मुख्य समाचार
४८ हजारको मृत्युपछि युद्धविरामको संघारमा गाजा
४८ हजारको मृत्युपछि युद्धविरामको संघारमा गाजा

— इजरायल र प्यालेस्टिनी समूह हमास युद्धविरामका लागि सहमतिनजिक पुगेका छन् । कतारको मध्यस्थतामा भएको वार्तामा दुई पक्षबीच सहमति जुटेपछि १५ महिना लामो युद्ध अन्त्य हुने भएको हो, यद्यपि मंगलबार रातिसम्म घोषणा भएको छैन ।


युद्धविराम र बन्धकको रिहाइसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन इजरायल र हमासका प्रतिनिधिबीच कतारको राजधानी दोहामा मंगलबार वार्ता भएको थियो ।


सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको रूपरेखालाई दुवै पक्षले स्वीकार गरेपछि सहमति भएको हो । गाजामा युद्धविरामका लागि अमेरिका, कतार र इजिप्ट लामो समयदेखि सक्रिय थिए । ४८ हजारभन्दा बढीको ज्यान गएपछि दुवै पक्ष युद्धविरामका लागि तयार भएका हुन् ।

बीबीसीका अनुसार दोहास्थित एउटै भवनमा रहेका इजरायल र हमासका प्रतिनिधिबीच अप्रत्यक्ष वार्ता भएको थियो । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले गराएको वार्तामा इजरायलको प्रतिनिधित्व गुप्तचर एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र आन्तरिक सुरक्षा एजेन्सी शिन बेटका निर्देशक रोनेन बारले गरेका थिए । यस्तै, हमासका तर्फबाट राजनीतिक ब्युरोका कार्यवाहक प्रमुख तथा प्रमुख वार्ताकार खलिल अल–हाय्या सामेल थिए । वार्तामा इजिप्टको गुप्तचर संस्थाका निर्देशक हसन रसद, अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पका विशेषदूत ब्रेट म्याकगर्क र स्टिभ विटकफ पनि सहभागी थिए ।

प्यालेस्टिनी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्याशित आक्रमण गरेपछि दुई पक्षबीच युद्ध चर्किएको थियो । हमासको आक्रमणबाट अक्टोबर ७ मा करिब १२ सयको ज्यान गएको थियो । हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार बीचमा अशक्त अवस्थाका र मानवीय सहायताका लागि अस्थायी युद्धविराम भएका बेला गरी १ सय ९ जनालाई हमासले मुक्त गरेको थियो ।

८ जनालाई इजरायली सेनाले मुक्त गराएको थियो भने ३७ जनालाई मृत्युपछि जिम्मा लगाइएको थियो । हमासको नियन्त्रणबाट भागेका ३ जनाको भने इजरायली सेनाको आक्रमणमा मृत्यु भएको थियो । नेपालका विपिन जोशीका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणबाट मुक्त हुन बाँकी छन् । तिनमा ८१ पुरुष १३ महिला छन् । उनीहरूमध्ये २ जना ५ वर्षभन्दा मुनिका हुन् ।

इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४६ हजार ६ सय ४५ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् ।




इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ । इजरायल–हमास युद्धका कारण एक वर्षमा (गत अक्टोबर ७ सम्म) १८.५ अर्ब डलर बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान विश्व बैंक, संयुक्त राष्ट्रसंघ र युरोपेली संघले गरेका थिए ।

युद्धविराम सम्झौताअनुसार ६ साताको अविधमा हमासले बन्धक बनाएका महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने समाचार संस्था एपीले जनाएको छ । ३३ जनामध्ये ५ जना इजरायली महिला सैनिक हुनेछन् । हमासले प्रत्येक महिला सैनिकलाई ५० जना प्यालेस्टिनी कैदीको सट्टामा रिहा गर्नेछ । रिहा हुने भनिएका प्यालेस्टिनी कैदीमध्ये ३० जनाले इजरायलमा आजीवन काराबासको सजाय काटिरहेका छन् ।

पहिलो चरणअन्तर्गतका ४२ दिनमा गाजा क्षेत्रमा रहेका इजरायली सेना मानिसको बसोबास भएका स्थानबाट फिर्ता हुनेछन् । प्यालेस्टिनीहरूलाई उत्तरी गाजास्थित आफ्नो घर फर्कन अनुमति दिइनेछ र त्यहाँ मानवीय सहायता प्रदान गरिनेछ । मानवीय सहायताका लागि हरेक दिन करिब ६ सय ट्रकलाई प्रवेश गर्न दिइने बताइएको छ । दोस्रो चरण कार्यान्वयनका विषयमा पहिलो चरणको अविधमा थप छलफल गरिने सम्झौतामा उल्लेख छ ।

दोस्रो चरणको सम्झौता नभएसम्म युद्धविराम जारी रहने लिखित प्रत्याभूति भने गरिएको छैन । यसर्थ पहिलो चरण समाप्त भएपछि इजरायलले आफ्नो सैन्य अभियान पुनः सुरु गर्ने सम्भावना कायमै देखिन्छ । मध्यस्थकर्ताहरूले भने हमासलाई योजनाअनुसार नै वार्ता जारी रहने र सम्झौताको पहिलो चरण कार्यान्वयन हुनुअघि नै सम्झौताको दोस्रो र तेस्रो चरणको कार्यान्वयनका लागि दबाब दिने मौखिक प्रत्याभूति दिएका छन् । सम्झौताले इजरायललाई पहिलो चरणमा इजिप्टसँगको गाजाको सिमानामा रहेको क्षेत्र फिलाडेल्फी करिडोरमाथिको नियन्त्रण कायमै राख्न अनुमति दिएको छ ।

यसअघिका वार्तामा हमासले इजरायली सेना फिलाडेल्फी करिडोर फिर्ता हुनुपर्ने अडान राख्दै आएको थियो । इजिप्ट र दक्षिणी गाजाको सीमामा पर्ने फिलाडेल्फी करिडोरलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिलाडेल्फी करिडोरबाट आफ्नो सेना फिर्ता गर्न नचाहेको बताउदै आएका थिए । नेट्जरिम कोरिडोरबाट भने सेना हटाउन इजरायल सहमत भएको छ । मध्य गाजाको नेट्जरिम क्षेत्र सन् २०२३ नोभेम्बरदेखि इजरायली सुरक्षा बल (आईडीएफ) को नियन्त्रणमा छ ।

सम्झौतामा उल्लेख भएअनुसार दोस्रो चरणमा गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने र त्यसको सट्टा हमासले सैनिकलगायतका थप बन्दी रिहा गर्नेछ । तर हमासले युद्धको अन्त्य र इजरायलको पूर्ण फिर्तीबिना बाँकी बन्धक मुक्त नगर्ने बताएको छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले विगतमा हमासको सेना र शासन क्षमता समाप्त नभएसम्म लडाइँ फेरि सुरु गर्ने बताउने गरेका थिए । तर पहिलो चरणको सम्झौता कार्यान्वयनका क्रममा हुने वार्तामा गाजामा वैकल्पिक सरकार नबन्दासम्म उक्त क्षेत्र हमासको जिम्मामा छाड्न सक्ने बताइएको छ । तेस्रो चरणमा अन्तर्राष्ट्रिय पर्यवेक्षणमा गाजामा गरिने ३ देखि ५ वर्षे पुनर्निर्माण योजनाको बदलामा हमासले बाँकी बन्धकको शव फिर्ता गर्नेछ ।

अर्को साता अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्न लागेका डोनाल्ड ट्रम्पका कारण युद्धविरामका लागि दुवै पक्ष दबाबमा परेको ठानिएको छ । यही जनवरी २० मा राष्ट्रपति पद सम्हाल्ने ट्रम्पले गाजामा युद्धविराम सम्झौता नभए स्थिति थप भयावह हुने धम्की दिएका थिए ।

पश्चिम एसिया (मध्यपूर्व) का लागि उनका विशेषदूत स्टिभ विटकफ कतारको दोहामा जारी वार्ताका क्रममा अमेरिका, इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग सामेल भएका थिए । ट्रम्पले सोमबार युद्धविराम ‘निकै नजिक पुगेको’ बताएका थिए । ‘त्यहाँ हातहरू मिलेका छन् र उनीहरूले यसलाई यसै सातामा टुंगोमा पुर्‍याउँदै छन्,’ ट्रम्पले भनेका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री नेतान्याहुसँग आइतबार कुराकानी गरेका थिए । वार्ताको मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमाद अल–थानीसँग उनले सोमबार कुरा गरेका थिए । त्यसलगत्तै वार्तामा थप प्रगति भएको बताइएको छ ।

इजरायली आक्रमणका कारण गाजामा हजारौं सर्वसाधारण मारिएको भन्दै अमेरिकामाथि इजरायललाई सैन्य सहायता नगर्न दबाब बढेको थियो तर त्यसलाई बाइडेन प्रशासनले बेवास्ता गर्दै आएको थियो । तर ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाको नीतिमा केही बदलाब आउने अपेक्षा गरिएको छ । बाइडेन प्रशासनले अघि सारेका योजना ट्रम्पले रोक्ने सम्भावना छ । ट्रम्पले विदेशी द्वन्द्वमा अमेरिकी संलग्नता कम गर्ने बताउँदै आएका छन् । इजरायलको समर्थनमा देखिएका भए पनि उनले गाजामा तत्काल युद्ध अन्त्य गर्नुपर्ने बताउने गरेका छन् ।

इजरायलका लागि अमेरिकाले सबैभन्दा धेरै अस्त्र तथा आधुनिक उपकरण आपूर्ति गर्दै आएको छ । सन् २०१९ देखि २०२३ मा इजरायलले प्रयोग गरेका हतियारमध्ये ६९ प्रतिशत अमेरिकाबाट निर्यात गरिएका थिए । हमासले वार्ता बारम्बार असफल हुनुमा इजरायललाई दोष दिँदै आएको थियो । मध्यस्थकर्ताको प्रस्ताव इजरायलले अस्वीकार गरेको वा तुरुन्तै नयाँ सैन्य कारबाही सुरु गरेको हमासको भनाइ थियो । तर इजरायल र उसको निकट सहयोगी अमेरिकाले भने युद्धविराम सम्झौता नहुनुमा हमास जिम्मेवार रहेको बताउँदै आएका थिए ।

पछिल्लो युद्धविराम सम्झौतालाई इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्ने जनाइएको छ । बीबीसीका अनुसार इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले सन् २०२३ नोभेम्बरमा भएको अस्थायी युद्धविरामजस्तै कुनै पनि सम्झौतालाई मतदानका लागि मन्त्रिपरिषद्मा पेस गरिने बताएका छन् । तर युद्धविराम सम्झौताका विषयमा इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्नो गठबन्धनभित्रबाट कडा विरोध सामना गर्नुपरिरहेको छ । नेतान्याहुकै लिकुड पार्टीका केही सदस्यले युद्धविरामको विरोध गर्दै पत्र पठाएका छन् ।

अल जजिराका अनुसार राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिर र अर्थमन्त्री बेजलेल स्मोट्रिच सम्झौताप्रति असहमति जनाएका छन् । तर कृषिमन्त्री एभी डिच्टरले अपहरणमा परेकालाई फिर्ता गर्ने सम्झौतामा गम्भीर र स्मोट्रिचको मत निर्णायक नहुने प्रतिक्रिया दिएका छन् । अमेरिकी दबाबसँगै इजरायल र लेबनानी संगठन हेजबुल्लाहबीच युद्धविराम भएका कारण पनि हमास युद्धविरामका लागि थप लचिलो बनेको देखिन्छ । इजरायल र हेजबुल्लाहबीच गत नोभेम्बर २७ मा युद्धविराम सम्झौता भएको थियो । (एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...