मुख्य समाचार
इजरायल–हेजबुल्लाह युद्धविरामबाट अपेक्षित अमन
इजरायल–हेजबुल्लाह युद्धविरामबाट अपेक्षित अमन

विश्वयुद्धमै परिणत हुने हो कि भनेर आशंका गरिएको पश्चिम एसियामा जारी युद्ध अन्ततः अवतरणतर्फ उन्मुख भएको छ । एक वर्षभन्दा लामो समयदेखि युद्धरत इजरायल र लेबनानी लडाकु समूह हेजबुल्लाह युद्धविरामका लागि सहमत भएसँगै त्यस क्षेत्रमा शान्ति पुनःस्थापना हुने सम्भावना बढेको छ ।



विकसित परिस्थितिले लेबनानवासीलाई सबैभन्दा बढी राहत दिएको छ । साथसाथै, युद्धपीडित प्यालेस्टाइनका नागरिकले पनि शान्तिको सास फेर्न पाउने सम्भावना बढेको छ ।


मूलतः इजरायल–हेजबुल्लाह सहमति शान्ति र सहमतिका पक्षधरको जित हो । यसबाट कुनै पनि युद्ध चर्किएर समाधान निस्किँदैन, वार्ता र सहमति नै निकास हो भन्ने मतको पुनः पुष्टि भएको छ । यो अनुभूति इजरायल–हमास युद्धका पक्षधरलगायतले पनि गर्नु अनिवार्य छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको भोलिपल्टदेखि हेजबुल्लाह र इजरायलबीच पनि युद्ध सुरु भएको थियो । त्यतिबेला हेजबुल्लाहले हमासको समर्थन गर्दै इजरायलमाथि आक्रमण गरेको थियो । इजरायलले दुवै समूहविरुद्ध प्रत्याक्रमण गरेको थियो ।

हमासको आक्रमणबाट इजरायलमा १२ सय जना मारिएका थिए । त्यस्तै इजरायली प्रतिक्रियामा करिब ४५ हजार प्यालेस्टिनी र ३ हजार ५ सय लेबनानीको मृत्यु भएको छ । घाइते, विस्थापित र भौतिक क्षतिको तथ्यांक त्यसभन्दा कैयौं गुणा बढी छ । प्यालेस्टाइनका अस्पताल र विद्यालयमा समेत क्षति पुगेको छ भने अन्य सार्वजनिक र निजी भौतिक संरचनाको क्षतिको हिसाबकिताब छैन ।


युद्धविराम सम्झौतामा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुने उल्लेख छ । दुई महिनाभित्र लेबनान र इजरायलबीचको अनौपचारिक सीमा ‘ब्लु लाइन’ र लिटानी नदीबाट इजरायली सेना र हेजबुल्लाह समूह हट्नेछन् । हेजबुल्लाहको बढी प्रभाव रहेको दक्षिणी लेबनानबाट उसका लडाकु अन्यत्र सर्नेछन् र त्यहाँ लेबनानको १० हजार आधिकारिक सेना परिचालन हुनेछन् । अहिलेको यस सम्झौता स्थायी युद्धविराममा परिणत हुने अपेक्षा गरिएको छ ।

हेजबुल्लाहसँग पटकपटक युद्ध गरेको इजरायलले उसको निःशस्त्रीकरणमा जोड दिँदै आएको थियो । साथसाथै, दक्षिणी लेबनानबाट उसलाई पन्छाउने रणनीति पनि अख्तियार गरिरहेको थियो । किनकि, दक्षिणी लेबनानमा हेजबुल्लाहको उपस्थिति रहुञ्जेल उत्तरी इजरायलका बासिन्दाले सुरक्षाको अनुभूति गर्न सक्दैनन् भन्ने इजरायलको निष्कर्ष थियो । पछिल्लो युद्धविरामसँगै इजरायलले वर्षौंदेखि लिइरहेको रणनीतिले एक हदसम्म सफलता प्राप्त गरेको छ ।



आफूलाई आक्रमण गर्ने हमास र हेजबुल्लाह दुवै समूहमा व्यापक क्षति पुर्‍याएसँगै ऊ त्यस क्षेत्रमा थप बलियो बनेको छ । यस युद्धबाट हेजबुल्लाह सर्वाधिक कमजोर अवस्थामा पुगेको छ । उच्च नेतृत्व गुमाएको उसले सञ्चार, सैन्य तथा राजनीतिक क्षति पनि बेहोर्नुपरेको छ । थप क्षति रोक्न उसका लागि यो सहमति अनिवार्य जस्तै थियो । दक्षिणी लेबनान छोड्नुपर्दा उसले आफ्नो पकड क्षेत्रबाट पनि बाहिरिनुपर्ने भएको छ ।

सम्भवतः ऊ लेबनानको राजनीतिमा पनि थप कमजोर हुन सक्छ । त्यस्तै इजरायलको हमलाले प्यालेस्टाइनको हमास पनि तितरवितर भएको छ । हेजबुल्लाहसमेत युद्धमा संलग्न भइरहँदा उसले जुन आड पाइरहेको थियो, अब त्यो गुम्नेछ । दुवै समूहलाई सहयोग गर्ने इरानले समेत इजरायल–हेजबुल्लाह सहमतिप्रति समर्थन जनाउँदा हमासको स्थिति झन् कमजोर हुने निश्चित छ । यो स्थिति महसुस गरेको उसले आफू पनि युद्धविरामका लागि तयार रहेको बताइसकेको छ ।

सर्वसाधारणका लागि युद्धविरामको अर्थ कति छ भन्ने अहिले लेबनानमा देखिएको छ । विस्थापित लाखौं नागरिक घर फर्किन हतारिएका छन्, जबकि उनीहरूलाई आफ्नो घर नै बाँकी छ कि छैन भन्ने थाहा छैन । यसले पनि युद्धविरामको सान्दर्भिकतालाई पुष्टि गर्छ । उनीहरूले आफ्ना जीवनका रेखाहरूलाई जोडेर भविष्यको आशामुखी बाटो कोर्न सफल भए भने ठूलो सफलता प्राप्त गर्ने निश्चित छ । त्यसले पनि अहिलेको युद्धविरामलाई दिगो बनाउन जरुरी छ ।

पछिल्लो युद्धको १४ महिने यात्राका क्रममा इजरायलको भूमिका विवादास्पद रह्यो । उसले प्यालेस्टाइनमा गरेको नरसंहारको विषय भविष्यमा पनि बहसको विषय हुने नै छ । सम्भवतः इजरायलका शासक र जिम्मेवार अधिकारीहरूले आफ्नो यस कर्मका निम्ति उचित निकायमा जवाफ दिनुपर्नेछ । यद्यपि, त्यस क्षेत्रमा उसको प्रभुत्व अरू बढेको छ ।

त्यसैले अब उसकै जिम्मेवारपूर्ण भूमिकाको अपेक्षा छ । आफ्नो शक्तिलाई उसले त्यस क्षेत्रमा तनाव बढाउन होइन, शान्ति स्थापनाका लागि जिम्मेवारीका रूपमा बोध गर्नुपर्छ । सैन्यशक्तिको दुरुपयोग र थिचोमिचो गर्ने हो भने पुनः युद्ध बल्झिन सक्छ । पुनः जनधनको अथाह क्षति हुन सक्छ ।

आखिर त्यो स्थिति इजरायलको पनि हितमा हुने छैन । हमासले पनि युद्धविरामका लागि तयार रहेको बताइसकेकाले इजरायलले पनि लचकता अपनायो भने प्यालेस्टाइनी जनताले पनि राहत पाउनेछन् । मुख्यतः इजरायल, हमास वा हेजबुल्लाह सबैले युद्धको सोच अन्त्य गर्नुपर्छ । एकअर्कालाई चिढ्याउने, धम्कीका भाषा बोल्ने, आक्रमणका लागि अग्रसर हुने भूल गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ । ढाका ट्रिब्युन अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले जेल सजाय बुधबार सुनाइएको हो । त्यसैगरी, गाइबान्धाको गोविन्दगञ्जका शाकिल आकन्द बुलबुललाई पनि यसै मुद्दामा २ महिनाको ...
। इरानका नयाँ राष्ट्रपति मासुद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्य निलम्बन गर्ने कानुनलाई अनुमोदन गरेका छन्। इरानको सरकारी टेलिभिजन प्रेस टिभी र अन्य इरानी समाचार एजेन्सीहरूले यो खबरको पुष्टि गरेका छन् । गत साता इरानी संसदले उक्त विधेयक पारित गरेको थियो । यस विधेयकले सरकारलाई आईएईएसँगको सहकार्य निलम्बन गर्न कानुनी आधार दिएको छ। यो निर्णय ...
। युक्रेनले मध्य रुसको इजेभ्स्क शहरमा अवस्थित एक कारखानामा ड्रोन हमला गर्दा ३ जनाको मृत्यु भएको छ र ४५ जना घाइते भएका छन्। उद्मुर्तिया क्षेत्रका गभर्नर अलेक्सान्द्र ब्रेच्लोवले घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । उनले हमलाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइसकेका छन्। लगत्तै उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ। ड्रोनहरूले कुपोल इलेक्ट्रोमेकानिकल प्लान्टलाई ...
— तिब्बती धार्मिक नेता दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस चर्किएको छ । भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका दलाई लामासहितको उपस्थितिमा यसै साता तीन दिने कार्यक्रममार्फत उत्तराधिकारीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने रोयटर्सले जनाएको छ । विगत ६५ वर्षयता भारतमा ‘तिब्बतको निर्वासित सरकार’ भएको ...
: तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यो हप्ता ९० वर्षमा प्रवेश गर्दैछन्। जुलाई ६ मा जन्मिएका उनको जन्मोत्सव एक हप्ता पहिलेदेखि नै मनाउँदै आएको छ। भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका छन्। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्। तिब्बतबाट बहिर्गमनमा परेका उनले ...