मुख्य समाचार
दक्षिण कोरियामा विमान अवतरण गर्दा ‘खुलेन ल्यान्डिङ गियर’
दक्षिण कोरियामा विमान अवतरण गर्दा ‘खुलेन ल्यान्डिङ गियर’

— थाइल्यान्डको राजधानी बैंककबाट १ सय ७५ यात्रुसहित उडेको जेजु एयरको जहाज दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्नेक्रममा आइतबार बिहान दुर्घटना हुँदा चालकदलका चार सदस्यसहित १ सय ७९ जनाको मृत्यु भएको छ ।




चालकदलका ६ सदस्यमध्ये जहाजको अन्तिम सिटमा रहेका दुई क्याबिनक्रुलाई जीवितै उद्धार गरिएको छ । धावनमार्गमा चिप्लिएको जहाज जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।


जीवितै उद्धार गरिएका दुई जनामध्ये ३३ वर्षीय पुरुष ‘फ्लाइट अटेन्डेन्ड’ले चिकित्सकसँग संवाद गरिरहेका छन् भने टाउको तथा खुट्टामा चोट बेहोरेकी २५ वर्षीया परिचारिकाको स्वास्थ्य अवस्था स्थिर रहेको कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।

दुर्घटना स्थानीय समयअनुसार बिहान ९ बजे भएको थियो । दक्षिण कोरियाको समय नेपालको भन्दा ३ घण्टा १५ मिनेट अघि छ । त्यहाँको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा परेको विमानमा रहेका यात्रुमध्ये दुई थाई नागरिक र बाँकी १ सय ७३ कोरियाली थिए । मृत्यु हुनेमा ८५ महिला र ८४ पुरुष छन् ।

बाँकी १० मृतकको लिङ्ग पहिचान हुन सकेको छैन । विमानमा तीन वर्षका बालबालिकादेखि ७८ वर्षका वृद्धसम्म थिए । ज्यान गुमाउनेमा ५ जना १० वर्षभन्दा कम उमेरका छन् ।

दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सोलदेखि लगभग २ सय ८९ किमि दक्षिण पश्चिममा पर्छ । जेजु एयरको उडान नम्बर–२२१६ को बोइङ विमान बैंककको समयअनुसार राति साढे २ बजे कोरियाका लागि उडेको थियो । यो रुटको हवाई दूरीको समय करिब साढे ४ घण्टाको हो । मुआन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, विमान कोरियाको समयअनुसार बिहान ८ः५४ बजे अवतरण हुनुपर्ने थियो ।

कोरियाको यातायात मन्त्रालयका अनुसार अवतरणका क्रममा जहाजका पाङ्ग्रा (ल्यान्डिङ गियर) नखुल्नुलाई दुर्घटनाको मुख्य कारण अनुमान गरिएको छ । अमेरिकी समाचार संस्था ‘सीएनएन’ले विमानस्थलमा परिचालित अग्निनियन्त्रक तथा उडान विश्लेषकलाई उद्धृत गर्दै ‘ल्यान्डिङ गियर’ खराबीका कारण दुर्घटना भएको उल्लेख गरेको छ । जहाज अवतरणका क्रममा रहँदा विमानस्थलको ‘कन्ट्रोल टावर’मा रहेका हवाई ट्राफिकले ‘अप्रोच’ मार्गमा चरा भएको जानकारी गराउँदै पाइलटलाई सचेत गराएका थिए ।




उनीहरूको चेतावनीको एक मिनेटपछि विमानबाट चालकदलले ‘एयर ट्राफिक कन्ट्रोलर’ सँग सहयोगको याचना गर्दै ‘मेडे–मेडे कल’ (अप्ठ्यारोमा परेको विमानले गुहार माग्ने शब्दावली) ककपिटबाट रेडियो सेटमार्फत बोलेको सीएनएनले जनाएको छ । ‘मेडे कल’ गर्दा विमान धावनमार्गको अन्तिम विन्दुबाट २.२ किमि मात्र पर थियो ।

दुर्घटनालगत्तै सार्वजनिक ‘भिडियो फुटेज’मा जहाजले धावनमार्गमा ‘बेली–ल्यान्ड’ (पाङ्ग्रा नखुलेको अवस्थामा मुनिको भागबाट धावनमार्गमा चिप्लिएर अवतरण गर्ने आपत्कालीन विधि) अपनाएको थियो । तर ‘बेली–ल्यान्ड’का क्रममा चालकदलले जहाजको गति घटाउन नसकेको तथा भुइँ छुनेबित्तिकै जहाजको गति रोक्न प्रयोग गरिने पखेटामा जडान भएका हावाको गति छेक्ने ‘फ्ल्याप’ लगायतका ब्रेकहरू परिचालन नभएको अनुमान गरिएको छ ।

न्युज एजेन्सी योनहापका अनुसार, विमान धावनमार्गबाट चिप्लँदै बाहिर पुगेर विमानस्थलको सीमामा रहेको कंक्रिट संरचना तथा ‘इन्स्ट्रॅमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) को संरचनामा ठोक्किएको थियो ।

दुर्घटना के कारणले भयो भन्ने आइतबार बेलुकी अबेरसम्म खुल्न नसकेको एजेन्सीहरूले उल्लेख गरेका छन् । जहाजमा खराबी आएको थियो वा अन्य कारणले दुर्घटना भएको भन्नेबारे जहाजको ‘फ्लाइट डेटा रेकर्डर’ (एफडीआर) र ‘ककपिट भ्वाइस रेकर्डर’ (सीभीआर) को अनुसन्धानबाट खुल्ने अधिकारीहरूले जनाएका छन् ।

विमान सञ्चालन गर्ने कम्पनीका सीईओसहित सबै कर्मचारीले आइतबार पत्रकार सम्मेलनमा शिर झुकाएर माफी माग्दै घटना अनुसन्धानमा पूर्ण सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले शोकमा परेका परिवारजनलाई पनि सघाउने बताएका थिए । त्यस्तै जहाज उत्पादक अमेरिकी बोइङ कम्पनीले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा सघाउने जनाएको छ ।

दक्षिण कोरियाकै सबैभन्दा ठूलो ‘लो–कस्ट’ (बजेट) एयरलाइन्स जेजु एयरको हवाई सुरक्षा परिपालनामा रेकर्ड राम्रो छ । त्यस्तै बोइङ ७३७–८०० विमानको पनि सुरक्षा रेकर्ड राम्रो रहेको दाबी समाचार एजेन्सीले गरेका छन् । दुर्घटनामा परेको विमान १५ वर्ष पुरानो हो ।

सात वर्षअघि जेजु एयरले यो विमान आयरल्यान्डको रायन एयर कम्पनीबाट खरिद गरेको थियो । समाचार एजेन्सी एपीका अनुसार दुर्घटना कोरियाको उडान इतिहासकै सबैभन्दा घातक विपत्मध्येको एक हो । २७ वर्षअघि सन् १९९७ मा कोरियन एयरलाइन्सको विमान गुआममा दुर्घटना हुँदा २ सय २८ यात्रुको मृत्यु भएको थियो ।

यस्तै खाले भयानक हवाई दुर्घटना सन् २००७ मा ब्राजिलको साओ पाउलोमा भएको थियो । धावनमार्गमा चिप्लेको एयरबसको ए–३२० जहाज धावनमार्गबाहिर पुगेर एक भवनमा ठोक्किँदा जहाजभित्रका १ सय ८७ जना र बाहिर जमिनमा रहेका १२ सर्वसाधारणको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम