मुख्य समाचार
पाठेघरको मुखको क्यान्सर जोखिम घटाउन १६ लाख बालिकालाई ‘एचपीभी’ खोप दिइँदै
पाठेघरको मुखको क्यान्सर जोखिम घटाउन १६ लाख बालिकालाई ‘एचपीभी’ खोप दिइँदै

। सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निशुल्क दिने भएको छ ।

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकाई ह्युमन प्यामिलोमा भाइरसविरुद्धको खोप दिन लागिएको हो ।




स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार पुससम्ममा खोप आइसक्ने छ । उनका अनुसार करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन् ।

‘एचपीभीविरुद्धको खोप पुससम्ममा आइसक्ने गरी गाभीसँग सम्झौता भइसकेको छ । माघदेखि विद्यालय तहमा गएर बालिका दिने योजना बनाएका छौं,’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘खोप दुई पटक दिनुपर्ने र केही खोप खेर जाने हुँदा करिब ३४ लाख डोज आवश्यक पर्ने देखिन्छ ।’



तर यो अभियान यस वर्षको मात्र होइन । हामी यसलाई नियमित खोपको कार्यक्रममा समावेश गरी १० वर्षको बालिकालाई मात्रै दिने सरकारको योजना छ । ‘अर्को वर्षदेखि यो खोप नियमित खोप कार्यक्रममा समावेश गरिनेछ । जसले गर्दा हरेक वर्ष १० वर्ष उमेरका करिब ३ लाख २० हजार बालिकाहरुले खोप पाउँछन्,’ गौतमले भने, ‘यसवर्ष गाभी सहयोगमा प्राप्त भएको हो । तर नियमित खोप सञ्चालन गरेरपछि सरकारले नै खरिद गर्नुपर्ने हुन्छ ।’

गत वर्ष नै सरकारले एचपीभीविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । जसमा सातै प्रदेशका अस्पतालहरुबाट १४ वर्ष उमेरका करिब १० हजार बालिकाहरुलाई खोप दिइएको थियो ।

अब आउने खोप अभियान भने विद्यालय केन्द्रित हुनेछ । ‘हामी विद्यालयहरुमा नै खोप केन्द्र स्थापना गर्नेछौं । यसले गर्दा खोप वितरण प्रक्रिया सहज र प्रभावकारी हुनेछ,’ डा. गौतमले भने ।

यो खोप चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको सिकोलिन ब्रान्डको हो, जसले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको छ । यद्यपि यो अभियान मुख्यतया गाभीको सहयोगमा सञ्चालन हुँदैछ ।

चिकित्सकहरूका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघर मुखको क्यान्सरलाई २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने भन्ने नीति लिएको कारण सरकारले नियमित खोप सञ्चालन गर्ने योजना बनाएको हो ।

चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुन्छ । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् ।

महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुने स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी बताउँछन् ।

‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन,’ सुवेदी भन्छन्, ‘भाइरसको प्रवेश गर्नुभन्दा अगाडि नै खोप लगाउन सक्दा बढी प्रभावकारी हुन्छ ।’

मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीका अनुसार, नेपालमा क्यान्सरबाट हुने मृत्युमा पाठेघरको क्यान्सर प्रमुख कारण बन्दै गएको छ । ‘यो एक भयावह स्थिति हो । हामीले २५/३० वर्षका युवा महिलाहरुलाई यस रोगका कारण गुमाइरहेका छौं’, डा. शाही भन्छन् ।

डा. शाहीका अनुसार, ९५ प्रतिशत पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । यो भाइरस मुख्यतया यौन सम्पर्कबाट सर्छ । ‘ग्रामीण क्षेत्रका महिलाहरु यस रोगबाट बढी प्रभावित छन् । परिवार नियोजनका साधनहरुको कम प्रयोग र नियमित स्वास्थ्य जाँचको अभावले गर्दा दुर्गम क्षेत्रका महिलाहरु बढी जोखिममा छन्,’ डा. शाही भन्छन् ।

चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धुमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिनु रहेका छन् ।

एचपीभी खोप केवल पाठेघरको मुखको क्यान्सर मात्र होइन, एचपीभीबाट हुन सक्ने अन्य समस्याहरुबाट पनि बचाउँछ । एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउँछ ।

‘तर खोप मात्र पर्याप्त छैन । नियमित स्वास्थ्य जाँच पनि उत्तिकै महत्वपूर्ण छ । सुरुआती चरणमा लक्षण नदेखिनसक्छ । त्यसैले नियमित स्क्रिनिङ गराउनु जरुरी छ,’ डा. शाही भन्छन् ।

चिकित्सकका अनुसार स्क्रिनिङको माध्यमबाट पनि सम्भावित संक्रमणबारे थाहा पाउन सकिन्छ । त्यसका लागि भीआईएलाई टेष्ट, प्याप स्मेयर र एचपीबी डीएनए परीक्षण गर्न सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी नेपाली महिलामा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक भएकाले सरकारले यो खोपबारे जनचेतना फैलाउनुका साथै सर्वसुलभ रूपमा उपलब्ध गराउनुपर्ने विज्ञ बताउँछन् ।

चिकित्सकका अनुसार पाठेघर मुखको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ । पाठेघरको मुखको क्यान्सर पहिलो स्टेज र दोस्रो स्टेजको ‘ए’ स्टेजसम्म छ भने अप्रेसन गर्नुपर्छ । अप्रेसन गर्दा पाठेघर निकालेर फालिन्छ । दोस्रो स्टेजको ‘बी’ देखि लिएर तेस्रो स्टेजमा पुगेपछि किमोथेरापी र रेडियोथेरापी सँगसँगै दिएर उपचार गरिन्छ । चौथो स्टेजमा भने रोग फैलिसकेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीलाई ओपीडी सेवामा वार्षिक २५ हजारसम्मको सुविधा उपलब्ध गराइने ...
। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा ...
— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण ...
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...