मुख्य समाचार
पारो एफसीले चर्च ब्वाइजलाई सिकाएको पाठ
पारो एफसीले चर्च ब्वाइजलाई सिकाएको पाठ

। भुटानको पारो एफसीले मंगलबार नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई दशरथ रंगशालमा २-१ ले पराजित गर्दै एएफसी च्यालेन्ज लिगको समूह चरणमा स्थान बनायो ।

वर्षाको कारण हिलाम्मे बनेको मैदानमा तीनपटक विश्वकप खेलिसकेका जापनी स्टार केसुके होन्डाको कप्तानीमा मैदान उत्रेको पारोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै चर्च ब्वाइजलाई हराएको हो ।

चर्च ब्वाइजका लागि लकेन लिम्बुले गोल गर्दै अग्रता दिलाए पनि पारोका किंगा वाङ्चुकले बराबरी गोल फर्काए । यस्तै नेपालमा ए डिभिजन र एनएसएल खेलिसकेका विलियम ओपोकुले पारोका लागि दोस्रो हाफमा विजयी गोल गरे ।

यो खेलमा मुख्य गरी दुई विषयले धेरै चर्चा पायो । पहिलो मैदानको अवस्था । दोस्रो केसुके होन्डाको उपस्थिति ।

हिलाम्मे मैदानमा पारोले मारेको बाजी

खेलअघि दुई घण्टाको निरन्तर वर्षाले गर्दा मैदान धेरै भिजेको थियो । खेलको समयमा पनि पानी परे खेल्न झन् कठिन हुने सम्भावना थियो । तर, खेल सुरु हुनु एक घण्टाअघि नै वर्षा रोकिंदा खेल हेर्न जाने दर्शकलाई पनि राहत भयो । करिब ९ हजारभन्दा बढी दर्शक चर्च ब्वाइज र पारोबीचको खेल हेर्न उपस्थित भएका थिए ।

झण्डै ९ महिनापछि दशरथ रंगशालमा अन्तर्राष्ट्रियस्तरको फुटबल फर्किंदा दर्शकहरू नेपाली टोलीको जित हेर्न चाहन्थे । तर, मैदानमा त्यस्तो भएन । भुटानी लिग च्याम्पियन पारो नेपाली लिग च्याम्पियन चर्च ब्वाइजभन्दा अब्बल देखियो ।

‘लक्ष्य जितेर क्वालिफाई हुने थियो । तर दुर्भाग्यवश ५०-५० को गेमा पाएको अवसर सदुपयोग गर्न सकेनौँ । कमीकमजोरी भयो ।’ चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले हारपछि पोष्ट म्याच कन्फ्रेन्समा भने ।

पहिलो हाफमा पारोको दुई प्रहार पोष्टमा लागेर फर्कंदा अग्रता लिने अवसर गुमाएको थियो । ३८औं मिनेटमा लकेनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर, दुई मिनेटपछि नै किंगाले पारोका लागि बराबरी गोल गरे ।

दोस्रो हाफमा सुरुदेखि नै दुवै टोलीले गोल थप्न आक्रमक बनेका थिए । तर, ६६औं मिनेटमा ‌ओपोकुलुले गोल गर्दै पारोलाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै जित हात पार्‍यो ।



चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले डिफेण्डिङ थर्डमा कमजोर प्रदर्शन भएको बताए । यस्तै, महर्जनले मैदानको अवस्थाको कारण पनि गाह्रो भएको बताए । ‘मैदानको कन्डिसनले पनि गाह्रो भयो । नतिजा नआएकोमा दु:खी छु’, उनले भने, ‘मैदानको बारे सबैलाई थाहा छ । नेपालको खेल क्षेत्र र फुटबलम एउटै मैदान छ । ३५-४० वर्ष भइसक्यो । अब यसमा ध्यान जानु जरुरी छ । विगतमा हामीले खेल्दा नि यस्तै थियो अहिले पनि यस्तै अवस्था छ । हामीसँग वैकल्पिक अर्को मैदान छैन । म‌ैदान राम्रो भएको भए अझ राम्रो हुन्थ्यो कि ?’

दशरथ रंगशालाको अवस्था भने निकै दयनीय थियो । यस मैदानलाई धेरैले धान रोप्ने खेतसँग तुलना गर्दै सामाजिक सञ्जालमा समेत पोष्ट गरे ।

अघिल्लो दिन दशरथ रंगशालको बारेमा कमेन्ट गरेका पारोका प्रशिक्षक पुष्पलाल शर्माले भने खेल जितेपछि यसबारे धेरै प्रतिक्रिया दिएनन् । उनले दुवै टोलीलाई खेल्न कठिन भएको बताए । ‘यसले दुवै टोलीलाई खेल्न कठिन भयो,’ उनले सटिक जवाफ दिए ।

यस्तै प्लेअर अफ दि म्याच बनेका विलयमले पनि मैदानको अवस्थाका कारण कठिन भएको बताउँछन् । ‘हामीले योजना अनुसार खेल्यो । म अवसर हेरिरहेको थिएँ स्कोरका लागिर अवसरमा गोल गरें । धेरै खुशी छु । मैदानको अवस्थामा राम्रो थिएन,’ उनले थपे ।

होन्डा र विदेशी खेलाडीको प्रभाव

मैदानको अवस्थापछि अर्को चर्चित विषय होन्डा नै बने । विश्वकप खेलेका खेलाडीको जादु हेर्न रंगशालमा दर्शकहरु उत्साहित थिए । तर, मैदानको अवस्थाका कारण उनले अपेक्षा अनुसारको खेल देखाउन सकेनन् ।

तर पनि आर्मब्यान्ड लगाएर पारोको नेतृत्व गरेका उनले टिमलाई निराश बनाएनन् । होन्डाको नेतृत्वमा पारोले पहिलोपटक नेपाली भूमिमा जित हात पार्‍यो ।

एएफसीले च्यालेन्ज लिगमा लागि विदेशी खेलाडीको संख्या असीमित राख्दा त्यसको फाइदा पारोले उठायो । उसले होन्डासहित ११ विदेशी टिममा राखेको थियो भने पहिलो रोजाइमा ९ खेलाडी खेलाएको थियो । जसमा भुटानसहित ५ देशका खेलाडी थिए । जापानका ४, घानाका २, सर्वियाको २ र मोन्टेनेग्रोको २ खेलाडी पहिलो रोजाइमा खेलेका थिए ।

पारोका लागि पहिलो गोल भुटानी खेलाडी किङ्गा वाङचुकले गरे पनि विजयी गोल विलियम ओपोकुले गरेका थिए ।

चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले पारोमा विदेशी खेलाडी धेरै हुँदा फाइदा पुगेको बताए । ‘विपक्षीको विदेशी हाम्रो ३ जनाभन्दा राम्रो र क्वालिटी खेलाडी देखियो र त्यो पनि फरक परेको जस्तो लाग्छ,’ महर्जनले भने ।

महर्जनले होन्डाको नामका कारण पनि धेरै दर्शक खेल हेर्न आएको बताए । तर, यो भुटानको टिम भए पनि मैदानमा विदेशी धेरै हुँदा त्यस्तो नदेखिएको बताए । ‘हुन त भुटानको टिम हो । तर फिल्डमा भुटानको टिम जस्तो देखिएन । ९ जना विदेशी सुरुमा खेलेका थिए । भुटान नाम मात्र हो । टिममा विदेशी खेलाडी धेरै थिए । हाम्रोमा पनि २-३ जना विदेशी भइदेको भए राम्रो हुन्थ्यो,’ उनले भने ।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले पनि यस खेलका लागि भनेर नै विदेशी खेलाडीहरु अनुबन्ध गरेको र सफलता हात पार्दा यसले ठूलो अर्थ राख्ने बताए ।

‘यो हाम्रो लागि ठुलो अवसर हो । हामीले विगतमा धेरै प्रयास गर्‍यौं भुटानका खेलाडीबाट गेमलाई अघि बढाउन । तर चारपटक पनि सफल नभएपछि खेलाडीको क्षमता बढाउन र खेल अघि बढाउनका लागि बाहिरबाट खेलाडी ल्याएर मिसायौं । यसका लागि हामीले भुटानी खेलाडीलाई असर नपर्ने गरी उनीहरुलाई कन्भिन्स गरेका थियौं,’ प्रशिक्षक शर्माले भने, ‘यो जितले दुई तीन वर्ष हामीलाई क्लब चलाउन समस्या हुँदैन । यो जितले भुटानी फुटबलमा धेरै महत्व राख्छ ।’

च्यालेन्ज लिग प्लेअफ जित्ने टोलीले एएफसीबाट एक लाख डलर प्राप्त गर्नेछ । साथै अब समूह चरणमा अझ धेरै खेल खेल्ने अवसर पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...