मुख्य समाचार
अमेरिकाको वासिङ्टन डीसीमा हवाई दुर्घटनामा कम्तीमा ६७ जनाको मृत्यु
अमेरिकाको वासिङ्टन डीसीमा हवाई दुर्घटनामा कम्तीमा ६७ जनाको मृत्यु

— अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा कम्तीमा ६७ जनाको ज्यान गएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो ।

६० जना यात्रु र चालक दलका ४ सदस्यसहित कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको विमान ‘धावनमार्ग–३३’ मा अवतरण गर्ने क्रममा अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोकिएको हो । तीन सैनिक सवार सेनाको सिकोर्स्की ‘ब्ल्याक हक’ हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको सैनिक अधिकारीलाई उद्धृत गर्दै बताइएको छ । विमान र हेलिकोप्टरमा रहेका सबैको मृत्यु भएको अमेरिकी सञ्चार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।

अधिकारीहरूले अँध्यारो, तीव्र वेगको हुरी र चिसोका कारण उद्धार कार्य प्रभावित भएको जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले वासिङ्टन डीसीका आगलागी तथा आपत्कालीन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरलाई उद्धृत गर्दै दुर्घटनामा कुनै पनि यात्रु जीवितै भेटिने सम्भावना नरहेको बताएका थिए ।

घटनास्थलको तापक्रम निकै कम भएको र रातको समय भएकाले उद्धारमा निकै कठिनाइ भएको डोनेलीको भनाइ छ । उनका अनुसार उद्धार कार्यमा करिब ३ सय आपत्कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाएको छ ।

फिगर स्केटिङको अमेरिकी नियामक निकाय ‘यूएस फिगर स्केटिङ’ का अनुसार विमानमा केही स्केटिङ खेलाडी, प्रशिक्षक र तिनका आफन्तहरूले यात्रा गरिरहेका थिए । उनीहरू विचिटामा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहेका थिए ।

रुसी समाचार संस्था टीएएसएसका अनुसार विमानमा रुसका दुई जना फिगर स्केटर र प्रशिक्षक पनि थिए ।

अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए) का अनुसार स्थानीय समयानुसार बुधबार बेलुकी ९ बजेतिर अवतरणको तयारीमा रहेको पीएसएको विमान हेलिकोप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको हो । हेलिकोप्टरसँग ठोकिएपछ विमान दुई टुक्रा भएर नदीमा खसेको थियो । दुर्घटनामा परेको हेलिकोप्टर सग्लो रहेको तर नदीमा उत्तानो परेको स्थानीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

विमानसँग ठोकिएको हेलिकोप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो । अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । अनुसन्धानमा संघीय जाँच ब्युरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाएको छ । दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको र त्यहाँ आउन लागेका विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ ।

सीएनएनका अनुसार दुर्घटना हुनुभन्दा केही समयअघि रोनाल्ड रेगन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले सेनाको हेलिकोप्टरलाई अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान देखिएको छ कि छैन भनेर प्रश्न गरेका थिए । एयर ट्राफिक कन्ट्रोलले हेलिकोप्टरलाई पुनः चेतावनी दिएको थियो ।

एयर ट्राफिक कन्ट्रोलले दिएको चेतावनीपछि हेलिकोप्टर चालकले कुनै प्रतिक्रिया नदिएको र त्यसको केही सेकेन्डमै हेलिकोप्टर र विमान ठोकिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भयानक दुर्घटनाबारे आफूलाई तत्काल जानकारी दिइएको र आपत्कालीन उद्धार कार्यको प्रशंसा गरेका छन् । ‘मैले परिस्थितिको निगरानी गरिरहेको छु र थप जानकारी आएपछि विवरण उपलब्ध गराउनेछु,’ उनले भनेका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले दुर्घटना टार्न सकिने खालको थियो भन्दै कसरी त्यसो हुन गयो भनेर प्रश्न गरेका छन् । अमेरिकी यातायातमन्त्री सिन डफीले पनि दुर्घटना टार्न सकिने खालको भएको बताएका छन् । ‘हामी विस्तृत जानकारीको पर्खाइमा छौं । तर मैले अहिलेसम्म के देखेको छु भने यो दुर्घटना रोक्न सकिने खालको थियो,’ डफीले भनेका छन् ।

अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसएको ५३४२ जहाजको चालक दलमा निकै अनुभवी सदस्यहरू रहेको जनाइएको छ । ‘विमानका दुई पाइलटहरू जटिल व्यावसायिक उडानका लागि नयाँ थिएनन्,’ अमेरिकन एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोबर्ट इसोमले भने, ‘उनीहरू निकै अनुभवी पाइलटहरू हुन् ।’

बिहीबारको विमान दुर्घटना अमेरिकामा डेढ दशकयता व्यावसायिक उडानमा भएको सबैभन्दा ठूलो हो । सन् २००९ को फेब्रुअरीमा न्युजर्सीको नेवार्कबाट उडेको कन्टिनेन्टल एयरलाइन्सको यात्रुवाहक विमान न्युयोर्कस्थित बफेलो विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो ।

सन् २००९ को जनवरी १५ मा न्युयोर्कको लाग्वार्डिआ विमानस्थलबाट उडेको यूएस एयरवेजको एयरबस ए–३२० चराहरूको बथानसँग ठोकिएपछि दुइटै इन्जिनमा समस्या आएको थियो । त्यसलगत्तै चालकले विमानलाई नजिकैको हड्सन नदीमा आकस्मिक अवतरण गराएका थिए ।

उक्त घटनामा विमानमा सवार १ सय ५५ जनाको ज्यान जोगिएको थियो । त्यस्तै, सन् २००१ को नोभेम्बरमा अमेरिकन एयरलाइन्सको विमान न्युयोर्कस्थित जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको थियो । डोमिनिकन रिपब्लिकको सान्टो डोमिनिगोका लागि उडेको विमान दुर्घटनामा २ सय ६५ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...