मुख्य समाचार
अर्बपतिले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न इच्छा प्रकट
अर्बपतिले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न इच्छा प्रकट

— भिडियो सेयरिङ प्लाटफर्म टिकटकले अमेरिकामा दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छँदै कतिपय अर्बपतिले आफू टिकटक किन्न तयार रहेको बताउन थालेका छन् । शार्क ट्यांक अमेरिकाका लगानीकर्ता केभिन ओलियरी, अर्बपति फ्र्यांक म्याककर्टजस्ता प्रख्यात अर्बपतिले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न इच्छा प्रकट गरेका हुन् ।


टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्ससँग यो एप किनेर अमेरिकाका प्रयोगकर्ताको डेटा अमेरिकामै बनेको डिजिटल पूर्वाधारमा संग्रृहीत गर्ने म्याककर्टको भनाइ छ । लस एन्जलस डजर्सका पूर्वमालिकसमेत रहेका म्याककर्ट नेतृत्वको समूहले गत साता मात्रै बाइटडान्सलाई पत्र पठाएर खरिद सम्झौताबारे विचार गर्न भनेको थियो । खरिद सम्झौता सफल भएमा यो प्लाटफर्म लाखौँ प्रयोगकर्ताका लागि जीवित रहने म्याकर्टले बताएका छन् ।


त्यस्तै, अर्बपति ओलियरीले पनि २० प्रतिशत चिनियाँ स्वामित्व कायम राखेर अमेरिकी नागरिक रहेको सञ्चालक समिति र नेतृत्व मातहत टिकटक सञ्चालन गर्ने प्रस्ताव अघि सारेका छन् । उनले म्याककर्टसँगै मिलेर किन्न तयार रहेको पनि बताएका छन् । एनबीसी न्युजका अनुसार डोनाल्ड ट्रप्पको अघिल्लो राष्ट्रपतीय कार्यकालमा अर्थमन्त्रीसमेत रहेका बैंकर स्टेभन म्युचिनले समेत टिकटक किन्ने सम्भावित लगानीकर्ताको समूह तयार रहेको बताएका थिए । त्यो समूहमा को छ भनेर उनले खुलाएका छैनन् ।

एक्टिभिजन ब्लिजर्डका बबी कोटिक, अनलाइन भिडियो प्लाटफर्म रुम्बलका प्रमुख क्रिस पाब्लोब्स्की लगायतले पनि टिकटक खरिदमा रुचि देखाएका छन् ।अमेरिकामा टिकटक प्रयोगकर्ताको संख्या १७ करोड छ । सन् २०२५ मा बाइटडान्सले टिकटकमार्फत लगभग १० अर्ब अमेरिकी डलर आम्दानी गर्न सक्ने विश्लेषकहरूको अनुमान छ ।

खरिदकर्ता इच्छुक भए पनि बाइटडान्सले टिकटकको बिक्री सम्भव नभएको प्रतिक्रिया दिँदै आएको छ । चीन सरकारले पनि टिकटक बिक्री गर्न नदिने संकेत गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । ‘बेइजिङले माने नै पनि टिकटक र यसको महत्त्वपूर्ण अल्गोरिदमको मूल्य निकै महँगो छ,’ टाइम्सकी पत्रकार लरेन हर्सले लेखेकी छन्, ‘सीबी इन्साइट्स रिसर्च संस्थाले बाइटडान्सको मूल्यांकन २२५ अर्ब डलर गरेको छ । तथापि टिकटकको अमेरिकी भर्सनको मूल्य कति पर्छ भन्ने स्पष्ट छैन ।’

आउँदो साताभित्र अमेरिकामा टिकटकका विषयमा छिनोफानो हुँदै छ । शुक्रबार भएको पछिल्लो सुनुवाइमा सर्वोच्च अदालतले टिकटकले जिकिर गरेका चुनौतीहरूप्रति शंका व्यक्त गर्दै अमेरिकी सरकारको धारणातर्फ झुकाव राखेको थियो । यसले पनि जनवरी १९ पश्चात अमेरिकामा टिकटक प्रतिबन्ध नै हुने सम्भावनातर्फ बढी संकेत गरेको छ । टिकटकले अमेरिकी प्रतिबन्ध उल्टाउने अन्तिम प्रयासस्वरुप सर्वोच्चमा मुद्दा हालेको थियो ।

अमेरिकी सरकार र टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सबीच अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रिय सुरक्षा चिन्ताका विषयमा लामो समयदेखि कानुनी विवाद चलिरहेको छ । गत अप्रिलमा अमेरिकी सरकारले बाइडान्सलाई टिकटकको अमेरिकी शेयर बेच्न वा प्रतिबन्धको सामना गर्न जनवरी १९ को समयसीमा तोक्दै एक कानुन पारित गरेको थियो । यही कानुन उल्ट्याउने उदेश्यले बाइटडान्स सर्वोच्च पुगेको हो ।

टिकटकले अमेरिकी प्रयोगकर्ताको डेटा संकलन गरेर चिनियाँ सरकारलाई दिने आशंकासहित अमेरिकी सांसद्हरूले गत वर्ष अप्रिलमा टिकटक प्रतिबन्धसम्बन्धी विधेयक पारित गरेका थिए । राष्ट्रपति बाइडेनले तुरुन्तै हस्ताक्षर गरेर त्यसलाई कानुनी रूप दिए । बाइटडान्स र टिकटक प्रयोगकर्ताहरूले भने सो कानुनको संवैधानिकतामा प्रश्न उठाउँदै आएका छन् । एप प्रतिबन्धले अभिव्यक्ती स्वतन्त्रताको अधिकारलाई उल्लंघन गर्ने उनीहरूको दाबी छ ।

हाल राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘टिकटकलाई बचाउने’ प्रतिबद्धता दिएका थिए जब कि उनैले आफ्नो अघिल्लो कार्याकालमा सन् २०२० अगस्टमा एक कार्यकारी आदेश जारी गरी टिकटक र विच्याट गैरचिनियाँ उद्यमीलाई बिक्री नगरिए प्रतिबन्ध लगाइने घोषणा गरेका थिए । तर त्यो आदेश कार्यान्वयनको केही घण्टा मात्र अघि एक अमेरिकी संघीय न्यायाधीशले उक्त आदेश अमेरिकी संविधानको पहिलो संशोधविपरीत भएको भन्दै रोक्ने आदेश दिएका थिए । यसपटक उनी राष्ट्रपतीका रूपमा ह्वाइट हाउस छिर्नुअघि नै अमेरिकामा टिकटकको भविष्यबारे टुंगो लाग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...