मुख्य समाचार
दक्षिण कोरियाली राष्ट्रपति विरुद्धको महाभियोगबारे सुनुवाइ सुरू
दक्षिण कोरियाली राष्ट्रपति विरुद्धको महाभियोगबारे सुनुवाइ सुरू

— दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोगबारे सुनुवाइ प्रक्रिया सुरू गरेको छ । सैनिक शासन घोषणा गरेको र देशलाई राजनीतिक उथलपुथलमा डुबाएको आरोपमा कोरियाली संसद्ले गत राष्ट्रपति युनविरुद्ध शनिबार महाभियोग प्रस्ताव पारित गरिसकेको छ ।




संसद्‍बाट महाभियोग प्रस्ताव पारित भएसँगै निलम्बनमा परेका युनलाई हटाउने वा पुनर्बहाली गर्ने विषयमा ९ सदस्यीय अदालतले निर्णय लिनेछ । त्यसका लागि अदालतसँग अब ६ महिनाको समय बाँकी छ । पद रिक्त भएको खण्डमा भने ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनुपर्ने व्यवस्था छ । त्यतिन्जेलसम्म प्रधानमन्त्रीले अन्तरिम राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन् ।


राष्ट्रपति युनले गत डिसेम्बर ३ मा दक्षिण कोरियासँगै विश्व समुदायलाई नै चकित पार्ने गरी सैनिक शासन लागू गरेका थिए । छिमेकी देश उत्तर कोरिया र देशभित्रकै केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको दाबी गर्दै उनले सैनिक शासन लगाउनुपरेको बताएका थिए ।

राष्ट्रपतिले सैनिक शासन लागू गरेको केही समयमै सेनाले एउटा आदेश जारी गर्दै संसद्का गतिविधि र राजनीतिक प्रदर्शनमा प्रतिबन्ध लगायो । लगत्तै सेना परिचालन भयो । संसद्को तल्लो सदन नेशनल एसेम्ब्लीमा सैनिक र प्रहरी खटिए । केही सैनिक हेलिकोप्टरबाट संसद् भवनको छतमा ओर्लिए ।

देशकै ठूलो विपक्षी दल डेमोक्रेटिक पार्टीका नेता ली जे–म्यङले तत्काल राष्ट्रपतिको कदमको विरोध गरे । उनले राष्ट्रपतिको कदमविरुद्ध मतदानका लागि सांसदहरूलाई संसद्मा उपस्थित हुन आग्रह गरे । अनि दक्षिण कोरियाली जनतालाई राष्ट्रपतिको कदमविरुद्ध विरोध प्रदर्शनमा उत्रन पनि आह्वान गरे । राष्ट्रपतिको कदमको उनकै दल पिपल्स पावर पार्टी (पीपीपी) ले पनि विरोध गर्‍यो । पीपीपी नेता हान डोङ-हुनले पनि सोमबार राजीनामा दिइसकेका छन् ।

लगत्तै संसद्को बहुमतले राष्ट्रपतिको निर्णय उल्टाइदियो । त्यसपछि अप्ठ्यारोमा परेका राष्ट्रपति युनले आफ्नो निर्णय फिर्ता लिए । तर विपक्षी दलका सांसदले भने राष्ट्रपतिलाई पदबाट हटाउनुपर्ने भन्दै संसद्मा महाभियोग प्रस्ताव ल्याए । डिसेम्बर ७ मा संसदमा भएको मतदान राष्ट्रपतिको पार्टीले बहिष्कार गरेपछि महाअभियोगको पक्षमा भने दुई तिहाइ पुगेन । दक्षिण कोरियाको संसदमा ३ सय सदस्य छन् । तीमध्ये १ सय ८ सदस्य राष्ट्रपतिको पीपीपीका छन् ।

खासगरी पीपीपीले राष्ट्रपति येओललाई महाभियोगबाट जोगाएर राजीनामा दिन लगाउन रणनीति लिएको थियो । तर राष्ट्रपति युनले भने ‘मार्सल ल’ लागू गरेकामा माफी माग्दै पुनः यस्तो कदम नचाल्ने वाचा गरे । यसैबीच, विपक्षी दलहरूले भने राष्ट्रपतिविरुद्ध शुक्रबार पुनः महाअभियोग प्रस्ताव ल्याए । दोस्रो प्रस्तावमाथि शनिबार मतदान भयो ।




राजीनामा नदिएपछि रुष्ट सत्तारूढ दलका केही सांसदले भने राष्ट्रपतिविरुद्ध मत दिए । जसका कारण उनीविरुद्धको महाअभियोग प्रस्ताव पारित भयो । शनिबारको मतदानमा २ सय ४ सांसदले महाभियोग प्रस्तावको पक्षमा र ८४ सांसदले विपक्षमा मत दिए । ८ मत बदर भयो भने ३ सांसद तटस्थ रहे । राष्ट्रपतिलाई महाअभियोग लागेसँगै राजधानी सोल लगायतका स्थानमा स्थानीयले खुशीयाली समेत मनाए ।

दुई वर्षअघि राष्ट्रपतिमा निर्वाचित युन पत्नीका कारण समस्यामा परेका हुन् । उनकी पत्नी किम किअन हीमाथि गैरकानुनी रूपमा महँगो ब्रान्डको ‘ब्याग’ उपहारमा लिएको र धितोपत्र बजारमा चलखेल गरेको आरोप छ । पत्नीले लिएको महँगो उपहारका विषयमा विस्तृत अनुसन्धान हुनुपर्ने माग अस्वीकार गरेपछि राष्ट्रपति युन निकै आलोचित भए । त्यही घटनाका कारण गत अप्रिलमा भएको संसदीय चुनावमा युनको दल पीपीपीले ठूलो हार व्यहोर्‍यो ।

विपक्षी दलले फराकिलो जित हासिल गरेपछि युनले चाहेअनुसार काम गर्न पाएनन् । जसका कारण उनले उत्तर कोरियालाई देखाउँदै सैनिक शासन लागू गरेका हुन् । घटनापछि रक्षामन्त्री किम योङ ह्युनले राजीनामा दिए । तर सैनिक शासन लागू गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र नागरिक अधिकार हननका गर्न पदीय मर्यादा दुरुपयोग गरेको आरोपमा उनी गत आइतबार नै पक्राउ परिसकेका छन् । दोषी ठहर भएको खण्डमा किमलाई मृत्युदण्ड वा आजीवन जेल सजाय हुन्छ ।

दक्षिण कोरियामा राष्ट्रपतिमाथि संसद्ले महाभियोग लगाएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१६ मा राष्ट्रपति पार्क ग्युन–हेलाई पैसा असुलीका लागि साथीलाई सघाएकामा महाभियोग लगाइएको थियो । त्यस्तै, सन् २००४ मा अर्का दक्षिण कोरियाली राष्ट्रपति रोह मु–ह्युनविरुद्ध महाभियोग लगाइएको थियो । दुई महिनाका लागि निलम्बन भएका उनी पछि संवैधानिक अदालतबाट पुनःस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम