मुख्य समाचार
नोकियाले चन्द्रमासम्म फोर जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्वाकांक्षी योजनालाई अन्तिम रूप
नोकियाले चन्द्रमासम्म फोर जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्वाकांक्षी योजनालाई अन्तिम रूप

— नोकियाले चन्द्रमासम्म फोर जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्वाकांक्षी योजनालाई अन्तिम रूप दिएको छ । यही फेब्रुअरीभित्र नोकियाले चन्द्रमामा फोर जी सेवा सञ्चालनमा ल्याउने गरी आफ्नो ‘लुनार सर्फेस कम्युनिकेसन सिस्टम’लाई ‘एथेना’ नामक चन्द्रमामा बनाइएको बेस स्टेसनमा जोड्ने काम पूरा भएको कम्पनीको विज्ञप्तिमा भनिएको छ । यसले अन्तरिक्ष सञ्चार प्रविधिमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।


नासाको ‘टिपिङ पोइन्ट’ कार्यक्रमअन्तर्गत सञ्चालित उक्त्त परियोजनाले चन्द्रमाको सतहमा पहिलो सेलुलर नेटवर्क स्थापना गर्न लागेको हो । नोकिया बेल ल्याब्सको अत्याधुनिक फोर जी/एलटीई प्रविधि प्रयोग गरिने यस प्रणालीलाई चन्द्रमाको कठोर वातावरण, अत्यधिक तापक्रम र विकिरण सहन सक्ने गरी डिजाइन गरिएको नोकियाले जनाएको छ ।


पृथ्वी र चन्द्रमाको दूरीका कारण अहिले चन्द्रमाबाट पृथ्वीसम्म सन्देश आदान-प्रदान गर्न झन्डै डेढ मिनेटको समय लाग्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ठहर छ । अहिले उपलब्ध प्रविधिका रेडियो वेभहरूमा समस्या देखिने र बारम्बार सञ्चार विच्छेद हुने गरेकोमा नोकियाको यो प्रविधिले भरपर्दो सेवा दिने दाबी गरिएको छ ।

चन्द्रमामा फोर जी विस्तारका लागि झन्डै १ करोड ४१ लाख अमेरिकी डलर खर्च हुने र सम्पूर्ण खर्च नासाले व्यहोर्ने जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुव सहितको सतहमा महत्वाकांक्षी मिसनहरू सञ्चालन गर्न र चन्द्रमामा बसोबासकै प्रवन्ध गर्ने तयारीमा रहेको नासालाई भरपर्दो सञ्चार सेवाका लागि नोकियाले प्रविधिमा सहयोग गरेको हो ।
कुनै बेला मोबाइल फोन बजारको सबैभन्दा शक्तीशाली ब्रान्डका रूपमा चर्चित नोकिया केही वर्षयता नेटवर्क पूर्वधार, दूरसञ्चार प्रविधि र इन्टरप्राइज सलुसन निमार्णमा लागेको छ । कम्पनीले सन् २०१४ मा मोबाइल फोनसम्बन्धी व्यवसाय माइक्रोसफ्टलाई बिक्री गरेको थियो । हाल फाइभ जी नेटवर्क पूर्वाधार विकासमा नोकिया विश्वमै अग्रणी मानिन्छ । नोकियाले २०७९ सालमा नेपाललाई पनि फाइभ जी विस्तारमा सघाउने बताएको थियो ।

फोर जी परियोजनाका लागि नोकियाले चन्द्रमामा उपकरण पुर्‍याउन र जडान गर्न ‘इन्ट्युइसिभ मसिन्स’ नामक एरोस्पेस कम्पनीसँग सहकार्य गरेको थियो । सन् २०२६ को अप्रिलमा नासाले ‘आर्टेमिस-२’ मिसनमार्फत चारजना अन्तरिक्ष यात्रीलाई १० दिनका लागि चन्द्रमाको परिक्रमामा पठाउन लागेको छ । उनीहरूले ‘ओरियन’ भनिने स्पेसक्राफ्ट र अन्य प्रविधिहरूको परिक्षण गर्नेछन् । यो ‘फ्लाइ बाई’ अर्थात अवतरण नगरी माथिबाटै परिक्रमा गरिने मिसन हो । सन् २०२७ मा भने नासाले झन्डै ५५ वर्षपछि चन्द्रमाको सतहमा मानव पाइला राख्ने गरी ‘आर्टेमिस-३’ मिसन सञ्चालन गर्दै छ । यसका लागि पनि बलियो सञ्चार सेवा निर्माण गर्न लागिएको हो ।



चन्द्रमामा अन्य मिसनहरूका लागि नासाले लुनार गेटवे, अन्तरिक्ष यात्रीहरू लामो समय चन्द्रमामै बस्न मिल्नेगरी आर्टेमिस बेस क्याम्प र व्यावसायिक सामान ओसार-पसार गर्ने सुविधा पनि दिने तयारी गर्दै छ । यी सबैका लागि नोकियाको फोर जी सुविधा महत्वपूर्ण हुने वैज्ञानिकहरूको विश्वास छ ।

चन्द्रमाको फोरजी/एलटीई प्रणाली नोकियाले इन्टुइसिभ मेसिनको ‘नोभा-सी’ नामक ल्यान्डरमा बेस स्टेसन राखेर स्थापना गरेको कम्पनीको वेबसाइटमा उल्लेख छ । यस प्रणालीले ल्यान्डर (जमिनमा बस्ने) र रोभर (जमिनमा गुड्ने)हरूबीच सहज सञ्चार स्थापित गर्नुका साथै पृथ्वीमा रहेका मिसन कन्ट्रोलरहरूलाई प्रत्यक्ष डेटा र तस्बिरहरू उपलब्ध गराउनेछ ।

फेब्रुअरि २६ मा फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट स्पेस एक्सको फाल्कन-९ रकेटमा राखेर यो प्रविधि चन्द्रमासम्म पठाउने तयारी पूरा भएको नोकिया बेल ल्याब्सले जनाएको छ । पृथ्वीबाट पठाइएको प्रविधिलाई ‘एथेना’ नामक ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुपको सतहमा उतार्न र त्यहाँ जोड्न मद्दत गर्नेछ । चन्द्र सतहमा अवतरण भएपछि एउटा बक्समा रहेको सञ्चार प्रणालीलाई त्यहीँ भएको रोभरको सहायताले ल्यान्डरबाट निकालेर एक्टिभेट गर्ने तयारी नोकिया र नासाको छ ।

अहिलेका लागि नोकियाको फोर जी एलटीई नेटवर्कले १० देखि १०० एमबीपीएस डाउनलोड र ५ देखि ५० एमबीपीएस अपलोड गतिमा सञ्चार सुविधा स्थापित गर्ने कम्पनीले जनाएको छ । शुरुवाती चरणमा चन्द्रमाको दक्षिणी ध्रुवबाट पृथ्वीतर्फ फर्किएको भागमा मात्र सञ्चार सुविधा हुने नोकिया बेल ल्याब्सको बेवसाइटमा जानकारी राखिएको छ ।

नोकिया बेल ल्याब्स सोलुसन्स रिसर्चका अध्यक्ष थिएरी क्लेनले यो परियोजनाको महत्त्वबारे भनेका छन्, 'बसाइ, खानेकुरा र जीवनको सहजता जति अत्यावश्यक छ, त्यत्तिकै सञ्चार सुविधा पनि भविष्यका चन्द्रमा वा मङ्गल अभियानका लागि अत्यावश्यक हुनेछ । पृथ्वीमा अर्बौं स्मार्टफोनहरू जोड्न प्रयोग गरिने प्रविधिलाई नै अन्तरिक्षमा पनि विस्तार गर्न सकिने गरी हामी नयाँ तरिका अपनाउँदैछौं । यसले पृथ्वी र अन्तरिक्षबीचको दूरीलाई घटाउनेछ ।'

नोकियाको यो परियोजना अन्तरिक्षमा आधारित इन्टरनेट व्यवसायमा रहेको प्रतिस्पर्धात्मक दौडको पछिल्लो हिस्सा हो । यो दौडमा स्पेस एक्स, अमेजन र वानवेबजस्ता कम्पनीहरू पनि सक्रिय रूपमा लागेका छन् । यी कम्पनीहरूले पृथ्वीको दुर्गम र सञ्चार सुविधाबाट वञ्चित क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट पुर्‍याउन ‘लो अर्थ अर्बिट’मा भूउपग्रहहरू स्थापना र सञ्चालन गरिरहेका छन् । नेपालमा समेत आउन जोड गरिरहेको स्टारलिंक परियोजनाले अन्तरिक्षमा चार हजारभन्दा धेरै भूउपग्रहहरू राखेर विश्वव्यापी ब्रोडब्यान्ड नेटवर्क बनाउने लक्ष्य लिएको छ ।

चन्द्रमामा उच्च गतिको फोरजी/एलटीई नेटवर्क स्थापना गर्दा अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीसँग जोड्न सहज हुने एक्सियम स्पेसका कार्यकारी उपाध्यक्ष रसेल रल्स्टनले जीएसएमएको ‘मोबाइल वर्ल्ड लाइभ’ सँग बताएका छन् । यसले महत्वपूर्ण डेटा आदान-प्रदान सहज बनाउनुका साथै लामो दूरीसम्म उच्च-गुणस्तरको भिडियो सञ्चार सम्भव बनाउने उनको ठहर छ ।

चन्द्रमामा लामो समयसम्म बस्ने र यसलाई मंगललगायत अन्य ग्रह र चन्द्रमाहरूमा पुग्ने आधार क्षेत्र बनाउने गरी वैज्ञानिकहरूले काम गरिरहेका छन् । अमेरिका, चीनजस्ता देशहरूका लागि चन्द्रमाको सतहमा फोर जी सुविधा हुनु महत्वपूर्ण उपलब्धि हुन सक्ने रसेलको निष्कर्ष छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...