मुख्य समाचार
इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु
इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु

— वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) को रुपमा पहिलो चरणमा १ हजार नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको छ । जसमा महिला ६ सय जना र पुरुष चार सय जना रहेका छन् ।




इजरायलले गत असोजमा नै गोलाप्रथाबाट इजरायल जाने श्रमिकको नाम छनोट गरेको थियो । त्यतिखेर इजरायल र हिजबुल्लाहबीचको लडाइँले थप तनाव बढेपछि सरकारले तत्कालको लागि इजरायल पठाउने प्रक्रिया स्थगित गरेको थियो ।


इजरायल र हिजबुल्लाहबीच युद्ध विराम भएपछि परराष्ट्र मन्त्रालयको सहमतिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थगित भर्ना प्रक्रियालाई अगाडि बढाएको हो ।

इजरायलको लागि योग्यता पुगेर छानिएका तीन हजार चार सय ६१ जनाको सूचीबाट लक्की ड्रको आधारमा दुई हजार एक सय १२ जना छानिएका थिए । त्यसमध्ये पहिलो चरणमा एक हजार जनालाई पठाउने प्रक्रिया अगाडि बढाएको हो । उनीहरूलाई इजरायलद्वारा छानिएका चार वटा स्वास्थ्य केन्द्रमा पुस १७ देखि २३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने समय तोकिदिएको छ । इजरायलले मेडिकल परीक्षणको लागि नेपाल मेडिसिटी अस्पताल, स्टार अस्पताल, हेम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र क्रिस्टल डायग्नोष्टिक प्रालिलाई छनोट गरेको छ ।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । यसमा निजी क्षेत्रको संलग्नता छैन । विभागका इजरायल शाखाका सर्म्पक अधिकृत धनञ्जय झाका अनुसार पहिलो लटमा १ हजार जना पठाइएपछि दोस्रो लटमा बाँकी लगिने छ । सरकारले इजरायलको योग्यता पुगेर सूचीकृत भएका सबै श्रमिकलाई आवश्यकताअनुसार लैजानुपर्ने प्रस्ताव राख्दै आएको छ ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने नेपाली सुरक्षित रहने बताए । ‘इजरायलमा छनोट भइसकेका श्रमिकलाई रोकेर राख्नुको कुनै अर्थ छैन । यहाँ श्रीलंका र भारतबाट श्रमिकहरू आइरहेका छन् । इजरायलमा लडाइँमा भए पनि श्रमिकहरू सुरक्षित छन्,’ उनले ईकान्तिपुरलाई भने ।

दीर्घकालीन स्याहार केन्द्रमा सबैभन्दा बढी नेपाली १३ सय ४५ जना कार्यरत छन् । उनीहरूले आफूहरू सुरक्षित रहेको बताउँदै आएका छन् । पछिल्लो समयमा विदेशी श्रमिक ल्याउने जिम्मेवारी पाएको इजरायलको जनसंख्या अध्यागमन तथा सीमा प्राधिकरण (पिवा)ले नेपालले लामो समय श्रमिक रोक्ने भए विकल्प हेर्ने बताउन थालेको थियो । पिवाले कृषि क्षेत्रमा भारत र श्रीलंकाबाट श्रमिक ल्याइरहेको छ । केयर गिभरमा भने नेपालीलाई नै प्राथमिकता दिइरहेको छ ।




नेपालका लागि इजरायली राजदूत समुलिक एरी वासले इजरायलमा श्रमिक पठाउने कार्य दुवै पक्षको लागि हितकारी रहेको बताए । ‘इजरायलमा कार्यरत श्रमिक र स्थानीय नागरिकले पाउने सेवा सुविधामा कुनै विभेद छैन,’ एक कार्यक्रममा उनले भनेका थिए, ‘दुई देशबीच सरकारी संयन्त्रमार्फत गरिने भर्ना प्रक्रिया दुवै देशको लागि फाइदाजनक छ ।’

केयर गिभरमा काम गर्ने नेपालीको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा (करिब दुई लाख २० हजार रुपैयाँ) तोकिएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ ।

इजरायलमा करिब १४ हजार वटा दीर्घकालीन स्याहार केन्द्र रहेको छ । गत भदौमा इजरायलले भारतबाट पाँच हजार केयर गिभर सहित १५ हजार श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...
। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर ...
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...
— प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदाका दिनमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले सूचना जारी गर्दै बिदाका दिनमा पनि सेवा सञ्चालन गरिने जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. गणेश थापाले जारी गरेको सूचनाअनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, ...