मुख्य समाचार
पेरिस ओलम्पिक : पहिलो पटक रंगशाला बाहिर उद्घाटन हुँदै, कहिले छ नेपालीको खेल ?
पेरिस ओलम्पिक : पहिलो पटक रंगशाला बाहिर उद्घाटन हुँदै, कहिले छ नेपालीको खेल ?

। पेरिस ओलम्पिक, २०२४ आजदेखि औपचारिक रुपमा सुरु हुँदैछ । एक सय वर्षपछि ओलम्पिक पेरिस फर्किएको छ र यसपटक विगतको भन्दा फरक शैलीमा उद्घाटन समारोह हुनेछ ।

उद्घाटन समारोह रंगशालामा नभएर पेरिस भएर बग्ने सेन नदीमा हुँदैछ । विश्वभरका उत्कृष्ट खेलाडी जम्मा हुने खेल कुम्भमेलामा १० हजार भन्दा बढी खेलाडीको सहभागिता छ ।


उद्घाटन समारोहमा नेपालबाट टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ र जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले नेपालको झण्डा बोक्नेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले लैंगिक समानता बनाउन टोकियो ओलम्पिक २०२० देखि हरेक देशबाट समान एक महिला र पुरुष खेलाडीले झण्डा बोक्ने निर्णय गरेको थियो ।

विश्वका २०६ राष्ट्रका १० हजार भन्दा बढी खेलाडीले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरूले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन । ब्रेक डान्सले पेरिस ओलम्पिकमार्फत ओलम्पिकमा डेब्यु गर्दैछ ।


फ्रान्सेली मौसम विभाग मेटेओ फ्रान्सका अनुसार उद्घाटनका बेला पानी पर्ने थोरै मात्र सम्भावना छ । पानी परेमा पनि उद्घाटन समारोह योजना अनुसार नै हुने बताइएको छ ।

खेलाडीहरूले डुङ्गामा चढेर मार्चपास गर्नेछन् । नेपाली खेलाडी श्यान्टु र मनितासहित पेरिस ओलम्पिकमा नेपालबाट विभिन्न ६ खेलका ७ खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेकज्यान्डर शाह र डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र सुटिङकी सुस्मिता नेपालले पनि पेरिस ओलम्पिकमा सहभागिता जनाउने छन् ।

पौडीका एलेकज्यान्डर बाहेक बाँकी ६ खेलाडी पहिलो पटक ओलम्पिक खेल्दैछन् । त्यसमा पनि ब्याडमिन्टन र टेबल टेनिसबाट पहिलो पटक नेपाली खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् ।

टेबल टेनिसका श्यान्टुले दक्षिण एसियाली छनोट चरण पार गरेर ओलम्पिकमा स्थान बनाएका हुन् । उनी नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक पुग्ने तेस्रो खेलाडी हुन् ।
यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

एथ्लेटिक्स खेलाडी सन्तोषी बाहेक उद्घाटन समारोहमा नेपालका सबै खेलाडी उपस्थित हुनेछन् । सन्तोषीले प्रतिस्पर्धा गर्ने महिला म्याराथन अन्तिम दिन रहेकोले उनी जुलाई ३० मा मात्र पेरिस जानेछिन् ।

नेपाली टोलीको सेफ दी मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ छन् । नेपालबाट ७ खेलाडीसहित २७ सदस्यीय टोली पेरिस ओलम्पिकमा सहभागी हुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

कहिले छ नेपाली खेलाडीको खेल ?

नेपाली खेलाडीको स्पर्धा पेरिस ओलम्पिक उद्घाटनको भोलिपल्टदेखि नै सुरु हुनेछ । सुरुको पाँच दिनमै नेपालका ६ खेलाडीको प्रतिस्पर्धा भइसक्ने छ । एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठको स्पर्धा भने अन्तिम दिन अर्थात् अगष्ट ११ मा हुनेछ ।

श्यान्टु र प्रिन्सको खेल शनिबार

श्यान्टु र प्रिन्स आ–आफ्नो खेलको पहिलो नेपाली ओलम्पिक बन्दैछन् । छनोट चरण पार गरेर ओलम्पिक पुग्ने तेस्रो र टेबल टेनिसबाट ओलम्पिक पुग्ने पहिलो नेपाली खेलाडी श्यान्टुको प्रारम्भिक चरणको खेल शनिबार हुनेछ ।

पुरुष र महिला फुटबल, रग्बी सेभेन्स, ह्यान्डबल र आर्चरीका खेलहरु भने उद्घाटन अघि नै सुरु भइसकेको छ ।

टेबल टेनिसको बुधबार भएको ड्र अनुसार पुरुष सिंगलमा श्यान्टुले प्रारम्भिक चरणमा सेनेगलका इब्राहिमा डायवसँग प्रतिस्पर्धा गर्नेछन् । टेबल टेनिसका खेल जुलाई २७ देखि सुरु हुनेछ र श्यान्टुले पहिलो दिनै खेल्नेछन् ।



पुरुष सिंगल्समा कूल ६७ खेलाडीको सहभागिता छ र त्यसमा श्यान्टु ६७औं वरीयतामा छन् । वरीयतामा पछि रहेका खेलाडीबीच प्रारम्भिक चरणमा खेल हुनेछ ।

प्रारम्भिक चरणमा ३ खेल हुनेछन् । यस चरणका विजेता खेलाडीहरू राउण्ड अफ ६४ मा प्रवेश गर्नेछन् ।

प्रारम्भिक चरणको खेल जितेमा श्यान्टु राउन्ड अफ ६४ को चरणमा प्रवेश गर्नेछन् । प्रारम्भिक चरणमा विजयी भए उनले हङकङका वाङ चुन टिङसँग खेल्नुपर्नेछ ।

श्यान्टुले ओलम्पिक खेल्ने सपना पूरा हुन लागेकोमा खुशी व्यक्त गरे । ‘ओलम्पिक खेल्ने सपना पूरा हुँदैछ । त्यसमा एकदमै खुशी छु । अझ मार्च पासमा राष्ट्रिय झण्डा बोक्न पाउनु गर्वको विषय हो । ओलम्पिक इतिहासमै रंगशाला बाहिर हुन लागेको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा उत्साहित छु ।’

यस्तै आधा शताब्दी भन्दा लामो नेपाली ब्याडमिन्टनको इतिहासमा प्रिन्स ओलम्पिक खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी बन्दैछन् ।

प्रिन्स समूह पी मा छन् । उनी रहेको समूहमा विश्व वरीयतामा दुई नम्बरमा रहेका डेनमार्ककका भिक्टोर एक्सेल्सन समेत छन् ।

ब्याडमिन्टन पुरुष सिंगलमा ३६ देशका ४१ खेलाडी छन् । प्रिन्सले आफ्नो पहिलो खेलमा दुई पटकको विश्व च्याम्पियन समेत रहिसकेका डेनिस खेलाडी भिक्टोरसँग

उद्घाटनको भोलिपल्ट अर्थात जुलाई २७ मा प्रतिस्पर्धा गर्दै ओलम्पिक थालनी गर्नेछन् । खेल पेरिसस्थित पोर्टे डे ला चापेल एरिनामा हुनेछ । तर नेपालबाट ब्याडमिन्टनमा कोही प्रशिक्षक नगएकोले प्रिन्स पेरिसमा प्रशिक्षकविहीन हुनेछन् ।

प्रिन्सले समूहमा आयरल्यान्डका नहत गुएन र इजरायलका मिसा जिल्बरमनसँग खेल्नेछन् । समूह चरणको खेलपछि शीर्ष स्थानमा रहने खेलाडीमात्र क्वाटरफाइनल प्रवेश गर्नेछन् ।

जुनियर विश्व वरियतामा शीर्ष स्थानमा रहिसकेका प्रिन्सले सानैदेखि ओलम्पिक खेल्ने सपना देखेका थिए जुन उनी पूरा गर्दैछन् । कुनै बेलान टिकट काटेरै ओलम्पिक हेर्ने लक्ष्य बनाएका प्रिन्स अहिले आफैं ओलम्पिक बन्दैछन् ।

सुस्मिताको खेल जुलाई २८ मा

सुटिङकी सुस्मिता नेपाल पहिलो पटक ओलम्पिक खेल्दैछन् । वाइल्ड कार्डबाट पेरिस ओलम्पिकका लागि छानिएकी उनले महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको प्रतिस्पर्धा जुलाई २८ मा हुनेछ । सुस्मिताले ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य राखेकी छन् ।



पहिलो दिन क्वलिफायरका खेल हुनेछ भने जुलाई २९ मा फाइनल चरणका खेल हुनेछ ।

मनिताको खेल जुलाई २९ मा

उद्घाटन समारोहमा श्यान्टुसँगै नेपालको झण्डा बोक्ने जुडोङ्की मनिता पहिलो पटक ओलम्पिक खेल्दैछिन् । उनी एसियाली कोटामार्फत पेरिस ओलम्पिकका लागि छनोट भएकी हुन् ।

मनिताले महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । ड्र मा उनी पुल ए मा छिन् । जहाँ उनले पहिलो खेलमा सर्वियाका मारिका पेरिसिकसँग प्रतिस्पर्धा गर्नेछन् । यस खेलको विजेता राउण्ड अफ १६ मा प्रवेश गर्नेछ ।

पौडीका दुवै खेल जुलाई ३० मा

पेरिस ओलम्पिकमा नेपालबाट पौडीमा मात्रै दुई खेलाडीले सहभागिता जनाउँदैछन् । एलेक्ज्यान्डर (एलेक्स) शाह लगातार दोस्रो पटक ओलम्पिक खेल्दैछन् भने डुवाना लामाको यो पहिलो ओलम्पिक सहभागिता हुनेछ ।

एलेक्स र डुवाना दुवैको पहिलो खेल जुलाई ३० मा हुनेछ । पौडीको प्रतिस्पर्धा ओलम्पिक एक्वाटिक सेन्टर र पेरिस ला डिफेन्स एरेनामा हुनेछ । दुवै खेलाडी वैदेशिक प्रशिक्षण बाट सिधै पेरिस पुगेका छन् ।



एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । यस इभेन्टको हिट चरणको खेल जुलाई ३० र फाइनल चरण जुलाई ३१ मा हुनेछ । यस इभेन्टमा ६५ देशका ७९ खेलाडी सहभागि छन् । अमेरिकामा अध्ययन र प्रशिषण गरिरहेका एलेक्स उतैबाट पेरिस गएका हुन् ।

यस्तै डुवानाले महिला २०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धा गर्नेछिन् । डुवाना सहभागि इभेन्टको हिट चरणको खेल जुलाई ३० मा हुनेछ भने फाइनल चरणको खेल जुलाई ३१ मा हुनेछ ।

यस इभेन्टमा डुवानासँगै २७ खदेशका ३१ खेलाडी सहभागि छन् । थाइल्याण्डमा अध्ययन र प्रशिक्षण गरिरहेकी डुवाना उतैबाट पेरिस गएकी हुन् ।

सन्तोषीको खेल अन्तिम दिन

नेपालबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन प्रतिस्पर्धा गर्नेछिन् । सन्तोषी महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् । उनको यो पहिलो ओलम्पिक सहभागिता हो । सन्तोषी नेपालबाट ओलम्पिकमा महिला म्याराथनमा सहभागिता जनाउन लागेको यो तेस्रो पटक हो ।

यसअघि सन् १९९६ को एटलान्टा र १९८८ को सोल ओलम्पिकमा महिला म्याराथनमा भाग लिएको थियो ।

पेरिस ओलम्पिकको समापन अगष्ट ११ मा हुनेछ । त्यही दिन महिला म्याराथनको इभेन्ट राखिएको छ । जहाँ सन्तोषीसहित विश्वका ९५ धाविकाले भाग लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...