मुख्य समाचार
स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा जीबी राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा जीबी राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

— काठमाडौंको कालीमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।



जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा अदालतले काठमाडौंले जीबी राईसहितलाई अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो । काठमाडौं महानगरपालिका–१४, कालीमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट सहकारीले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ बचत संकलन गरेको थियो । जसमध्ये ६ सय ४५ जनाले आफूहरुको १ अर्ब ११ करोड बचत रकम सहकारीका सञ्चालक, कर्मचारीसहितको मिलेमतोमा अपचलन गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।


पीडितले काठमाडौं महानगरपालिका र प्रहरीमा दिएको जाहेरी तथा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि आरोपितमध्येका २४ जनालाई अदालतबाट पक्राउ अनुमति लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पुर्जी जारी हुनेमा जीबीसहित स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता लामा, सदस्यद्वय हेमन्त अधिकारी र रविना रिमाल, पूर्वकर्जा उपसमिति सदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मीरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी छन् ।

यसैगरी पूर्वसञ्चालकहरु दीपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, यामकुमार नाल्बो, राजु बराल, पुनमकुमार चालिसे, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, पूर्वकर्जा उपसमिति सदस्य राजु बरालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारीको बचत हिनामिनासम्बन्धी अध्ययन गर्न एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले पनि स्वर्णलक्ष्मीको बचत अपचलनबारे प्रहरीबाट अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन भनेको थियो ।

छानबिन समितिको उक्त प्रतिवेदन र प्रहरीबाट भएका अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी तथा गोर्खा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परिसकेका छन् । लामिछाने र जोशीसहित आरोपितहरु विरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । दुवैजना अनुसन्धानका क्रममा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । काठमाडौंको स्वर्णलक्ष्मीसहित कास्की (पोखरा)को सूर्यदर्शन, रुपन्देही (बुटवल) को सुप्रिम, चितवन (भरतपुर)को साहारा र पर्सा (वीरगन्ज)को सानो पाइला सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा लामिछाने र जोशी अनुसन्धानका क्रममा छन् ।

अहिले सूर्यदर्शन सहकारी ठगीमा कास्की प्रहरीले लामिछानेसँग बयान लिइरहेको छ । सोही प्रकरणमा जोशीसँग सूर्यदर्शन र बुटवलको सुप्रिम प्रकरणमा बयान भइसकेको र लामिछानेलाई पनि बुटवल नै लगेर बयान गराउने प्रहरी तयारी रहेको एक अधिकृतले बताए । दुवैजनासँग कास्की र रुपन्देही प्रहरीमा अनुसन्धान जारी रहेकै बेला जिल्ला अदालत काठमाडौंले पनि स्वर्णलक्ष्मीको बचत ठगीमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

‘स्वर्णलक्ष्मी सहकारीमा ५ हजार ६ सय ६९ जनाको २ अर्ब ६५ करोड ९५ लाख ५२ हजार ५८ रुपैयाँ बचत भएको देखिन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘जसमध्ये कर्मचारी, सञ्चालकसहितको मिलेमतोमा गैरकानुनी रुपमा सहकारीबाट अन्यत्र रकम लगी अपचलन गरेको र आफूहरुको रकम फिर्ता माग्दा नपाएको भन्दै दिएको जाहेरीको अनुसन्धान गर्ने क्रममा आरोपितमध्येका २४ जनाविरुद्ध पक्राउ पुर्जी लिइएको हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५४ जना ६० वर्षभन्दामाथिका उमेर समूहका व्यक्तिलाई उम्मेदवार बनाएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेका कूल उम्मेदवारमध्ये करिब ३३ प्रतिशत हिस्सा ६० वर्ष काटिसकेका नेताहरूको रहेको छ । ६० वर्षमाथिका यी ५४ जना उम्मेदवारहरू सबै पुरुष हुन् । यो उमेर समूहबाट एमालेले एक जना पनि महिलालाई ...
— कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले भावी प्रधानमन्त्री थापालाई तोकेर निर्वाचनमा होमिने निर्णय गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जाने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए । 'देशको प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय गरिएको हो,' ...
— कांग्रेस सभापति गगनकुमार थापाले उम्मेदवार चयनमा केही कमजोरी भएको भन्दै आगामी दिनमा यस्तो नहुने दाबी गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले माघ ४ गते उम्मेदवार छान्न थाल्नु र ६ गते दर्ता गर्नुपर्ने दबाबका कारण केही कमजोरी भएको स्वीकार्दै त्यसको जिम्मेवारी आफूले लिने बताए । ‘विशेष महाधिवेशनमा पेस गरेको दस्ताबेजअनुसार उम्मेदवार चयन गर्न ...
— एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक धारणाप्रति चिन्तित बनेको बताएका छन् । अध्यक्ष एवं आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा-५ का उम्मेदवार रहेका ओलीसँग कान्तिपुरले लिएको अन्तर्वार्ताको केही प्रसंगमा भट्टराईले असहमति प्रकट गरेका हुन् । आइतबार कान्तिपुरमा प्रकाशित अन्तर्वार्तामा ओलीले भनेका थिए, 'सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको ...
— जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाभित्र व्यत्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त तथा अवैध हातहतियार बुझाउन आग्रह गरेको छ। बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि हातहतियार बुझाउन आग्रह गरिएको हो । जिल्ला प्रहरी वा नजिकको प्रहरी इकाईमा माघ २० गतेसम्म हातहतियार बुझाउन सूचना मार्फत आग्रह गरिएको छ ...