मुख्य समाचार
गोदाममा मल थुपारेर कालोबजारी, मुख्यमन्त्री बोलाएर सहमति
गोदाममा मल थुपारेर कालोबजारी, मुख्यमन्त्री बोलाएर सहमति

। सप्तरी जिल्लाका जनप्रतिनिधिहरूले मंगलबार साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र कृषि सामग्री केन्द्र लिमिडेटमा ताला लगाए । ताला लगाउनुको कारण रासायनिक मल अभाव थियो ।

‘हाम्रा यहाँका किसानले मल पाएका छैनन् । गोदाममा आएको मल पनि कहाँ वितरण भइरहेको छ थाहा छैन,’ सप्तरी छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले भने, ‘यहाँ किसानलाई मल नआउने, अनि बजारमा मल कालोबजारी हुने पाइएकाले विरोध गर्दै ताला लगाएका थियौं ।’




उनका अनुसार सप्तरीका १८ वटै स्थानीय तहका प्रमुखहरूको रोहबरमा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीका कार्यालयहरूमा तालाबन्दी गरिएको थियो ।

‘मल वितरणमा गरिएको कालोबजारी, अनियमितता र लापरबाहीका कारण हामीले विरोध गर्दै ताला लगाएका थियौं,’ चौधरी भन्छन् ।



उनका अनुसार सप्तरीमा १ लाख १६ हजार बोरा मल आयात भएकोमा केवल ४३ हजार बोरामात्र वितरण गरिएको छ । १३ हजार बोरा मल गोदाममा मौज्दात रहे पनि किसानलाई उपलब्ध गराइएको छैन ।



‘बाँकी ६० हजार बोरा मल अत्तोपत्तो छैन, जसले गम्भीर शंका उत्पन्न गराएको छ, यसले मलमा कालोबजारी भएको प्रष्ट हुन्छ,’ उनी भन्छन ।

जनप्रतिनिधिहरूको आरोपबारे साल्ट ट्रेडिङ राजविराज कार्यालय प्रमुख सोम मुर्मुले तथ्यांक जनप्रतिनिधिलाई दिएको बताए ।

‘यहाँबाट हामीले कालोबजारी गरेको छैन, मलको अवस्थाबारे जनप्रतिप्रनिधिहरूलाई भनेका पनि थियौैं,’ उनले भने । तर, उनले मलको यथार्थ विवरणबारे जवाफ दिन सकेनन् ।



मुख्यमन्त्री बोलाएर सहमति

सप्तरीमा जनप्रतिनिधिहरूकै अगुवाइमा साल्ट ट्रेडिङ र कृषि सामग्री केन्द्र अगाडि धर्ना भएपछि मधेस प्रदेश सरकारका मुख्यमन्त्री नै छलफल गर्न आएका थिए ।

बुधबार सप्तरीबाट प्रतिनिधिसभा सदस्य बनेका जनमत पार्टी अध्यक्ष डा. सीके राउत, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सहित छलफल भएको हो ।

‘हामीले किसानका पक्षमा आन्दोलन गरेर प्रदेश सरकारको उपस्थिति मागेपछि मुख्यमन्त्री स्वयं र जिल्लाका सांसद सीके राउत सहित छलफल भएको हो,’ छिन्नमस्ता गाउँपालिका अध्यक्ष चौधरी भन्छन् ।

उनका अनुसार साल्ट ट्रेडिङ र कृषि सामग्री केन्द्रले किसान र जनप्रतिनिधि सामु प्रतिबद्धता गरेपछि बुधबार ताला खोल्ने सहमति भएको छ ।

‘राजविराजस्थित गोदाममा रहेको मल अविलम्ब वितरण गरिने छ,’ सहमतिमा छ । यस्तै जिल्लामा माग अनुसार मल नआएको र आएको मल पनि किसानलाई कम दिँदा कालोबजारी भएको भन्दै सहकारी, डिलरलाई कारबाही गर्ने सहमति भएको छ ।

सहमति अनुसार जिल्लामा मागको ३० प्रतिशत मल पनि नरहेको भन्दै संघ सरकारसँग माग गरिने छ ।

हेर्नुस् सहमति :



१ लाख टन मल मौज्दात

मल अभाव कारण कालोबजारी र विवाद चलिरहँदा सरकारसँग भने १ लाख टनभन्दा बढी मौज्दात छ । गत आर्थिक वर्ष २०८०/८१ को मौज्दात सहित अहिले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा गरी १७ मंसिरसम्म १ लाख १५ हजार ३ सय १२ टन मल मौज्दात छ ।

साल्ट ट्रेडिङसँग २६ हजार १ सय ७४ टन र कृषि सामग्रीसँग ८९ हजार १ सय ३८ टन मल मौज्दाते छ । दुई कम्पनीसँग गरी युरिया ७८ हजार ८ सय २२ टन, डीएपी २९ हजार ५ सय २२ टन र पोटास ६ हजार ९ सय ६७ टन मौज्दात छ ।

चालु आव ५ लाख ५० हजार टन मल ल्याउने लक्ष्य लिएको सरकारले साउनयता २ लाख ७ हजार १ सय ७५ टन मल आयात गरिसकेको छ ।

‘सुधार हुँदैछ’

कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ मल अभावको विषयलाई लिएर मन्त्रालयले सुधारको कम गरिहेको बताउँछन् ।

‘हामीले मल वितरण प्रणालीमा सुुधार गर्न निर्देशिका संशोधन गरिरहेका छौं । यो निर्देशिका सुधार भएपछि अहिले जस्तो समस्या आउँदैन,’ श्रेष्ठले भने ।

उनका अनुसार प्रदेश कृषि सचिवको नेतृत्वमा भएको समितिले खेतीयोग्य जमिन, बाली उपलब्धता, सिँचाइ उपलब्धता र गत वर्ष भएको मल खपतका आधारमा कोटा निर्धारण हुने गर्दछ ।

फोटोः गोदाममा ताला लगाएको, जनप्रतिनिधि धर्ना बसेको । सहमतिको कपी पनि सँगै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख मनोज केसीले पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा अहिले पनि फेक रेस्क्यू भएको उजुरी आउनेक्रम जारी रहेको बताएका छन् । फेक रेस्क्यूबारे भएको अनुसन्धानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केसीले यसबारे जानकारी गराएका हुन् । ‘विशेष गरी उच्चहिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकोबारे उजुरी र ...
। जिल्ला प्रहरी कार्यालय डडेलधुराका एक जना प्रहरी हबल्दार आत्महत्या दुरुत्साहनमा पक्राउ परेका छन् । डडेल्धुरामा मृत फेला परेकी सरीता गिरीको सुसाइड नोटका आधारमा प्रहरी हबल्दार यज्ञ साउद पक्राउ परेका हुन् । सवारी चालक पदमा कार्यरत साउदलाई हिरासतमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले जानकारी दिए । भागेश्वर गाउँपालिका–३ स्थायी ...
। आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका थिए । उक्त रिटमा आइतबार ...
। काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी हटाउने कुनै योजना नभएको स्पष्ट पारेको छ । साथै, महानगरले कुर्सी व्यवस्थापनको काम थालिएको पनि जनाएको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरुपता कायम ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पर्यटकहरूको फेक रेस्क्यूबारे अनुसन्धानको प्रगति विवरणबारे जानकारी गराउने भएको छ । त्यसका लागि सीआईबीले आजै साँझ ५ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । सीआईबी प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार, लाजिम्पाटस्थित सीआईबीको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गरिएको हो । ‘नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका पर्यटकहरूको फेक रेस्क्यू सम्बन्धी अनुसन्धानको ...