मुख्य समाचार
ट्रेड युनियनबारे सत्तारुढ नेकपा एमालेकै सांसदहरूले फरक-फरक प्रस्ताव
ट्रेड युनियनबारे सत्तारुढ नेकपा एमालेकै सांसदहरूले फरक-फरक प्रस्ताव

। निजामती कर्मचारीमा ट्रेड युनियनबारे सत्तारुढ नेकपा एमालेकै सांसदहरूले फरक-फरक प्रस्ताव गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल थियो । उक्त छलफलमा एमालेकै सांसदहरुको मत मूलतः तीन थरी देखिए ।




पहिलो : कर्मचारीको राजनीतिक आबद्धताबारे मौन रहने ।
दोस्रो : एउटा मात्रै आधिकारिक ट्रेड युनियन राख्ने ।
तेस्रो : राजनीतिक सहमति जुटाएर अगाडि बढ्ने ।
सांसद दामोदर पौडेल बैरागीले कर्मचारीको राजनीतिक आबद्धताबारे विधेयकमा केही पनि बोल्नु नपर्ने सुझाव दिएका छन् । कर्मचारी कुनै पनि राजनीतिक दलको सदस्य हुन नहुने प्रावधान रहेको बताउँदै उनले भने, ‘उनीहरूको स्वतन्त्रताको कुरा पनि हुन्छ । विधेयकमा राजनीतिक दल भन्ने शब्द नै नराखौं । यसो गरिए केही भन्नु पर्दैन ।’ ट्रेड युनियन पनि कर्मचारीहरूको स्वतन्त्रताभित्र पर्ने उनको तर्क छ ।

प्रस्तावित विधेयकको दफा १२० मा राख्नेगरी सांसद पौडेलको लिखित प्रस्ताव छ– संघीय निजामती सेवा ऐन अनुसार प्रदेश र स्थानीय तहमा समेत ट्रेड युनियन अभ्यास गर्न पाउनेछन् ।



यहीँनेर सांसद पौडेलले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवामा ट्रेड युनियन रहने व्यवस्था राखेर जानुपर्ने प्रस्ताव गरेका हुन् । ‘स्थानीय तहसम्म उहाँहरू (कर्मचारीहरू) ले ट्रेड युनियन गठन गर्ने, एक ठाउँमा दर्ता भएपछि सबै ठाउँमा दर्ता गर्नु नपर्ने सँगै राख्नुभएको हुनाले यस ढंगले जानुपर्छ भनेर प्रस्ताव गरेको छु,’ उनले भने ।

अर्थात् कर्मचारीको राजनीतिक आबद्धताबारे मौन रहने र कर्मचारीमा हाल रहेको ट्रेड युनियनको अभ्यासलाई प्रदेश र स्थानीय सेवामा समेत रहन दिनुपर्ने एमाले सांसद पौडेलको प्रस्ताव छ ।

तर एमालेकै अर्का सांसद अम्मरबहादुर रायमाझी एउटा मात्रै आधिकारिक ट्रेड युनियनको पक्षमा उभिए । ‘अब राष्ट्रिय स्तरको एउटा मात्रै आधिकारिक ट्रेड युनियन भयो भने त्यसले आफ्नो हक हितको प्रतिनिधित्व गर्छ र ट्रेड युनियन अधिकारलाई पनि उसले संरक्षण गर्छ,’ उनले तर्क गरे ।

विगतमा दलगत ट्रेड युनियन खुलेको र त्यसको इतिहासमा महत्त्वपूर्ण भूमिकामा रहेको सन्दर्भ सांसद रायमाझीले उल्लेख गरे । उनी भन्छन्, ‘हिजो एउटा समयमा विभिन्न दलहरूले सबै खाले ट्रेड युनियनको व्यवस्था गर्‍यौं । ट्रेड युनियनहरूले आफ्नो काम पनि गर्नुभयो । एउटा इतिहास रच्नुभएको छ, त्यसको सम्मान गरिन्छ । तर अब ट्रेड युनियनको भूमिका अलि फरक गर्नुपर्ने छ ।’

यसको अर्थ आफूले ट्रेड युनियन नचाहिने नभनेको बरु दलगत ट्रेड युनियनको अन्त्य गरेर एउटा मात्र आधिकारिक ट्रेड युनियन राख्नुपर्छ भनेको सांसद रायमाझीको प्रष्टीकरण छ । ‘अब एउटा आधिकारिक ट्रेड युनियन मात्रै गठन गर्नुपर्छ । विभिन्न दल गत रूपमा भएका ट्रेड युनियनलाई प्रतिनिधित्व गराउने व्यवस्थालाई अब एउटा ऊ (कानुन) बनाएर अन्त्य गर्नुपर्छ,’ उनले भने ।

छलफलमा एमालेका सचिव योगेश भट्टराई पनि थिए । उनले प्रष्ट कुरा राखेनन् ।

त्यसपछि समिति सभापति रामहरि खतिवडाले सोधे, ‘तपाईंको विचारमा ट्रेड युनियनबारे कसरी जान सकिन्छ ?’



सांसद भट्टराईले जवाफ दिए, ‘अझै छलफल गरौं, यसमा । किनभने यसमा अलिकति कन्सेसनस नै चाहिन्छ । यसमा कुनै पपुलिज्मको कुरा गरेर भड्काउने कुरा नगरौं । भडकाउन सजिलो छ, बनाउन गाह्रो छ ।’

ट्रेड युनियन चाहिनेमा आफू प्रष्ट रहेको उनले बताए । ‘ट्रेड युनियन चाहिन्छ । कस्तो प्रकृतिको ट्रेड युनियन ? राजनीतिक संलग्नता कसरी व्यवस्थित गर्ने ? ट्रेड युनियनलाई व्यावसायिक कसरी बनाउने ? पेसागत मर्यादामा कसरी राख्ने ? यो कुरा चाहीँ हेर्नुपर्छ ।’

विगतमा जस्तो राजनीतिक मोटिभ ट्रेड युनियन नभएर अब पेशागत मोटिभ ट्रेड युनियन बनाउनुपर्नेमा उनको जोड छ । ‘अब राजनीतिक सहमतिको आधारमा ट्रेड युनियनहरूलाई हिजोको परम्परागत मान्यताबाट बदल्नुपर्छ,’ उनी भन्छन्, ‘यसकारण ‘एक्स्ट्रिम बहस नगरौं । ट्रेड युनियन चाहिँदै चाहिँदैन भन्ने बहस नगरौं । ट्रेड युनियन सर्वेसर्वा हो, यसले सम्पूर्ण निजामती प्रशासन चलाउँछ भन्ने कुरा पनि नगरौं ।’

संघीय निजामती सेवामा ट्रेड युनियन रहने सम्बन्धी व्यवस्था प्रस्तावित विधेयकको दफा १३१ मा छ । जसले हाल अभ्यासमा रहेको जस्तै राष्ट्रिय स्तरका ट्रेड युनियन रहने व्यवस्थालाई निरन्तरता दिएको छ ।

ट्रेड युनियनले निजामती ऐनमै स्थान पाएको २०६४ सालमा निजामती ऐनको दोश्रो संशोधन भएपछि हो । ऐनको दोस्रो संशोधन लगत्तै विभिन्न आठ वटा राष्ट्रिय स्तरका ट्रेड युनियन श्रम विभागमा दर्ता भएका थिए ।

त्यसबेला देखि नै राजनीतिक दलसँग आबद्ध रहने गरी ट्रेड युनियन रहने वा नरहनेबारे बहस छ । निजामति सेवा ऐन संशोधन हुने बेलामा यो विषय बढी उठ्ने गरेको छ ।

२०७५ सालमा प्रतिनिधिसभामा आएको निजामति सेवा विधेयकमाथिको छलफलमा पनि यो विषय पेचिलो बनेको थियो । तर उक्त विधेयक २०७८ साल फागुनमा फिर्ता भयो । प्रतिनिधिसभाको चालु अधिवेशनमा ९ महिना अगाडि (२१ फागुन २०८० मा) आएको विधेयकप्रतिको छलफलमा पनि ट्रेड युनियनबारेको प्रावधानलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ,महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। समितिलाई आगामी कार्यसमितिको बैठकमा पेश गर्नेगरी ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीबीच प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको विषयलाई लिएर राजनीतिक मतभेद देखिएको छ । सांसद राईले प्रधानमन्त्रीको राजीनामा माग गर्दै विज्ञप्ति जारी गरेपछि सांसद शाहीले त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा एक स्टाटस जारी गरेका छन् । ...
: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन ...
: देशका २६५ स्थानीय तहले साढे ६३ करोड रुपैयाँभन्दा बढी रकम वितरणमा नै सकेका छन्। महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार स्थानीय तहले ग्यास, साइकल, स्वास्थ्य बिमा शुल्क, विद्युत महशुल भुक्तानी, ह्याण्ड पम्प, साडी, कम्बललगायत सामान वितरण गरेर ६२ करोड ५० लाख ९० हजार खर्च गरेका हुन्। महालेखाले यस्ता खर्च नियन्त्रण गर्न सुझाव दिएको छ। ...
: नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा दाजुभाइको हत्या गरेर फरार व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरु विदुरस्थित प्रहरी हिरासतमा र शव त्रिशुली अस्पतालमा राखिएको छ । म्यागङ गाउँपालिका–१ किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको स्थानीय तोमजोङ खोलामा हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना दाजुभाइको शव फेला परेको थियो । म्यागङ गापा–१ किम्ताङबेशीमा म्यागङ–४ ...