मुख्य समाचार
इजरायल र प्यालेस्टिनी समूह हमासबीच पुन: युद्ध चर्किए
इजरायल र प्यालेस्टिनी समूह हमासबीच पुन: युद्ध चर्किए

— पन्ध्र महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच पुन: युद्ध चर्किएको छ । पछिल्लो तीन दिनमा इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा २ सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेको र दर्जनौं घाइते भएको जनाइएको छ ।




हमास अधिकारीहरूका अनुसार आईडीएफले तीन दिनमा गाजास्थित आवासीय क्षेत्रमा कम्तीमा सयवटा हवाई आक्रमण तथा गोलाबारी गरेको हो । आईडीएफले निहत्था नागरिक र आवासीय क्षेत्रमा ‘खतरनाक र क्रूर’ आक्रमण गरेको हमास अधिकारीको भनाइ छ ।


प्यालेस्टानी समूह हमासले सन् २०२३ अक्टुबर ७ मा उत्तरी इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध सुरू भएको हो । आक्रमणमा कम्तीमा १२ सयको ज्यान गएको थियो । त्यसका साथै, हमासले करिब २ सय ५० जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये ९६ जना अझै हमासको नियन्त्रणमा छन् ।

युद्धका कारण ४५ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ । ज्यान गुमाएकामा एक तिहाइभन्दा बढी बालबालिका छन् । अक्टुबर ७ यता मारिने बालबालिकाको संख्या १८ हजार नाघिसकेको प्यालेस्टिनी अधिकारीको भनाइ छ ।

दुई पक्षबीच केही सातायता अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम सम्झौताका लागि पहल भइरहेको छ । कतारको दोहा तथा इजिप्टको कायोरोमा भएका वार्ता सहमतिमा पुग्नै लागेको बताइएको थियो ।

गाजामा युद्धविराम गर्न तथा हमासले बन्धक बनाएकाहरूको रिहाइका लागि गत शुक्रबार पुन: वार्ता सुरू भइसकेको छ । वार्ताका लागि इजरायली टोली शुक्रबार नै कतार पुगेको थियो । टोलीमा इजरायल सुरक्षा संस्था (आईएसए), आईडीएफ र इजरायली गुप्तचर संस्था मोसादका प्रतिनिधि रहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

हमासले पनि शुक्रबारदेखि युद्धविराम वार्ता पुन: सुरू भएको र सम्झौतामा पुग्न गम्भीर रहेको जनाएको छ । 'जनताको आकांक्षाअनुसारको लक्ष्य प्राप्त गर्ने सम्झौतामा हामी चाँडै पुग्ने प्रयासका लागि हामी हरेक पटक जस्तै गम्भीर र सकारात्मक छौं,' हमासले एक विज्ञप्तिमा भनेको छ ।



पछिल्लो चरणको वार्ता 'पूर्ण युद्धविराम, गाजा पट्टीमा रहेका सेनाको फिर्ती र कार्यान्वयनको विवरण र विस्थापितलाई घर फर्काउने विषयमा केन्द्रित हुने हमासले जनाएको छ ।

युद्धविराम सम्झौता भने यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको प्रस्तावमै केन्द्रित हुने सीएनएनले जनाएको छ । बाइडेन प्रशासनले अघि सारेको प्रस्तावमा गाजामा 'पूर्ण युद्धविराम' गरिने र बन्धकहरूलाई रिहा गरिने जनाइएको थियो । Tensions rise in Gaza amid cease-fire initiative

हमासले इजिप्टको कायरोमा भएको बैठकमा दुई पक्षबीच युद्धविरामबारे ९० प्रतिशत सहमति जुटिसकेको जनाएको थियो । युद्धविराम सम्झौता तीन चरणमा हुने जनाइएको थियो । पहिलो चरणमा रिहा गरिने प्रत्येक महिला सैनिकका लागि २० प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गरिने उल्लेख गरिएको थियो ।

कैदीहरूको नाममा सहमति हुन बाँकी छ तर इजरायलमा २५ वर्ष वा सोभन्दा बढी जेल सजाय भोगिरहेका करिब ४ सय जनाबाट छानिनेछ । इजरायली बन्धकहरूलाई विभिन्न चरणमा रिहा गरिने जनाइएको छ ।

त्यस्तै, दोस्रो चरणममा इजिप्ट र कतारको निगरानी प्रणालीअन्तर्गत उत्तरी गाजा क्षेत्रका सर्वसाधारणहरू घर फर्कन पाउनेछन् । ती क्षेत्रमा प्रतिदिन करिब ५ सय ट्रकले सहायता सामग्री पुर्‍याउने समेत जनाइएको छ । अन्तिम चरणमा १४ महिना लामो युद्धको अन्त्य हुने र गाजा क्षेत्रलाई यसअघि कुनै पनि राजनीतिक आबद्धता नभएका विज्ञहरूको एक कमिटीले निरीक्षण गर्ने जनाइएको छ ।

यसअघि हमास अधिकारीहरूले केही मुद्दामा भने सहमति हुन बाँकी रहेको जनाएका थिए । खासगरी फिलाडेल्फी करिडोरमा आईडीएफको उपस्थितिका विषयमा सहमति हुन बाँकी छ । फिलाडेल्फी करिडोर इजिप्ट र दक्षिणी गाजाको सीमामा पर्ने रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो । हाल उक्त क्षेत्र आईडीएफको नियन्त्रणमा रहेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बारम्बार फिलाडेल्फी करिडोरबाट आईडीएफलाई फिर्ता गर्न नचाहेको बताउँदै आएका छन् । इजरायली अधिकारीहरूले पनि त्यस क्षेत्रमा सैन्य उपस्थिति कायम रहने बताएका छन् । त्यस्तै, युद्धपछिको गाजाको शासनको विषयबारे पनि टुंगो लागेको छैन । प्यालेस्टिनी नेतृत्वमा समेत यसबारे एकमत देखिँदैन ।

मध्यस्थता गरिरहेको कतारले भने पछिल्लो वार्ताबारे औपचारिक रूपमा केही उल्लेख गरेको छैन । तर इजरालयका पछिल्ला आक्रमणसँगै वार्ताको वातवरण भने बिथोलिने चिन्ता थपिएको छ । खासगरी तीन दिनयताका आक्रमणमा दुई सय जनाभन्दा बढी सर्वसाधारणको ज्यान गएको छ । तीमध्ये ८८ जना आइतबार एकै दिन मारिएका हुन् ।

त्यसका साथै, अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ताबाट बाहिरिँदै गर्दा इजरायललाई ८ अर्ब अमेरिकी डलर बराबरको अस्त्र बिक्री गर्ने योजना अघि सारेका छन् । बीबीसीका अनुसार बाइडेनले त्यसबारे संसद्‌लाई जानकारी गराइसकेका छन् । तर ती अस्त्र बिक्री गर्न अमेरिकी संसद्‌का समितिहरूको स्वीकृति आवश्यक पर्छ । इजरायल पठाउन लागिएका अस्त्रमा क्षेप्यास्त्र, गोलाबारुद तथा अन्य हातहतियार रहेका छन् ।

बाइडेन जनवरी १५ दिनपछि सत्ताबाट बाहिरिँदै छन् । त्यसपछि अमेरिकी राष्ट्रपतिको पद डोनाल्ड ट्रम्पले सम्हाल्दैछन् । इजरायली आक्रमणका कारण गाजामा हजारौँ सर्वसाधारण मारिएको भन्दै अमेरिकामाथि इजरेललाई सैन्य सहायता नगर्न दबाब बढ्दो छ । तर त्यसलाई बाइडेन प्रशासनले बेवास्ता गर्दै आएको छ ।

राष्ट्रपति बाइडनले इजरायलप्रति अमेरिकाको समर्थन बारम्बार दोहोर्‍याएका छन् । इजरायलमा अमेरिकाले सबैभन्दा धेरै अस्त्र तथा आधुनिक उपकरण आपूर्ति गर्दै आएको छ । सन् २०१९ देखि २०२३ मा इजरायलले प्रयोग गरेका हतियारमध्ये ६९ प्रतिशत अमेरिकाले दिएको थियो ।

दुई सातापछि राष्ट्रपति बन्ने ट्रम्पले बाइडेन प्रशासनले अघि सारेका योजना रोक्ने सम्भावना बढी छ । ट्रम्पले विदेशी द्वन्द्वमा अमेरिकी संलग्नता कम गर्ने बताउँदै आएका छन् । यद्यपि, ट्रम्प इजरायलको समर्थनमा देखिएका छन् । तर उनले गाजामा तत्काल युद्ध अन्त्य गर्नुपर्ने बताउने गरेका छन् ।

पछिल्लो समय इजरायल र लेबनानी संगठन हेजबुल्लाहबीच युद्धविराम भएसँगै हमास पनि दबाबमा परेको छ । दुई पक्षबीच नोभेम्बर २७ मा युद्धविराम सम्झौता भएको थियो । हेजबुल्लाहले हमासलाई इजरायलविरुद्धको युद्धमा सघाउँदै आएको थियो ।

अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुने उल्लेख छ । त्यस्तै, इजरायल र हेजबुल्लाहलाई लेबनान र इजरायलबीचको अनौपचारिक सीमा ‘ब्लु लाइन’ र लिटानी नदीबाट करिब ३० किलोमिटरभित्रको क्षेत्रबाट आफ्ना लडाकु तथा हातहतियार हटाउन दुई महिनाको समय दिइएको छ ।

तर इजरायली रक्षामन्त्री इजरायल काट्जले हिजबुल्लाहले युद्धविरामका सर्तहरू पूरा नगरेको आरोप लगाएका छन् । काट्जलदे हेजबुल्लाहले सम्झौताको उल्लंघन गरिरहेको खण्डमा इजरायल 'कारबाही गर्न बाध्य हुने' चेतावनी दिएको अलजजिराले जनाएको छ ।

हेजबुल्लाह लडाकुहरू अझै पनि दक्षिणी लेबनानमा लिटानी नदी क्षेत्रबाट पछि नहटेको काट्जको भनाइ छ । 'यदि यो सर्त पूरा भएन भने कुनै सम्झौता हुनेछैन र इजरायल उत्तरी क्षेत्रका बासिन्दालाई सुरक्षित रूपमा आफ्नो घर फिर्ता गर्न कारबाहीका लागि बाध्य हुनेछ,' उनले भने । युद्धविराम सम्झौता अनुसार आईडीएफ जनवरी २६ भित्र दक्षिणी लेबनानबाट बाहिरिनुपर्नेछ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप