मुख्य समाचार
जो रुटको अटुट लयले संकटमा सचिनका कीर्तिमान
जो रुटको अटुट लयले संकटमा सचिनका कीर्तिमान

। सन् २०१४ देखि विराट कोहली, स्टिभ स्मिथ, केन विलियम्सन र जो रुटलाई फ्याब फोर खेलाडी मानिन्छ । फ्याब फोर अर्थात वर्तमान क्रिकेटका तीनै शैलीका सबैभन्दा उत्कृष्ट ब्याटर ।

फ्याब फोरमा अन्य तीनलाई जो रुटले टेस्टमा पछि पार्दै धेरै अघि बढेका छन् । फ्याब फोरमध्ये टेस्टमा सर्वाधिक रन, खेल र शतकमा रुट सबैभन्दा अघि छन् । ३३ वर्षीय रुटले टेस्टमा सन् २०१२ मा भारतविरुद्ध नागपुरमा डेब्यू गरेका थिए ।




त्यसको दुई वर्षपछि २०१४ मा उनी फ्याब फोरमा परे । सन् २०१२ देखि २०२० सम्म उनले टेस्टमा १७ शतक प्रहार गरेका थिए ।

सन् २०२० यता उनले ५६ टेस्ट खेल खेल्दा १७ शतक, १९ अर्धशतकसहित ५ हजार १८ रन बनाएका छन् । सन् २०२१ यता टेस्टमा रुट सर्वाधिक रन र शतक बनाउने खेलाडी हुन् ।



रुटपछि पछिल्लो चार वर्षमा केन विलियम्सनले ११ शतक र अष्ट्रेलिया मार्नस लाबुसेनले २९२९ रन बनाएका छन् । समग्र टेस्ट करिअरमा रुटले १४५ खेलमा ३४ शतकसहित १२ हजार ३७७ रन जोडेका छन् ।

सचिनको कीर्तिमान तोड्ने पथमा रुट

रुटले यही लयलाई निरन्तरता दिए टेस्टमा सचिनको सर्वाधिक रन १५ हजार ९२१ तोड्ने लगभग देखिन्छ । उनले अझै सक्रिय रुपमा कम्तीमा पनि तीन चार वर्ष टेस्ट खेल्नेछन् । उनको फिटनेस र लयलाई हेर्दा त्यो भन्दा बढी खेल्ने सम्भावना त्यति नै छ । अब तीन हजार ५४४ रन बनाए उनी टेस्ट इतिहासमा सर्वाधिक रन बनाउने ब्याटर बन्नेछन् ।

उनलाई सचिनकै सर्वाधिक ५१ शतकको कीर्तिमान तोड्न अब १७ शतक बनाउनुपर्ने हुन्छ । पछिल्लो चार वर्षकै गतिमा अघि बढे यो पनि असम्भव देखिदैन ।



फ्याब फोरमा रुटपछि पछिल्लो चार वर्षमा केन विलियम्सनको प्रदर्शन उत्कृष्ट छ । सन् २०२० यता विलियम्सनले २२ टेस्टमा ११ शतक र ३ अर्धशतकसहित २३६४ रन बनाएका छन् । समग्रमा विलियम्सनले १ सय टेस्ट खेलमा ३२ शतकसहित ८ हजार ७४३ रन बनाएका छन् ।

स्टिभ स्मिथ फ्याब फोरमा सबैभन्दा उत्कृष्ट ब्याटर मानिन्थे । सन् २०१० देखि २०२० सम्म स्मिथले टेस्टमा २६ शतक हानेका थिए । सन् २०२० यता स्मिथले ३७ टेस्ट खेलमा ६ शतक र १३ अर्धशतकसहित २ हजार ५२१ रन बनाएका छन् । समग्रमा स्मिथले १०९ टेस्टमा ३२ शतकसहित ९ हजार ६८५ रन जोडेका छन् ।

भारतीय क्रिकेटर विराट कोहली २०२० सम्म फ्याब फोरमा सर्वाधिक २७ शतक हान्ने खेलाडी थिए । केही वर्षअघिसम्म सचिनको कीर्तिमान तोड्नेमा विराट सबैभन्दा बलिया दाबेदार देखिन्थे ।

तर २०२० यता उनले २९ टेस्ट खेलमा मात्रै २ शतक हान्दै १ हजार ६४६ रन बनाएपछि कीतिमानको सम्भावना धेरै कठिन बनेको हो । उनको स्थानमा फ्याब फोरमा पाकिस्तानका बाबर आजमलाई समेट्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।

सन् २०२३ मा अहमदावादमा अष्ट्रेलियाविरुद्ध १८६ र वेस्टइण्डिजविरुद्ध पोर्ट अफ स्पेनमा १२१ रनको शतकीय इनिङ कोहलीको पछिल्ला चार वर्षका दुई शतक हुन् । कोहलीले हालसम्म ११३ टेस्ट खेलमा २९ शतकसहित ८ हजार ८४८ रन बनाइसकेका छन् ।

रुटको अद्भूत लय

रुटले लर्ड्समा यसै साता श्रीलंकाविरुद्ध दोस्रो टेस्ट खेलमा १४३ र १०३ रनको शतकीय इनिङ खेले । त्योसँगै पूर्वकप्तान एलिस्टर कुकको ३३ शतकलाई पछि पारे र इंग्ल्यान्डबाट सर्वाधिक शतक हान्ने खेलाडी बने ।

शतकलगत्तै एलिस्टर कुकले उनलाई इंग्ल्यान्डको महान् खेलाडी भनेका थिए । रुटले भारतविरुद्ध सन् २०१२ डिसेम्बरमा नागपुरमा टेस्टमा डेब्यू गर्दा कुक नै इंग्ल्यान्डको कप्तान थिए ।

रुटले डेब्यू इनिङमै २२९ बलमा ४ चौकासहित ७३ रनको इनिङ खेलेका थिए । सुरुवाती केही बल खेलेपछि कुकले उनलाई त्यति बेला नै टेस्टमा १० हजार रन बनाउन सक्ने बताएका थिए ।



शान्त, शालीन, धैर्यता र क्लास (टेक्निकल) मा माहिर उनी २०१९ पछि इंग्लयाण्डको टी–२० टोलीमा छैनन् । इंग्लयाण्डले आक्रामक क्रिकेटमा बढी जोड दिएपछि राम्रो गर्दागर्दै टी–२० आईबाट बाहिर भएका थिए । इंग्ल्याण्डले राम्रो नतिजा ल्याउन नसकेपछि २०२२ मा कप्तानी पनि छाडेका थिए । टी–२० आई नखेल्नु र कप्तानी दबाब नहुनुले उनी झनै उत्कृष्ट बनेर आए ।

गत फेब्रुअरीमा भारतविरुद्ध राचीमा र जुलाइमा घरेलु मैदान नोटिंघममा वेष्टइण्डिजविरुद्ध समान १२२ रनको शतकीय इनिङ खेलेका थिए । उनी वर्तमान समयमा स्पिन उत्कृष्ट खेल्ने ब्याटरमा पर्छन् । तीव्र गतिको बलमा पनि रन जोड्नु इंग्लिस ब्याटरको खुबी हो ।

सन् २०२१ को सुरुवात रुटले श्रीलंकाविरुद्ध श्रीलंकाकै गालेमा २२८ र दोस्रो टेस्टमा १८६ रनको शतकीय इनिङ खेलेका थिए । त्यसै वर्ष फेब्रअरीमा चेन्नईमा २१८ रनको दोहोरो शतकीय इनिङ खेल्दै भारतलाई २२७ रनले हराउन नायक बनेका थिए ।

सन् २०२१ अगष्टमा भारतविरुद्ध लर्ड्समा १८० रनको अविजित र लिड्समा १२१ रनको शतकीय इनिङ खेलेका थिए । वेस्टइण्डिजविरुद्ध १५३ र न्युजिल्याण्डविरुद्ध १७६ रनको इनिङ थप उत्कृष्ट मानिन्छन् । सन् २०२३ मा न्युजिल्याण्डविरुद्ध १५३ रन अविजित र अष्ट्रेलियाविरुद्ध ११८ रनको अविजित इनिङ खेलेका थिए ।

‘म टोलीलाई केही गर्न र खेल्न मात्रै चाहन्छु । टोलीलाई धेरै रन बनाउन र हामी कहाँ पुग्छौं भनेर हेर्न चाहन्छु । यो भन्दा राम्रो भावना अरु छैन, रुटले लर्ड्समा कीर्तिमानी शतकपछि भने ।

अनि थपे, ‘शतक बनाउनु पक्कै उत्कृष्ट काम हो । तर तपाईं जित्नु हुँदैन भने शतक बनाउँदा राम्रो लाग्दैन । मुख्य कुरा फोकस हुनेछ । आशा छ, अझै यस्तै दिनहरु आउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...