मुख्य समाचार
अध्ययनपछि लगानी सुनिश्चितता गरेर डिजाइनको काम अघि बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाए
अध्ययनपछि लगानी सुनिश्चितता गरेर डिजाइनको काम अघि बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाए

— गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको बीपी राजमार्गको भौगर्भिक अध्ययन अघि बढाइएको छ । एक महिनाभित्र सक्ने गरी तिहारअघिबाट यसको अध्ययन भइरहेको हो । अध्ययनपछि लगानी सुनिश्चितता गरेर डिजाइनको काम अघि बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।



तिहारले गर्दा अध्ययनमा केही ढिलाइ भए पनि तोकिएकै समयभित्र सक्ने गरी काम भइरहेको भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।


‘भौगर्भिक अध्ययन नगरी निर्माण गर्दा फेरि समस्या आउने खतरा हुन्छ,’ उनले भने, ‘अध्ययन गरेर मात्र निर्माणको काम अघि बढाउँछौं ।’ अध्ययन रिपोर्टका आधारमा डिजाइनको काम अघि बढाइने उनको भनाइ छ । ‘अध्ययनपछि कति लागत लाग्छ, थाहा हुन्छ,’ उनले भने, ‘त्यसपछि अर्थ मन्त्रालयसँग बसेर छलफल गर्छौं ।’

नेपाल सरकार आफ्नै लगानीमा वा दातृ निकायको सहयोगमा बनाउने भन्नेबारे अझै निर्णय भइनसकेको उनको भनाइ छ । ‘औपचारिक रूपमा निर्माणमा सहयोग गर्न कुनै पनि निकायलाई प्रस्ताव गरिएको छैन,’ उनले भने, ‘अनौपचारिक रूपमा सडक मर्मतसँगै स्थायी निर्माण गर्नेबारे विश्व बैंक, एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई भनिएको छ ।’

तर कुनै पनि निकायबाट अहिलेसम्म ठोस प्रस्ताव आइनसकेको उनले बताए । ‘हामीसँग बजेट नभएका बेला दातृ निकायले बजेट दिन्छौं भने हामी लिन तयार छौं,’ शर्माले भने, ‘ऋणभन्दा पनि अनुदान भए हुन्थ्यो, अनुदान दिएर काम गर्न समय लगाउनु भने भएन ।’ यस्तो गरिए अनुदान सहयोगको अर्थ नहुने उनले बताए ।

‘यो आपत्कालीन अवस्था हो, छिटो बनाउनुपर्छ भन्ने विषय सहयोग गर्ने निकायले पनि बुझ्नुपर्छ,’ शर्माले भने, ‘अहिले लागत बढी अनुमान गरिएको छ, अध्ययनपछि वास्तविक निर्माण लागत निस्कन्छ ।’ काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किमि सडकमा बाढीपहिरोले क्षति गरेको छ । यसको ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ । ३.३ किमि सडक कतै भासिएको र कतै चिरा परेको छ । अहिले अस्थायी डाइभर्सन बनाएर यातायातका साधन चलाइएको छ । तर पानी पर्नासाथ खोलोमा बाढी आएर नेपालथोक खण्ड अवरुद्ध बन्ने गरेको छ ।

त्यसपछि विभिन्न अप्ठ्यारो र समस्या भएको ठाउँमा सडकलाई सीधा गर्ने गरी पुल बनाइनेछ । यस्ता पुल एउटै खण्डमा नभएर ठाउँठाउँमा कतै ५० मिटर, कतै सय मिटर गरेर करिब एक किमि बनाइने सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जनाए । अहिले प्रतिकिमि दुई लेन सडक बनाउन ३० करोड र पुल बनाउँदा त्यसको लागत प्रतिमिटर २२ लाख लाग्ने अनुमान छ । सबै गरेर ७ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको सडक विभागले जनायो । ‘यो अनुमान मात्र हो,’ सचिव शर्माले भने, ‘अध्ययन गरेपछि यो लागतमा तलमाथि हुन सक्छ, त्यसैले अध्ययनबाटै कति लागत लाग्ने यकिन हुन्छ ।’

अहिले क्रंकिट वाल लगाएर सडक बनाइएको छ । ती ठाउँमा आरसीसी वाल र रकलाई एंकरिङ गरिने जनाइएको छ । सडक विभागका अनुसार धेरै भित्तो खन्दा पहिरोको जोखिम हुने भएकाले अब सडक बनाउँदा भित्तो नकाट्ने गरी काम गरिनेछ । काभ्रेको चौकी डाँडादेखि मुल्कोटसम्मै सडकमा समस्या छ । त्यसमा पनि बढी समस्या चौकीडाँडादेखि नेपालथोक खण्डमा छ । बाढीले सिन्धुली खण्डमा कम र काभ्रे खण्डमा बढी क्षति पुर्‍याएको छ ।

बर्खाअघि दिगो सडकको तयारीका लागि साना–साना ठेक्का गरेर काम गरिने विभागले जनाएको छ । कुनै समस्या नआए ठेक्का भएको डेढदेखि दुई वर्षभित्र स्थायी रूपमै यसको निर्माणको काम सकिने सडक विभागको दाबी छ । विगतका वर्षमा चाडबाडका बेला यो राजमार्ग भएर दैनिक १० हजार हाराहारी सवारी साधन गुड्ने गर्थे । अघिपछि पनि दिनको ७ हजारभन्दा बढी सवारीसाधन यो खण्ड भएर गुड्छन् । अहिले पनि सडक व्यवस्थित रूपमा सञ्चालनमा आउन नसक्दा दैनिक ट्राफिक जाम हुने गरेको छ । बेला–बेलामा पहिरो खसेर सडक अवरुद्ध बन्ने गरेको छ । ठूलो पानी पर्नेबित्तिकै सडक ठप्प हुन्छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेलदेखि महोत्तरीको बर्दिबाससम्म १ सय ५८ किलोमिटर सडक जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो । करिब २० वर्ष लगाएर यसको निर्माण गरिएको थियो । राजधानीलाई पूर्वी तराईसँग जोड्ने गरी सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मा सम्पन्न गरी नेपाललाई जापानले हस्तान्तरण गरेको थियो । खोला किनार भएर सडक बनाइएकाले बाढीले बढी क्षति पुर्‍याएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी तथा अव्यस्थित बसोवासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकालीनरूपमा समाधान गर्न सरकारसँग माग गरेका छन् । कीर्तिपुरस्थित सुकुमवासी सेल्टर (होल्डिङ सेन्टर) को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले विस्थापितहरूको उचित व्यवस्थापन नगरी हटाइनु दुःखद् भएको बताएका हुन् । निरीक्षणका क्रममा अध्यक्ष घिसिङले सेल्टरमा रहेका सुकुमवासीहरूको अवस्था निकै ...
— काठमाडौंबाट १२ दिनदेखि हराइरहेकी महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, तारकेश्वर नगरपालिका–३, तिनपिप्लेकी सरिता तिवारीको शव गाडिएको अवस्थामा फेला परेको हो । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले टोखा नगरपालिका–२ का अनिल डंगोललाई पक्राउ गरेको छ । उनले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ । ...
— ट्राफिक प्रहरी कपिलवस्तुले दुर्घटना न्यूनीकरण गर्न महेन्द्र राजमार्गमा चल्ने भाडाका सवारीसाधनमा अनधिकृत रूपमा थपिएका सिटहरू हटाउन थालेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पूर्व–पश्चिम महेन्द्र राजमार्ग क्षेत्रमा ‘एक्स्ट्रा सिट’ राख्ने कार्यका विरुद्ध निगरानी अभियान सुरु गर्दै त्यस्ता सिट हटाउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । क्षमताभन्दा बढी यात्रु ...
— सरकारले निजामती कर्मचारीसहित स्वास्थ्य सेवा तथा संघीय संसद् सचिवालयका कर्मचारीले खोलेका ट्रेड युनियन खारेज गरेको छ । अध्यादेशमार्फत सम्बन्धित ऐनहरूमा संशोधन गर्दै सरकारले ट्रेड युनियन खोल्न पाउने प्रावधानलाई हटाएको छ । कानुनबाटै ट्रेड युनियनको प्रावधान हटाइएपछि अहिले अस्तित्वमा रहेका कर्मचारीका विभिन्न ट्रेड युनियनहरू अस्तित्वविहीन हुन पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुक ...
— सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । अध्यादेशमार्फत भूमिसम्बन्धी ऐनमा संशोधन गरेर ऐनमा रहेको आयोग गठनको प्रावधानलाई हटाएको हो । ऐनमा रहेको आयोग गठनसम्बन्धी प्रावधानको दफा दफा ५२(क)को ३ र ४ लाई अध्याधेशमार्फत संशोधन गर्दै झिकिएको छ । सरकारले दलित भूमिहीनलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि आयोग, समिति वा कार्यदल गठन गर्न सक्ने ...