्टा लामो बैठकपछि नेतान्याहुले एउटा भिडियो सन्देश जारी गर्दै आफूले ‘राष्ट्रपति ट्रम्पको सुझावलाई स्वागत गरेको’ जनाएका हुन् ।


‘हमासले सम्झौता उल्लंघन गर्ने र हाम्रा बन्धकलाई रिहा नगर्ने निर्णय गरेसँगै गाजापट्टी र वरपरका क्षेत्रमा आईडीएफ परिचालनका लागि निर्देशन दिएका छौं,’ उनले भनेका छन् । यसअघि इजरायली रक्षामन्त्री इजरायल कात्सले बन्धकको रिहाइ रोक्नु युद्धविरामको पूर्ण उल्लंघन भएकाले सेनालाई सतर्क रहन निर्देशन दिएको बताएका थिए ।

यसबीच, युद्धविराम वार्ताका लागि हमास टोली बुधबार इजिप्टको कायरो पुगेको छ । समूहले युद्धविराम सम्झौता कार्यान्वयनका विषयमा इजिप्टका अधिकारीसँग बैठक सुरु गरेको बीबीसीले जनाएको छ । इजरायल र हमासबीचको वार्तामा इजिप्ट प्रमुख मध्यस्थकर्ता रहेको छ । समाचार संस्था एएफपीले हमासका अधिकारीलाई उद्धृत गर्दै प्रतिनिधिमण्डलले ‘वर्तमान संकट अन्त्य गर्ने उपाय र सम्झौता कार्यान्वयनको प्रतिबद्धता सुनिश्चित गर्ने विषयमा छलफल गर्ने’ जनाएको छ ।

यसअघि हमासले इजरायल युद्धविरामका लागि इमान्दार नभएको भन्दै बन्धकको रिहाइ रोक्ने बताएको थियो । हमास प्रवक्ता अबु ओबेदाले युद्धविराम सम्झौताअनुसार इजरायलले विस्थापित प्यालेस्टिनीलाई उत्तरी गाजामा फिर्ता हुन नदिएको, स्थानीयमाथि गोली चलाएको र सहमतिअनुसार मानवीय सहायता वितरणमा अनुमति नदिएको आरोप लगाएका हुन् । त्यसको प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिउँसो १२ बजेसम्म हमासले सबै बन्धक रिहा नगरे युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने ट्रम्पले चेतावनी दिएका थिए ।

ट्रम्पले एक–दुई जना गरेर किस्ता–किस्तामा नभई सबै बन्धकलाई एकै पटक रिहा गर्नुपर्ने बताएका थिए । यसबारे अन्तिम निर्णय भने इजरायलले लिने ट्रम्पको भनाइ थियो । राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुअघि ट्रम्पले युद्ध रोक्ने प्रतिबद्धता जनाएका थिए । तर उनको पछिल्लो टिप्पणी भने त्यसविपरीत आएको हो । इजरायली प्रधानमन्त्री नेतान्याहुले भने युद्धविराम सम्झौताअनुसार नै बन्धक रिहाइका लागि बाटो खुला राखेका छन् । बीबीसीका अनुसार नेतान्याहुले एकै पटक नभए पनि बन्धकहरू मुक्त गर्नुपर्नेमा जोड दिएका हुन् ।

युद्धविराम सम्झौताअनुसार हमासले शनिबार तीन इजरायली बन्धक मुक्त गर्नुपर्नेछ । उनीहरूको नाम शुक्रबारसम्म सार्वजनिक गर्नुपर्छ । बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दी रिहा हुने तय भएको थियो । तर, इजरायलले युद्धविराम सम्झौताअनुसार आफ्नो दायित्व पूरा गरेको खण्डमा भने शनिबार हुने बन्दी आदानप्रदानको ढोका खुला रहने हमासले जनाएको छ । हमासले आफू युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको जनाउँदै यसबारे कुनै जटिलता वा ढिलाइ उत्पन्न हुनुमा इजरायल जिम्मेवार रहेको बताएको छ ।



हमासका वरिष्ठ अधिकारी बसेम नइमले अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्तालाई हस्तक्षेप गर्न र युद्धविराम सम्झौता कार्यान्वयनमा ल्याउन ढोका खुला रहेको बताएका छन् । ‘हामी यो सम्झौता टुटेको हेर्न चाहँदैनौं,’ उनले भने, ‘हामी कुनै पनि अवरोध वा चुनौतीबाट बच्न अधिकतम प्रयास गरिरहेका छौं । त्यसैले मध्यस्थकर्तामार्फत स्थिति सुधार भएमा हामी बन्धक सुम्पन तयार छौं ।’ उनले ‘गाजा कब्जा गर्ने’ अमेरिकी राष्ट्रपति ट्रम्पको योजनालाई अस्वीकार गरेका छन् ।

१५ महिना लामो युद्धपछि हमास र इजरायलबीच भएको युद्धविराम १९ जनवरीदेखि कार्यान्वयनमा आएको हो । त्यसयता हमासले १६ इजरायली र ५ जना थाई बन्धक रिहा गरिसकेको छ । त्यसको बदलामा इजरायली जेलमा रहेका ५ सय ६६ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरिएको छ ।

अझै ७६ जना हमासको नियन्त्रणमा छन् । तीमध्ये ७३ जनालाई हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा गरेको आक्रमणसँगै बन्धक बनाएर लगेको हो । जसमध्ये एक जना नेपाली युवा विपिन जोशी छन् । कञ्चनपुरका जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । तीन जना भने एक दशक अघिदेखि नै हमासको नियन्त्रणमा छन् ।

तीन चरणको युद्धविरामको पहिलो चरणमा हमासले बन्धक बनाएका ३३ जनालाई रिहा गर्ने सहमति भएको थियो । त्यसका बदलामा इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गर्ने सम्झौतामा उल्लेख छ । इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार ३३ मध्ये ८ जनाको मृत्यु भइसकेको छ ।

युद्धविराम सम्झौतामा दोस्रो चरणका लागि पहिलो चरण सुरु भएको १६ दिनपछि वार्ता हुने उल्लेख छ । तर वार्ता भने सुरु हुन सकेको छैन । युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा गरिने तथा गाजाबाट इजरायली फौज पूर्ण रूपमा फिर्ता हुने उल्लेख छ । तेस्रो चरणमा गाजाको पुनर्निर्माणको योजना समेटिएको छ ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टोबरयताको युद्धमा ४८ हजार १ सय ८९ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ । ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले गाजा क्षेत्र नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएका थिए । त्यसलगत्तै उनको चौतर्फी विरोध भएको थियो । प्यालेस्टिनी समूह हमास, प्यालेस्टाइन, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्कीलगायतका देशले ट्रम्पको टिप्पणीको निन्दा गरेका थिए । अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा ट्रम्पले ‘अमेरिकाले गाजापट्टी नियन्त्रणमा लिने र त्यहाँ रहेका सबै खतरनाक विस्फोटक बम र अन्य हतियार नष्ट गर्ने’ बताएका थिए ।

त्यसलगत्तै हमासले ट्रम्पको प्रस्ताव अस्वीकार्य भएको बताएको थियो । ‘यस्ता टिप्पणी हाम्रा जनता र हाम्रो उद्देश्यका लागि शत्रुतापूर्ण छन् र यस क्षेत्रको स्थिरतालाई फाइदा गर्दैन,’ हमास प्रवक्ता अब्देल लतिफ अल–कानोउले विज्ञप्तिमार्फत उल्लेख गरेका थिए । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले पनि ट्रम्पको प्रस्तावको विरोध जनाएका थिए । अब्बासको कार्यालयले एक विज्ञप्तिमा जारी गर्दै ‘राष्ट्रपति र प्यालेस्टिनी नेतृत्वले गाजापट्टी कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई उनीहरूको मातृभूमिबाहिर विस्थापित गर्ने प्रस्ताव अस्वीकार्य रहेको’ जनाएको थियो ।

बेलायत, फ्रान्स, रुस, साउदी अरब, टर्कीलगायतका देशले गाजाका भग्नावशेषहरू हटाउन र द्रुत गतिमा मानवीय सहायता प्रदान गर्न प्रारम्भिक पुनःस्थापना परियोजना र कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । तर गाजापट्टीबाट प्यालेस्टिनीलाई नहटाई पुनर्निर्माण कार्य गरिनुपर्ने उनीहरूको भनाइ छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...