मुख्य समाचार
जाँदाजाँदै सरकारसँग रुष्ट सुनिए भुवन केसी
जाँदाजाँदै सरकारसँग रुष्ट सुनिए भुवन केसी

। चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले सरकारप्रति गुनासो पोखेका छन् । कार्यकाल सकिएको दुई दिनपछि बिहीबार आयोजित बिदाई कार्यक्रममा केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताए ।

नेपाली फिल्म क्षेत्र यहाँसम्म आइपुग्न सरकारले के गर्‍यो भन्दै उनले प्रश्न तेर्स्याए । ‘नेपाली चलचित्र यहाँसम्म आइपुग्नुमा सरकारको योगदान जिरो छ । मैले यो गर्दिएँ है भनेर गौरव गर्नलाई नेताहरुले भाषण ठोक्नलाई कुनै ठाउँ छैन ।’




नेपाली फिल्मले आजको दिनसम्म पनि विदेशीसँग प्रतिस्पर्धा गरिराखेको उनले बताए । केही निर्माता, केही कलाकार र केही निर्देशकले घरखेत बेचेर घरेलु फिल्मलाई यहाँसम्म ल्याएको उनले बताए ।

‘नेपाली सिनेमा क्षेत्रमा धेरै गर्न बाँकी छ । जति काम भयो, कम भने होइन । नेपाली फिल्मले छलाङ मारेको छ,’ बिदाई मन्तव्यमा उनले भने ।


नेपाली फिल्मका लागि सरकारले एउटा स्टुडियो बनाउन नसकेकोप्रति केसीले आक्रोश पोखे । राष्ट्रिय चलचित्र उद्योगको विकासलाई प्राथमिकतामा राखेर आफूहरुले धेरैपटक पहल गरेको दाबी उनले गरे ।

आफूमाथि धेरै अपेक्षा राखिएको भन्दै उनले आफूमाथिको अपेक्षा स्वभाविक रहेको बताए । ‘मैले कला क्षेत्रको दुःख-मर्का बुझेको छु । यहाँ आएर थाहा भयो, चलचित्र क्षेत्रमा थोरै मात्र अधिकार हुन्छन् । जुन चीज २०२६ को ऐनमा चलिराखेको छ,’ उनले भने ।

केसीले प्रस्तावित ऐन पास भए घरेलु फिल्मका ९० प्रतिशत समस्या समाधान हुने दाबी गरे । आफू अध्यक्ष हुँदा ऐन पास गर्न कोसिस गरेको उनले बताए ।

यसबारे उनले भने, ‘मन्त्रीज्यूहरु आउनुहुन्छ, भन्नुहुन्छ हामी गरिदिन्छौं । यहाँ आएर पनि पहिलो दिनदेखि नै ऐन पास गर्न कोसिस गरें । अहिले कम्तीमा सञ्चारबाट मन्त्रालयसम्म त पुग्या छ । अब अर्थबाट क्याबिनेट हुँदै ऐन संसदमा पुग्छ ।’

आफ्नो कार्यकालमा फिल्म स्टुडियो बनाउने, नेपाली फिल्मलाई अन्तर्राष्टिय तहमा लैजाने, बाहिरी फिल्म सुटिङ गर्न ल्याउने, विदेशी लगानी भित्र्याउने योजना माथिल्लो निकायमा पुर्‍याएको उनले बताए । चलचित्र विकास बोर्डमा आउने नयाँ अध्यक्षलाई सहयोग गर्न पनि उनले आग्रह गरे ।

कुनै स्वार्थ विना आफू बोर्डमा आएको उनले बताए । ‘आगामी दिनमा पनि म चलचित्रमा योगदान दिएर अघि बढ्छु । यो देश र कलाकारिता छोडेर म कतै जाने छैन,’ उनले भने ।

काम गर्दा सोचेको जस्तो हुन नसकेको उनले स्वीकारे । ‘तर मेरो प्रयास जारी थियो । मेरो उद्देश्य राष्ट्रिय चलचित्रलाई राम्रो गराउनु थियो । जुन चीज मैले यहाँ आएर थाहा पाएँ,’ उनले भने, ‘अन्जानमा नराम्रो काम गरेको छु भने क्षमा माग्न चाहन्छु ।’

बोर्डका सदस्य-सचिव राजेशकुमार थापा लगायतले केसीलाई बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...