मुख्य समाचार
परदेशका सडकमा गुम्दैछ नेपाली श्रमिकको जीवन
परदेशका सडकमा गुम्दैछ नेपाली श्रमिकको जीवन

। साउन १ गते मोरङकी अनिता पाख्रिन (२८) कार्यस्थल जान बिहानै उठेर लेबर क्याम्पबाट दुबईको सडकमा निस्किइन् । उनी दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीमा काम गर्थिन् ।

३ वर्षदेखि सधैं एउटै बाटो प्रयोग गरेर आउजाउ गर्ने अनिता त्यसदिन कम्पनीसम्म पुग्न पाइनन् । मजदुर क्याम्पबाट निस्केर सडक पार गर्न खोज्दा उनीमाथि एउटा भ्यान दौडियो । घट्ना स्थलमै ज्यान गुमाइन् ।




३ जना सन्तानको सुन्दर भविष्यको कल्पना दुबई पुगेकी अनिता परदेशी सडकमै शून्य बन्न पुगिन् ।

***



असार ९ गते यूएईमा सार्वजनिक बिदा थियो । आबुधाबीको सल्भ क्लिनिङ एलएलसी कम्पनीको इतिहाद रेल क्षेत्रमा सरसफाइ काम गर्दै आएका रुपन्देहीका तारानाथ चापागाईं (३५) साथीभाइसँग घुम्न निस्किएका थिए ।

दिनभर साथीभाइसँग रमाइलो गरे पनि साँझमा तारानाथ मजदुर क्याम्प फर्किन पाएनन् । क्याम्प पुग्नुअगावै बाटो काट्नेक्रममा सडकमा हुत्तिँदै आएको बसले ठक्कर दियो । उनले त्यहीं ज्यान गुमाए । साढे २ वर्षअघि परदेश उडेका उनी गुँड फर्किन पाएनन् ।

***

वैदेशिक रोजगारीकै सिलसिलामा कुवेत पुगेका ३ जनाले ०८० फागुन अन्तिम साता सडकमै ज्यान गुमाए । कुवेतमा कारले ठक्कर दिँदा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछानेको ज्यान गएको थियो । उनीहरु तीनै जना कुवेतको पापाजोन कम्पनीमा कार्यरत थिए ।

रोजगारीको खोजीमा परदेश पुगेका नेपालीले सवारी दुर्घटनामा ज्यान गुमाउनु परेका यी घटना प्रतिनिधि उदाहरणमात्रै हुन् । सुरक्षित भविष्य खोेज्दै परदेश हानिएका थुप्रै नेपालीले बर्सेनि परदेशी सडकमा जीवन गुमाइरहेका छन् ।

वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल परदेश पुगेर सडक दुर्घटनामा मृत्युवरण गर्ने श्रमिकको संख्या ठूलो भएको सुनाउँछन् । ‘सडक दुर्घटनमा ज्यान गुमाउने नेपालीको संख्या अत्यासलाग्दो छ । यो संख्या प्रत्येक वर्ष बढिरहेको छ’, उनी भन्छन् ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा सडक दुर्घटनामा १ हजार २६५ जना नेपालीले ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा सबैभन्दा धेरै खाडी र मलेसियामा गएका नेपाली छन् । खाडी राष्ट्रमा पनि यूएई, साउदी र कतारमा धेरैले दुर्घटनामा ज्यान गुमाएका छन् ।

मुत्युको तेस्रो कारक सडक दुर्घटना

वैदेशिक रोजगारीमा पुगेका नेपाली श्रमिकले विभिन्न कारणले ज्यान गुमाउँदै आएका छन् । वार्षिक १ हजार र दैनिक चार जना श्रमिकले परदेशमा ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ । श्रमिकले ज्यान गुमाउने विभिन्न कारणमध्ये सडक दुर्घटना तेस्रो कारक मानिन्छ ।

बोर्डकै तथ्यांकका अनुसार पछिल्लो १० वर्षमा वैदेशिक रोजगारीमा पुगेका १० हजार ८ सय श्रमिकको मृत्यु भएको छ । जसमा १ हजार २६५ जनाको ज्यान सडक दुर्घटनामै गुमेको छ । यो वैदेशिक रोजगारीमा मृत्यु हुने कुल संख्याको ११ प्रतिशत हो ।



वैदेशिक रोजगारमा गएका नेपालीले सबैभन्दा बढी प्राकृतिक मृत्यु, हृदयघात लगायत कारणले ज्यान गुमाइरहेका सरकारी अभिलेखमा उल्लेख छ ।

समाजशास्त्री माधव गौतम नेपाली श्रमिकको जीवन परदेशको सडकमै गुमाइरहेका अवस्था निकै दुर्भाग्यपूर्ण भएको सुनाउँछन् । स्वदेशमा रोजगारी नपाएर परदेश गएका मुलुकको युवा शक्ति सडक दुर्घटनामा ज्यान गुमाइरहेको घटना बिडम्बना भएको उनको भनाइ छ । भन्छन्, ‘देशमा रोजगारी नहुँदा भविष्य खोजीमा परदेश पुगेका युवाहरु सडकमै सस्तो मृत्यु अंगाल्नु परेको अवस्था छ । यो अत्यन्त चिन्ताको विषय हो ।’

यस्तो अवस्था किन ?

श्रम विज्ञ रामेश्वर नेपाल वैदेशिक रोजगारी श्रमिकले गन्तव्य देशको भाषा र ट्राफिक नियम नजान्दा दुर्घटना पर्ने बताउँछन् । सम्बिन्धित गन्तव्य देश जानुअघि त्यहाँको ट्राफिक नियम कानुनको अज्ञानताले सडक दुर्घटनामा नेपाली श्रमिकले ज्यान गुमाउनु परिरहेको उनले बताए । ‘ट्राफिक नियम थाहा नपाउँदा, सामान्य बाटो काट्दा पनि नेपालीहरु ज्यान गइरहेका हुन्छ’, उनले भने ।

श्रमिकलाई दिइने अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन सके सडक दुर्घटनामा हुने मृत्युदर कम गर्न सकिने नेपालले बताए । ‘वैदेशिक रोजगारमा जानुअघि श्रमिकहरुलाई सक्ने सवारी दुर्घटना सम्बन्धी सचेतना दिन जरुरी छ’, उनले भने, ‘अभिमुखीकरण कक्षालाई अनिवार्य गरी त्यसमा सवारी दुर्घटनाबाट बच्ने उपायहरू सिकाउनुपर्छ ।’

नेपालले श्रमिकलाई गन्तव्य देशको ट्राफिक नियमबारे पहिले नै बुझा दुर्घटना र दुर्घटना मृत्युदर धेरै हदसम्म रोक्न सकिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामान्य परिवारमा हुर्किएका २३ वर्षीय दिनेश नायक परिवारको आर्थिक अवस्था सुधार्ने उज्यालो भविष्यको सपना बोकेर २०८० असारमा अध्ययन भिसामा रुस उडे। दिनेशका बुबा कर्णसिंह नायकका अनुसार दिनेश २०८० असार ८ गते घरबाट रुसका लागि बिदा भएका थिए। काठमाडौंंको एक साता बसाइपछि रुस उडे। रुस पुगेपछि कलेजमा भर्ना पनि भएका थिए। होस्टेलमा ...
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...