मुख्य समाचार
नेपाली विद्यार्थीको चिन्ता, देश नछाड्न दूतावासको आग्रह
नेपाली विद्यार्थीको चिन्ता, देश नछाड्न दूतावासको आग्रह

: बंगलादेशमा भएका नेपाली विद्यार्थीहरूलाई दूतावाससँग समन्वय नगरी देश नछोड्न सोमबार ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।



बंगलादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका करिब २ हजार ६ सय नेपाली विद्यार्थीमध्ये करिब ४ सय जना अझै बंगलादेशमै रहेको दूतावासको आंकलन छ। नेपाली दूतावाससँगको समन्वयमा २ हजार जनाभन्दा धेरै नेपाली विद्यार्थी विगत केही साताभित्र नेपाल फर्किसकेका छन्। ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारीले भने अन्नपूर्णसँग कुरा गर्दै बंगलादेशमा रहेका नेपालीहरू सबै सुरक्षित रहेको बताएका छन्।

भण्डारीले भने, ‘यहाँ करिब ४ सय हाराहारी विद्यार्थी हुनुहुन्छ। तीमध्ये धेरै अस्पतालमा कार्यरत हुनुहुन्छ। र, केही विद्यार्थीहरू हुनुहुन्छ। यदि उहाँहरू फर्किन चाहेको खण्डमा उहाँहरू दूतावाससँग सम्र्पक गरेर फर्किन सक्नुहुन्छ।’



भण्डारीले भने, ‘राजधानी ढाकासहित बंगलादेशका अधिकांश ठाउँमा आइतबार साँझदेखि कफ्र्यु लागेको छ। कफ्र्युकै कारण दूतावासले आफू स्वतः स्फुर्त तवरले बाहिर नजान पनि र यदि निस्कनै पर्दा दूतावाससँग सम्पर्क गर्न भनेको थियो। ढाकास्थित नेपाली दूतावासले यात्रा निर्देशिकासम्बन्धी एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका नेपालीहरूलाई सतर्कता अपनाउन भनेको छ। ‘सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ।’ नेपालबाट अधिकांश विद्यार्थीहरू एमबीबीएस अध्ययन गर्न बंगलादेशका विभिन्न सहरहरूमा पुग्ने गरेका छन्। त्यसबाहेक कृषि तथा इन्जिनियरिङ अध्ययन गर्न पनि विद्यार्थीहरू बंगलादेश पुग्ने गर्छन्।

बंगलादेशमा नेपालीहरू बढी जाने भनेको ढाकाबाहेक सिलेट, चिटगोङ तथा रंगपुरसहितका सहरहरूमा पुग्ने गर्छन्। दूतावासले नेपाल फर्किन चाहने विद्यार्थी तथा अन्य नेपालीहरूले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न भनेको छ।

दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयका लागि दुइटा टेलिफोन नम्बरसमेत सार्वजनिक गरेको छ। दूतावासका अनुसार नेपालीहरूले +८८०१८८०६९१०१३ वा + ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्छन्। यसअघि नेपाली दूतावासले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरूलाई भारतको सडकमार्ग हुँदै नेपालको पूर्वी सीमा काँकडभिट्टासम्म ल्याउने व्यवस्था गरेको थियो। केही नेपाली विद्यार्थी हवाईमार्गबाट पनि नेपाल फर्किएका थिए।

बंगलादेशबाट २ हजारभन्दा धेरै विद्यार्थी नेपाल फर्किसकेको दूतावासले जनाएको छ। राजदूतावासले बंगलादेशमा रहेका विद्यार्थीको अवस्थाबारे विद्यार्थी स्वयं र कलेज तथा विश्वविद्यालय प्रशासनसँग निरन्तर सम्पर्क भइरहेको जनाएको छ। बंगलादेशमा रहेका नेपालीहरू तत्काल सुरक्षा जोखिममा नरहेका भए पनि सतर्क रहन भनिएको दूतावासले जनाएको छ।

नेपाली विद्यार्थीको सुरक्षामा खट्न ढाकास्थित दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा जारी आन्दोलनका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षामा सक्रिय रूपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन्। मन्त्री राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न निर्देशन दिएकी हुन्। बंगलादेशमा रहेका विद्यार्थीलगायत सबै नेपाली सुरक्षित रहेको बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री राणाले अधिकांश विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरूको सुरक्षाका लागि उनीहरूको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिएकी हुन्। ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र सतर्कता अपनाउन आज सूचना जारी गरेको छ। बंगलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका, हाल त्यहाँ करिब ४ सय विद्यार्थी रहेका र उनीहरू सुरक्षित रहेको सूचनामार्फत जानकारी गराइएको छ। नेपाल फर्कन चाहनेहरूले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।

नेपालको सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारले सीमा क्षेत्रबाट हुने तेस्रो देशका नागरिकको सम्भावित घुसपैठलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ। अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट तेस्रो देशका व्यक्ति अनुमतिबिना प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयले सुरक्षाकर्मीलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको हो। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले सीमा क्षेत्रसँग जोडिएका सबै बाहिनी मुख्यालयहरूलाई तेस्रो देशबाट गैरकानुनी रूपमा हुनसक्ने प्रवेशलगायत गैरकानुनी गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्न र सोहीअनुसार सुरक्षा सतर्कता अपनाउन परिपत्र गरिएको जानकारी दिए। अनुमतिबिना तेस्रो देशका व्यक्ति प्रवेश गर्न सक्ने जोखिम रहेको भन्दै मन्त्रालयले त्यसलाई रोक्न सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) लाई निर्देशन दिएको छ।

बंगलादेशबाट भारत हुँदै खास गरी कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रवेश गर्न सहज मानिन्छ। त्यसैलाई हेरेर गृह मन्त्रालयले कडाइ गरेको छ। बंगलादेशमा सत्ता र विपक्षी दलबीचको टकराव तथा पछिल्लो समय आरक्षण विरोधी विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेखर हसिनाले राजीनामा दिई देश छाडेर भारत पुगिसकेकी छन्। उक्त घटनाको असर नेपालसम्म पर्ने सक्ने अनुमान गरी नेपाल सरकारले उच्च सुरक्षा अपनाएको हो।

प्रवक्ता न्यौपानेले भने, ‘कानुनसम्मत आउजाउमा रोकतोक छैन। बंगलादेशको पछिल्लो विकसित घटनाक्रमसँगै अनुमतिबिना नेपाल प्रवेश गर्ने जोखिमलाई हामीले सूक्ष्म रूपमा नियाली रहेका छौं। त्यसकै लागि सीमा क्षेत्रमा कुनै पनि असर नहोस् भनेर सुरक्षा सावधानी अपनाउन निर्देशन दिइएको हो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गत शनिबार कतारमा मृत्यु भएका गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन। ४२ वर्षका बरामको शव ६ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको वडा सदस्य गोलबहादुर बरामले जानकारी दिए। वैदेशिक रोजगारीका क्रममा विगत १२ वर्षदेखि कतारमा रहेका बरामको गत शनिबार राति सुतिरहेको अवस्थामा शव भेटिएको बरामले बताए। ४२ वर्षीय ...
: अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो। उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ। अध्यागमन स्रोतका अनुसार भोलि साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई ...
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ भएको छ । मेधावी विद्यार्थीहरूसमेत अवैध कामदारका रूपमा लुकेर बस्न विवश छन् । यो समस्या केही ठग कन्सल्टेन्सीहरूबाट उत्पन्न भएको हो । नेपालमा शैक्षिक परामर्श व्यवसाय एउटा अनियन्त्रित र नाफामुखी धन्दामा परिणत भएको छ । त्यसैको परिणाम आज विद्यार्थी बनेर गएका विद्यार्थी कोरियामा बिचल्लीमा परिरहेका छन् । ‘लाखौं कमाइ’ ...
— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् । ‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, ...
। अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ । नेपालमा सन् २०१५ मा आएको ...