मुख्य समाचार
भारतीय दूतावासबाट प्राप्त भएका ६ वटा ‘हेमोडायलाइसिस’ मेसिन एक वर्षदेखि थन्किए
भारतीय दूतावासबाट प्राप्त भएका ६ वटा ‘हेमोडायलाइसिस’ मेसिन एक वर्षदेखि थन्किए

— मृगौला फेल भएका बिरामीको उपचारका लागि भारतीय दूतावासबाट प्राप्त भएका ६ वटा ‘हेमोडायलाइसिस’ मेसिन एक वर्षदेखि थन्किएका छन् । बाराको महागढीमाई र सिम्रौनगढ नगरपालिकालाई दूतावासले स्वास्थ्य मन्त्रालय मार्फत अनुदान स्वरुप उपलब्ध गराएका तीन/तीन वटा हेमोडायलाइसिस मेसिन जनशक्ति र पूर्वाधार अभावमा थन्किएका हुन् ।



भौतिक पूर्वाधार, जनशक्ति, बजेट अभावले मेसिन सञ्चालनमा ल्याउन नसकेको सिम्रौनगढ नगरपालिकालका स्वास्थ्य शाखाका कर्मचारी जयनारायण यादवले बताए । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाबाट यादवले १४ लाख ६४ हजार १ सय ६८ रुपैयाँ दरका ३ वटा मेसिन २०८० असोज ५ मा बुझेका थिए ।

महागढीमाई नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी अजय सिंहले उस्तै खालका ३ वटा मेसिन २०८० मंसिर १५ गते बुझेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका औजार उपकरण स्टोरका प्राविधिक रणबहादुर घर्ती मगरले बताए । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको पालामा दूतावासले दिएका मेसिन हस्तान्तरण गरिएको थियो ।

मगरका अनुसार ०८०/०८१ मा मेसिन प्रयोग गर्ने प्रतिबद्धताका साथ ती दुबै पालिकामा ८७ लाख ८५ हजार १० रुपैयाँ पर्ने (प्रति मेसिन १४ लाख ६४ हजार १ सय ६८) ३/३ वटाका दरले ६ वटा मेसिन हस्तान्तरण गरिएको बताए । मेसिन प्रयोगमा ल्याउन ताकेता भइरहेको र प्रयोग नगरे फिर्ता मगाइने उनले बताए । ‘अहिलेसम्म सञ्चालन गर्ने इच्छुक नभएको जानकारी पाएको छु । अब भने फिर्ता नै मगाउन सकिन्छ,’ उनले भने । डायलाइसिस मेसिन सञ्चालनका लागि छुट्टै कोठा, नर्ससहित ३ जना तालिम प्राप्त जनशक्ति आवश्यक हुन्छ ।

‘मेसिन कोठाको कुनामा थन्किएको छ । मुसाले काट्यो कि एक्स्पाएर भयो थाहा छैन्,’ एक स्वास्थ्यकर्मीले भने, ‘माकुराले जालो लगाइसकेको र धूलो परिरहेको छ ।’ दुवै नगरपालिका डाइलाइसिस सेवा सञ्चालनका लागि न बजेट छुटाएको छ, न प्राविधिक जनशक्ति नै तयार गरेको छ । सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले नगरभित्र १२ जना मिर्गौला पीडितले संघीय सरकारबाट मासिक ५ हजार सहयोग पाउने गरेका छन् ।

महागढीमाई नगरपालिकाका स्वपर्छास्थ्य शाखाका प्रमुख मनोज चौरसियाले नगरभित्रका २० जना मिर्गौला पीडितले ५ हजारका दरले सरकारी सहायता पाइरहेका छन् । ‘बिरामीले नगद सहयोग त पाएकै छन् । अझ आफ्नै पालिकामा डायलाइसिस सेवा लिन पाए सहज हुने थियो,’ चौरसियाले भने, ‘मेसिन आएर पनि संचालनमा ल्याउन नसक्दा सेवा दिन सकिएको छैन । अब चाँडै सञ्चालनको तयारी भइरहेको छ ।’


यी दुबै पालिकाको तथ्यांकमा ३२ जना मिर्गौला पीडितले डायलाइसिस सेवा लिइरहेका छन् । उनीहरु अहिले सदरमुकाम कलैया, वीरगन्ज, भरतपुर, काठमाडौंसम्म पुगेर डायलाइसिस गराउन बाध्य छन् । मधेशमा ग्रामीण क्षेत्रका मिर्गौला पीडितलाई डायलाइसिसन सुविधा पुर्याउन दूतावासमार्फत प्राप्त मेसिन वितरण गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गतका व्यवस्थापन महाशाखाका निर्देशक डा. पबमजंग रायमाझीले बताए ।

डायलाइसिस सेवा संचालन गर्न तालिम प्राप्त चिकित्सक, नर्स र प्राविधिक जनशक्ति आवश्यक हुन्छ । महागढीमाई नगर प्रमुख उपेन्द्र यादवले डाइलाइसिस सेवा सञ्चालनमा ल्याउन अझै ६/७ महिना लाग्न सक्ने बताए । मेसिन संचालनका लागि कोठाको व्यवस्था गर्न समय लाग्ने भएकाले तत्काल प्रयोगमा ल्याउन नसकिएको उनले बताए ।

‘तालिम गराएर जनशक्ति तयार गरिसकेका छौं,’ उनले भने, ‘मेसिन जडान गर्न अर्को नयाँ भवन नै बन्दैछ, त्यसैमा बन्दोबस्त गर्छौ ।’ महागढीमाईमा प्राप्त मेसिन नगरपालिकाको बरियारपुर स्वास्थ्य चौकीमा राखिएको छ ।

सिम्रौनगढ नगर प्रमुख किशोरीप्रसाद कलवारले नगर अस्पतालमा यहीँ माघभित्र डायलाइसिस सेवा सञ्चालनमा ल्याउने दाबी गरे । उनले भने, ‘एमबीबीएस, नर्स र अन्य कर्मचारी भर्ना गर्ने प्रक्रियामा छौं । माघमै संचालन गर्ने तयारी छ ।’ डाइलायसिस सञ्चालन गर्न नर्सिङ महाशाखामार्फत तालिम लिनु पर्ने हुन्छ । नगर प्रमुख कलवारले माघभित्रै संचालनमा ल्याउने दाबी गरे पनि तालिम प्राप्त जनशत्ति तयार हुन ४ देखि ५ महिना लाग्ने स्वास्थ्यकर्मी बताउँछन् ।

सिम्रौनगढमा कोरोनाकालका झन्डै १ करोड खर्चेर सञ्चालन गरेको नगर अस्पताल तीन वर्षयता लथालिङ अवस्थामा छ । अस्पतालको डिजिटल एक्सरे, अल्ट्रासाउन्ड, प्रयोगशाला, इमरजेन्सी, फार्मेसी, बिरामी भर्ना सेवा तीन वर्षयता बन्द छ । यो अस्पतालमा करारमा सेवा दिँदै आएका एमबीबीएस डा. जितेन्द्र यादवले बिरामीलाई ओपिडी सेवा दिने गरेका छन् । राजनीतिक किचलोले नगर अस्पताल बन्द जस्तै रहेको अस्पतालका एक कर्मचारीले बताए ।

नगर अस्पतालमा कार्यरत २३ जना कर्मचारीको करार थप नगरेपछि सेवा ठप्प प्रायः बनेको हो । ती कर्मचारीकाअनुसार नगर अस्पताल सञ्चालन गर्न नगरपालिकाबाट बजेट समेत छुट्याइएको छैन । बाराकै सुवर्ण गाउँपालिका निवासी सिम्रौनगढ नगर अस्पतालका करारका डा. जितेन्द्रका बाबु संविधानसभा सदस्य ६७ वर्षीय रामअयोध्या यादव पनि मिर्गौला पीडित छन् ।

उनले ३० किमी टाढा वीरगन्ज पुगेर सातामा दुईपटक डायलाइसिस गराउँदै आएका छन् । वीरगन्ज गएर प्रतिपटक ६ खर्चेर तीन वर्षदेखि डायलाइसिस गराइरहेको उनले बताए । ‘यहाँ मेसिन सञ्चालनमा आएको भए बुवालाई आफ्नै निगरानीमा डायलाइसिस गराउन सक्थे, मेसिन सञ्चालनमा नआएकोले सेवा लिन सकिएको छैन ।’

नगर अस्पतालको बेहाल अवस्थामा डायलाइसिस सेवा सुरु हुनेमा अन्यौल रहेको उनले बताए । जिल्लामा अहिले कलैया प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा उपलब्ध छ । कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले पाँच वटा मेसिनबाट दैनिक १०/१२ जन मिर्गौलाका बिरामीलाई डायलाइसिस सुविधा दिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावास मार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन
। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । यहाँ फागुनको पहिलो सातादेखि दादुरा फैलिएको थियो । अझै ३० जना बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । फागुन पहिलो सातादेखि हालसम्म ११३ जनामा दादुराको लक्षण देखिएको छ भने सात जनामा दादुरा पुष्टि भइसकेको छ । दादुराको लक्षण देखिएका २१ जनाको नमूना संकलन गरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ...
— मुलुकभरमै पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिस संक्रमण बढी पाइएपछि फागुन २९ देखि जिल्लाभरी जापानिज ईन्सेफलाइटिसबिरुद्धको निःशुल्क खोप अभियान संचालन भइरहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफलाइटिस रोगको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जिल्लामा साउनयता १४ जनामा यो रोगको संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ...
जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको व्यवस्थापनमा सञ्चालन हुने ब्लड बैंकका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गरिएको हो। आइतबार बसेको ब्लड बैंक खरिद इकाइ समितिको बैठकले ब्लड बैंक सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गरेको समितिका संयोजक ठगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार ...
: प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि उपलब्ध नहुँदा प्यूठान अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ। अस्पतालमा सिटामोल, गर्भवती महिलाका लागि आइरन चक्की तथा ग्यास्ट्रिकसम्बन्धी औषधिलगायत आवश्यक औषधीहरू अभाव भएको जनाइएको छ। प्यूठान जिल्ला अस्पतालका स्टोरकिपर नविन थापाका अनुसार धेरै खपत हुने औषधिहरू समयमै नआउँदा समस्या देखिएको हो। ‘सिटामोलको स्टक छैन, करिब ७–८ महिनादेखि गर्भवती ...