मुख्य समाचार
मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीविरुद्ध अब मुद्दा नचल्ने
मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीविरुद्ध अब मुद्दा नचल्ने

— मानव तस्करीको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्‍याएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिलको कार्यालयको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । अब उनीविरुद्ध मुद्दा चल्ने छैन ।

उक्त प्रकरणमा अधिकारीको पनि संलग्नताको अदालती परीक्षण हुनुपर्ने तथ्य सरकारी वकिलबाट अस्वीकार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही मंसिर १५ मा सर्वोच्चमा रिट दायर गरेका थिए । तर सर्वोच्चका रजिस्ट्रारले रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेका थिए ।

दरपीठको निर्णय सर्वोच्चको आफ्नै नजिरविरुद्ध भएकाले खारेज गरी अधिकारीविरुद्ध मुद्दा चलाइपाऊँ भनी त्रिपाठीले बिहीबार अर्को निवेदन दिएका थिए । आइतबार निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले दरपीठ आदेश सदर हुने ठहर गरेको हो ।

‘यो आदेशले गलत नजिर बसेको छ,’ त्रिपाठी भन्छन्, ‘जस्तै अपराध गरे पनि सरकारी वकिलले चाहे जोसुकै चोखिन सक्छ भन्ने सन्देश गएको छ ।’ कसैलाई मुद्दा लगाउने वा नलगाउने भन्ने निर्णय सरकारी वकिलले तजबिजका आधारमा गर्न सक्दैनन् भन्ने नजिर यसअघि नै बनेको उनले निवेदनमा उल्लेख गरेका थिए ।

साथै, न्याय पाउने हकबाट वञ्चित गर्न कसैलाई पनि नमिल्ने भएकाले रिट दरपीठ गर्ने अधिकार सर्वोच्च प्रशासनलाई नभएको उनले तर्क राखेका थिए । मानव तस्करीमा संलग्न भएको प्रमाणसहित फेला परेका मन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने हुनाले दरपीठ आदेश खारेज गरी रिट दर्ता हुनुपर्ने त्रिपाठीको माग थियो ।

सुन्तली धामीदेखि अफताब आलमसम्मको मुद्दामा कसैलाई मुद्दा लगाउने वा नलगाउने भन्ने निर्णय सरकारी वकिलले तजबिजका आधारमा गर्न सक्दैनन् भन्ने नजिर यसअघि भए पनि त्यसलाई अनदेखा गरेर काठमाडौं जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत मंसिर १० मा अधिकारीलाई उन्मुक्ति दिएको थियो । जबकि, प्रहरीको रायसहितको प्रतिवेदनमा मन्त्री दोषी देखिएकाले उनलाई पनि मुद्दा चलाउनुपर्ने उल्लेख छ ।


गिरोहसँगको मिलेमतोमा तत्कालीन मन्त्री अधिकारीले कात्तिक १३ मा रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राईलाई आफूसँगै जापान उडाएका थिए ।

ती युवाले गिरोहलाई कुल ३१ लाख ५५ हजार रुपैयाँ बुझाएका थिए । कागजपत्र शंकास्पद देखिएपछि जापानको अध्यागमनले चारै जनालाई विमानस्थलबाटै फर्काइदिएको थियो । फर्कंदा तीन युवालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो भने आफू मन्त्री भएको बताउँदै अधिकारी उम्कन सफल भएका थिए ।

तीनै जना युवा हाल थुनामा छन् । ती युवाले जापान जान महेश भण्डारी, वीरबहादुर सुनुवार र दावा शेर्पालगायतको समूहलाई रकम बुझाएका थिए । उनीहरूको बयानपछि पक्राउ परेका भण्डारी, सुनुवार र शेर्पा पनि थुनामै छन् ।

उनीहरूविरुद्ध पनि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ । मन्त्रीलाई मुद्दा नचलाउने निर्णयले पीडित थप पीडामा परी मानवअधिकार हनन भएको भन्दै त्यसविरुद्ध छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी पनि परेको छ । आयोगले बुधबारदेखि अनुसन्धान थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउनेसक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ...
: प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो। प्रधानमन्त्री सचिवालयका अनुसार सरकारले ...
: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा आयोजित सो पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको कांग्रेस नेता डा ...
: नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन्। समितिको संयोजक तारामान गुरूङ रहेका छन्। सदस्यमा धना खतिवडा,रमेशप्रसाद धमला र बजरंग नेपाली चयन भएका छन्।
: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने ...