मुख्य समाचार
दक्षिण कोरियाली राष्ट्रपति विरुद्धको महाभियोगबारे सुनुवाइ सुरू
दक्षिण कोरियाली राष्ट्रपति विरुद्धको महाभियोगबारे सुनुवाइ सुरू

— दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोगबारे सुनुवाइ प्रक्रिया सुरू गरेको छ । सैनिक शासन घोषणा गरेको र देशलाई राजनीतिक उथलपुथलमा डुबाएको आरोपमा कोरियाली संसद्ले गत राष्ट्रपति युनविरुद्ध शनिबार महाभियोग प्रस्ताव पारित गरिसकेको छ ।




संसद्‍बाट महाभियोग प्रस्ताव पारित भएसँगै निलम्बनमा परेका युनलाई हटाउने वा पुनर्बहाली गर्ने विषयमा ९ सदस्यीय अदालतले निर्णय लिनेछ । त्यसका लागि अदालतसँग अब ६ महिनाको समय बाँकी छ । पद रिक्त भएको खण्डमा भने ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनुपर्ने व्यवस्था छ । त्यतिन्जेलसम्म प्रधानमन्त्रीले अन्तरिम राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन् ।


राष्ट्रपति युनले गत डिसेम्बर ३ मा दक्षिण कोरियासँगै विश्व समुदायलाई नै चकित पार्ने गरी सैनिक शासन लागू गरेका थिए । छिमेकी देश उत्तर कोरिया र देशभित्रकै केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको दाबी गर्दै उनले सैनिक शासन लगाउनुपरेको बताएका थिए ।

राष्ट्रपतिले सैनिक शासन लागू गरेको केही समयमै सेनाले एउटा आदेश जारी गर्दै संसद्का गतिविधि र राजनीतिक प्रदर्शनमा प्रतिबन्ध लगायो । लगत्तै सेना परिचालन भयो । संसद्को तल्लो सदन नेशनल एसेम्ब्लीमा सैनिक र प्रहरी खटिए । केही सैनिक हेलिकोप्टरबाट संसद् भवनको छतमा ओर्लिए ।

देशकै ठूलो विपक्षी दल डेमोक्रेटिक पार्टीका नेता ली जे–म्यङले तत्काल राष्ट्रपतिको कदमको विरोध गरे । उनले राष्ट्रपतिको कदमविरुद्ध मतदानका लागि सांसदहरूलाई संसद्मा उपस्थित हुन आग्रह गरे । अनि दक्षिण कोरियाली जनतालाई राष्ट्रपतिको कदमविरुद्ध विरोध प्रदर्शनमा उत्रन पनि आह्वान गरे । राष्ट्रपतिको कदमको उनकै दल पिपल्स पावर पार्टी (पीपीपी) ले पनि विरोध गर्‍यो । पीपीपी नेता हान डोङ-हुनले पनि सोमबार राजीनामा दिइसकेका छन् ।

लगत्तै संसद्को बहुमतले राष्ट्रपतिको निर्णय उल्टाइदियो । त्यसपछि अप्ठ्यारोमा परेका राष्ट्रपति युनले आफ्नो निर्णय फिर्ता लिए । तर विपक्षी दलका सांसदले भने राष्ट्रपतिलाई पदबाट हटाउनुपर्ने भन्दै संसद्मा महाभियोग प्रस्ताव ल्याए । डिसेम्बर ७ मा संसदमा भएको मतदान राष्ट्रपतिको पार्टीले बहिष्कार गरेपछि महाअभियोगको पक्षमा भने दुई तिहाइ पुगेन । दक्षिण कोरियाको संसदमा ३ सय सदस्य छन् । तीमध्ये १ सय ८ सदस्य राष्ट्रपतिको पीपीपीका छन् ।

खासगरी पीपीपीले राष्ट्रपति येओललाई महाभियोगबाट जोगाएर राजीनामा दिन लगाउन रणनीति लिएको थियो । तर राष्ट्रपति युनले भने ‘मार्सल ल’ लागू गरेकामा माफी माग्दै पुनः यस्तो कदम नचाल्ने वाचा गरे । यसैबीच, विपक्षी दलहरूले भने राष्ट्रपतिविरुद्ध शुक्रबार पुनः महाअभियोग प्रस्ताव ल्याए । दोस्रो प्रस्तावमाथि शनिबार मतदान भयो ।




राजीनामा नदिएपछि रुष्ट सत्तारूढ दलका केही सांसदले भने राष्ट्रपतिविरुद्ध मत दिए । जसका कारण उनीविरुद्धको महाअभियोग प्रस्ताव पारित भयो । शनिबारको मतदानमा २ सय ४ सांसदले महाभियोग प्रस्तावको पक्षमा र ८४ सांसदले विपक्षमा मत दिए । ८ मत बदर भयो भने ३ सांसद तटस्थ रहे । राष्ट्रपतिलाई महाअभियोग लागेसँगै राजधानी सोल लगायतका स्थानमा स्थानीयले खुशीयाली समेत मनाए ।

दुई वर्षअघि राष्ट्रपतिमा निर्वाचित युन पत्नीका कारण समस्यामा परेका हुन् । उनकी पत्नी किम किअन हीमाथि गैरकानुनी रूपमा महँगो ब्रान्डको ‘ब्याग’ उपहारमा लिएको र धितोपत्र बजारमा चलखेल गरेको आरोप छ । पत्नीले लिएको महँगो उपहारका विषयमा विस्तृत अनुसन्धान हुनुपर्ने माग अस्वीकार गरेपछि राष्ट्रपति युन निकै आलोचित भए । त्यही घटनाका कारण गत अप्रिलमा भएको संसदीय चुनावमा युनको दल पीपीपीले ठूलो हार व्यहोर्‍यो ।

विपक्षी दलले फराकिलो जित हासिल गरेपछि युनले चाहेअनुसार काम गर्न पाएनन् । जसका कारण उनले उत्तर कोरियालाई देखाउँदै सैनिक शासन लागू गरेका हुन् । घटनापछि रक्षामन्त्री किम योङ ह्युनले राजीनामा दिए । तर सैनिक शासन लागू गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र नागरिक अधिकार हननका गर्न पदीय मर्यादा दुरुपयोग गरेको आरोपमा उनी गत आइतबार नै पक्राउ परिसकेका छन् । दोषी ठहर भएको खण्डमा किमलाई मृत्युदण्ड वा आजीवन जेल सजाय हुन्छ ।

दक्षिण कोरियामा राष्ट्रपतिमाथि संसद्ले महाभियोग लगाएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१६ मा राष्ट्रपति पार्क ग्युन–हेलाई पैसा असुलीका लागि साथीलाई सघाएकामा महाभियोग लगाइएको थियो । त्यस्तै, सन् २००४ मा अर्का दक्षिण कोरियाली राष्ट्रपति रोह मु–ह्युनविरुद्ध महाभियोग लगाइएको थियो । दुई महिनाका लागि निलम्बन भएका उनी पछि संवैधानिक अदालतबाट पुनःस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...