मुख्य समाचार
ट्रेड युनियनबारे सत्तारुढ नेकपा एमालेकै सांसदहरूले फरक-फरक प्रस्ताव
ट्रेड युनियनबारे सत्तारुढ नेकपा एमालेकै सांसदहरूले फरक-फरक प्रस्ताव

। निजामती कर्मचारीमा ट्रेड युनियनबारे सत्तारुढ नेकपा एमालेकै सांसदहरूले फरक-फरक प्रस्ताव गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल थियो । उक्त छलफलमा एमालेकै सांसदहरुको मत मूलतः तीन थरी देखिए ।




पहिलो : कर्मचारीको राजनीतिक आबद्धताबारे मौन रहने ।
दोस्रो : एउटा मात्रै आधिकारिक ट्रेड युनियन राख्ने ।
तेस्रो : राजनीतिक सहमति जुटाएर अगाडि बढ्ने ।
सांसद दामोदर पौडेल बैरागीले कर्मचारीको राजनीतिक आबद्धताबारे विधेयकमा केही पनि बोल्नु नपर्ने सुझाव दिएका छन् । कर्मचारी कुनै पनि राजनीतिक दलको सदस्य हुन नहुने प्रावधान रहेको बताउँदै उनले भने, ‘उनीहरूको स्वतन्त्रताको कुरा पनि हुन्छ । विधेयकमा राजनीतिक दल भन्ने शब्द नै नराखौं । यसो गरिए केही भन्नु पर्दैन ।’ ट्रेड युनियन पनि कर्मचारीहरूको स्वतन्त्रताभित्र पर्ने उनको तर्क छ ।

प्रस्तावित विधेयकको दफा १२० मा राख्नेगरी सांसद पौडेलको लिखित प्रस्ताव छ– संघीय निजामती सेवा ऐन अनुसार प्रदेश र स्थानीय तहमा समेत ट्रेड युनियन अभ्यास गर्न पाउनेछन् ।



यहीँनेर सांसद पौडेलले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवामा ट्रेड युनियन रहने व्यवस्था राखेर जानुपर्ने प्रस्ताव गरेका हुन् । ‘स्थानीय तहसम्म उहाँहरू (कर्मचारीहरू) ले ट्रेड युनियन गठन गर्ने, एक ठाउँमा दर्ता भएपछि सबै ठाउँमा दर्ता गर्नु नपर्ने सँगै राख्नुभएको हुनाले यस ढंगले जानुपर्छ भनेर प्रस्ताव गरेको छु,’ उनले भने ।

अर्थात् कर्मचारीको राजनीतिक आबद्धताबारे मौन रहने र कर्मचारीमा हाल रहेको ट्रेड युनियनको अभ्यासलाई प्रदेश र स्थानीय सेवामा समेत रहन दिनुपर्ने एमाले सांसद पौडेलको प्रस्ताव छ ।

तर एमालेकै अर्का सांसद अम्मरबहादुर रायमाझी एउटा मात्रै आधिकारिक ट्रेड युनियनको पक्षमा उभिए । ‘अब राष्ट्रिय स्तरको एउटा मात्रै आधिकारिक ट्रेड युनियन भयो भने त्यसले आफ्नो हक हितको प्रतिनिधित्व गर्छ र ट्रेड युनियन अधिकारलाई पनि उसले संरक्षण गर्छ,’ उनले तर्क गरे ।

विगतमा दलगत ट्रेड युनियन खुलेको र त्यसको इतिहासमा महत्त्वपूर्ण भूमिकामा रहेको सन्दर्भ सांसद रायमाझीले उल्लेख गरे । उनी भन्छन्, ‘हिजो एउटा समयमा विभिन्न दलहरूले सबै खाले ट्रेड युनियनको व्यवस्था गर्‍यौं । ट्रेड युनियनहरूले आफ्नो काम पनि गर्नुभयो । एउटा इतिहास रच्नुभएको छ, त्यसको सम्मान गरिन्छ । तर अब ट्रेड युनियनको भूमिका अलि फरक गर्नुपर्ने छ ।’

यसको अर्थ आफूले ट्रेड युनियन नचाहिने नभनेको बरु दलगत ट्रेड युनियनको अन्त्य गरेर एउटा मात्र आधिकारिक ट्रेड युनियन राख्नुपर्छ भनेको सांसद रायमाझीको प्रष्टीकरण छ । ‘अब एउटा आधिकारिक ट्रेड युनियन मात्रै गठन गर्नुपर्छ । विभिन्न दल गत रूपमा भएका ट्रेड युनियनलाई प्रतिनिधित्व गराउने व्यवस्थालाई अब एउटा ऊ (कानुन) बनाएर अन्त्य गर्नुपर्छ,’ उनले भने ।

छलफलमा एमालेका सचिव योगेश भट्टराई पनि थिए । उनले प्रष्ट कुरा राखेनन् ।

त्यसपछि समिति सभापति रामहरि खतिवडाले सोधे, ‘तपाईंको विचारमा ट्रेड युनियनबारे कसरी जान सकिन्छ ?’



सांसद भट्टराईले जवाफ दिए, ‘अझै छलफल गरौं, यसमा । किनभने यसमा अलिकति कन्सेसनस नै चाहिन्छ । यसमा कुनै पपुलिज्मको कुरा गरेर भड्काउने कुरा नगरौं । भडकाउन सजिलो छ, बनाउन गाह्रो छ ।’

ट्रेड युनियन चाहिनेमा आफू प्रष्ट रहेको उनले बताए । ‘ट्रेड युनियन चाहिन्छ । कस्तो प्रकृतिको ट्रेड युनियन ? राजनीतिक संलग्नता कसरी व्यवस्थित गर्ने ? ट्रेड युनियनलाई व्यावसायिक कसरी बनाउने ? पेसागत मर्यादामा कसरी राख्ने ? यो कुरा चाहीँ हेर्नुपर्छ ।’

विगतमा जस्तो राजनीतिक मोटिभ ट्रेड युनियन नभएर अब पेशागत मोटिभ ट्रेड युनियन बनाउनुपर्नेमा उनको जोड छ । ‘अब राजनीतिक सहमतिको आधारमा ट्रेड युनियनहरूलाई हिजोको परम्परागत मान्यताबाट बदल्नुपर्छ,’ उनी भन्छन्, ‘यसकारण ‘एक्स्ट्रिम बहस नगरौं । ट्रेड युनियन चाहिँदै चाहिँदैन भन्ने बहस नगरौं । ट्रेड युनियन सर्वेसर्वा हो, यसले सम्पूर्ण निजामती प्रशासन चलाउँछ भन्ने कुरा पनि नगरौं ।’

संघीय निजामती सेवामा ट्रेड युनियन रहने सम्बन्धी व्यवस्था प्रस्तावित विधेयकको दफा १३१ मा छ । जसले हाल अभ्यासमा रहेको जस्तै राष्ट्रिय स्तरका ट्रेड युनियन रहने व्यवस्थालाई निरन्तरता दिएको छ ।

ट्रेड युनियनले निजामती ऐनमै स्थान पाएको २०६४ सालमा निजामती ऐनको दोश्रो संशोधन भएपछि हो । ऐनको दोस्रो संशोधन लगत्तै विभिन्न आठ वटा राष्ट्रिय स्तरका ट्रेड युनियन श्रम विभागमा दर्ता भएका थिए ।

त्यसबेला देखि नै राजनीतिक दलसँग आबद्ध रहने गरी ट्रेड युनियन रहने वा नरहनेबारे बहस छ । निजामति सेवा ऐन संशोधन हुने बेलामा यो विषय बढी उठ्ने गरेको छ ।

२०७५ सालमा प्रतिनिधिसभामा आएको निजामति सेवा विधेयकमाथिको छलफलमा पनि यो विषय पेचिलो बनेको थियो । तर उक्त विधेयक २०७८ साल फागुनमा फिर्ता भयो । प्रतिनिधिसभाको चालु अधिवेशनमा ९ महिना अगाडि (२१ फागुन २०८० मा) आएको विधेयकप्रतिको छलफलमा पनि ट्रेड युनियनबारेको प्रावधानलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको पछिल्लो सुरक्षा अवस्था र जेनजी आन्दोलनका नाममा भएका हिंसात्मक घटनाको छानबिन गर्न सरकारले गठन गरेको आयोगको कामकारबाही एवं भूमिकाप्रति अविश्वास व्यक्त गरेका छन्। उनले आयोगको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठाए। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार स्वयं र उसले गठन गरेको छानबिन ...
: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै उनले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको बताए। ‘राष्ट्रिय एकता र मेलमिलापको लागि आज सत्ता राजनीति भन्दा माथी सार्वभौम सम्पुर्ण नेपालीहरुको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको छ।’ ...
: बूढीगण्डकी नदीमा करेन्ट तथा विषादी प्रयोग गरी माछा मार्न नपाइने भएको छ। आरुघाट गाउँपालिकाले बुधबार सूचना प्रकाशित गरी करेन्ट लगाएर तथा विषादी प्रयोग गरी बूढीगण्डकीको माछा मार्न कडा प्रतिबन्ध लगाएको जनाएको हो। ‘यस्ता घातक विधिको प्रयोगबाट जलचरको विनाश हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने र मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्तिने भएकाले खोला वा जलाशयमा ...
: भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौबीसै घण्टा आयात गर्न अनुमति नवीकरण गरेको हो। यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो। नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० ...
: निर्वाचन आयोगले गत निर्वाचनमा जरिवाना तिर्नेलाई उम्मेदवार बन्‍नबाट नरोक्ने जनाएको छ। अन्नपूर्ण पोस्ट्ले निर्वाचन आयोगले तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको थियो। आयोगका अनुसार तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५/१५ हजार जरिवानासमेत गरेको छ। आयोगका प्रवक्ता/ सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा ...