मुख्य समाचार
रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली
रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली

— भारत महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन् । तीमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुईको ठेगाना बिहीबार साँझसम्म खुलिसकेको छैन ।


मृत्यु हुनेमध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी छन् । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छिन् । यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।


घटनास्थलमा रहेकी पत्रकार ललिता मलाती सिंहका अनुसार घाइते अछाम मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।

महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेलबाट हाम फालेका थिए । रेलवे अधिकारीका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पांग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका थिए । त्यस क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो ।

कलबजार–४ चाल्साकी ६० वर्षीया जयकला भारतमा बस्ने छोराबुहारीले उपचारका लागि बोलाएपछि आइतबार अछामबाट महाराष्ट्रका लागि गएकी थिइन् । पञ्चदेवल विनायक नगरपालिका–४ का नन्दाराम उनका माइतीतिरका नातेदार हुन् । उनै नन्दारामको साथ लागेर छोराबुहारी र नाति भेट्न गएकी जयकला बुधबार रेल दुर्घटनामा परिन् ।

५ छोरा र ४ छोरी भएकी जयकला वर्षौंदेखि पेट दुख्ने समस्याले पीडित थिइन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न पाएकी थिइनन् । एक बुहारी र एक नाति अछाममा छन् भने उनका बाँकी सबै सन्तान रोजगारीका लागि भारतका विभिन्न ठाउँमा छरिएर बसेका छन् ।

छोराबुहारी र छोरीज्वाइँसँग उनको भेट नभएको करिब ५ वर्ष भइसकेको थियो । एकातिर सन्तान भेट्ने इच्छा र अर्कोतिर वर्षौंदेखि सताइरहेको रोगको उपचार गर्न भनेर हिँडेकी जयकला गन्तव्यमा भने पुग्न सकिनन् ।




घटनास्थल पुगेका ज्वाइँ राजु विश्वकर्माका अनुसार बिहीबार साँझ जयकलाको शव परिवारले बुझेको छ । ‘छोराहरू कोही महाराष्ट्रमा टाढाका सहरमा छन्, कोही हिमाञ्चल प्रदेशबाट आउँदै छन्, म घटनास्थल आइपुगेको छु,’ राजुले फोनमा भने, ‘यतै उपचार गर्ने, ५/६ महिना बसेर सबै सन्तानसँग भेट्ने भनेर आउनुभएको थियो, सन्तानको मुखसमेत हेर्न पाउनुभएन ।’ सबै परिवार जम्मा भएर महाराष्ट्रको भिउन्डीमा दाहसंस्कार गर्नेबारे छलफल भइरहेको उनले बताए ।

कैलाली मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारीले ९ वर्षअघि श्रीमान् गुमाएकी थिइन् । त्यसपछि छोराछोरीको पालनापोषणको जिम्मेवारी उनीमाथि थपियो । छोराछोरी र परिवारको खर्च धान्न सक्ने अवस्था भएन । गाउँका मान्छेको भरोसामा श्रीमान्को मृत्यु भएको केही समयपछि उनी भारतको महाराष्ट्रमा कामको खोजीमा गइन् । त्यसयता उनले भारतमा बेबी केयरको काम गर्दै छोराछोरी पढाइन् ।

यतिखेर कान्छा छोराबुहारी काठमाडौंमा जागिर गर्दै पढिरहेका छन् । जेठा छोरा तपेन्द्र नेपाल र भारत दुवै देशमा सामान सप्लाई गर्ने एक कम्पनीमा काम गरिरहेका छन् । आफन्त भेटेर उही कर्मभूमिमा फर्कने क्रममा उनी रेल दुर्घनामा परेकी हुन् ।

‘एक महिना अघि हजुरबुबाको मृत्यु भयो, आमा काजकिरियाका लागि घर जानुभयो । सबै काम सकेपछि कान्छा छोराबुहारीलाई पनि भेट्न भनेर काठमाडौं पनि पुग्नुभएको थियो,’ घटनास्थल जलगाउँबाट कान्तिपुरको सम्पर्कमा आएका छोरा तपेन्द्रले भने, ‘काठमाडौंमा सबै परिवार भेटेर त्यतैबाट नेपालगन्ज जानुभयो । रुपैडिया हुँदै लखनउबाट रेल चढेर आउन लाग्नुभएको थियो । एक बजेतिर आमासँग अन्तिम पटक कुरा पनि भएको थियो । ५ बजे रेल दुर्घटनामा पर्नुभयो ।’

वर्षौंसम्म अर्काको देशमा दुःख गरेर सन्तान हुर्काएकी कमला केही समय काम गरेर नेपालमा आफ्नै छोराबुहारीसँग बस्न चाहन्थिन् । ‘बुबा बितेपछि हामीलाई पढाउन हुर्काउन आमा परदेशी हुनुभयो । महिला मान्छे अर्काको देशमा काम गर्न आउनु सजिलो पक्कै थिएन । अब त आमालाई सुखमा राखौंला भन्ने सोचेका थियौँ,’ तपेन्द्रले भने ।

श्रीमती र छोरासहित ज्यान गुमाएका नन्दारामका माइला दाजु पैला विकको पनि एक वर्षअघि काम गर्दागर्दै ४६ वर्षको उमेरमा भारतमै मृत्यु भएको थियो । जेठा दाजु बृकिसे विक पनि भारतमै लामो समयसम्म बिरामी भइरहे । रोग पत्ता नलागेपछि बिरामी अवस्थामा भारतबाट फर्केका उनको घरमा मृत्यु भएको थियो । ५ वर्षमा लगातार विक परिवारले ५ सदस्य गुमाइसकेको छ ।

भाइ दशरथ विकका अनुसार नन्दाराम श्रीमती र छोरालाई लिन भारतबाट नेपालगन्जसम्म आएका थिए । अछामबाट करिब १२ जनाको साथमा नन्दारामकी श्रीमती मैसरा छोरालाई लिएर नेपालगन्जसम्म झरेकी थिइन् ।

‘सोमबार भाउजूसहित १२ जना अछामबाट भारत जाने भनेर गएका हुन् । लामो बाटोमा बच्चासँग यात्रा गर्न गाह्रो हुन्छ भनेर दाजु नेपालगन्जसम्मैं लिन आउनुभएको थियो,’ दशरथले भने, ‘दाजुको परिवारका तीन जना र अर्की कमला भाउजूका दुई छोराछारी गरी ६ जना पुष्पक रेलमा चढेर महाराष्ट्र लागेका थिए भने अरू गुजरात जान अर्को रेलमा चढेका थिए ।’ नन्दारामको परिवारबाहेक अरूलाई केही नभएको उनले बताए ।

नन्दारामका एक छोरा सुर्खेतमा पढिरहेका छन् भने अरू छोरा कामको खोजीमा भारतमै रहेको उनले बताए । घटनास्थलमा रहेकी पत्रकार सिंहका अनुसार रेलवे विभागले तत्काल मृतकका परिवारलाई १ लाख ५० हजार र राज्य सरकारले ५ लाख भारु दिने घोषणा गरेको छ ।

दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले घटनालगत्तै भारतीय अधिकारीसँग दूतावास सम्पर्कमा रहेको बताए । घटनामा ज्यान गुमाएका व्यक्तिको शवलाई उनको परिवारसम्म पुर्‍याउने कामका लागि समन्वय भइरहेको जानकारी उनले दिए । भारतीय अधिकारीले शवलाई परिवारसम्म पुर्‍याउने आफ्नो जिम्मेवारी रहेको बताएको दूतावासमा कन्सुलर रहेका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले बताए ।

‘घटना हुँदा सुरुमा ४ नेपालीको मृत्यु भएको सूचना आएको थियो, पछि त्यो संख्या ७ पुगेको जानकारी आएको छ,’ कन्सुलर शर्माले भने ‘भारत सरकारले घोषणा गरेको मृतकका परिवारलाई दिने भनिएको क्षतिपूर्ति नेपाली पीडित परिवारले पनि पाउनुपर्ने विषयमा दूतावासले पहल गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...