— लेरोय सेनले प्रत्येक हाफमा गरेको एक-एक गोलको मद्धतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा बुधबार होफनहायनलाई सजिलै ५–० ले हराएको छ र लिग तालिकाको शीर्षमा आफ्नो अग्रता फेरि चार अंक पुर्याएको छ ।
डिफेन्डिङ च्याम्पियन बायर लेभरकुजनले अघिल्लो दिन मेन्जलाई हराएर दुई टिमबीचको दूरी एक अंकमा छोट्याएको थियो । बायर्नका लागि इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीबाट पनि एक गोल गरे । यो उनको सबै खाले प्रतियोगितामा लगातार २७ औं सफल पेनाल्टी हो ।
बायर्नको १७ खेलबाट ४२ अंक भएको छ । अन्य खेलमा असबर्गले युनियन बर्लिनलाई २–० र स्टुटगार्टले आरबी लाइपजिगलाई २–१ ले हरायो । वेडर ब्रेमन र हेडेनहिमबीचको खेल भने ३–३ को रोमाञ्चक बराबरीमा टुंगियो ।