मुख्य समाचार
गाजा क्षेत्र नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी विरोध
गाजा क्षेत्र नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी विरोध

— गाजा क्षेत्र नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी विरोध भएको छ । बेलायत, फ्रान्स, रुस, चीन, अस्ट्रेलिया, साउदी अरब, इजिप्ट, टर्कीलगायत देश, प्यालेस्टाइन र प्यालेस्टिनी समूह हमासले ट्रम्पको टिप्पणीको निन्दा गरेका छन् ।


अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजा नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए ।


‘अमेरिकाले गाजापट्टी नियन्त्रणमा लिन्छ र त्यहाँ रहेका सबै खतरनाक विस्फोटक बम र अन्य हतियार नष्ट गर्नेछ,’ उनले भनेका थिए । प्यालेस्टिनी समूह हमासले ट्रम्पको प्रस्ताव अस्वीकार्य रहेको बताएको छ । ‘अमेरिकाको जातीय दृष्टिकोण हाम्रा मानिसलाई विस्थापित गर्ने र हाम्रो मुद्दा समाप्त पार्ने इजरायली अति दक्षिणपन्थी स्थितिसँग मेल खान्छ,’ हमास प्रवक्ता अब्देल लतिफ अल–कानोउद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हमासले यस्ता टिप्पणीले यस क्षेत्रको स्थिरतालाई मद्दत नमिल्ने बताएको छ । ‘यस्ता टिप्पणी हाम्रा जनता र हाम्रो उद्देश्यका लागि शत्रुतापूर्ण छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी अमेरिकी प्रशासन र राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय कानुन र प्यालेस्टिनी जनताको आफ्नो भूमिमा आधारभूत अधिकारको विरोध गर्ने यस्ता गैरजिम्मेवारपूर्ण टिप्पणीबाट पछि हट्न आह्वान गर्छौं ।’ प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले पनि विज्ञप्ति जारी गर्दै ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् । गाजाका प्यालेस्टिनीले पनि ट्रम्पको पुनर्वास योजनाको विरोध गरेका छन् ।

गत बिहीबार राष्ट्रपति ट्रम्पले युद्धविरामपछि गाजा नियन्त्रण लिने र त्यहाँका प्यालेस्टिनी बासिन्दालाई पुनः स्थापित गर्ने आफ्नो प्रस्तावको बचाउ गरेका थिए । तर उनले अमेरिकी सेना त्यस क्षेत्रमा नपठाउनेमा जोड दिए । जबकि इजरायलका रक्षामन्त्रीले मानिसलाई स्वेच्छाले गाजा छोड्न दिने योजना तयार गर्न सेनालाई आदेश दिएको घोषणा गरिसकेका छन् ।

यी घटनाले ट्रम्पको गाजापट्टी ’नियन्त्रण गर्ने’ र त्यहाँ बस्ने करिब २० लाख प्यालेस्टिनीलाई अन्यत्र सार्ने प्रस्तावमा भ्रम थपिएको छ । के र कसरी यो प्रस्ताव कार्यान्वयन हुनेछ भन्ने अझै स्पष्ट छैन । इजरायली र अमेरिकी अधिकारीले गाजाका मानिस कहाँ जाने आशा गरेका छन्, कति मानिस स्वेच्छाले छोड्ने अनुमान गरिएको छ र कसले त्यहाँ शासन र सुरक्षा गर्नेछ भन्ने प्रस्ट छैन ।

विज्ञका अनुसार कुनै पनि देशका नागरिकलाई जबरजस्ती निर्वासन वा स्थानान्तरण गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन, युद्ध अपराध र मानवताविरुद्धको अपराध हो । आलोचकले प्यालेस्टिनीलाई गाजाबाट हटाउने प्रस्तावलाई जातीय सफायासँग तुलना गरेका छन् ।




ट्रम्पको प्रस्तावलाई उनकै शीर्ष सल्लाहकारले पनि खुलेर समर्थन गरेका छैनन् । ट्रम्पका केही सहयोगीले गत बुधबार साँझ राष्ट्रपतिको विचारलाई केही नरम बनाउन खोजेका थिए । तर, सामाजिक सञ्जालमा ट्रम्पले आफ्नो अडानलाई पुनः पुष्टि गरेका थिए । ‘गाजापट्टीमा लडाइँ समाप्त भएपछि इजरायलले अमेरिकालाई हस्तान्तरण गर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसपछि प्यालेस्टिनी अझ सुरक्षित र सुन्दर समुदाय, नयाँ र आधुनिक घरमा पुनः स्थापित हुनेछन् ।’

ट्रम्पको टिप्पणीलाई मुख्य गरेर अरब मुलुकसहित विभिन्न देशले विरोध गरेका छन् । ‘गाजा खाली’ गर्ने प्रस्तावलाई साउदी अरबले ठाडै अस्वीकार गरेको छ । उसले प्यालेस्टिनी राज्य स्थापनाको मागमा अडिग रहेको र त्यसले मात्रै इजरायलसँगको सम्बन्ध सामान्य बनाउन मद्दत गर्ने बताएको छ ।

गाजाका मानिसलाई शरण दिन सक्ने राष्ट्रका रूपमा ट्रम्पले इजिप्ट र जोर्डनको नाम उल्लेख गरेका थिए । तर, ती देशले पनि प्यालेस्टिनीको ठूलो विस्थापन स्वीकार नहुने बताएका छन् । दुवै देशका अधिकारी, पत्रकार र विश्लेषकले आफ्नो घरबाट हटाइएका प्यालेस्टिनीलाई इतिहासमा पनि फर्कन नदिइएको स्मरण गराएका छन् ।

गाजा युद्धपछि दुवै देशले चिकित्सा सहायता आवश्यक भएका प्यालेस्टिनीलाई स्वीकार गरिरहेका छन् । इजिप्टले उपचार आवश्यक परेका एक लाख प्यालेस्टिनीलाई शरण दिएको छ । प्यालेस्टिनी मूलको वर्चस्व रहेको जोर्डनले गाजा युद्धका घाइतेको उपचारमा सहयोग गरिरहेको छ ।

इजिप्टको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री अब्देल आतीले कायरोमा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफासँग गर्ने क्रममा दुवै नेताले गाजाको अधिकार समाप्त गर्न खोज्ने ट्रम्पको योजनालाई अस्वीकार गरेका छन् । दुवै नेताले गाजाका भग्नावशेष हटाउन र द्रुतगतिमा मानवीय सहायता प्रदान गर्न प्रारम्भिक पुनःस्थापना परियोजना र कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ । उक्त कार्य प्यालेस्टिनीलाई गाजापट्टीबाट नहटाई गरिनुपर्ने उनीहरूको भनाइ छ ।

गाजाबाट प्यालेस्टिनीको विस्थापनमा भाग लिनु ‘नैतिक र कानुनी रूपमा भयानक’ हुने सरकार समर्थक इजिप्टियन राजनीतिक विश्लेषक अब्देल मोनेम साइद अलीले बताए । बेलायती प्रधानमन्त्री केअर स्टार्मरले इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि ‘दुई–राज्य’ स्थापनाको विकल्प नभएको दोहोर्‍याएका छन् । स्टार्मरले गाजामा हाल जारी युद्धविरामलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिएका छन् ।

‘प्यालेस्टिनीलाई घर जान दिनुपर्छ । त्यहाँ पुनर्निर्माणका लागि अनुमति दिनुपर्छ’ स्टार्मरले भनेका छन् । फ्रान्सको विदेश मन्त्रालयले पनि ‘गाजाबाट प्यालेस्टिनीको जबर्जस्ती विस्थापन’ गर्ने कदमको विपक्षमा रहेको जनाएको छ । उक्त क्षेत्रमा तेस्रो पक्षको नियन्त्रण स्वीकार नहुने फ्रान्सको भनाइ छ ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि ट्रम्पको टिप्पणीको विरोध गर्दै इजरायल–प्यालेस्टाइनको अस्तित्व नै हालको समस्याको समाधान भएको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी र चीनले पनि इजरायल–प्यालेस्टाइनको अस्तित्वलाई नै समस्या समाधानको मुख्य आधार मानेका छन् । टर्कीका विदेशमन्त्रीले प्यालेस्टिनीलाई ‘समीकरणबाट बाहिर छाड्ने’ कुनै पनि योजनाले थप द्वन्द्व निम्त्याउने बताएका छन् ।

१५ महिना लामो युद्धपछि गाजामा दुई साताअघि युद्धविराम भएको थियो । युद्धका क्रममा लाखौं विस्थापित भएका छन् भने ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् । युद्धअघि गाजामा २२ लाख मानिसको बसोबास थियो । तीमध्ये ७ लाख ७५ हजार जना रफाह र खान युनिस, देइर अल–बालाह र गाजा सहरमा बसोबास गर्दै आएका थिए । तर युद्धका क्रममा उक्त जनसंख्या विस्थापित भइसकेको छ ।

संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रम (यूएनईपी) ले युद्धका कारण ५ करोड टनभन्दा बढी फोहोर तथा भग्नावशेष थुप्रिएको र त्यसलाई सफा गर्न करिब २१ वर्ष लाग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...