मुख्य समाचार
नारायणी अस्पतालको आकस्मिक कक्ष भद्रगोल, करोडौं खर्च गरेर बनाइएको भवन प्रयोगमै ल्याइएन
नारायणी अस्पतालको आकस्मिक कक्ष भद्रगोल, करोडौं खर्च गरेर बनाइएको भवन प्रयोगमै ल्याइएन

: वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा २८ वटा बेड छ। आकस्मिक वार्डमा हाल बेडको संख्या अपुग भएर एउटै बेडमा २ जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता छ। तर, करोडौंको लागतमा निर्मित ५० बेडको आकस्मिक सुविधासम्पन्न भवन प्रयोगमै ल्याइएको छैन।




आकस्मिक कक्षमा कार्यरत डाक्टर दीपक चौरसिया भन्छन्,‘भनेका बेला बिरामीको बेडमा पुग्न नसक्दा कुरुवाबाट गाली सुन्नुपर्छ। कहिलेकाहीँ त हातपातमै पनि उत्रिन्छन्। गाली बेइज्जती सुनेर बिरामीको उपचार गर्न विवश छौं हामी।’

तर उपचार गर्न आउने बिरामीको संख्या दैनिक औसतमा ३ सय बढी रहेको अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले बताए। आकस्मिक कक्षमा खटिने स्वास्थ्यकर्मीको संख्या पनि बिरामीको संख्याको अनुपातमा निक्कै कम छ। जसका कारण आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीले आवश्यक उपचार समयमै नपाउँदा बिरामीका कुरुवाबाट चिकित्सकहरु दुर्व्यवहार खेप्न बाध्य रहेको डाक्टर चौरसिया बताउँछन्।


उनले भने, ‘इमर्जेन्सी वार्डमा बिरामीको चाप यति धेरै छ कि एउटै बैडमा दुई जनासम्म बिरामी सुताएर उपचार गर्नु परिरहेको छ। कतिपय बिरामी त बेड नपाएर आफैं अन्त जान्छन्। बेड नपाउँदा कुरुवाले हामीलाई तथानाम गाली सुनाउँछन्।’

आकस्मिक कक्षमा जनशक्ति थप्न अस्पताल प्रमुखलाई पटक पटक ध्यानाकर्षण गराउँदापनि कुनै सुनुवाइ नभएको उनी बताउँछन्। उनी भन्छन्,‘अहिलेका मेसु आउनु बित्तिक्कै ४७ जनालाई हटाइदिए। एक त पहिलेदेखि नै जनशक्तिको कमी थियो। त्यसमा झन् मेसुले भएकै जनशक्ति हटाइदिए। अहिले त झन बिजोग छ।’ आकस्मिक कक्षमा जनशक्ति थप्न मेसु हकलाई पटक पटक आग्रह गर्दा पनि वास्तै नगरेको गुनासो उनको छ।

निमित्त मेसु हकका अनुसार आकस्मिक कक्षमा तीन सिफ्टमा गरेर स्वास्थ्यकर्मी खटिन्छन्। बिहानी सिफ्टमा २ जना , दिउँसोको सिफ्टमा १ जना र रात्री सिफ्टमा १ जना चिकित्सक खटिन्छन्। तीन वटै सिफ्टमा २/२ जना परामेडिकल स्वास्थ्यकर्मी पनि खटिन्छन्।

यो जनशक्ति बिरामीको चापको अनुपातमा निक्कै अपुग भएको निमित्त मेसु हकपनि स्विकार्छन् भन्छन्, ‘इमर्जेन्सी वार्डमा मात्र नभई अस्पतालको हरेक विभागमा जनशक्ति अपुग छ। त्यसलाई समाधान गर्न हामीले प्रक्रिया थालिसकेका छौं।’

अस्पताल परिसरमै ९ करोड बढी रकमको लागतमा निर्माण गरिएको ५० बेडको उक्त तीन तल्ले आकस्मिक भवन तामझामसहितको कार्यक्रम गरेर उद्घाटन गरिएको ११ महिना बितिसक्दा पनि प्रयोगमा ल्याइएको छैन। २०७९ असोज १३ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उक्त भवनको उद्घाटन गरेका थिए। उक्त उद्घाटन कार्यक्रममै अस्पतालले ५० लाख रुपैयाँ बढी खर्च गरेको चर्चा पनि चलेको थियो।

हाल सञ्चालनमा रहेको आकस्मिक कक्षमा बेड नपाएर एउटै बेडमा २ जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहदाँसमेत करोडौंको लागतमा निर्मित ५० बेडको आकस्मिक भवन उद्घाटन गरिएको १ वर्ष हुनलाग्दा समेत अस्पताल प्रशासनले प्रयोगमा ल्याएको छैन।

अस्पतालका निमित्त मेसु हकले नवनिर्मित तीन तल्ले आकस्मिक भवन आकस्मिक उपचारका लागि आउने बिरामीका लागि उपयुक्त नभएको कारण प्रयोगमा नल्याइएको बताए। उनले भने,‘हस्पिटल रोड वारी र पारी गरेर दुई ठाउँमा छ। इमर्जेन्सी वार्डको बिरामीलाई अन्य वार्डमा भर्ना गर्नु पर्‍यो भने नवनिर्मित इमर्जेन्सी भवनबाट रोडपारीको भवनमा लग्नुपर्ने हुन्छ। जुन सहज हुँदैन।’ त्यही कारण नवनिर्मित आकस्मिक भवन प्रयोगमा ल्याउन नसकिएको हो।

उक्त नवनिर्मित भवनमा अब आकस्मिक कक्ष नभई सर्जिकल वार्ड सञ्चालन गर्ने तयारीमा अस्पताल प्रशासन लागेको निमित्त मेसु हकले बताए। तर आकस्मिक कक्षका पूर्व इन्चार्ज डाक्टर उदयनारायण सिंहले भने अस्पताल प्रशासनले चाहेमा नवनिर्मित आकस्मिक भवनमै आकस्मिक कक्ष सञ्चालन गर्न सक्ने बताए। उनले भने,‘बहाना त जेपनि गर्न सकिन्छ। इमर्जेन्सी वार्ड चलाउनकै लागि बनाइएको भवनमा अहिले आएर चलाउन सकिँदैन भन्नु बहाना मात्रै हो। देशका अन्य केन्द्रीय अस्पतालहरूमा यही संरचना र ढाँचा बनाइएका भवनमा इमर्जेन्सी वार्ड चलाइएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीलाई ओपीडी सेवामा वार्षिक २५ हजारसम्मको सुविधा उपलब्ध गराइने ...
। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा ...
— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण ...
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...