मुख्य समाचार
खेल फेरियो, तर नेपालको ब्याटिङ शैली फेरिएन
खेल फेरियो, तर नेपालको ब्याटिङ शैली फेरिएन

। तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा सोमबार राति क्यानडाविरुद्धको खेलमा नेपाल १०३ रनले पराजित भयो । नेपालको पराजयको कारण यस पटक पनि खराब ब्याटिङ नै रह्यो ।

नेपालले गत जुनमा भएको आईसीसी टी–२० विश्वकप मा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्डससँगको खेल पनि खराब ब्याटिङकै कारण गुमाएको थियो ।




सोमबार क्यानडाविरुद्धको खेलमा नेपालको ब्याटिङ र खेलाडीको खेल कौशलमा कुनै सुधार देखिएन । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो ।

एक समय २५.१ ओभरमा ८०–७ को दयनीय अवस्थामा पुगेको नेपाल तल्लो क्रममा ब्याटिङमा आएका बलरहरुले रन जोडेपछि लज्जास्पद हारतबाट जोगिएको थियो ।



किंग सिटीमा टस हारेर ब्याङिमा आएका क्यानडाका ओपनर आरोन जोनसन र नवनीत धालिवालले तीव्र गतिका बलरलाई सहयोगी पिच र नयाँ बलमा जोखिम उठाएनन् ।

स्पिनर ललित राजवंशीले सातौं ओभरको पहिलो बलमा जोनसन १० रनमा कट एण्ड बोल्ड हुन पुगे । तर जोनसन उक्त क्याच भन्दा पहिला बल जमिनमा ड्रप भएको भन्दै पभेलियन फर्किन मानेका थिएनन् । थर्डअम्पायर नहुँदा अम्पायरको निर्णय मान्नुको विकल्प थिएन ।

क्यानडाका ब्याटरले सुरुवातमा रन भन्दा पनि विकेट नदिने सोचमा खेले । १७ औं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेले परगत सिंहलाई १७ रनमा एलबीडब्लू आउट गर्दा क्यानडा ५५–२ को अवस्थामा थियो ।

धालिवाल र हर्ष थाकेरले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । धालिवाल ९० बलमा ४ चौकासहित ४८ र हर्ष ६१ बलमा १ चौकासहित २७ रनमा आउट हुँदा क्यानडा ३५.३ ओभरमा १२६–४ को अवस्थामा थियो । त्यतिबेलासम्म खेल पुरै नेपालको नियन्त्रणमा थियो ।

डेथ ओभरमा चुटिएको नेपाल

४० ओभरमा क्यानडा १४९–५ को अवस्थामा हुँदा नेपालले २०० रनको आसपासमा रोक्न सक्थ्यो । तर क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनायो ।

४० ओभरअघि २२ बलमा २१ रन बनाएर खेलेका कप्तान निकोलस किर्तोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । पाँच विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका हेलिगरले २७ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे ।

सदाबहार नेपालको कमजोर डेथ ओभर बलिङको भरपुर फाइदा उठाउँदै क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोडेको थियो । दुई बायाँ हाते ब्याटर किर्तोन र साद विन जाफर हुँदा अफ स्पिन गर्ने रणनीतिमा नेपालका कप्तान रोहित पौडेलले ४६ औं ओभरमा १९ रन र दीपेन्द्र सिंह ऐरीले ४७ औं ओभरमा १७ रन खर्चेका थिए । डेथ ओभरमा तीन स्पिनरले ७ ओभरमा कुल ७१ रन दिए ।

नेपालको हारको एउटा मुख्य कारण यही थियो । खेलपछि कप्तान रोहित पौडेलले पनि डेथ ओभर हारको एउटा कारण रहेको प्रतिक्रिया दिए ।

‘हामीले राम्रो बलिङ गरेनौं । नयाँ बल र २५/३० ओभरमा हामीले अनुशासित बलिङ गरेका थियौं । त्यसपछि राम्रो भएन’, रोहितले भने ।

क्यानडाका दुई तीव्र गतिका बलर हेलिगरले ५ र अखिल कुमारले २ गरी ७ विकेट लिए । तर नेपालका तीन तीव्र गतिका बलरले तीन मात्रै विकेट लिन सके । करण केसी ६ ओभरमा २४ रन खर्चेर विकेट विहीन रहे, सोमपाल कामीले ८ ओभरमा ४० रन खर्चेर २ विकेट तथा गुलसन झाले ५ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।



कुशल भुर्तेल, भीम सार्की र विकेटकिपर आसिफ शेख बाहेक अन्य सबै ८ बलरले बलिङ गरेका थिए ।

उही ब्याटर, उस्तै ब्याटिङ

ओपनर कुशल भुर्तेलले निरन्तर खराब लयका बाबजुद मौका पाइरहेका छन् । तर टिमको विश्वासमा कुशलले फेरि न्याय गर्न सकेनन् ।

हेलिगरको गुड लेन्थ बल खेल्न नसक्दा चौथो ओभरको पाँचौं बलमा उनी १० बल खेलेर १ रनमा एलबीडब्लू आउट हुन पुगे ।

आसिफ शेख २० रन तथा रोहित डीप प्वाइन्ट परगत सिंहबाट ५ रनमा क्याच आउट हुँदा नेपाल ४३–३ को अवस्थामा पुग्यो ।

त्यसपछि भीम सार्की र दीपेन्द्रबीच राम्रो साझेदारी भएको खण्डमा मात्रै नेपाल जितसम्म पुग्नसक्थ्यो । किनभने त्यसपछि सबै हिटर वा बलर मात्रै थिए ।

तीव्र गतिका बलर अखिल कुमारको बलमा भीम १८ रनमा एलबीडब्लू र आईपीएल अनुभवी स्पिनर अंश पटेलको बलमा स्वीप खेल्नेक्रममा दीपेन्द्र ८ रनमा विकेटकिपर श्रेयस मोभ्भाबाट क्याच हुँदा नेपाल १७.२ ओभरमा ६२–५ को नाजुक अवस्थामा पुग्यो । थोरै आशा कुशल मल्ल र गुलसन झामा थियो । एउटा राम्रो साझेदारी हुन सकेमा सोमपाल र करणले अन्त्य गर्नसक्थे ।

ओडीआईका भरपर्दा आरिफ शेखलाई बाहिर राख्नु नेपालको आश्चर्यजनक निर्णय थियो । करण केसी र गुलसन झा दुबैलाई निरन्तरता दिँदा आरिफले स्थान बनाउन सकेका थिएनन् ।

कुशल मल्ल ४१ बलमा १२ रनमा क्याच र सोमपाल कामी २५ बलमा ६ रनमा आउट भएपछि नेपाल २५.१ ओभरमा ८०–७ को दयनीय अवस्थामा पुगेको थियो । त्यसपछि सन्दीप लामिछानेले २२, गुलसनले १५ र करण केसीले २७ रन जोड्दै नेपालको फराकिलो हारको अन्तर घटाए ।

टी–२० विश्वकपमा टिममा नरहेका भीम सार्कीबाहेक अन्य सबै नेपालको प्लेइङ–११ मा थिए ।

टी–२० विश्वकपको अन्तिम खेलमा बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याउनेक्रममा ८५ रनमा अल आउट हुँदाको खेलमा भन्दा यसपटक नेपालले तीन परिवर्तन गरेको थियो ।

अनिल साहको स्थानमा भीम सार्की, सन्दीप जोराको स्थानमा करण केसी, अभिनाश बोहराको स्थानमा ललित राजवंशी खेलेका थिए ।

क्रिजमा धैर्यता देखाउन नसक्नु, खराब सट छनोट र जिम्मेवारीको कमी नेपाली ब्याटरले रन बनाउन नसक्नुका कारण थिए ।

पहिलो इनिङमा क्यानडाका शीर्ष चार ब्याटरले २०२ बल खेल्दै किर्तोन र हेलिगरलाई राम्रो अन्त्य गर्ने वातावरण बनाएका थिए । आफूहरुले खराब ब्याटिङ गरेको रोहित बताउँछन् ।



‘केही चुनौती भएपनि विकेट राम्रो थियो । बल ब्याटमा आइराखेको थियो । ओडीआईमा क्रिजमा समय बिताउन सक्नुपर्छ । अनि मात्रै बल मिडिल ब्याटमा आउँछ । तर हामीले त्यो अप्लाई गर्न सकेनौं । खराब ब्याटिङको कारण पनि त्यही हो’, रोहितले भने ।

पहिलो खेलमा हारपछि नेपालले बुधबार ओमानविरुद्ध टोलीमा केही परिवर्तन गर्ने सम्भावना छ । कप्तान रोहित पनि यो कुरा स्वीकार गर्छन् ।

‘हामीले टोलीमा भएका विकल्पहरु हेर्ने छौं । तीन खेल बाँकी छन्, हामी राम्रो पुनरागमन गर्न चाहन्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...