मुख्य समाचार
भारतबाट गहुँ आयात गर्न ५८ कम्पनीले इच्छा
भारतबाट गहुँ आयात गर्न ५८ कम्पनीले इच्छा

— भारतबाट गहुँ आयात गर्न ५८ कम्पनीले इच्छा देखाएका छन् । व्यापारिक प्रयोजनका लागि माघ १४ मा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आवेदन खुलाएपछि ती कम्पनीले आयातका लागि आवेदन दिएका हुन् ।


विभागले पाएको कोटाअनुसार ९० हजार टनका लागि सूचना प्रकाशन गरेको थियो । इच्छुक फर्म/कम्पनीले ७ दिनभित्र विभागमा आवेदन दिइसक्नुपर्ने थियो । ‘एक साताको समय दिएका थियौं, यस अवधिमा ५८ कम्पनी इच्छुक देखिएका छन्,’ विभागका महानिर्देशक राजन पौडेलले भने, ‘सबै प्रक्रिया पूरा गरेर फागुन पहिलो साताबाटै आयात सुरु हुन्छ ।’


न्यूनतम १ सय टन र बढीमा १० हजार टनसम्म गहुँ आयात गर्न पाउने विभागले जनाएको छ । यसरी आयात गर्न फर्म वा कम्पनीको चुक्ता पुँजी कम्तीमा १ करोड रुपैयाँ बराबर हुनुपर्ने विभागको सूचनामा उल्लेख छ ।

‘वाणिज्यले पाएको कोटा ९० हजार टन भएकाले सबै कम्पनीले कम्तीमा १ सय टन आयात अनुमति पाउँछन् । सूचनामा बढीमा १० हजार टन पनि भनिएको छ, त्यसका लागि उद्योगको पुँजी, सरकारलाई बुझाएको राजस्व र आयात गर्ने सम्भावना हेरेर अनुमति दिन्छौं,’ महानिर्देशक पौडेलले भने, ‘भारतले निर्यात प्रतिबन्ध गरेको वस्तु हो, वाणिज्यले कोटा टुंगो लगाएपछि मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरेर अनुमति दिन्छौं ।’

गहुँ आयातका लागि नेसनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडलाई शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने भएकाले वित्तीय स्रोत सुनिश्चितता हुनुपर्ने जनाइएको छ । कोटा प्राप्त भएको मितिले ३ महिनाभित्र आयात गरिसक्नुपर्नेछ । भारतले निर्यात बन्देज लगाए पनि नेपाललाई वार्षिक ५० हजार टन आयातको अनुमति दिएको थियो । उक्त परिमाण अपुग भएपछि गत वर्ष ३ लाख टनको माग गरिएको थियो । भारतले ३ लाखमध्ये २ लाख टन अनुमति दिएको हो ।

२ लाख टनमध्ये वाणिज्यले ९० हजार टन आयात गर्नेछ । १ लाख टन उद्योग विभाग र १० हजार टन साल्ट ट्रेडिङले आयात गर्ने जनाइएको छ । उद्योग विभागले औद्योगिक प्रयोजन र साल्टले व्यापारिक प्रयोजनका लागि आयात गर्नेछन् । उद्योग विभागले पनि १ लाख टन आयात गर्न माघ १५ मा सूचना प्रकाशन गरिसकेको छ । उसले पनि भारतीय कम्पनी नेसनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडमार्फत आयात गर्न भनेको छ ।

‘गहुँ आयात गर्न प्रचलित कानुनअनुसार दर्ता हुनुपर्‍यो । उद्योगको वार्षिक योजनामा कच्चा पदार्थका रूपमा गहुँ प्रयोग गर्ने उल्लेख हुनुपर्नेछ,’ सूचनामा भनिएको छ, ‘एउटा उद्योगले आफ्नो स्वीकृत वार्षिक योजनाको २५ प्रतिशत नबढ्ने गरी कम्तीमा ५ सय टन आयात गर्नुपर्नेछ ।’




कम्पनीलाई अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय स्रोतको सुनिश्चतता भएको आधार पनि पेस गर्नुपर्ने जनाइएको छ । कोटा प्राप्त भएपछि ३ महिनाभित्र गहुँ आयात गरिसक्नुपर्ने उल्लेख छ । भारतले २०७९ वैशाखमा गहुँ निर्यातमा रोक लगाएको थियो । रुस–युक्रेन द्वन्द्वका कारण ‘ब्ल्याक सी’ क्षेत्रबाट हुने ढुवानी घटेपछि विश्वभरका खरिदकर्ताले भारतबाट गहुँ किन्न खोजिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । भारतले पनि खाद्य सुरक्षालाई ध्यानमा राखेर निर्यात बन्देज गरेको हो ।

भारतले बन्देज गरेपछि त्यसको असर बजार मूल्यमा परेको छ । खुद्रा व्यापार संघका अनुसार २०७८ फागुनमा गहुँको मूल्य ५० र मौदा ५५ रुपैयाँ थियो । २०७८ चैतमा मूल्य बढेर गहुँ प्रतिकिलो ५५ र मैदा ६० रुपैयाँ पुग्यो । २०८१ माघमा आइपुग्दा गहुँको मूल्य बढेर ७५ रुपैयाँ र ९० रुपैयाँसम्म पुगेको छ । बजारमूल्य नियन्त्रण गर्न सरकारले भारतसँग गहुँ माग गरेको थियो । भारतले २ लाख टन दिने जनाएपछि वाणिज्य र उद्योग विभागले गहुँ आयात गर्न आवेदन खुलाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ । उपभोक्ता संरक्षण ऐन, ०७५ तथा उपभोक्ता ...
: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.१७८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाखको १०. १७८ प्रतिशतका दरले हुने रकम ५१ करोड ४ लाख १८ हजारबराबरको नगद लाभांश वितरण गर्ने भएको हो । इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा बिहीबार रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न भयो । साधारणसभामा ...
। गत भदौ २३ र २४ गतेको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरण गर्ने ४ उद्योगलाई जरिबाना तिराएको छ । बुधबार अनुगमनका क्रममा विभागले ४ प्लास्टिक उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । सरकारले वातावरण प्रदूषण न्यूनीकरणका लागि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको उत्पादन तथा प्रयोगमा प्रतिबन्ध लगाएको भए ...
: झापाको सदरमुकाम भद्रपुरमा ९ वर्षपछि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। झापा जिल्लाका आम उद्योगी–व्यवसायीहरूको साझा संस्था झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको संरक्षणमा आगामी माघ ७ गतेदेखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशाला (फुटबल मैदानबाहेक) क्षेत्रमा महोत्सव हुन लागेको हो। २०७३ फागुन १२ गते पहिलो पटक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम