मुख्य समाचार
स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा जीबी राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा जीबी राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

— काठमाडौंको कालीमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।



जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा अदालतले काठमाडौंले जीबी राईसहितलाई अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो । काठमाडौं महानगरपालिका–१४, कालीमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट सहकारीले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ बचत संकलन गरेको थियो । जसमध्ये ६ सय ४५ जनाले आफूहरुको १ अर्ब ११ करोड बचत रकम सहकारीका सञ्चालक, कर्मचारीसहितको मिलेमतोमा अपचलन गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।


पीडितले काठमाडौं महानगरपालिका र प्रहरीमा दिएको जाहेरी तथा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि आरोपितमध्येका २४ जनालाई अदालतबाट पक्राउ अनुमति लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पुर्जी जारी हुनेमा जीबीसहित स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता लामा, सदस्यद्वय हेमन्त अधिकारी र रविना रिमाल, पूर्वकर्जा उपसमिति सदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मीरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी छन् ।

यसैगरी पूर्वसञ्चालकहरु दीपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, यामकुमार नाल्बो, राजु बराल, पुनमकुमार चालिसे, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, पूर्वकर्जा उपसमिति सदस्य राजु बरालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

सहकारीको बचत हिनामिनासम्बन्धी अध्ययन गर्न एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले पनि स्वर्णलक्ष्मीको बचत अपचलनबारे प्रहरीबाट अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन भनेको थियो ।

छानबिन समितिको उक्त प्रतिवेदन र प्रहरीबाट भएका अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी तथा गोर्खा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परिसकेका छन् । लामिछाने र जोशीसहित आरोपितहरु विरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । दुवैजना अनुसन्धानका क्रममा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । काठमाडौंको स्वर्णलक्ष्मीसहित कास्की (पोखरा)को सूर्यदर्शन, रुपन्देही (बुटवल) को सुप्रिम, चितवन (भरतपुर)को साहारा र पर्सा (वीरगन्ज)को सानो पाइला सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा लामिछाने र जोशी अनुसन्धानका क्रममा छन् ।

अहिले सूर्यदर्शन सहकारी ठगीमा कास्की प्रहरीले लामिछानेसँग बयान लिइरहेको छ । सोही प्रकरणमा जोशीसँग सूर्यदर्शन र बुटवलको सुप्रिम प्रकरणमा बयान भइसकेको र लामिछानेलाई पनि बुटवल नै लगेर बयान गराउने प्रहरी तयारी रहेको एक अधिकृतले बताए । दुवैजनासँग कास्की र रुपन्देही प्रहरीमा अनुसन्धान जारी रहेकै बेला जिल्ला अदालत काठमाडौंले पनि स्वर्णलक्ष्मीको बचत ठगीमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

‘स्वर्णलक्ष्मी सहकारीमा ५ हजार ६ सय ६९ जनाको २ अर्ब ६५ करोड ९५ लाख ५२ हजार ५८ रुपैयाँ बचत भएको देखिन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘जसमध्ये कर्मचारी, सञ्चालकसहितको मिलेमतोमा गैरकानुनी रुपमा सहकारीबाट अन्यत्र रकम लगी अपचलन गरेको र आफूहरुको रकम फिर्ता माग्दा नपाएको भन्दै दिएको जाहेरीको अनुसन्धान गर्ने क्रममा आरोपितमध्येका २४ जनाविरुद्ध पक्राउ पुर्जी लिइएको हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...