मुख्य समाचार
‘मार्सल ल’को असफल प्रयासपछि दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव
‘मार्सल ल’को असफल प्रयासपछि दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव

— दक्षिण कोरियामा अप्रत्याशित रूपमा मंगलबार राति संकटकालीन ‘मार्सल’ कानुन लागू गरेका राष्ट्रपति युन सुक येओलले महाभियोगको सामना गर्ने भएका छन् । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युनविरुद्ध बुधबार महाभियोगको प्रक्रिया अघि बढाएका हुन् ।






राष्ट्रपति युनले दक्षिण कोरियासँगै विश्व समुदायलाई नै चकित पार्ने गरी मार्सल कानुन लागू गरेका थिए । तर आफ्नो दल पिपुल्स पावर पार्टी (पीपीपी) सहितका राजनीतिक दल र जनताको विरोधपछि युन केही घण्टामा नै मार्सल कानुन फिर्ता गर्न बाध्य भए ।

राष्ट्रपतिको आदेशपछि केही समय देशमा सेना परिचालन भयो । हेल्मेट लगाएका सैनिक र प्रहरीहरू राष्ट्रिय सभामा तैनाथ भए । केही सैनिकहरू हेलिकोप्टरबाट संसद् भवनको छतमा ओर्लिए । स्थानीय सञ्चारमाध्यमले मास्क लगाएका सशस्त्र सैनिकहरू भवनभित्र प्रवेश गर्दै गरेको र अग्निनियन्त्रणका लागि राखिएका उपकरण प्रयोग गरेर त्यहाँका कर्मचारीहरूले उनीहरूलाई प्रवेश गर्नबाट रोकेको दृश्य प्रसारण गरेका थिए ।

मंगलबार स्थानीय समयानुसार राति ११ बजे राष्ट्रपतिले मार्सल कानुन घोषणा गरेको केही समयमै सेनाले एउटा आदेश जारी गर्दै संसद्को गतिविधि र राजनीतिक समूहबाट हुने प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो ।

उक्त आदेशमा सञ्चारमाध्यमलाई पनि सरकारी नियन्त्रणमा राख्ने उल्लेख थियो । तर दक्षिण कोरियाका राजनीतिक दल र सांसदहरूले युनको घोषणालाई तत्कालै गैरकानुनी र असंवैधानिक भएको बताए । युनकै दल पीपीपीका नेताहरूले समेत राष्ट्रपतिको कदम गलत भएको बताएका छन् ।

देशकै ठूलो विपक्षी दल डेमोक्रेटिक पार्टीका नेता ली जे–म्यङले राष्ट्रपतिको घोषणाको विपक्षमा मतदानका लागि सांसदहरूलाई संसद्मा भेला हुन आह्वान गरे । त्यसका साथै, उनले दक्षिण कोरियाली सर्वसाधारणलाई पनि राष्ट्रपतिको कदमविरुद्ध विरोधप्रदर्शनमा सहभागी हुन संसद् परिसरमा बोलाएका थिए । ‘ट्याक, बन्दुक र चक्कु बोकेका सशस्त्र सैनिकहरूले देशमा शासन गर्दै छन् । देशवासी साथीहरू हो, नेसनल एसेम्ब्ली (संसद्) मा आउनुहोला,’ उनले भनेका थिए ।


लीको आह्वानपछि हजारौं मानिस संसद् भवन परिसरमा उपस्थित भएका थिए । उनीहरूले सुरक्षाकर्मीका अगाडि मार्सल ल र निरंकुशताको विरोधमा चर्का नाराबाजी गरेका थिए । प्रदर्शनकारीको बाक्लो उपस्थितिका कारण सुरक्षाकर्मीले तत्काल कुनै कारबाही गर्ने आँट भने गरेनन् ।

राष्ट्रपतिको घोषणाको दुई घण्टा नबित्दै सांसदहरू संसद् भवनमा प्रवेश गरेका थिए । त्यस क्रममा सांसदलाई सुरक्षाकर्मीले अवरोध सिर्जना गरेका थिए । तर उनीहरू बाटो बन्द गर्न राखिएका अवरोध नाघेर भवनभित्र प्रवेश गर्न सफल भएका थिए । बीबीसीसँग सांसद वु वन–सिकले आफू प्रदर्शनकारीको सहयोगमा पर्खालमा चढेर संसद् भवनमा पसेको बताएका छन् ।

त्यसलगत्तै संसद्मा भएको मतदानमा सांसदहरूले राष्ट्रपतिको निर्णयको विपक्षमा मतदान गरे । संसद्मा उपस्थित सबै १ सय ९० सांसदहरूले मार्सल कानुनविरुद्ध मतदान गरेपछि राष्ट्रपति युनको घोषणा अमान्य घोषित भयो । ३ सय सदस्य रहेको संसदको बहुमतले निर्णय गरेपछि राष्ट्रपति युन आफ्नो निर्णय उल्टाउन बाध्य भए ।

राष्ट्रपति युन आफ्नो कदमबाट पछि हटेका भए पनि बुधबार सांसदहरूले उनीविरुद्ध महाभियोगको प्रक्रिया सुरु गरेका छन् । राष्ट्रपति युनले दक्षिण कोरियालाई ‘उत्तर कोरियाको कम्युनिस्ट शक्तिहरूबाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई परास्त गर्न मार्सल कानुन आवश्यक भएको’ दाबी गरेका थिए । तर उनको निर्णय बाह्य चुनौतीभन्दा पनि आन्तरिक दबाब र घोटालाहरूको शृंखलाबद्ध समस्याका कारण हतारमा चालिएको देखिन्छ ।

सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित कट्टर परम्परावादी नेता युन पत्नीका कारण यसअघि नै समस्यामा परेका थिए । उनकी पत्नी किम किअन हीले गैरकानुनी रूपमा महँगो ब्रान्डको ‘ब्याग’ उपहारमा लिएको र धितोपत्र बजारमा चलखेल गरेको आरोप लागेको थियो । समाचार सार्वजनिक भएपछि दक्षिण कोरियाको राजनीतिमा तरंग उत्पन्न भएको थियो ।

उक्त काण्डका कारण गत अप्रिलमा भएको संसदीय चुनावमा युनको दल पीपीपीले ठूलो हार व्यहोरेको थियो । निर्वाचनमा विपक्षी पार्टीले फराकिलो जित हासिल गरेपछि उनका हातखुट्टा बाँधिएजस्तै भयो । त्यसयता उनको सरकारले चाहेका कानुनहरू पारित गर्न सकिरहेको छैन । उदारवादी विपक्षीहरूले पारित गरेका विभिन्न विधेयकमा भने उनले भिटो लगाउने गरेका थिए ।

कैयौं भ्रष्टाचार प्रकरणमा नाम जोडिएका कारण उनको लोकप्रियता पनि खस्किँदै गएको थियो । पछिल्लो समय भने आफ्नै दलभित्रै पनि असन्तुष्टि बढ्दै गएपछि युनले गत महिना पत्नीका तर्फबाट माफी मागेका थिए । त्यसपछि उनले ‘प्रथम महिला’ (पत्नी) को जिम्मेवारी निगरानी गर्ने कार्यालय बनाउने घोषणा गरेका थिए । तर पत्नीले लिएको महँगो उपहारका विषयमा विस्तृत अनुसन्धान हुनुपर्ने माग अस्वीकार गरेपछि भने उनीप्रति सार्वजनिक आक्रोश बढ्दो थियो ।

यसै साता विपक्षी पार्टीहरूले मतदानबाट परिवर्तन गर्न नसकिने सरकारी बजेटसम्बन्धी प्रमुख विधेयकहरू कटौती गर्न प्रस्ताव गरेका थिए । त्यहीबीचमा विपक्षीले प्रथम महिलामाथि अनुसन्धान गर्न नसकेको आरोपमा सरकारका मन्त्रीहरू र अभियोजनकर्ताहरूसहितका अधिकारीहरूमाथि महाभियोगको प्रक्रिया सुरु गरेका थिए । मंगलबार राति मार्सल कानुन घोषणा गर्नुअघि युनले आफ्नो सरकारलाई कमजोर बनाउन विपक्षीहरूले गरिरहेका प्रयासबारे चर्चा गरेका थिए ।

युनविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावमा शुक्रबार वा शनिबार संसद्मा मतदान हुने जनाइएको छ । संसद्को दुई तिहाइ बहुमतबाट महाभियोग अनुमोदन भएको खण्डमा युनले संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । ९ सदस्यीय अदालतले त्यसको अन्तिम निर्णय लिनेछ । तीमध्ये ६ न्यायाधीश महाभियोगको पक्षमा रहेको खण्डमा राष्ट्रपति पद रिक्त हुनेछ । त्यसको ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने व्यवस्था छ ।

दक्षिण कोरियाली संसद्मा ३ सय सदस्य छन् । संसद्मा राष्ट्रपति युनको दल पिपुल्स पावर पार्टी (पीपीपी) का १ सय ८ सदस्य छन् । विपक्षी दल डमोक्रेटिक पार्टीका १ सय ७५ सदस्य छन् । बाँकी सिट अन्य साना दलको छ । सत्तारूढ दल पीपीपीले राष्ट्रपतिलाई पार्टी छाड्न र उनको पूरै मन्त्रिपरिषद् तथा रक्षामन्त्री किम योङ–ह्युनलाई राजीनामा दिन आग्रह गरेको छ ।

पार्टीका नेता हान दोङ–हुनले पछिल्लो घटनाक्रमबारे पार्टीभित्र छलफल भइरहेको बताएका छन् । मन्त्रिपरिषद् र रक्षामन्त्रीलाई पदमुक्त गर्न सहमति बनेको भए पनि युनलाई हटाउने विषयमा भने पार्टी एकमत नदेखिएको बीबीसीले जनाएको छ । युनलाई महाभियोग लगाउनुपर्ने विपक्षीहरूको मागका सम्बन्धमा पनि पीपीपीले विचार गरिरहेको उनको भनाइ छ ।

स्थानीय सञ्चारमाध्यमले रक्षामन्त्री किम योङ–ह्युनले पदबाट राजीनामा दिएको तर राष्ट्रपतिबाट स्वीकृत भइनसकेको जनाएका छन् । योनहाप समाचार संस्थाले भने किममाथि पनि महाभियोग प्रस्ताव पेस गरिएको जनाएको छ । मार्सल कानुन लागू गर्ने राष्ट्रपतिको कदमका पछाडि किमको महत्त्वपूर्ण हात रहेको बताइएको छ । विपक्षी डेमोक्रेटिक पार्टीले किमलाई देशद्रोहमा अनुसन्धान हुनुपर्ने माग गरेको छ । उक्त मुद्दामा दोषी ठहरिएको खण्डमा किमलाई मृत्युदण्ड वा आजीवन जेल सजाय हुने कोरिया टाइम्सले जनाएको छ ।

दक्षिण कोरियामा राष्ट्रपतिले महाभियोग सामना गर्नुपरेको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१६ मा राष्ट्रपति पार्क ग्युन–हेलाई पैसा असुलीका लागि आफ्ना साथीलाई सघाएकोमा महाभियोग लगाइएको थियो । त्यतिबेला २ सय ३४ सांसद पार्कविरुद्धको महाभियोग प्रस्तावको पक्षमा उभिएका थिए ।

त्यस्तै, सन् २००४ मा अर्का दक्षिण कोरियाली राष्ट्रपति, रोह मु–ह्युनविरुद्ध महाभियोग लगाइएको थियो । दुई महिनाका लागि निलम्बन भएका उनलाई पछि संवैधानिक अदालतले पुनःस्थापित गरेको थियो ।

मार्सल कानुन भनेको संकटका बेला गरिने सैन्य अधिकारीहरूको शासन हो । सिद्धान्ततः यो छोटो अवधिका लागि लागू गरिन्छ । तर व्यवहारमा निकै लम्बिन सक्छ । यो कानुन सक्रिय भएको बेला सामान्य नागरिक अधिकारहरू निलम्बित हुन सक्छन् । दक्षिण कोरियामा यसअघि सैन्य शासकको हत्या भएका समयमा सैन्य कानुन लागू गरिएको थियो । सन् १९८७ मा देशमा संसदीय लोकतान्त्रिक व्यवस्था कायम भएपछि भने यस्तो कानुन कहिल्यै लागू गरिएको थिएन ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...