मुख्य समाचार
सीमित खेलाडीलाई निरन्तर अवसर, प्रदर्शन झन् कमजोर
सीमित खेलाडीलाई निरन्तर अवसर, प्रदर्शन झन् कमजोर

। २०२३ को सुरुवातमा मोन्टी देशाई मुख्य प्रशिक्षक बनेसँगै अन्तर्राष्ट्रिय क्रिकेटको दुबै फम्र्याटमा नेपालको प्लेइङ–११ मा ८/९ खेलाडी प्रायः छुटेका छैनन् ।

टिममा एक/दुई जना भन्दा बढी खेलाडी खासै परिवर्तन हुने गरेको छैन । २०२३ को फेब्रुअरी र मार्चमा आईसीसी विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ मा जित्दै ओडीआई मान्यता जोगाउँदा होस् वा मेमा एसीसी प्रिमियर कप उपाधि जित्दै एसिया कप र नोभेम्बरमा आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा पुग्दा सीमित खेलाडीले मात्र अवसर पाए ।




तर घरेलु मैदानको फाइदा उठाउँदै पाएका ती क्षणिक सफलताले दीर्घकालसम्म निरन्तरता पाउन नसक्दा नेपालले हाल क्यानडामा खेलेको लिग २ का ४ मध्ये ३ खेलमा पराजित भयो ।

वर्षाको कारण ओमानविरुद्धको एउटा खेल नहुँदा समर्थक खुसी थिए । किनभने जित्ने आशा थिएन, कम्तीमा खेल नहुँदा १ अंक आयो भन्ने धेरैको प्रतिक्रिया थियो ।




मुख्य प्रशिक्षक मोन्टीले लिएको यो रणनीति एक वर्षसम्म सफल भएपनि गत फेब्रुअरीदेखि असफल भएको छ । किनकी गत फेब्रुअरी यता नेपालको ब्याटिङ सम्झनलायक छैन ।



खराब ब्याटिङकै कारण गत फेब्रुअरीमा लिग–२ मा त्रिवि क्रिकेट मैदानमा भएको नामिबिया र नेदरल्यान्ड्ससँगको चारमध्य तीन खेलमा पराजित हुन पुग्यो । गत अप्रिलमा भएको एसीसी प्रिमियर कपमा युएईसँग सेमिफाइनलमा पराजित हुँदै एसिया कपमा पुग्न असफल भयो र टी–२० विश्वकपमा पनि जितविहीन भयो ।

नेपाली क्रिकेटमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र गुल्सन झा दुबै फर्म्याटका प्रमुख ब्याटर हुन् । पछिल्लो समय उनीहरुले राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

नेपाल अघिल्लो साता आईसीसी विश्वकप लिग–२ मा क्यानडाविरुद्ध २५४ रनको लक्ष्य पछ्याउने क्रममा १५० रनमा अल आउट हुँदै १०३ रनले पराजित भयो ।

उक्त हारपछि नेपालले ओमानविरुद्ध दीपेन्द्र र दुबै कुशललाई बेन्चमा राख्दै अर्जुन साउद, अनिल साह र आरिफ शेखलाई मौका दियो । तर अर्जुन र अनिलको प्रदर्शन पनि कमजोर रह्यो ।

ओपनर अनिललाई ओमानविरुद्ध सातौं नम्बरमा पठाउँदा ३ र क्यानडाविरुद्ध छैटौं नम्बरमा पठाउँदा १ रन बनाए ।

क्यानडाविरुद्धको टी–२० आई खेलमा भने दीपेन्द्र र दुबै कुशल फर्किए । तर खराब लय सम्हालिन सकेन ।

पहिलो टी–२० आईमा क्यानडाविरुद्ध १२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०९ रनमा अल आउट भयो । दीपेन्द्र ११ बलमा ६, कुशल भुर्तेल ९ बलमा ७ र कुशल मल्ल १४ बलमा १२ रनमा आउट भए ।

विष्फोटक ब्याटिङ भुलेका कुशल मल्लले क्यानडाविरुद्ध १२ बलमा ४ रन र ओमानसँग २६ बलमा १९ रन जोडेका थिए ।

पछिल्लो डेढ वर्षदेखि आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशी निरन्तर खेल्दै आएका छन् ।



टी–२० मा आरिफले स्थान बनाउन सकेका छैनन् भने ललितको ठाउँमा अभिनाश बोहरा वा एक तीव्र गतिका बलरले खेल्दै आएका छन् । गत फेब्रुअरीदेखि अनिल साह पनि निरन्तर टोलीमा छन् । सन्दीप जोरा, मौसम ढकाल, सागर ढकाल आउने जाने गरेका छन् ।

पछिल्लो डेढ वर्षदेखि बायाँ हाते बलरका रुपमा खेल्दै आएका प्रतिश जिसीलाई टी–२० विश्वकपपछि बाहिर परेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले पनि खेलाडीको विविधताबारे धेरै वास्ता गरेको छैन । पछिल्लो दुई वर्षमा घरेलु प्रतियोगिताका रुपमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट मात्र भएको छ । गत वर्ष फागुनमा बनाइएको नेपाल ए टिमले क्यानडा र आयरल्यान्डसँगको सिरिजपछि निरन्तरता पाएको छैन ।

खेलाडीहरुको निरन्तर प्रशिक्षण, खराब प्रदर्शनपछि कमब्याकको अवसर, नियमित म्याच एक्सपोजरको कमी र घरेलु क्रिकेटको निरन्तरता नहुँदा टिममा पर्न नसकेका खेलाडी निराश छन् । केही खेलाडी विदेश पलायन भइसकेका छन् ।

नेपालले ओपनिङमा खेलाउँदै आएको अनिल, आसिफ, कुशल र अर्जुन चारै जनाले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । अब देव खनाल र लोकेश बम विकल्पमा छन् । देव टोलीमै हुँदा लोकेशले गत मे देखि खेल्ने अवसर पाएका छैनन् ।

ओडीआईमा अर्जुन कुमालले राम्रो सम्भावना देखाएका छन् । तर उनलाई तयार पार्नमा कुनै ध्यान दिएको छैन । मध्यक्रममा सन्दीप जोरा विकल्पमा छन् ।

‘हामीले ब्याकअप भनेर काम गरेर धेरै खेलाडीलाई अवसर दियौं । कन्ट््र्याक्टमा ल्यायौं र ए टोली पनि बनायौं । तर आज आएर त्यही १४ जना खेल्छ भने बाँकी १८ जनाको काम के’, पूर्वछनोटकर्ता दीपेन्द्र चौधरीले भने, ‘हामीले त्यही १२ जना खेलाडी र ६ ब्याटर खेलाउनु थियो भने ए टोली बनाउन आवश्यक नै थिएन ।’

कुशललाई निरन्तर अवसर

पछिल्लो समय राम्रो प्रदर्शन गर्न नसके पनि न कुशल भुर्तेललाई नेपालले निरन्तर मौका दिइरहेको छ । सन् २०२१ देखि पहिलो रोजाइमा खेलिरहेको हुँदा टी–२० विश्वकपसम्म मौका दिनु सही थियो । तर विश्वकपछि पनि उनले प्रदर्शनमा सुधार ल्याउन सकेका छैनन् ।

उनलाई उनी टी–२० आईमा ओमानविरुद्ध आठौं नम्बर, क्यानडासँग पाँचौं र छैटौं नम्बरमा खेलाइयो । तर ओमानविरुद्ध २० र ११ तथा क्यानडासँग १३ रन मात्र जोडे ।



‘ओपनरलाई ६ नम्बरमा ब्याटिङ गराइएको छ । अनि ६ नम्बरको ब्याटर कहाँ जाने ? तल्लो क्रममा ब्याटिङ गर्दै नेपाली टोलीमा पर्छु भन्नेहरुका लागि यो अन्याय होइन ?’ चौधरीले प्रश्न गरे ।

ललितको प्रदर्शन पनि पछिल्लो समय औसत मात्र छ । तर उनैलाई निरन्तरता दिँदा घरेलुमा उत्कृष्ट प्रदर्शन गर्ने सूर्य तामाङ र सागर ढकालले मौका पाएका छैनन् ।

करिअरको अन्तिम समय तिर रहेका सोमपाल कामी र करण केसीको प्रदर्शन पनि औसत छ । नन्दन यादव र किशोर महतो घरेलु प्रतियोगितामा लगातार राम्रो प्रदर्शन गरिरहँदा पनि मौका नपाएर अष्ट्रेलिया गए ।

कमलसिंह ऐरी, आकाश चन्द, हेमन्त धामी र प्रतिशलगायत टिममा पर्ने र आउट हुने भइरहे । त्यसैले कुनैपनि खेलाडीको सही ब्याकअपमा नेपालले अहिलेसम्म ध्यान नै दिएको छैन । आगामी दिनमा पनि यस्तो योजना बनाएको देखिँदैन । किनकी सन् २०२५ मा क्यानले तयार पारेको अस्थायी क्यालेन्डरमा नेपाल ए बारे केही उल्लेख छैन ।

पूर्वकप्तान तथा नेपाल ए का प्रशिक्षक ज्ञानेन्द्र मल्ल कुनै खेलाडीले अवसर पाइरहने र कसैले मौका नै नपाउने अवस्था हुन नहुने बताउँछन् ।
‘खेलाडी रिप्लेस गर्ने, टिममा आएर प्रदर्शन गर्ने र जिताउने खालको हुनुपर्छ । नामको मात्रै रिप्लेस हुनु हुँदैन, परिवर्तन गर्नु नै छ भने एउटालाई पर्याप्त मौका दिएर अर्कोलाई त्यति नै अवसर दिनुपर्छ’, उनले भने ।

ज्ञानेन्द्रका अनुसार यू–१६, यू–१९, नेपाल ए जस्ता टोलीलाई चार–पाँच वर्ष निरन्तर लगानी गरेमा राष्ट्रिय टिमको राम्रो ब्याक अप तयार हुन्छ ।

‘यू–१६ खेलेर आएका खेलाडी कहाँ र के गर्दै छन् त, उनीहरुमा के सुधार भएको छ, पर्याप्त अनुभव छ कि छैन’, उनले प्रश्न गरे, ‘यू–१९ विश्वकप खेलेर आएका एक दुई जना बाहेक अन्यलाई लगानी गरेका छौं कि छैनौं ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...