मुख्य समाचार
नेपाली क्रिकेटको उचाइ बढाउने कोशेढुंगा एनपीएल
नेपाली क्रिकेटको उचाइ बढाउने कोशेढुंगा एनपीएल

: नेपाली क्रिकेटका लागि नयाँ उचाइको कोशेढुंगाको रूपमा लिइएको नेपाल प्रिमियर लिग (एनपीएल)लाई लिएर सबै खेलाडी निकै उत्साहित छन्। प्रतियोगितामा सहभागी ८ टिम र सिंगो नेपाली क्रिकेट नै यति बेला एनपीएलको चर्चामा मग्न छ। यो प्रतियोगिताले नेपाली क्रिकेटलाई नयाँ उचाइ दिनेमा सम्पूर्ण खेलाडीहरू विश्वस्त देखिए।


नेपाल क्रिकेट संघ (क्यान) पनि पहिलो पटक आफ्नो आयोजनामा ठूलो प्रतियोगिता गर्न आतुर छ। नयाँ युगको सुरुवात गर्ने दिनको रूपमा एनपीएलको उद्‍घाटनको मितिलाई लिइने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। ‘नेपाली क्रिकेटले नयाँ युगको सुरुवात गर्ने दिनको रूपमा नोभेम्बर ३० को मितिलाई लिइनेछ,’ उनले खेलअघिको पत्रकार सम्मेलनमा भने।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको पत्रकारसँगको अन्तरक्रियामा सम्पूर्ण टिमका कप्तानले तयारी पूरा भएको बताए। नेपाली टिमका समेत कप्तान रहेका रोहित कुमार पौडेलले भारतीय प्रिमियर लिग (आइपीएल)ले जस्तै नेपालको एनपीएलले नेपाली खेलाडीलाई विश्वसामु चिनाउन मद्धत गर्ने बताए। उनले नेपालमा एनपीएलले नेपाली क्रिकेटको विकासमा निकै ठूलो भूमिका निर्वाह गर्ने बताए। उनले भारतीय लिग आइपीएलको उदाहरण दिँदै भने, ‘जसरी भारतमा आइपीएलले भारतीय क्रिकेटलाई माथि उकास्न सहयोग गर्‍यो। त्यसरी नै एनपीएलले नेपालमा काम गर्छजस्तो मलाई लाग्छ।’

यसमा काठमाडौंका कप्तान तथा नेपाली टिमका तीव्र गतिका बलर करण केसीले पनि नेपाली खेलाडीलाई राम्रो मौका भएको टिप्पणी गरे। ‘विश्वले यो प्रतियोगिता हेरिरहेकको हुन्छ। यसका लागि राष्ट्रिय खेलाडी तथा युवा खेलाडीलाई विशेषतः आफ्नो प्रतिभा देखाउने राम्रो प्लेटफर्म हुनेछ।’ क्यानको आयोजनामा हुन लागेको यस प्रतियोगिता ८ वटा फरक क्षेत्रका ८ टिमले सहभागीता जनाउँदैछन्। जसमा काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्गस, जनकपुर बोल्ट्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदुरपश्चिम रोयल्स छन्।

यी टिमहरूले एनपीएलका लागि आफ्नो तर्फबाट सम्पूर्ण तयारी सकिएक र प्रतियोगिताका लागि निकै उत्साहित रहेको बताए।

एक महिना लामो तयारीका साथ काठामाडौं गुर्खाज
एक महिना लामो तयारीका साथ आफ्नो टिम प्रतियोगिताका लागि तयार रहेको काठमाडौं गुर्खाजका कप्तान करण केसीले बताए। काठमाडौंले घरेलु खेलाडीसँग विगत एक महिनादेखि तयारी गरेको उनको भनाइ छ। ‘तयारी राम्रो भएको छ। हामी एनपिएलको लागि उत्साहित छौं,’ उनले भने। उनले एनपीएल राष्ट्रिय खेलाडीदेखि सम्पूर्ण युवा खेलाडीलाई आफ्नो प्रतिभा विश्वसामु देखाउने राम्रो अवसर भएको दाबी गरे।

घरेलु मैदानले सहज बनाएको लुम्बिनीको यात्रा
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले प्रतियोगिताको तयारी निकै राम्रो रहेको बताए। एक हप्ता घरेलु मैदानमा तयारी गरेर काठमाडौं फर्किएको लुम्बिनीले मूलपानीमा जनकुपर बोल्ट्ससँग अभ्यास खेल पनि खेल्यो। जसका कारण टिम राम्रोसँग तयार रहेको रोहितको दाबी छ। ‘तयारी हाम्रो एकदमै राम्रो भएको छ। हामीले हाम्रो तयारी एक्स्ट्राटेक ओभलमा गर्‍यौं। मैदान हाम्रो लागि उपलब्ध थियो। हामीले ६/७ घण्टा प्रतिदिन एक हप्ता तयारी गर्‍यौं। हामी प्रतियोगिताका लागि तयार छौं,’ उनले भने।


बलियो तयारीले दरिएको सुदूरपश्चिम
यो प्रतियोगिताका लागि अरुजस्तै सुदूरपश्चिम टिम पनि तयार रहेको टिमका कप्तान दिपेन्द्र सिंह ऐरीले बताए। एनपीएललाई लिएर आफू निकै उत्साहित रहेको उनको भनाइ छ। ‘हाम्रो अभ्यास राम्रो भएको छ। मूलपानीमा हामीले अभ्यास खेल पनि खेल्यौं। खेल पनि राम्रो भयो। एनपीएलका लागि हामी उत्साहित छौं।’

भारतीय कोचिङ स्टाफले बढाएको पोखराको आत्मविश्वास
पोखरा एभेन्जर्सले आफ्नो घरेलु मैदान पोखरामा ८ दिन लामो तयारी गर्‍यो। जसले गर्दा टिम संयमित देखिएको कप्तान कुशल भुर्तेलले बताए। भारतीय कोचिङ स्टाफको साथ पाएर टिम दरिएको कप्तान कुशलले बताए। ‘हामीले घरेलु मैदानमा ८ दिन तयारी गर्‍यौं। विशेषतः भारतीय कोचिङ स्टाफले हामीलाई धेरै सहयोग गर्नु भएको छ।’ अभ्यास खेल खेलेपछि टिम निकै उत्साहित भएको उनको भनइ छ।

अप्ठ्यारा पन्छाउँदै एनपीलका लागि तयार विराटनगर
सबै टिमहरूले आफ्नो घरेलु मैदानमा गएर ट्यालेन्ट हन्ट र केही तयारी गर्नुपरेको थियो। यो क्रममा विराटनगर किङ्गसलाई भने सुरुका दिनमा केही अप्ठ्यारोहरू आइपरेको कप्तान सन्दीप लामीछानेले बताए। ‘सुरुका दिनहरू केही अप्ठ्यारा भए। हामी सबैले आफ्नो घरेलु मैदानमा गएर खेल्नुपर्ने थियो। तर, पछि हामी सबै जना यो वातावरणमा घुलमिल नै छौं,’ उनले भने।

शनिबार जनकपुर बोल्ट्ससँग खेल्दै एनपीएलको उद्‍घाटन खेल खेल्न गइरहेको विराटनगर हालः भने निकै सन्तुलित टिमसहित तयार रहेको कप्तान सन्दीपको दाबी छ। ‘भोलिदेखि खेल छ। हाम्रो टिम पनि सन्तुलित छ। हामी सबैजना निकै उत्साहित छौं,’ उनले भने।

विदेशी खेलाडीको आगमनले सुदृढ जनकपुर
जनकपुर बोल्ट्सको कहानी भने केही फरक बन्न आयो। यो टिमले घरेलु स्थानमा मैदान पाएन। यो टिमले काठमाडौंमा आएरमात्रै प्रशिक्षण सुरु गरेको हो। यस टिमले मार्की खेलाडी भन्दा फरक कप्तान छानेको छ। यस टिमका लागि अनिल कुमार शाहले कप्तानको भूमिका निर्वाह गर्नेछन्। राष्ट्रिय टिमका ओपनर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर सन्तुलित टिमसहित मैदानमा उत्रने शाहले बताए। ‘हाम्रो टिम सन्तुलित छ। विदेशी खेलाडी आएर हाम्रो टिम अझ सन्तुलित देखिइरहेको छ,’ उनले भने।

एनपीएल हरेक खेलाडीका लागि निकै ठूलो प्रतियोगिता रहेको अनिलको बुझाइ छ। ‘एनपीएल निकै ठूलो प्रतियोगिता हो। जुन तरिकाको उचाइ प्रतियोगिताले पाएको छ। यसले हामीलाई प्रतियोगिताको महत्त्वबोध भएको छ,’ उनले भने। खेलका लागि जनकपुरको टिम तयार रहेको उनले बताए।

null

राम्रो तयारीका साथ उत्साहित चितवन
चितवन राइनोजका कप्तान कुशल मल्ल पनि आफ्नो टिमको तयारी राम्रो भएको बताउँछन्। चितवनले पनि एक हप्ता घरेलु मैदानमा नै तयारी गर्‍यो। ‘एक हप्ता घरेलु मैदानमा तयारी गर्‍यौं। एनपीएलले हामीलाई विश्वस्तरमा चिनाउन मद्धत गर्छ,' उनले भने। यो प्रतियोगितामा आफूहरू पनि उत्तिकै दाबेदार रहेको चितवनका कप्तान कुशल मल्लले बताए। ‘प्रतियोगितालाई लिएर हामी पनि निकै उत्साहित छौं,' उनले थपे।

सम्भावना बोकेका खेलाडीको साथ कर्णालीलाई
कर्णाली याक्सका कप्तान सोमपाल कामी भने आफ्नो टिममा भएको प्रतिभाहरू निकै राम्रो भएको बताउँछन्। यो टिमले घरेलु मैदान पाएन। काठमाडौंमा आएर एक हप्ता तयारी गरेको कर्णाली एनपीएलका लागि भने तयार रहेको सोमपालले बताए। ‘कर्णालीले ड्राफ्टबाट र ट्यालेन्ट हन्टबाट ल्याएका सबै खेलाडी निकै प्रतिभाशाली छन्। उनीहरूलाई मौका चाहिएको थियो। एनपीएलले मौका राम्रो दिएको छ,' उनले भने।

युवा खेलाडीको बाहूल्यता रहेको यस टिमको मुख्य उद्देश्य विदेशी स्टार खेलाडीबाट उनीहरूको अनुभव सिक्ने रहेको सोमपालले बताए। ‘हाम्रो टिम निकै युवा खेलाडीले भरिएको छ। हाम्रो मुख्य उद्देश्य हामीले बाबर हायात, शिखर धवनजस्ता खेलाडीबाट कति सिक्न सकिन्छ भन्ने हो,' उनले भने।

एनपीएलले गर्दा नेपाली क्रिकेटलाई एकदम ठूलो सहयोग गर्ने कामीले बताए। ‘एनपीएलले नेपाली खेलाडीलाई ठूलो मौका दिएको छ। यो प्रतियोगिताबाट हामीले नेपाली टिमलाई प्रतिनिधित्व गर्ने खेलाडी हामी निकाल्न सक्नेछौं,’ उनले भने। सम्पूर्ण टिम तयारीका साथ कर्णाली पनि युवा खेलाडीको टोली लिएर प्रतियोगिताका लागि तयार रहेको सोमपालले बताए।

प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। शनिबार हुने उद्‍घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै पहिलो संस्करणको एनपीएलको सुरुवात हुनेछ। खेल दिउँसो १२:१५ बजेदेखि सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् । रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...