मुख्य समाचार
एमबीबीएस र बीडीएसको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा झन्डै ६८ प्रतिशत परीक्षार्थी फेल
एमबीबीएस र बीडीएसको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा झन्डै ६८ प्रतिशत परीक्षार्थी फेल

: चिकित्सा शिक्षामा स्नातक तह एमबीबीएस र बीडीएसको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा झन्डै ६८ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।


नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा सहभागीमध्ये दुईतिहाइभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । मंगलबार र बुधबार चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा भएको थियो ।

काउन्सिलका रजिष्ट्रार डा.सतिसकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८ सय ४४ जना परीक्षामा सहभागी थिए । जसमध्ये २ सय ६२ जना (३१ दशमलव शून्य ४ प्रतिशत) मात्र उत्तीर्ण भएका छन् । कुल ५ सय ८२ जना (६८ दशमलव ९६ प्रतिशत) अनुत्तीर्ण भएको काउन्सिलले जनाएको छ । एमबीबीएसतर्फ ६७ दशमलव ९९ र बीडीएसतर्फ ७६ दशमलव ९२ प्रतिशत परीक्षार्थी लाइसेन्सिङ परीक्षामा अनुत्तीर्ण भएका छन् ।




मेडिकलतर्फ ७ सय ७० जनाले लाइसेन्सिङ परीक्षामा फारम भरेका थिए । जसमध्ये १७ जना अनुपस्थित थिए । ७ सय ५३ जनाले परीक्षामा सहभागिता जनाउँदा २ सय ४१ जना (३२ दशमलव शून्य १ प्रतिशत) मात्र उत्तीर्ण भए । मेडिकलतर्फ ७ जनाको नतिजा रोकिएको छ । ५ सय १२ जना अनुत्तीर्ण भएका छन् ।

डेन्टल (बीडीएस) तर्फ ९१ जना परीक्षामा सहभागी भएकोमा २१ जना मात्र (२३ दशमलव ०८ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्। ७० जना परीक्षार्थी असफल भएका छन्। परीक्षामा सहभागीमध्ये अधिकांश विद्यार्थी अनुत्तीर्ण हँुदा मेडिकल र डेन्टल कलेजको शैक्षिक गुणस्तर कमजोर रहेको पुष्टि भएको छ।

विद्यार्थीसँगै प्राध्यापक, मेडिकल कलेज सञ्चालक, नियमनकारी निकायमा रहेका पदाधिकारीका लागि समेत लाजमर्दो विषय भएको चिकित्सा शिक्षाका अभियन्ताहरू बताउँछन्। किन फेल भए ?

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसालका अनुसार, विगतमा पटक–पटक परीक्षामा सहभागी भएका पुराना परीक्षार्थीहरू यसपटक पनि लाइसेन्सिङ परीक्षामा असफल भएका छन्। लाइसेन्सिङ परीक्षामा उत्तीर्ण नभएसम्म सहभागी हुन पाइन्छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की नेपालबाहिर पढेर आएका विद्यार्थीहरू बढी फेल भएको हुन सक्ने बताउँछन्। ‘चिकित्सा शिक्षामा गरिएको लगानी सही छ÷छैन ? राज्यसँगै अभिभावकहरूले पनि गम्भीर हुनुपर्ने अवस्था आइसकेको छ,’ डा. कार्की भन्छन्, ‘लाइसेन्सिङ परीक्षामा पटक—पटक असफल हुनेलाई के गर्ने ? यो चिन्ताको विषय हो।’ लाइसेन्सिङ परीक्षामा असफल हुनेहरूमा कहाँ र कुन मेडिकल÷डेन्टल कलेजमा अध्ययन गरेका विद्यार्थीहरू हुन् भन्ने यकिन विवरण काउन्सिलसँग नभएको डा. भुसालले जानकारी दिए।

चिकित्सा शिक्षाका प्राध्यापकहरूका अनुसार, अभिभावकको दबाबमा चिकित्सा पढेका औसत विद्यार्थीहरू लाइसेन्सिङ परीक्षामा असफल हुने गरेको पाइएको छ। परीक्षामा प्रश्नपत्र प्राध्यापक एवं सहप्राध्यापकले बनाउँछन्। पाठ्यक्रमबाट वस्तुगत प्रश्न सोध्ने गरिएको काउन्सिलका पदाधिकारीहरूको भनाइ छ। ५० प्रतिशत प्रश्न मिलाएमा परीक्षामा उत्तीर्ण हुन्छन्।

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्वडिन प्रा.डा. जगदीश अग्रवाल औसत विद्यार्थीहरू पनि चिकित्सा शिक्षा अध्ययन गरिरहेको बताउँछन्। ‘ चिकित्सा शिक्षा पढ्न रुचिसहित योग्य छ ÷छैन मतलवै नगरी अभिभावकहरू सन्तानलाई डाक्टर बनाउन लागिपरेका छन्,’ प्राडा अग्रवाल भन्छन्, ‘कमजोर विद्यार्थीलाई पनि भर्ना गर्दाको परिणाम लाइसेन्स परीक्षामा देखिँदै छ।’ एमबीबीएस या बीडीएस पास गरेपछि डाक्टरका रूपमा काम गर्न लाइसेन्स लिनुपर्छ। तर, धेरै जना लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने गरेका छन्। कतिपय त पटक–पटक परीक्षा लेख्दा पनि उत्तीर्ण हुँदैनन्। यसले हाम्रो मेडिकल (चिकित्सा) शिक्षाको कमजोर अवस्था देखाउँछ।

काउन्सिलका अध्यक्ष प्राडा भुसालका अनुसार, पटक–पटक लाइसेन्सिङ परीक्षामा दिंदा पनि असफल भएका परीक्षार्थीलाई के गर्ने ? भन्ने विषयमा गम्भीर हुनुपर्ने बेला भएको छ। लाइसेन्स प्राप्त नगर्दासम्म एमबीबीएस(बीडीएस पढेका व्यक्तिको योग्यता प्लस टु सरह हुन्छ।

‘जति पटक दिँदा पनि असफल हुने विद्यार्थीलाई के गर्ने ? भन्ने सम्बन्धमा सरोकारवाला निकायहरूले गम्भीररुपमा छलफल गर्नु पर्ने बेला भएको छ,’ डा. भुसाल भन्छन, ‘विद्यार्थीहरूलाई छनौट गर्दा कमीकमजोरी भयो कि ? पठन–पाठनमा कमीकमजोरी हो कि ? यसमा सरोकारवालाहरूले समिक्षा गर्नुपर्ने बेला भएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन उनको दुरबिन ...
। जनकपुरधामस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटना एक लाख रुपैयाँमा मिलापत्र गरिएको छ । वैशाख १६ गते पित्तथैलीको शल्यक्रिया गराएकी महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनीदेवी पासवानको शुक्रबार बिहान मृत्यु भएको थियो । मृतक परिवारका अनुसार शल्यक्रियावापत बुझाएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ ...
। जनकपुरधामको निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो । १६ गते साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको उनको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ...
: अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयका अनुसार केही व्यक्तिहरूले अस्पताल परिसरमा स्वीकृति विना प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो-भिडियो खिच्ने, ...
: विराटनगरस्थित कोशी अस्पतालले सरकारको निर्देशन अवज्ञा गर्दा शुक्रबार उपचारका लागि पुगेका दर्जनौं बिरामी निराश हुँदै फर्किन बाध्य भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन अस्पतालले कार्यान्वयन नगरेपछि बिरामी उपचारविहीन बनेर फर्किएका छन् । अस्पतालको सेवा प्रवाहमा गम्भीर प्रश्न उठेको छ । उभौली पर्व, बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदाका दिन ...