मुख्य समाचार
सिकलसेल एनिमियाका बिरामीलाई अब निःशुल्क औषधि : मन्त्री पाैडेल
सिकलसेल एनिमियाका बिरामीलाई अब निःशुल्क औषधि : मन्त्री पाैडेल

— स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई आवश्यक पर्ने औषधि सरकारले अब निःशुल्क उपलब्ध गराउने बताएका छन् ।




नेपालगन्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनमा हमोग्लोप्याथी वार्ड र अपरेसन थिएटरको सोमबार उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेलका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन सरकारलाई भारतले सहयोग गर्न लागेको पनि बताए ।


भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सहयोगका लागि प्रस्ताव गरेको र त्यहाँबाट सकारात्मक जवाफ पाएको बताउँदै मन्त्री पौडेलले भने, ‘प्रक्रियागत हिसाबले विषयगत मन्त्रालयसँगको सहकार्यमा तत्काल औषधि उपलब्धताको प्रतिबद्धता आएको छ । आशा गरौं, तत्काल औषधि प्राप्त हुनेछ ।’

सिकलसेल एनिमिया पुस्तान्तरण हुन नदिन बच्चा जन्मिने बित्तिकै स्क्रिनिङ गर्ने गरी मन्त्रालयले योजना बनाउने पनि उनले विश्वास दिलाए । सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सिकलसेल डे केयर वार्ड संचालनमा रहेका अस्पतालहरूलाई सरकारले उपलब्ध गराउने र त्यहींबाट बिरामीहरूले सहज तरिकाले प्राप्त गर्ने पनि मन्त्री पौडेलको भनाइ थियो ।

विगतमा भएका ओएनएम सर्भेले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा ३२ हजार जनशक्ति अभाव भएको देखाए पनि मन्त्री पौडेलले भने, ‘तर, अहिले ३२ सय जनशक्ति पनि थप्ने अवस्था छैन ।’ कम्तीमा १२ देखि १५ सय जनशक्ति थप्ने गरी मन्त्रालय लागि परेको छ । उनले संघीय अस्पतालहरूमा एमडीएमएस कार्यक्रम सुरु भएपछि अस्पतालहरूमा देखिएको जनशक्ति अभावलाई केही हदसम्म टार्ने सुनाए ।

कार्यक्रममा अस्पतालका प्रमुख मेसु डा. निराजन सुवेदीले अस्पतालले गरेका प्रगति र चुनौती तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले सिकलसेल एनिमिया र थालेसिमिया रोगको अवस्था, उपचार र निदानका सवालमा भइरहेका कामहरू समेटिएको छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैबीच भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता भएसँगै भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको उपस्थितिमा सोमबार भेरी अस्पतालमा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।




मन्त्री पौडेलका अनुसार सबै संघीय अस्पतालहरूमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजनामा भेरी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको उनको भनाइ छ । ‘सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सरकारको योजना छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘पोखरा र सुर्खेतमा सेवा सुरु भइसकेको छ । अब भेरी अस्पतालमा पनि सेवा सुरु गर्ने गरी सम्झौता भएको छ ।’

भेरी अस्पतालमा मिर्गौला सेवा संचालनका लागि मानव अंग प्रत्यारोपण केन्द्रले जनशक्तिदेखि प्राविधिक सहयोग गर्ने मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठले बताए । ‘मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि केही कानुनी प्रक्रियाहरू छन्,’ उनले भने, ‘ती कानुनी प्रक्रिया भेरी अस्पतालले पूरा गरे प्रत्यारोपण सेवा विस्तारका लागि एक महिनाभित्रै सेवा सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...
। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर ...
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...
— प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदाका दिनमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले सूचना जारी गर्दै बिदाका दिनमा पनि सेवा सञ्चालन गरिने जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. गणेश थापाले जारी गरेको सूचनाअनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, ...