मुख्य समाचार
नारायणी अस्पतालको आकस्मिक कक्ष भद्रगोल, करोडौं खर्च गरेर बनाइएको भवन प्रयोगमै ल्याइएन
नारायणी अस्पतालको आकस्मिक कक्ष भद्रगोल, करोडौं खर्च गरेर बनाइएको भवन प्रयोगमै ल्याइएन

: वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा २८ वटा बेड छ। आकस्मिक वार्डमा हाल बेडको संख्या अपुग भएर एउटै बेडमा २ जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता छ। तर, करोडौंको लागतमा निर्मित ५० बेडको आकस्मिक सुविधासम्पन्न भवन प्रयोगमै ल्याइएको छैन।




आकस्मिक कक्षमा कार्यरत डाक्टर दीपक चौरसिया भन्छन्,‘भनेका बेला बिरामीको बेडमा पुग्न नसक्दा कुरुवाबाट गाली सुन्नुपर्छ। कहिलेकाहीँ त हातपातमै पनि उत्रिन्छन्। गाली बेइज्जती सुनेर बिरामीको उपचार गर्न विवश छौं हामी।’

तर उपचार गर्न आउने बिरामीको संख्या दैनिक औसतमा ३ सय बढी रहेको अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले बताए। आकस्मिक कक्षमा खटिने स्वास्थ्यकर्मीको संख्या पनि बिरामीको संख्याको अनुपातमा निक्कै कम छ। जसका कारण आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीले आवश्यक उपचार समयमै नपाउँदा बिरामीका कुरुवाबाट चिकित्सकहरु दुर्व्यवहार खेप्न बाध्य रहेको डाक्टर चौरसिया बताउँछन्।


उनले भने, ‘इमर्जेन्सी वार्डमा बिरामीको चाप यति धेरै छ कि एउटै बैडमा दुई जनासम्म बिरामी सुताएर उपचार गर्नु परिरहेको छ। कतिपय बिरामी त बेड नपाएर आफैं अन्त जान्छन्। बेड नपाउँदा कुरुवाले हामीलाई तथानाम गाली सुनाउँछन्।’

आकस्मिक कक्षमा जनशक्ति थप्न अस्पताल प्रमुखलाई पटक पटक ध्यानाकर्षण गराउँदापनि कुनै सुनुवाइ नभएको उनी बताउँछन्। उनी भन्छन्,‘अहिलेका मेसु आउनु बित्तिक्कै ४७ जनालाई हटाइदिए। एक त पहिलेदेखि नै जनशक्तिको कमी थियो। त्यसमा झन् मेसुले भएकै जनशक्ति हटाइदिए। अहिले त झन बिजोग छ।’ आकस्मिक कक्षमा जनशक्ति थप्न मेसु हकलाई पटक पटक आग्रह गर्दा पनि वास्तै नगरेको गुनासो उनको छ।

निमित्त मेसु हकका अनुसार आकस्मिक कक्षमा तीन सिफ्टमा गरेर स्वास्थ्यकर्मी खटिन्छन्। बिहानी सिफ्टमा २ जना , दिउँसोको सिफ्टमा १ जना र रात्री सिफ्टमा १ जना चिकित्सक खटिन्छन्। तीन वटै सिफ्टमा २/२ जना परामेडिकल स्वास्थ्यकर्मी पनि खटिन्छन्।

यो जनशक्ति बिरामीको चापको अनुपातमा निक्कै अपुग भएको निमित्त मेसु हकपनि स्विकार्छन् भन्छन्, ‘इमर्जेन्सी वार्डमा मात्र नभई अस्पतालको हरेक विभागमा जनशक्ति अपुग छ। त्यसलाई समाधान गर्न हामीले प्रक्रिया थालिसकेका छौं।’

अस्पताल परिसरमै ९ करोड बढी रकमको लागतमा निर्माण गरिएको ५० बेडको उक्त तीन तल्ले आकस्मिक भवन तामझामसहितको कार्यक्रम गरेर उद्घाटन गरिएको ११ महिना बितिसक्दा पनि प्रयोगमा ल्याइएको छैन। २०७९ असोज १३ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उक्त भवनको उद्घाटन गरेका थिए। उक्त उद्घाटन कार्यक्रममै अस्पतालले ५० लाख रुपैयाँ बढी खर्च गरेको चर्चा पनि चलेको थियो।

हाल सञ्चालनमा रहेको आकस्मिक कक्षमा बेड नपाएर एउटै बेडमा २ जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहदाँसमेत करोडौंको लागतमा निर्मित ५० बेडको आकस्मिक भवन उद्घाटन गरिएको १ वर्ष हुनलाग्दा समेत अस्पताल प्रशासनले प्रयोगमा ल्याएको छैन।

अस्पतालका निमित्त मेसु हकले नवनिर्मित तीन तल्ले आकस्मिक भवन आकस्मिक उपचारका लागि आउने बिरामीका लागि उपयुक्त नभएको कारण प्रयोगमा नल्याइएको बताए। उनले भने,‘हस्पिटल रोड वारी र पारी गरेर दुई ठाउँमा छ। इमर्जेन्सी वार्डको बिरामीलाई अन्य वार्डमा भर्ना गर्नु पर्‍यो भने नवनिर्मित इमर्जेन्सी भवनबाट रोडपारीको भवनमा लग्नुपर्ने हुन्छ। जुन सहज हुँदैन।’ त्यही कारण नवनिर्मित आकस्मिक भवन प्रयोगमा ल्याउन नसकिएको हो।

उक्त नवनिर्मित भवनमा अब आकस्मिक कक्ष नभई सर्जिकल वार्ड सञ्चालन गर्ने तयारीमा अस्पताल प्रशासन लागेको निमित्त मेसु हकले बताए। तर आकस्मिक कक्षका पूर्व इन्चार्ज डाक्टर उदयनारायण सिंहले भने अस्पताल प्रशासनले चाहेमा नवनिर्मित आकस्मिक भवनमै आकस्मिक कक्ष सञ्चालन गर्न सक्ने बताए। उनले भने,‘बहाना त जेपनि गर्न सकिन्छ। इमर्जेन्सी वार्ड चलाउनकै लागि बनाइएको भवनमा अहिले आएर चलाउन सकिँदैन भन्नु बहाना मात्रै हो। देशका अन्य केन्द्रीय अस्पतालहरूमा यही संरचना र ढाँचा बनाइएका भवनमा इमर्जेन्सी वार्ड चलाइएको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए