मुख्य समाचार
इजरायल–हेजबुल्लाह युद्धविरामबाट अपेक्षित अमन
इजरायल–हेजबुल्लाह युद्धविरामबाट अपेक्षित अमन

विश्वयुद्धमै परिणत हुने हो कि भनेर आशंका गरिएको पश्चिम एसियामा जारी युद्ध अन्ततः अवतरणतर्फ उन्मुख भएको छ । एक वर्षभन्दा लामो समयदेखि युद्धरत इजरायल र लेबनानी लडाकु समूह हेजबुल्लाह युद्धविरामका लागि सहमत भएसँगै त्यस क्षेत्रमा शान्ति पुनःस्थापना हुने सम्भावना बढेको छ ।



विकसित परिस्थितिले लेबनानवासीलाई सबैभन्दा बढी राहत दिएको छ । साथसाथै, युद्धपीडित प्यालेस्टाइनका नागरिकले पनि शान्तिको सास फेर्न पाउने सम्भावना बढेको छ ।


मूलतः इजरायल–हेजबुल्लाह सहमति शान्ति र सहमतिका पक्षधरको जित हो । यसबाट कुनै पनि युद्ध चर्किएर समाधान निस्किँदैन, वार्ता र सहमति नै निकास हो भन्ने मतको पुनः पुष्टि भएको छ । यो अनुभूति इजरायल–हमास युद्धका पक्षधरलगायतले पनि गर्नु अनिवार्य छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले दक्षिणी इजरायलमा आक्रमण गरेको भोलिपल्टदेखि हेजबुल्लाह र इजरायलबीच पनि युद्ध सुरु भएको थियो । त्यतिबेला हेजबुल्लाहले हमासको समर्थन गर्दै इजरायलमाथि आक्रमण गरेको थियो । इजरायलले दुवै समूहविरुद्ध प्रत्याक्रमण गरेको थियो ।

हमासको आक्रमणबाट इजरायलमा १२ सय जना मारिएका थिए । त्यस्तै इजरायली प्रतिक्रियामा करिब ४५ हजार प्यालेस्टिनी र ३ हजार ५ सय लेबनानीको मृत्यु भएको छ । घाइते, विस्थापित र भौतिक क्षतिको तथ्यांक त्यसभन्दा कैयौं गुणा बढी छ । प्यालेस्टाइनका अस्पताल र विद्यालयमा समेत क्षति पुगेको छ भने अन्य सार्वजनिक र निजी भौतिक संरचनाको क्षतिको हिसाबकिताब छैन ।


युद्धविराम सम्झौतामा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुने उल्लेख छ । दुई महिनाभित्र लेबनान र इजरायलबीचको अनौपचारिक सीमा ‘ब्लु लाइन’ र लिटानी नदीबाट इजरायली सेना र हेजबुल्लाह समूह हट्नेछन् । हेजबुल्लाहको बढी प्रभाव रहेको दक्षिणी लेबनानबाट उसका लडाकु अन्यत्र सर्नेछन् र त्यहाँ लेबनानको १० हजार आधिकारिक सेना परिचालन हुनेछन् । अहिलेको यस सम्झौता स्थायी युद्धविराममा परिणत हुने अपेक्षा गरिएको छ ।

हेजबुल्लाहसँग पटकपटक युद्ध गरेको इजरायलले उसको निःशस्त्रीकरणमा जोड दिँदै आएको थियो । साथसाथै, दक्षिणी लेबनानबाट उसलाई पन्छाउने रणनीति पनि अख्तियार गरिरहेको थियो । किनकि, दक्षिणी लेबनानमा हेजबुल्लाहको उपस्थिति रहुञ्जेल उत्तरी इजरायलका बासिन्दाले सुरक्षाको अनुभूति गर्न सक्दैनन् भन्ने इजरायलको निष्कर्ष थियो । पछिल्लो युद्धविरामसँगै इजरायलले वर्षौंदेखि लिइरहेको रणनीतिले एक हदसम्म सफलता प्राप्त गरेको छ ।



आफूलाई आक्रमण गर्ने हमास र हेजबुल्लाह दुवै समूहमा व्यापक क्षति पुर्‍याएसँगै ऊ त्यस क्षेत्रमा थप बलियो बनेको छ । यस युद्धबाट हेजबुल्लाह सर्वाधिक कमजोर अवस्थामा पुगेको छ । उच्च नेतृत्व गुमाएको उसले सञ्चार, सैन्य तथा राजनीतिक क्षति पनि बेहोर्नुपरेको छ । थप क्षति रोक्न उसका लागि यो सहमति अनिवार्य जस्तै थियो । दक्षिणी लेबनान छोड्नुपर्दा उसले आफ्नो पकड क्षेत्रबाट पनि बाहिरिनुपर्ने भएको छ ।

सम्भवतः ऊ लेबनानको राजनीतिमा पनि थप कमजोर हुन सक्छ । त्यस्तै इजरायलको हमलाले प्यालेस्टाइनको हमास पनि तितरवितर भएको छ । हेजबुल्लाहसमेत युद्धमा संलग्न भइरहँदा उसले जुन आड पाइरहेको थियो, अब त्यो गुम्नेछ । दुवै समूहलाई सहयोग गर्ने इरानले समेत इजरायल–हेजबुल्लाह सहमतिप्रति समर्थन जनाउँदा हमासको स्थिति झन् कमजोर हुने निश्चित छ । यो स्थिति महसुस गरेको उसले आफू पनि युद्धविरामका लागि तयार रहेको बताइसकेको छ ।

सर्वसाधारणका लागि युद्धविरामको अर्थ कति छ भन्ने अहिले लेबनानमा देखिएको छ । विस्थापित लाखौं नागरिक घर फर्किन हतारिएका छन्, जबकि उनीहरूलाई आफ्नो घर नै बाँकी छ कि छैन भन्ने थाहा छैन । यसले पनि युद्धविरामको सान्दर्भिकतालाई पुष्टि गर्छ । उनीहरूले आफ्ना जीवनका रेखाहरूलाई जोडेर भविष्यको आशामुखी बाटो कोर्न सफल भए भने ठूलो सफलता प्राप्त गर्ने निश्चित छ । त्यसले पनि अहिलेको युद्धविरामलाई दिगो बनाउन जरुरी छ ।

पछिल्लो युद्धको १४ महिने यात्राका क्रममा इजरायलको भूमिका विवादास्पद रह्यो । उसले प्यालेस्टाइनमा गरेको नरसंहारको विषय भविष्यमा पनि बहसको विषय हुने नै छ । सम्भवतः इजरायलका शासक र जिम्मेवार अधिकारीहरूले आफ्नो यस कर्मका निम्ति उचित निकायमा जवाफ दिनुपर्नेछ । यद्यपि, त्यस क्षेत्रमा उसको प्रभुत्व अरू बढेको छ ।

त्यसैले अब उसकै जिम्मेवारपूर्ण भूमिकाको अपेक्षा छ । आफ्नो शक्तिलाई उसले त्यस क्षेत्रमा तनाव बढाउन होइन, शान्ति स्थापनाका लागि जिम्मेवारीका रूपमा बोध गर्नुपर्छ । सैन्यशक्तिको दुरुपयोग र थिचोमिचो गर्ने हो भने पुनः युद्ध बल्झिन सक्छ । पुनः जनधनको अथाह क्षति हुन सक्छ ।

आखिर त्यो स्थिति इजरायलको पनि हितमा हुने छैन । हमासले पनि युद्धविरामका लागि तयार रहेको बताइसकेकाले इजरायलले पनि लचकता अपनायो भने प्यालेस्टाइनी जनताले पनि राहत पाउनेछन् । मुख्यतः इजरायल, हमास वा हेजबुल्लाह सबैले युद्धको सोच अन्त्य गर्नुपर्छ । एकअर्कालाई चिढ्याउने, धम्कीका भाषा बोल्ने, आक्रमणका लागि अग्रसर हुने भूल गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...