पुनरागमन प्रदर्शनका बाबजुद हारेको नेपाल
पुनरागमन प्रदर्शनका बाबजुद हारेको नेपाल

। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो ।

मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो ।




टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ओडीआईमा १८.८३ औसतमा रन बनाएका छन् । सन् २०१७ मा केन्याविरुद्ध डेब्यू गरेका उनी २०२३ मे मा एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध बेन्चमै थिए ।

तर दीपेन्द्रलाई समेत बेञ्चमा राखेका प्रशिक्षक देशाईले अर्जुन साउद र आरिफ शेखलाई ओपनिङ, अनि शीर्षक्रमका ब्याटर अनिल साहलाई फिनिसरको जिम्मेवारी दिए ।




ओमानका प्रमुख बलर बिलाल खान र अलराउण्डर जिशान मकसुद चोटका कारण उपलब्ध नहुनु नेपाललाई अतिरिक्त फाइदा थियो ।

मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङ थालेको नेपाली ब्याटरमा पहिलो हारको दबाब ब्याटमा स्पष्ट देखिन्थ्यो ।

कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा अर्जुन साउद ५ रनमा सेकेन्ड स्लिपमा फयाज बटबाट समातिन पुगे । अफस्टप भन्दा थोरै बाहिरको बल अर्जुन रोक्न चाहन्थे, तर एज लागेर क्याच भएपछि लामो समयपछि पाएको मौका सदुपयोग गर्न सकेनन् । १० ओभरमा नेपाल १९–१ को अवस्थामा थियो ।

मिडियम पेसर सोयब खानको अफ साइडको बल डीप प्वाइन्टमा खेल्ने धुनमा आसिफ शेख कश्याप प्रजापतिको उत्कृष्ट क्याचको शिकार भए । २८ बलको सामना गरेका उनी २ चौकासहित ११ रनमा पभेलियन फर्किए । भीम सार्की ३२ बलमा १ चौकासहित ११ रनमा क्याच आउट भएपछि नेपाल १३.१ ओभरमा ३१–३ को अवस्थामा थियो ।

दबाबमा खेलेको नेपालको सुरुवात सुस्त थियो । तीन विकेट गुमेपछि आरिफ शेख र रोहित पौडेल रन भन्दा पनि विकेट बचाउनतर्फ लागे । १३.१ देखि २५ ओभरसम्म नेपालले एक चौका र एक छक्का मात्रै बाउन्ड्रीको रुपमा हान्यो ।

नेपाल २५ ओभरमा ६२–३ को संघर्षपूर्ण अवस्थामा थियो ।

रोहितले २६ औं ओभरको पाँचौं बलमा अकिब इलियासलाई लङअफमा छक्का र २८ ओभरमा एक चौका हाने ।

कलिमुल्लाहको ३२ औं ओभरको अन्तिम लेग साइडको खराब बललाई रोहितले डीप स्क्वायर लेगमा छक्का हान्दै नेपालको १०० रन कटाए ।

ओडीआईका भरपर्दा ब्याटर आरिफ र रोहितको साझेदारीले विस्तारै नेपाल खेलमा फर्किदै थियो । तर ३७ औं ओभरको तेस्रो बलमा सकिल अहमदको बलमा एज लागेर आसिफ ८८ बलमा १ चौकासहित ३५ रनमा क्याच आउट भए । उनी आफ्नो ओडीआई करिअरको हजार रन पूरा गर्न १ रनले चुके । तर दबावपूर्ण अवस्थामा जुन धैर्यताका साथ खेले, उनी ओडीआईमा बेन्चमा बस्ने खेलाडी होइन भन्ने देखाए ।

आरिफ र रोहितले चौथो विकेटका लागि १४१ बलमा ८३ रनको साझेदारी थियो । उनी आउट हुँदा नेपाल ३६.३ ओभरमा नेपाल ११४–४ को अवस्थामा थियो ।

बल केही सुस्त देखिएपनि राम्रो अन्त्य गर्न सकेको खण्डमा २०० रनको योगफलमा पुग्ने बलियो जग तयार भएको थियो ।

त्यसपछि गुलसन झा र रोहितले ओमानको स्पिन बलिङविरुद्ध आक्रामण गर्न थाले । ३८ औं ओभरको तेस्रो बलमा जय ओडेरालाई चौका हान्दै रोहितले ६४ बलमा अर्धशतक पूरा गरे । यसै ओभरको अन्तिम बलमा रोहितले छक्का हानेका थिए ।

तर रोहित अकिब इलियासको ४२औं ओभरको पहिलो बलमा स्लग स्वीप खेल्ने धुनमा लिडिङ एज लागेर ६० रनमा विकेटकिपर अथभलेबाट समातिन पुगे । उनले ७२ बलमा २ चौका र ४ छक्का हाने । सेट भएर आक्रामक खेल्ने क्रममा उनी आउट हुनु नेपाललाई केही ठूलो धक्का थियो ।

तर गुल्सनले ४६ औं ओभरमा लेफ्टी हुनुको फाइदा उठाए । लेफ्टीलाई लेग स्पिन बलर खेल्न निकै सहज हुन्छ । त्यसैले अकिब इलियासको ४६ औं ओभरमा ओभरमा दुई चौका र छक्कासहित २३ रन जोडेपछि नेपाल १९०–६ को अवस्थामा पुग्यो ।

तर अर्को ओभरमा उनी फयाज बटमा क्याच आउट भए । ३५ बलको सामना गरेका उनले ३ चौका र ५ छक्कासहित ५३ रन जोडेका गिए ।

सोमपाल कामीले अन्त्यमा दुई छक्का हानेपछि नेपाल २२०–९ को योगफल तयार पार्‍यो ।

नेपाली ब्याटरले संघर्ष गरेपनि रन बनाउन त्यो विकेटमा त्यति गाह्रो थिएन । अनि ओमानको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोर थियो । त्यसैले ओमानलाई सुरुदेखि दबावमा राख्न पावर प्लेमा नेपाललाई दुई विकेट लिन आवश्यक थियो ।



तर पावर प्लेमा प्रमुख दुई बलर सोमपाल र करण पावरप्लेमा विकेट लिन चुके । चार बलर प्रयोग गरेको नेपालले विकेट लिएन, ५० रन खर्चियो ।

जतिन्दर सिंह र कश्याप प्रजापतिले १६ ओभरमा ७५ रन जोड्दै सुरुवातमै नेपालबाट जित टाढा लगे । सन्दीपले १७ औं ओभरको पहिलो बलमा जतिन्दरलाई ४१ रनमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाए ।

आरिफले २० औं ओभरको दोस्रो बलमा मिड विकेटमा भाइ आसिफबाट कश्यापलाई ३६ रनमा क्याच गराएपछि थोरै आशा फर्काए ।

गुलसनको अफ साइटको बलमा अकिब मिडअफमा करण केसीबाट २९ रनमा हुँदा ओमान २४.३ ओभरमा ११३–३ को मजबुत स्थितिमा थियो । तर मध्यक्रम र तल्लोक्रममा भरपर्दा ब्याटर थिएनन् ।

आयन खानलाई गुलसनले नै ९ रनमा आउट गरे । करणको ३४ औं ओभरको पहिलो बलमा विकेटकिपर अर्जुन साउदले एज लागेको भन्दै प्रतिकलाई आउटको अपिल गरे । प्रतिक अथभले आउट हुँदा ओमान १५९–५ को स्थितिमा थियो ।

४८ औं ओभरको पहिलो बलमा जय ओडेरलाई ५ रनमा क्याच गराउँदै गुलसनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक ५ विकेट पूरा गरे । साथै नेपालबाट ओडीआईमा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने पहिलो खेलाडी पनि बने ।

ओडेरा आउट हुँदा ओमानलाई जितका लागि १७ बलमा १० रन चाहिएको थियो र, हातमा १ विकेट मात्र थियो । त्यो ओभरको बाँकी बलमा गुल्सनले रन दिएनन् भने ४९औं ओभरमा करणले मात्र २ रन दिएपछि ओमानलाई अन्तिम ६ बलमा ८ रन चाहिएको थियो ।

सोमपाल कामीको अन्तिम ओभरको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुल्दै सकिललाई स्ट्राइक दिए । तर दोस्रो बल टप एज लागेर विकेटकिपर नजिकैबाट चौका गएपछि नजिक आइसकेको जित फेरि नेपालबाट टाढियो ।

तेस्रो बल डट भयो चौथो बलमा ओमानले एक रन बटुल्यो । अन्तिम दुई बलमा दुई रन चाहिँदा सोमपालको लो फुलटस बललाई डीप मिडविकेटमा कहिमुल्लाहले चौका हान्दै ओमानलाई रोमान्चक जित दिलाए ।

गुल्सनको दिन

ब्याटिङ र बलिङ दुबैमा नेपालको सुरुवात राम्रो रहेन । तर पूनरागमन उत्कृष्ट थियो । गुलसन झाको दिन थियो ।

उनले गत जुनमा आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम दुई बलमा दुई रन जोड्न नसक्दा ब्यहोरेको १ रनको हारको पीडामा राहत दिनभरपूर्ण प्रयास गरे । तथापि नेपाल १ विकेटले हार्न पुग्यो ।

सुरुवाती ३० ओभरसम्म विकेट गुम्ने दबाबमा बढी डट खेल्नु, पावर प्लेमा विकेटविहीन हुनु र प्रमुख बलर सोमपाल र सन्दीपले अपेक्षा अनुसार प्रदर्शन नगर्नुका साथै कमजोर फिल्डिङ नेपालका हारका कारण हुन् ।

सन्दीपले १० ओभरमा ४४ रन खर्चिदा १ विकेट लिए । सोमपाल कामीले ७.५ ओभरमा ६० रन खर्चिदा विकेट लिन सकेनन् ।

करणले ओमानविरुद्ध १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए । १० ओभरमा २ मेडनसहित ४७ रन खर्चिएर ५ लिनुको साथै अर्धशतक बनाएका गुलशन हारका बाबजुद प्लेयर अफ द म्याच चुनिए ।



हारपछि नेपालका कप्तान रोहित पौडेलले ब्याटिङमा अझै राम्रो गरेर २४०/५० को योगफल खडा गर्न सकेको भए राम्रो हुने बताए । ‘गुलसननको ब्याटिङ अविश्वसनीय थियो । तर हामीले ब्याटिङमा अझै राम्रो गर्दै २४०/५० सम्म पुग्न सक्थ्यौं, उनले भने, ‘तथापि २२० यो विकेटमा धेरै चुनौतीपूर्ण हो ।’

बलिङ युनिटले पनि यो भन्दा राम्रो गर्न सक्थ्यो भन्ने उनलाई लाग्छ । ‘आज बलिङ युनिटमा करण र गुलसनले साँच्चिकै धेरै राम्रो गरे, रोहितले भने, ‘यो कडा प्रतिस्पर्धात्मक खेल थियो । हामीले अर्को खेलमा राम्रो पूनरागमन गर्ने छौं । यो विकेटमा हामीले आफ्नो क्षमता देखाउन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...