मुख्य समाचार
ब्याटिङमा नेपालको बिजोग किन ?
ब्याटिङमा नेपालको बिजोग किन ?

। डेढवर्ष अघि मोन्टी देशाइको प्रशिक्षणमा चार हप्ता ट्रेनिङपछि नेपालले घरेलु मैदान त्रिविमा स्कटल्यान्ड र नामिबियासँग लिग–२ मा सनसनीपूर्ण ब्याटिङ गर्‍यो ।

सन् २०२३ फेब्रुअरी १४ मा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालले ओडीआईमा पूरा गरेको त्यो सर्वाधिक ठूलो योगफल थियो ।


अर्को खेलमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसपछि नामिबियाविरुद्ध २७५ र स्कटल्यान्डविरुद्ध २१३ रनको लक्ष्य पूरा गर्दै मोन्टीको आगमनले ब्याटिङ सुधारिएको आभास दिलायो ।


युएईमा टूरमा पहिलो खेल हारेपनि बाँकी तीन खेल जित्यो । ब्याटिङ घरेलु मैदानमा जस्तो त थिएन, तर जितसँगै सबै कमजोरी छोपियो ।

त्यसपछि घरेलु मैदानमा लिग टूको अन्तिम चार वटै खेल जित्यो । अन्तिम १२ मध्ये ११ खेल जित्दै नेपालले ओडीआई मान्यता मात्र जोगाएन, सोझै विश्वकप छनोटमा स्थान बनायो ।

अप्रिलमा घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा पुग्यो । समूह चरणमा त नेपालले ओमानविरुद्ध ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनाएको थियो । जुन, एकदिवसीय क्रिकेटमा नेपालको हालसम्मकै सबभन्दा ठूलो स्कोर हो ।

अक्टोबरमा घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा सेमिफाइनलमा युएईलाई हराउँदै १० वर्षपछि टी–२० विश्वकपमा पुग्न सफल भयो ।

८ महिनाको अन्तरमा पाएको एकपछि अर्को सफलता पाएको नेपाल अहिले ठीक विपरीत अवस्थामा छ ।

लिग टूको नयाँ संस्करण (२०२४–०२६) को सुरुवाति ७ खेलमा ६ वटा हार व्यहारेको छ । घरेलु मैदानमा गत फेब्रुअरीमा नामिबियासँग दुबै र नेदरल्यान्ड्ससँग एक खेल हारेको थियो । अहिले क्यानडा टूरमा पनि खराब प्रदर्शन कायमै छ ।

नेपालले क्यानडामा खेलेको सुरुवाती तीनै खेल हारेको छ । पहिलो खेलमा क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल १५० रनमा अल आउट भएको थियो ।

तल्लोक्रममा सन्दीप लामिछाने २२, गुलशन झा १५ र करण केसीले २७ रन बनाएपछि १०० रन कटेको थियो ।

त्यो खेलमा प्रमुख ब्याटर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२ र दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट भएका थिए ।

दोस्रो खेलमा ओमानविरुद्ध अर्जुन ५, आसिफ र भीम ११–११ रनमा आउट भएपनि रोहित पोडेल ६०, आरिफ शेख ३५ र गुल्शन झाले ५३ रन बनाएपछि नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । तर १ विकेटले हार्न पुग्यो ।



आइतबार राति क्यानडासँग १८१ रनमा अल आउट हुँदै ५ विकेटले पराजित भयो । अर्जुन १०, आसिफ २, भीम र रोहित ४–४ तथा आरिफ १० र अनिल साहले १ रन बनाएका थिए ।

नेपालका शीर्ष ६ ब्याटरले कुल ३१ रन बनाउँदा स्पिनर सन्दीपले एक्लैले ४९ रन बनाएका थिए । नेपालका शीर्ष चार ब्याटरको भन्दा बढी क्यानडाले अतिरिक्त २२ रन दिएको थियो ।

ब्याटरको क्षमता अभिवृद्धिका लागि काम गर्न नसक्दा यो अवस्था आएको बताउँछन् पूर्वप्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी । ‘हामीले पछिल्लो समय पाएको सफलतासँगै अर्को स्तरमा पुग्ने तयारीमा कहिल्यै काम गरेनौं’, उनले भने, ‘एक समय हाम्रो ब्याटर, जसले पनि आएर रन बनाए । तर उनीहरुको स्किलमा काम गरेनौं ।’

हुन पनि नेपाली क्रिकेटले ब्याटिङमा संघर्ष गर्दै आएको थियो । पछिल्लो समय लिग टूको अन्तिम १२ मध्ये ११ खेल जित्दा त्यही ब्याटिङ नेपालको स्ट्रेन्थ जस्तो देखियो ।

चौधरी भन्छन्, ‘नेपाली ब्याटर सफल हुँदा दुनियाको ध्यान केन्द्रित भयो । अनि नेपालको कमजोरी पहिल्याएर खेल्न थाले । तर हामीले स्किल सुधार्न काम गरेनौं ।’

जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकपको छनोटमा विपक्षी टोलीका बलरहरुले सर्ट र बाउन्सरमा नेपाली ब्याटरहरुको कमजोरी उदाङ्गो पारिदिए । त्यसपछि नेपालले सर्ट बलमा ध्यान दियो । त्यसको धेरथोर प्रभाव एसिया कपमा देखिएको थियो ।

तर ब्याटरहरुको क्षमता विकास, खासगरी सटहरुको भेरिएसनमा काम गर्न गरेन । नेपाली अधिकांश ब्याटरको एकै किसिमको सट हुन्छ, एउटै जसो क्षेत्रमा रन जोड्न खोन्छन् ।

अहिले नेपाली टोलीका सदस्यहरुमध्ये कप्तान रोहित तुलनात्मक रुपमा आफ्ना सटहरुमा भेरिएसन ल्याउँछन् । ओपनर कुशल भुर्तेल अफस्टम्प केन्द्रित लेन्थ बलमा निरन्तर आउट हुने गरेका छन् । कुशल मल्ल र गुल्शनले लङअन र अङअफमा बढी सट खेल्छन् । आरिफ र भीम स्पीनरमा कट सट बढी खेल्छ । तर फास्ट बलरले बाउन्सर हाल्दा उनीहरु सजिलै फस्ने गर्छन् ।



त्यसमाथि २०२३ को सुरुवातदेखि नेपालले प्लेइङ ११ मा ओडीआई र टी–२० आईमा लगभग एकै खेलाडी खेलाउँदै आएको छ । जसको सबल र दुर्बल पक्ष विपक्षीले पत्ता लगाइसके । घरेलु क्रिकेटको संरचना बलिया बनाएको भए, नेपाल ११ लाई नियमित म्याच एक्पोजर दिएर ब्याकअप तयार पारेको भए टोलीमा सरप्राइज प्याकेजका रुपमा नयाँ ब्याटर आउनसक्थे ।

तर घरेलु संरचना छैन बराबर छ । बल्लबल्ल बनेको नेपाल ११ का सदस्यहरुले खेल्नै पाएका छैनन् । अनि, राष्ट्रिय टिममा भएका ब्याटरहरुको क्षमता अभिबृद्धिका लागि बाह्य प्रशिक्षण छैन । पूर्वप्रमुख छनोटकर्ता चौधरी भन्छन्, ‘नेपाल टिम त अभ्यास खेलमा गएको छ, तर यसले मात्र पुग्दैन । अब हामीले ४/५ जना मुख्य ब्याटरहरुलाई फरक फरक देशमा लगेर ट्रेनिङ गराउनुपर्छ ।’

तयारी नै फरक कन्डिसनमा

गत जुनमा आईसीसी टी–२० विश्वकप खेलेपछि दुई महिना नेपाली क्रिकेट खाली रह्यो । क्यानडा जानु अघि नेपालले भारतको नेशनल क्रिकेट एकेडेमी (एनसिएल) मा दुई हप्ता र श्रीलंकामा गएर एक हप्ता अभ्यास गरेको थियो । क्यानडाको कन्डिसन र नेपालले अभ्यास गरेको फरक थियो ।

जुलाई अगष्टमा ग्लोबल टी–२० क्यानडा रोहित, दीपेन्द्र र सन्दीप गएका थिए । त्यसपछि सन्दीप फर्किदा दीपेन्द्र र रोहित उतै बसेर अभ्यास गरेका थिए । रोहित पहिलो खेलमा ५, दोस्रोमा ६० र तेस्रोमा ४ रनमा आउट भए ।

सन्दीपले २२, ११ र ४९ रन बनाए । दीपेन्द्र पहिलो खेलमा ८ रनमा आउट भएपछि टोली बाहिर गर्‍यो ।

क्रिकेट विश्लेषक रवि तिमिल्सिना टीयु र मुलपानीभन्दा बाहिर जानसक्नुपर्ने बताउँछन् । ‘हामी पीएम कपमा भैरहवामा गएर खेल्दा पनि खत्तम नै गरेका थियौं’, उनले भने, ‘जुन कन्डिसनमा खेल्ने हो, त्यसैमा निरन्तर अभ्यास गरे ब्याटिङ राम्रो हुन्छ । यो पटक हाम्रो तयारी त्यसअनुसार हुन सकेन ।’

कमजोर ब्याटिङमा खेलाडीहरु पनि त्यतिकै जिम्मेवार छन् । विशेषगरी गैरजिम्मेवार सट छनोट गर्नुका साथै धैर्यताको कमी देखिएको क्रिकेट विश्लेषक तिमिल्सिना बताउँछन् ।

जबकी मूख्य प्रशिक्षक मोन्टी आफैं ब्याटिङ प्रशिक्षक हुन् । उनी नेपाल आउनुअघि वेस्टइण्डिजको ब्याटिङ प्रशिक्षकका रुपमा तीन वर्ष काम गरेका थिए । गत अक्टोबरदेखि जुनसम्म भारतीय नन्दन फड्निसले पनि ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । तरपनि नेपालको ब्याटिङमा पुरानै समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...