मुख्य समाचार
नेपाल राष्ट्र बैंकले पहिलो पटक १ सयका नोटमा पूर्ण (चुच्चे) नक्सा समेट्ने
नेपाल राष्ट्र बैंकले पहिलो पटक १ सयका नोटमा पूर्ण (चुच्चे) नक्सा समेट्ने

: पहिलो पटक नेपाली नोटमा लिम्पियाधुरासहितको नक्सा समेटिने भएको छ । लिम्पियाधुरासहितको नक्सा जारी भएको करिब ४ वर्षपछि नेपाल राष्ट्र बैंकले पहिलो पटक १ सयका नोटमा पूर्ण (चुच्चे) नक्सा समेट्ने भएको छ ।



सर्वसम्मत ढंगबाट संविधान संशोधनमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर २०७७ जेठ ३१ गते नेपालको नयाँ चुच्चे नक्सालाई पारित गरेको थियो । असार ४ गते राष्ट्रपतिबाट प्रमाणीकरणसमेत गरिएको थियो । ०७७ जेठ ७ मा सरकारले यो नक्सा जारी गरेको थियो ।

यसपछि विभिन्न क्षेत्रमा पुराना नक्सालाई बदलेर नयाँ फेरिए । तर, अब बल्ल केन्द्रीय बैंकले चुच्चे नक्सासहितको नोट छपाइ गर्न प्रक्रिया अघि बढाएको छ । अन्नपूर्ण पोस्ट्ले लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा लगातार समाचार प्रकाशित गरेपछि सरकारले अध्यावधिक नक्सा जारी गर्न बाध्य भएको थियो ।




नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल नोटको डिजाइनको निर्णय गर्ने छुट्टै समिति भएकाले सो समितिको निर्णयअनुसार पहिलो पटक डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गर्न लागेको जानकारी दिए । उनी भन्छन्, ‘चुच्चे नक्साको निर्णय भएपछि सय दरका नोट स्टकमै भएकाले छपाइ नगरिएको र अहिले बल्ल आवश्यक परेकाले बदलिएको नयाँ नक्सालाई समेट्ने समितिको निर्णयअनुसार राख्न लागिएको हो ।’
उक्त नोटको ग्लोबल टेन्डरमा छपाइको ठेक्का पाएको छ, चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन ।

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना सार्वजनिक गर्दै सो कम्पनीलाई १ सय रुपैयाँ दरको नोट ३० करोड थान बराबर डिजाइन, मुद्रण, आपूर्ति र वितरणका लागि ठेक्का प्रदान गर्न आशयपत्र जारी गरेको जानकारी दिएको छ ।

केन्द्रीय बैंककाअनुसार बोलपत्रदाताहरूबाट न्यूनतम मूल्यांकन गरी चीनको सो कम्पनीलाई ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलरमा उक्त परिमाणको नोट छापेर उपलब्ध गराउने सबै जिम्मा दिइएको हो । सम्झौता भएको उक्त अमेरिकी डलरलाई आइतबारकोे विनिमय बिक्रीदर प्रतिडलर १३४ रुपैयाँ ८४ पैसामा हिसाब गर्दा कुल १ अर्ब २१ करोड ३१ लाख ४६५ रुपैयाँ २८ पैसामा नोट छापिने अनुमान गर्न सकिन्छ । यसअनुरूप सय रुपैयाँ दरको ३० करोड थानलाई भाग गर्ने हो भने एउटा नोट छाप्न करीब ४ रुपैयाँ ०४ पैसा लागत पर्न जाने देखिन्छ ।

अधिकांश देशको केन्द्रीय बैंकले मुलुकको लागि मुद्रा छपाइ तथा निष्कासन गर्ने गर्छन् । नेपालमा वि.सं २०१३ मा नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि राजा त्रिभुवन शाहको पालामा खजाञ्ची पण्डित जनकराज पाण्डेको हस्ताक्षरमा वि.सं २००२ असोज १ गते पहिलो पटक कागजी नोट निष्कासन गरिएको थियो । यसपछि २ जना खजाञ्ची पण्डित भरतराज र नरेन्द्रराज खजाञ्ची थिए । त्यतिबेला सदर मुलुकी खानाले नोट छपाइ गथ्र्यो । वि.सं २०१६ फागुन ७ गते पहिलो गभर्नर हिमालयशमशेर जबराको हस्ताक्षरबाट नोट छपाइ गरिएको थियो । हालसम्म १८ जना गभर्नरको हस्ताक्षरमा नोट निष्कासन भइसकेका छन् ।

कानुनलाई कार्यान्वयन गर्न तथा आन्तरिक प्रक्रियालाई व्यवस्थित गर्न राष्ट्र बैंकले नोट छपाइ तथा सिक्का टकमरी निर्देशिका बनाएको छ । यसअनुसार हरेक वर्ष मुलुकका लागि कति नोट छपाइ आवश्यक छ भनेर प्रक्षेपण गरेपछि तहगत प्रक्रिया पु¥याएर मात्रै नोट निष्कासन गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले ...
— अब एक पटकमा तीन करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार गर्ने कम्पनीले अनिवार्य रुपमा अनुमति लिनुपर्ने भएको छ । सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै देशभरका महानगर र उपमहानगरपालिकाभित्र कम्पनीमार्फत एक पटकमा तीन करोड रुपैयाँभन्दा माथिको घरजग्गा किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । सरकारले महानगर र उपमहानगरभित्र जतिसुकै क्षेत्रफलको घरजग्गा कारोबार कम्पनीमार्फत हुन्छ ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ । विभागले मंगलबार एक सूचना प्रकाशित गरी दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो । विभागले काठमाडौँ उपत्यकामा एक लिटर बोतलको ...
: कोशी प्रदेशको चालु आर्थिक वर्ष २०८२/०८३ को एक चौथाइ बजेट कटौती भएको छ। पुनर्निर्माणमा खर्च गर्ने गरी बजेट कटौती गरिएको हो। चालु आर्थिक वर्षको कुल बजेटबाट २५ प्रतिशत रकम तत्काल खर्च नहुने गरी रोक्का गर्ने निर्णय प्रदेश सरकारले गरेको छ। सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै आगजनी र बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई ...
। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई आफ्नो नियमनको दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले अनिवार्य दर्ताको व्यवस्था गरी बचत तथा ऋण सहकारी संस्थालाई आफ्नो नियमन तथा सुपरीवेक्षणको दायरा भित्र राख्न लागेको हो । प्राधिकरणले सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थालाई दर्ता नभइ कारोबार गर्न नपाउने व्यवस्था गरेको छ । प्राधिकरणले सञ्चालनमा ...