मुख्य समाचार
सरकारको सबै शर्त मान्न टिकटक तयार, प्रतिबन्ध हट्दै
सरकारको सबै शर्त मान्न टिकटक तयार, प्रतिबन्ध हट्दै

। शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् ।

उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् ।


टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका शर्तबाहेक अन्य विषयमा पनि नेपाल सरकारलाई सघाउन सक्ने बताएका छन् ।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे

नौ महिनापछि गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो ।

टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो ।

सञ्चार मन्त्रालयका अधिकारीहरुले बुधबार भएको छलफलमा टिकटकले यी शर्त स्वीकारेको बताए । एक–दुईदिन भित्रै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकको प्रतिवद्धतापत्र दर्ता गरेर दूरसञ्चार प्राधिकरणलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिने सञ्चार मन्त्रालयको योजना छ ।

‘मन्त्री र सचिवज्यूसँग टिकटकले सरकारलाई अन्य क्षेत्रमा पनि सघाउने गरी गरेका प्रतिवद्धताबारे छलफल गरेर पत्र बुझ्छौं’, मन्त्रालय स्रोतले भन्यो, ‘उनीहरु सरकारले राखेका शर्तलाई सहजै स्वीकार्न तयार रहेमा टिकटक खोल्न सकिने अवस्था बनिसकेको छ ।’

टिकटकले सरकारले राखेका शर्तहरु पूरा गर्ने समय तालिका नै दिने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समितिसँग १६ भदौमा गरेको कुराकानीमा सरकारको शर्तमा टिकटकका प्रतिनिधिहरु सकारात्मक रहेको बताएका थिए ।

‘आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’ भित्र रहेका शब्द, वाक्यहरूको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्नुपर्छ भनेका छौं’, उनले भनेका थिए, ‘यी सबै सर्तहरु पूरा गर्ने सर्तमा हामीले टिकटक खोल्ने निर्णय गरेका हौं ।’

टिकटकलगायत विभिन्न सामाजिक सञ्जाललाई व्यवस्थित गरी सञ्चालन गर्न सकिएमा हजारौं युवाले रोजगारी पाउने र राज्यलाई पनि करोडौं राजस्व प्राप्त हुने उनले बताए । करिब ९ महिनाको टिककटक प्रतिबन्धबाट सरकारले ३ अर्ब रुपैयाँ आय गुमाएको दाबी समेत सञ्चारमन्त्री गुरुङको छ ।

२७ कात्तिक २०८० मा प्रतिबन्ध लगाएकै बेलादेखि टिकटकले सरकारलाई प्रतिबन्ध फुकुवा गर्न पटक–पटक निवेदन दिएको थियो । चीन सरकारले पनि सरकारमाथि प्रतिबन्ध खोल्न दबाब बढाएको थियो । कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि टिकटकको प्रतिबन्ध हटाउन छलफल सुरु भएको थियो ।

मन्त्रिपरिषदले सशर्त प्रतिबन्ध खोल्ने निर्णय गरेपनि टिकटकसँग शर्तहरुबारे छलफल भएर सहमति नभएकाले अहिलेसम्म मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई प्रतिबन्ध हटाउन निर्देशन दिएको छैन । मन्त्रालयले पत्र लेखेपछि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएपछि प्रतिबन्ध हटाउने निर्णय कार्यान्वयनमा जाने छ ।

सरकारले निर्णय गरेलगत्तै मोफसलका साना शहरहरु र ग्रामीण भेगमा सेवा दिने कम्पनीले टिकटक चल्न दिइसकेका छन् । तर, काठमाडौं, पोखरा लगायतका मुख्य शहरहरुका कतिपय इन्टरनेट सेवा प्रदायकको सेवामा टिकटक प्रतिबन्ध नै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...