मुख्य समाचार
आइसिसी च्याम्पियन्स ट्रफी खेल्न भारतीय क्रिकेट टोलीले पाकिस्तान नजाने अडान
आइसिसी च्याम्पियन्स ट्रफी खेल्न भारतीय क्रिकेट टोलीले पाकिस्तान नजाने अडान

। आउँदो फेब्रुअरीमा पाकिस्तानमा हुने आइसिसी च्याम्पियन्स ट्रफी खेल्न भारतीय क्रिकेट टोलीले पाकिस्तान नजाने अडान लिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले प्रतियोगिताको आयोजनालाई अगाडि बढाउनेबारे सल्लाह लिन पाकिस्तान सरकारको सहयोग मागेको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले भारतीय टोली पाकिस्तानको भ्रमणमा नजाने भारत सरकारको निर्णयबारे यसै साता आईसीसीलाई जानकारी गराएको थियो । उक्त कुरा आईसीसीले समेत पीसीबीलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ । त्यसैकारण पीसीबीले अब सरकारको सहयोग खोजिरहेको छ ।

सन् १९९६ पछि पहिलोपटक आइसिसीको मुख्य प्रतियोगिता गर्न लागेको पाकिस्तानले प्रतियोगिताको आयोजनामा थप कठोर नीति लिँदै हाइब्रिड मोडलमा प्रतियोगिता सञ्चालन नहुने स्पष्ट पारेको पीसीबीका अध्यक्ष मोहसिन नक्‍वीलाई उद्धृत गर्दै समाचार संस्था क्रिकइन्फोले जनाएको छ ।

। सन् २०२३ मा पाकिस्तानमा भएको एसिया कप क्रिकेटमा हाइब्रिड मोडल प्रयोग गरिएको थियो जसमा भारतको खेल पाकिस्तानबाहिर र अन्य टोलीहरुबिचको खेल पाकिस्तानमै सञ्चालन भएका थिए । नक्‍वी पाकिस्तान सरकारमा आन्तरिक मन्त्रीसमेत रहेकाले सरकारको पनि यी कुराहरुमा समर्थन रहने देखिन्छ ।


हालको परिस्थितिसँग परिचित एक अधिकारीका अनुसार सरकारले पीसीबीलाई आफ्नो निर्णयमा दृढ भएर उभिन, हाइब्रिड मोडेल अस्वीकार गर्न र सम्पूर्ण प्रतियोगिता पाकिस्तानमा आयोजना गर्ने कुरामै अडिग रहन निर्देशन दिने छ ।

च्याम्पियन्स ट्रफी सुरु हुन अब करिब १०० दिन बाँकी छ । दुई देशबीचको लामो राजनीतिक मुद्दाका कारण आइसिसीलाई कठिन अवस्थाको सामना गर्नुपर्ने देखिन्छ । डिसेम्बरमा भारतीय क्रिकेट बोर्डका अध्यक्ष जय शाह आईसीसीकै अध्यक्ष हुने चर्चा छ जसका कारण पनि यो स्थिति त्यति छिट्टै सहज हुने देखिँदैन ।

भारत र पाकिस्तानबीचको पेचिलो राजनीतिक सम्बन्धको प्रभावले खेलकुद क्षेत्रमा पनि विशेषगरी क्रिकेटमा बढी तरंग पैदा हुने गर्छ । त्यसमाथि पनि आइसीसीका हरे‍क मुख्य प्रतियोगिताहरुमा भारत र पाकिस्तान आमनेसामने हुने निश्चितप्राय नै हुन्छ जसले विश्वभरका क्रिकेटप्रेमीको ध्यान तान्‍ने गर्छ ।

यसपटक भने भारतको हठका बीच पाकिस्तान लचिलो नबन्ने संकेत गर्दै पीसीबीका अध्यक्ष नक्‍वीले पहिलेजस्तो अवस्था अब नभएको र पाकिस्तान पनि भारतमा हुने प्रतियोगितामा सहभागी नहुने भन्दै चेतावनीपूर्ण प्रतिक्रिया दिएका छन् । भारतमा पनि २०२५ मा महिला एकदिवसीय विश्‍वकप क्रिकेट हुँदै छ ।

यसअघि भारतले २०२३ को एसिया कप क्रिकेट खेल्नका लागि पाकिस्तान नजाने निर्णय गरेपनि पाकिस्तान भने सोही वर्ष भारतमा भएको एकदिवसीय विश्वकप खेल्न भारत गएको थियो ।

पाकिस्तानको लाहोरमा यसै साता हुने भनिएको च्याम्पियन्स ट्रफीको तालिका सार्वजनिक तथा १०० दिनको काउन्टडाउन सुरु गर्ने कार्यक्रम पनि स्थगित भएको छ । पीसीबीले आइसीसीलाई पत्राचार गरी बीसीसीआईलाई भारतीय टोलीको पाकिस्तान नजाने निर्णयबारे स्पष्ट कारण सोध्न तथा पाकिस्तानमा आउनका लागि मुख्य बाधा के हो भन्ने बारे खुलाएर जानकारी गराइदिन आग्रह गर्ने तयारी गरेको छ ।

आठ टोलीको सहभागिता रहने च्याम्पियन्स ट्रफी आउँदो फेब्रुअरी १९ देखि मार्च ९ को बीचमा हुने तय छ । सात वर्षपछि हुन लागेको प्रतियोगिताको पाकिस्तान डिफेन्डिङ च्याम्पियन समेत हो । यसअघि सन् २०१७ मा भएको प्रतियोगिताको फाइनलमा भारतलाई नै हराएर पाकिस्तानले उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...