मुख्य समाचार
अमेरिकामा काम गर्दै पढ्दै गरेका नेपाली विद्यार्थी ससंकित
अमेरिकामा काम गर्दै पढ्दै गरेका नेपाली विद्यार्थी ससंकित

: १९ वर्षीया मुना खनाल (नाम परिवर्तन) टेक्ससको अर्भिङस्थित एक रेष्टुरेन्टमा काम गर्थिन्। बुधबारबाट काम छोडेकी छिन्। नर्थ लेक कलेजमा अध्ययनरत उनले अब काममा नआउने जानकारी रेष्टुरेन्ट सञ्चालकलाई गराइसकेकी छिन्। किनभने, आप्रवासीमाथि धरपकड र देश निष्कासन गर्ने काम तीव्र पारिएपछि खनालले रेष्टुरेन्टको काम छोडेकी हुन्।


अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले जारी गरिरहेका अवैध आप्रवासी लक्षित विभिन्न कार्यकारी आदेशपछि अमेरिकी सरकारको अध्यागमन तथा भन्सार कार्यान्वयन विभागले अवैध रूपमा बसोबास गरिरहेकाहरूको खोजी तीव्र पारेको छ। अवैध आप्रवासीलाई पक्राउ गरी अमेरिकाबाट निष्कासनको प्रक्रिया पनि अघि बढाइएको छ।

राष्ट्रपतिका पछिल्ला कार्यकारी आदेश र ती आदेश कार्यान्वयन भइरहँदा त्यसले मुख्यतः अवैध रूपमा बसोबास गरेकाहरू प्रभावित भइरहेका छन्। अध्ययन भिसामा रहेकाहरूले नियमानुसार निश्चित घण्टा र निश्चित स्थानमा काम गर्न त पाउँछन। तर, रेष्टुरेन्ट, स्टोर, सपिङ सेन्टरहरूमा वैध रूपमा काम गर्न पाउँदैनन्। रेष्टुरेन्टमा पनि यहाँको प्रहरी प्रशासनले छापा हान्यो भने समस्यामा परिन्छ कि भनेर आफूले काम छाडेको खनालले सुनाइन्।




पछिल्लो समय अमेरिकाका विभिन्न राज्य र सहरहरूसँगै टेक्ससको डलास, फोटवर्थ, प्लानो, अर्भिङ, आर्लिङटन लगायतका सहरमा पनि प्रहरी प्रशासनले अवैध रूपमा बसोबास गरिरहेकाहरूको खोजी गर्दै पक्राउ गर्ने क्रम बढाएको छ। हालसम्म पक्राउ परेकाहरू विभिन्न अपराधमा संलग्न भएकाहरू, स्थायी बसोबास गर्न अनुमति नदिने गरी अदालतले अन्तिम फैसला गरिसकेकाहरू, वैधानिक कागजातविहीनहरू छन्।

उनीहरूलाई पक्राउ गरी अमेरिकाबाट निष्कासन गर्दै सम्बन्धित देशमा नै पठाउने काम अध्यागमन विभागले गरिरहेको छ। हालसम्म अवैध रूपमा बसिरहेकाहरू निशानामा परे पनि विद्यार्थीहरू पनि त्रसित छन्।

खनाल जस्तै टेक्ससकै प्लानोमा स्मोक सपमा काम गर्दै आएकी २२ वर्षीया हरसीता यादव (नाम परिवर्तन) ले पनि आफूले काम छाडेको बताइन्। उनी त्यहाँ करिब ८ महिनादेखि काम गर्दै आएकी थिइन्। युनिभर्सिटी अफ नर्थ डलासमा अध्ययनरत हरसीताले आफूले केही हुने हो कि भनेर स्मोक सपका सञ्चालकलाई काम गर्न असमर्थता जनाएको सुनाइन्।

कामको आवश्यकता परे पनि त्रासले कामलाई निरन्तरता दिन गाह्रो भएको विद्यार्थीहरूको भनाइ छ। तर, बिना काम अध्ययन गर्न र बस्नका लागि विद्यार्थीलाई अप्ठ्यारो त परेकै छ। र, पनि, अर्को विकल्प नभएकाले अध्ययनमा मात्रै केन्द्रित भएर बस्ने योजना रहेको खनालले सुनाइन्। खनाल र यादवले काम छाडिरहँदा नर्थ लेकमै अध्ययनरत २० वर्षीया ईशा मैनाली (नाम परिवर्तन) लाई भने उनले काम गर्दै आएको ग्रान्डपेरीमा रहेको सेभेन इलेभनको व्यवस्थापनले काममा नआउन जानकारी गराइसकेको छ।

अवस्था ठीक नभएको भन्दै १५÷२० दिन काममा नआउन आफूलाई सञ्चालकले आग्रह गरेको उनले बताइन्।

खनाल, यादव र मैनाली जस्ता धेरै नेपाली विद्यार्थीहरू अध्ययनको सिलसिलामा डलास÷फोर्टवर्थ वरपर बसोबास गर्छन्। टेक्सस राज्य र अझ त्यसमा पनि डलास÷फोर्ट वर्थ क्षेत्र बाक्लो नेपाली समुदाय रहेको स्थान हो। यहाँ धेरै गैरआवासीय नेपालीका व्यवसाय छन्। अमेरिकाका अन्य राज्यभन्दा तुलनात्मक रूपमा बस्नका लागि सस्तो र व्यवसायमा संलग्न नेपालीको संख्या पनि उल्लेख्य रहेकाले टेक्ससमा नेपाली विद्यार्थीलाई काम पाउन सहज हुन्छ। त्यसैकारण सिधै टेक्ससका युनिभर्सिटीहरूमा नेपालबाट आउने र अन्य राज्यका युनिभर्सिटीहरूमा आए पनि ट्रान्सफर हुन योग्य भएपछि टेक्ससका युनिभर्सिटीहरूमा ट्रान्सफर लिने विद्यार्थीको संख्या ठूलो छ।

युनिभर्सिटीमा अध्ययन महँगो पर्ने हुँदा कम्युनिटी कलेजहरूमा जाने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या पनि उत्तिकै छ। विगतमा प्राप्त हुने कामभन्दा विद्यार्थीको संख्या धेरै भएकाले धेरै विद्यार्थी कामविहीन रहेको अवस्था थियो, अहिले पनि त्यो अवस्था यथावत् नै छ। केही दिनअघिसम्म कामका लागि सम्पर्कमा आउने विद्यार्थीहरूको फोन कल उठाउने गर्दै आए पनि अहिले भने यहाँ व्यवसाय सञ्चालन गरिरहेका गैरआवासीय नेपालीहरूलाई विद्यार्थीले संशययुक्त प्रश्न गरिरहेका छन्।

नेपाली सम्बद्व संघसंस्थाहरूमा पनि विद्यार्थीहरूले सम्पर्क बढाइरहेका छन्। विभिन्न तरिकाले विद्यार्थी र स्थायी कागजात नभएकाहरूले पनि सम्पर्क गरिरहेको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले बताए। ‘विद्यार्थीहरूले चासो लिइरहेका छन्, उनीहरू अलि त्रसित देखिएका छन्,’ अध्यक्ष वाग्लेले भने, ‘हामीले नियम र कानुनले दिएको कुरा गर्नु आफ्नो ख्याल राख्नु भनेका छौं, केहीपरे सम्पर्क गर्नुहोस् भनेका छौं।’

उता, मेरिल्यान्डमा रहेको बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिकाका अध्यक्ष सुवोध विलास पन्तले धेरै विद्यार्थीहरूले काम छाडिरहेको जानकारी दिए। विद्यार्थीहरूले आफैं पनि काम छाडेको कुराहरू आइरहेको छ। उनले भने यसमा हामीले गर्ने केही हुँदैन, दुःख पाए सम्पर्क गर्न आग्रह गरेका छौं। पन्तले आफ्नो संस्थाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अप्ठ्यारो परेको खण्डमा आकस्मिक कोषमा ७ हजार छुट्ट्याइएको जनाए।

अमेरिकाका अन्य सहरहरूबाट पनि विद्यार्थीहरूले चासो राख्दै सम्पर्क गरिरहेको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वयपरिषद् अमेरिकाका युवा उपाध्यक्ष अनुप खनालले बताए। अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा नेपाली विद्यार्थीको एकिन तथ्यांक नभए पनि केही वर्षदेखि नेपालबाट आउने विद्यार्थीको संख्यामा भएको बढोत्तरीले यो संख्या ठूलो रहेको बताइन्छ।

‘सजग हुनु नै बुद्धिमता हो, त्यसैले सम्पर्कमा आएका विद्यार्थीलाई त्यही सुझाव दिइरहेका छौं,’ युवा उपाध्यक्ष खनालले भने, ‘पाएसम्म कलेजमै काम गर्न सुझाएका छौं।’ वाग्ले, पन्त र खनालले यहाँ रहेका विद्यार्थीका नेपालमा रहेका अभिभावकलाई पनि अहिले आफ्ना बालबच्चालाई काममा जानभन्दा नेपालबाट नै वा यही रहेका आफन्तमार्फत यहाँ अध्ययन र बस्नका लागि आवश्यक पर्ने प्रबन्ध मिलाउनका लागि सुझाएका छन्।

अहिले पर्ख र हेरको अवस्था : एर्टोनी भट्ट

लामो समयदेखि अमेरिकामा अध्यागमन कानुनका क्षेत्रमा काम गर्दै आएका एर्टोनी डिल्लिराज भट्ट अहिले आप्रवासीका लागि पर्ख र हेरको अवस्था रहेको बताउँछन्।

‘अहिले जे जस्तो भइरहेको छ, यो अवैध आप्रवासीलाई नियन्त्रण र निष्कासन गर्ने सवालमा केन्द्रित छ, त्यसैले डकुमेन्ट भएकाहरू आत्तिहाल्नुपर्ने अवस्था छैन,’ भट्टले भने, ‘तर जसरी प्रक्रियाहरू अगाडि बढिरहेको छ यसले अब आप्रवासन नीतिहरू कस्ता बन्लान् वा भएका नीतिहरू कसरी परिवर्तन होलान भनेर डर पैदा गरेको अवस्था हो। सचेततापूर्वक गतिविधिहरूलाई नियाल्नु आवश्यक छ। कानुनले नदिएका गतिविधि गर्ने त कुरै आउँदैन।’

विगतमा पनि कार्यकारी आदेशहरू जारी भए पनि कार्यान्वयन यो रूपमा नभएको उनको भनाइ छ। ‘अहिले त कार्यकारी आदेशहरू जारी भएसँगै त्यसको कार्यान्वयनका लागि विभाग तथा निकायहरूले समेत समयसीमा नै तोकेर आफ्ना नीतिहरूसमेत परिवर्तन गरेका छन्,’ उनले भने।

राष्ट्रपति डोनाल्ड जे ट्रम्पले चुनावी अभियानका क्रममा भएका सभाहरूमा गरेका सम्बोधन र उनको घोषणापत्रमा उल्लेख गरेका आप्रवासीका सम्बन्धका निति अनुरूप नै कार्यकारी आदेशहरू आईरहेको प्रष्ट देखिएको भट्टको धारणा छ। राष्ट्रपति ट्रम्पको पछिल्लो कार्यकारी आदेश अवैध आप्रवासीको निस्कासनमा केन्द्रीत रहेको र यसको कार्यान्वयनसँगैं १ हजार ३ सय ६५ नेपाली निस्कासनमा पर्नेछन्।

तत्काललाई अवैध आप्रवासीको निष्कासन प्रमुख मुद्दा बने पनि ट्रम्प प्रशासन आप्रवासीका सन्दर्भमा कडा रूपमा प्रस्तुत हुँदै चरणबद्व रूपमा नियम परिवर्तन र कानुन निर्माण गरेर अघि बढ्ने संभावना पनि उत्तिकैं देखिएको एर्टोनी भट्टको धारणा छ।

‘आप्रवासन कानुन सम्बन्धमा वहाल रहेको नीति नियममा परिवर्तन गरेर अप्ठ्यारा र कठिनाइ पर्ने खालका प्रावधानहरू राख्ने संभावना बढेर गएको छ,’ एर्टोनी भट्टले भने, ‘यदि कोही अमेरिकामा रहेर पनि स्टाटस परिवर्तन वा स्थायी अनुमतिका लागि प्रक्रिया अगाडि बढाएको छैन भने अब कुरेर बस्नेभन्दा प्रक्रिया अगाडि बढाउँदा उत्तम हुन्छ।’ अहिले अमेरिकाको दुवै संसद्मा समेत राष्ट्रपति ट्रम्पको दलको बहुमत रहेकाले कानुन परिवर्तन, कार्यकारी आदेशको कार्यान्वयन र नयाँ कानुनको निर्माणमा समेत राष्ट्रपतिलाई सहजता रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको पहिचान गरिएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ। आइडीएफका अनुसार बिपिन जोशीलाई युद्धको पहिलो केही महिनामै हत्या भएको अनुमान गरिएको छ। गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए ...
। हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत धनप्रसाद पण्डितले अनलाइनखबरसँग भने, ‘हमासले विपिन जोशीको भनेर बुझाएको शव ...
। नेपालका लागि इजरायली पूर्वराजदूत हानान गोदारले विपिन जोशीलाई ‘ऊर्जावान र क्षमतावान’ युवा भनेर स्मरण गरेका छन् । हमास विद्रोहीबाट मारिएका जोशीसँगको भेटको तस्वीर सार्वजनिक गर्दै गोदारले विपिनलाई सधैं सम्झिरहने पनि बताएका छन् । लर्न एण्ड अर्न कार्यक्रमका लागि विपिन इजरायल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्दाको तस्वीर फेसबुकमा पोष्ट गर्दै पूर्वराजदूत गोदारले सामाजिक सन्जालमा लेखेका ...
। छोरीहरूको उज्ज्वल भविष्य बनाउन रौतहट देवाही गोनाही नगरपालिका–८ का ३५ वर्षीय उत्तिम महतो वैदेशिक रोजगारीका लागि मलेसिया गएको एक दशक भएको थियो । दशक लामो अवधि मलेसिया बसेर सन् २०१९ मा नेपाल फर्किएका थिए । परिवारको आर्थिक जिम्मेवारी बोकेका उनी ५ छोरीहरूको भविष्य बनाउने सपना लिएर मलेसिया गएका उनको त्यो सपना अधुरै रह्यो । १ ...
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...