मुख्य समाचार
‘ओलम्पिकमा खाता खुल्यो, अब यसलाई संस्थागत गर्नुपर्छ’
‘ओलम्पिकमा खाता खुल्यो, अब यसलाई संस्थागत गर्नुपर्छ’

। नेपाली खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा शुक्रबार राति जितेको कांस्य पदक नेपाली खेलकुद इतिहासमा अहिलेसम्मको ठूलो पदक हो ।

पारा तेक्वान्दोको के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि उनले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कांस्यपदक जितेपछि त्यसको चर्चा नेपालभर छ ।

नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको ६० वर्ष र पारा ओलम्पिकमा दुई दशक भइसकेको छ । तर यसअघिको सहभागिता खेलाडीको व्यक्तिगत प्रदर्शन सुधार गर्न र अनुभव हासिल गर्न मात्र सीमित थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नेपालले ओलम्पिकमा पदकको खाता खोलेको र अब यसलाई संस्थागत बनाउनुपर्ने बताउँछन् ।



‘हामीसँग यसअघि पदक शून्य थियो अब एकाउन्ट खुलेको छ’, अनलाइनखबरसँगको कुराकानीमा घिसिङले भने, ‘अहिले सिंगो देशको ध्यान खेलकुदतिर केन्द्रित भइरहेको छ ।’



पलेशाको मिहिनेत र चुस्त व्यवस्थापनका कारण पदक जित्न सफल भएको घिसिङको दाबी छ । ‘खेलाडीको कन्फिडेन्ट र व्यवस्थापनको तहबाट हामी सबैले गरेको प्रयास र पहलहरुको बीचबाट हामीले यो नतिजा हासिल गरेको हो’, उनको भनाइ छ ।

पलेशाको पदकले नयाँ खेलाडीहरुमा आत्मविश्वास बढ्ने भन्दै उनले त्यसबाट भविष्यमा अरु पदक जित्ने बाटो खुल्ने धारणा राखे । ‘जो तयारीमा छन् उनीहरुमा कन्फिडेन्ट बढ्यो अब त्यो खुलेको खातालाई बढाउन हामी तयार हुन्छौँ’, उनले भने ।

पदक जितेका खेलाडीको सम्मान र नयाँ खेलाडीलाई खेलमा लाग्न हौसला प्रदान गर्ने आफूहरुको दायित्व भएको सदस्य सचिव घिसिङले बताए ।

नेपालले खेलकुदमा सुक्ष्म रुपमा तयारी गरिरहेको दाबी गर्दै उनले त्यसको नतिजा मात्र अहिले देखिएको बताए । ‘एक ढंगले हेर्ने हो भने अहिले पदक आयो । तर पदक सम्भावना भएको खेलाडीलाई हामीले गम्भिर रुपमा तयारी गरेका थियौँ’, उनी भन्छन् ।

चीनमा अध्ययन गरिरहेकी पलेशालाई उतै प्रशिक्षणको व्यवस्था मिलाउन वा नेपालमा बोलाएर प्रशिक्षण गर्ने भन्दा पलेशाले नेपालमै आएर प्रशिक्षण गर्न चाहेपछि राखेपले उनलाई बोलाएको थियो ।

पछि अफगानिस्तानको प्रशिक्षक झिकाएर पनि प्रशिक्षण गराएको र बेलायतको म्यानचेष्टरमा थप प्रशिक्षणका लागि पठाएको सदस्य सचिव घिसिङले बताए ।

पलेशाले पारा ओलम्पिकमा कांस्य जितेवापत सरकारबाट नगद ६५ लाख रुपैयाँ पुरस्कार पाउनेछिन् । तर त्यसबापत लाग्ने कर भने पलेशाले तिर्नुपर्छ । सदस्य सचिव घिसिङ पुरस्कारमा कर कट्टा नगर्न सरकारलाई अनुरोध गर्ने बताउँछन् ।

खेलकुदमा दीर्घकालीन योजना

आगामी दिनमा पनि खेलमा पदक जित्न तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने सदस्य सचिव घिसिङले बताए । ‘खेलकुदलाई विद्यालयदेखि अतिरिक्त होइन अनिवार्य रुपमा पाठ्यक्रममा समावेश गरेर अघि बढाउनुपर्छ । यसलाई दीर्घकालीन रुपमा अघि बढाउँदा भोलि ठूला खेलकुदमा एक होइन दुई अंकमा स्वर्ण जित्ने सक्छौँ’, उनी भन्छन् ।



खेलकुद गतिविधिलाई व्यापक बनाउन निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने घिसिङको भनाइ छ । पब्लिक कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनिवार्य खर्च गर्नुपर्ने १० प्रतिशत रकम खेलकुदमा खर्च गर्न पाउने नीतिगत व्यवस्था गर्नुपर्ने उनले बताए । ‘यो कानुनी जटिलतालाई हटाउन हामीले प्रस्ताव अघि बढाइसकेका छौँ’, उनले भने ।

खेल क्षेत्रमा लाग्ने वातावरण बनाउन एथ्लेट भिलेजको प्रस्ताव अघि बढाएको भन्दै सदस्य सचिव घिसिङले हाई परफर्मेन्स ट्रेनिङका लागि पूर्वाधार बनाउन अवश्यक देखिएको धारणा राखे । ‘यो काम अघि बढेको छ । स्पोर्ट्स ल्याबको प्रक्रिया पनि अघि बढाइएको छ’, उनले भने ।

देशभरबाट खेल प्रतिभा पहिचान गर्ने र स्टार खेलाडी जन्माउनका लागि घरेलु प्रतियोगिता बढाउनुपर्ने घिसिङ बताउँछन् । घरेलु खेलकुदको ठूलो मञ्च राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित र समयमा गर्न सकेमा धेरै खेल प्रतिभा जन्मिन सक्ने घिसिङले बताए ।

सरकारले खेलकुद क्षेत्रमा बजेट कम दिनुले पनि खेलकुद प्राथमिकतामा नपरेको देखिएको सदस्य सचिव घिसिङ बताउँछन् । ‘खेलकुद पूर्वाधारमा सरकारले दिनुपर्ने प्राथमिकता प्राप्त भएको छैन । सीमित साधन र स्रोतको बीचबाट खेलकर्मीले गरेको अथक मिहिनेतको फल हो’, उनले भने ।

खेलको विकासका लागि देशभित्र खेल संस्कृति पनि हुनुपर्ने उनी बताउँछन् । खेलकुदलाई संस्कृति बनाउन सक्यो भने समाजलाई स्वस्थ बनाउने मात्र होइन, समाजको गरिमा र प्रतिष्ठासँग स्वच्छ खालको प्रतिस्पर्धा हुन्छ’, सदस्य सचिव घिसिङले भने ।

सदस्य सचिव घिसिङले अहिले खेल संस्कृतिलाई व्यापक बनाउने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...