मुख्य समाचार
काभा यु-२० महिला भलिबलमा नेपालले सिकेको पाठ
काभा यु-२० महिला भलिबलमा नेपालले सिकेको पाठ

। उपाधि जित्ने लक्ष्यसहित काभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न माल्दिभ्स आएको नेपाली युवा टोली तेस्रो भएर फर्कियो ।

प्रतियोगिताको उपाधि कीर्गिस्तानले जित्यो भने श्रीलंका दोस्रो भयो । जितविहीन घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो ।

घरेलु मैदान बाहिर पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा नेपाली महिला युवा टोलीले अपेक्षा अनुसार खेल्न सकेन ।

च्याम्पियन बन्न नसकेपनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लियो र दबाबमा कसरी खेल्ने भन्ने कुरा सिकेको मुख्य प्रशिक्षक कुमार राईले बताए ।

‘छोटो समयको तयारी थियो, अन्तर्राष्ट्रिय अनुभव थिएन । डोमेस्टिकमा पनि उमेर समूहको प्रतियोगिताहरु थिएन । तैपनि त्यो तयारीमा हामीले अनुभवी टिमहरु विरुद्ध नयाँ ठाउँमा आएर खेल्यौं’, उनले भने ।



सहायक प्रशिक्षक अर्जुन घिमिरे पनि उपाधि जित्न नसकेपनि अनुभव महत्वपूर्ण भएको बताउँछन् । मुख्य प्रशिक्षक राई र सहायक प्रशिक्षक घिमिरेले पनि यो प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिन पाए ।

जेनिशा विश्वकर्माको कप्तानीमा रहेको नेपाली टोलीमा घरेलु प्रतियोगिता खेलिसकेका खेलाडी धेरै थिए । तर घरेलु अनुभव मात्र पर्याप्त भएन ।

‘थोरै समय प्रशिक्षण गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कठिन नै हुन्छ । त्यसमा पनि हाम्रो यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले खेलाडीहरु के होला, कस्तो होला भनेर नर्भस भए’, सहायक प्रशिक्षक घिमिरेले भने ।

कस्तो रह्यो नेपालको प्रदर्शन ?

चार टोली सहभागी च्याम्पियनसिपमा सबै टोलीले समान ५ खेल खेल्ने अवसर पाए । सबै टोलीलाई धेरै अन्तर्राष्ट्रिय म्याच एक्सपोजर र अनुभव दिने उद्देश्यले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले लिग चरणपछि सेमिफाइनल र फाइनल खेल राखेको थियो ।

जसमा नेपालले पाँच खेल खेल्दा जम्मा दुई खेल मात्र जित्यो भने तीन खेलमा पराजित भयो । घरेलु टोली माल्दिभ्स विरुद्ध भएको दुवै खेलमा नेपाल सोझो सेटमा विजयी भयो । तर किर्गिस्तान विरुद्ध दुई पटक र श्रीलंकासँग एक पटक नेपाल पराजित भयो ।

पहिलो खेलमै नेपालले श्रीलंकासँग भिडेको थियो । जसमा नेपालले श्रीलंकालाई चुनौती दिएपनि ३-१ को सेटमा पराजित भयो ।



पहिलो खेल हारेपनि नेपाललाई दोस्रो खेलमा सुधार गर्ने अवसर थियो । तर किर्गिस्तान विरुद्ध झन् नेपाल ३-० को सोझो सेटमै पराजित भयो । त्यसपछि लिगको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हरायो ।

लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो भएकोबीच सेमिफाइनल खेलाउने प्रावधान अनुसार नेपालले फेरि किर्गिस्तानसँग सेमिफाइनल खेल्यो ।

नेपालसामु लिग चरणमा बेहोरेको हारको बदला लिँदै फाइनल पुग्ने अवसर थियो तर नेपालले त्यसको उपयोग गर्न सकेन । अग्ला कद र अनुभवी किर्गिस्तानी टोली विरुद्ध नेपाल सेमिफाइनलमा पनि ३-० कै सोझो सेटमा पराजित भयो ।

माल्दिभ्स आउनुअघि नेपालका मुख्य प्रशिक्षक कुमार राईले लिग चरणमा जस्तो प्रदर्शन भएपनि सेमिफाइनलमा फेरि अवसर पाइने बताएका थिए । तर नेपालले नकआउटमा पुगेर पनि लिग चरणकै गल्तीलाई निरन्तरता दियो । प्रदर्शनमा सुधार गर्न नसक्दा नेपाल सेमिफाइनलमा पनि किर्गिस्तानसँगै पराजित भयो ।



तेस्रो स्थानको लागि भएको खेलमा भने नेपालले माल्दिभ्सलाई फेरि सोझो सेटमा हराउँदै कांस्य पदक जित्यो ।

नेपालले अन्तिसम्म पनि कुन कुन खेलाडी खेलाउने टुङ्गो लगाउन सकेको थिएन । मुख्य प्रशिक्षक राईले पनि यो कुरा स्वीकार गरे । ‘हामीलाई टिम कम्बिनेसन मिलाउनै समस्या भयो । अन्तिम समयसम्म पनि कुन खेलाडीलाई कहाँ खेलाउने भन्ने नै टुङ्गो भएन’, राईले भने, ‘राम्रो उचाई भएका खेलाडीहरु छान्यौँ । तर धेरै स्पाइकर भए । क्वीकरहरु भएनन् ।’

नेपाल श्रीलंकासँगको पहिलो खेलमा नै दबाबमा परेको सहायक प्रशिक्षक घिमिरेले बताए । ‘त्यो पहिलो खेल भएकाले खेलाडीहरु आत्तिए, खेल्न सकेनन् । तालमेल मिलेन नर्भस भए’, घिमिरेले भने, ‘कीर्गिस्तानको स्तर भने हामी भन्दा माथि नै देखियो ।’

किर्गिस्तानका कप्तानसहित केही खेलाडीले सिनियर टिमबाटै खेल्दै आएका छन् भने आधा भन्दा बढी खेलाडीले गत महिना मात्र काभा यू-१८ च्याम्पियनसिप खेलेका थिए ।

च्याम्पियनसिपमा नेपालका खेलाडी हरेक पोजिसनमा कमजोर देखियो । डिफेन्स, रिसिभ र सेटिङ तीनै क्षेत्रमा कमजोरी देखिएको सहायक प्रशिक्षक घिमिरेले बताए ।

नेपालले सिकेको पाठ

मुख्य प्रशिक्षक राई अब नेपालमा उमेर समूहको प्रतियोगिताहरु नियमित आयोजना गर्नुपर्ने बताउँछन् ।



‘अब हामीले उमेर समूहदेखि नै प्रतियोगिताहरु आयोजना गर्नुपर्छ । यू-१३, यू-१५, यू-१८ हुँदै यू-२० सम्म पुग्दा कम्तीमा पनि ५-६ वर्षको अनुभव हुन्छ’, राईले भने, ‘अब देशको विभिन्न भागदेखि प्रदेशमा उमेर समूहको प्रतियोगिता हुनुपर्छ । तब मात्र राम्रो खेलाडीहरु आउँछन्’ , उनले भने ।

यस्तो प्रतियोगिताले खेलाडीमा आत्मबल बढ्नेर भविष्यमा राष्ट्रिय टिम पनि बलियो हुन्छ । ‘जुनियर स्तरबाटै अन्तर्राष्ट्रिय स्तरमा खेल्दा बच्चाहरुमा आत्मबल बढ्छ’, सहायक प्रशिक्षक घिमिरेले भने, ‘पछि राष्ट्रिय टिममा पुग्दा सम्म खेलाडी राम्रो हुन्छ र भविष्यमा यी खेलाडीहरु सहितको राष्ट्रिय टिम पनि अब्बल हुन्छ ।’

नेपालमा भलिबलमा उमेर समूहमा अझ धेरै लगानी गर्नुपर्ने सहायक प्रशिक्षक घिमिरेले बताए । ‘हामीले ग्रासरुटदेखि नै अझ मिहिनेत गर्नुपर्छ । हाम्रो देशमा उमेर समूहका खेलहरु बढी हुनुपर्छ,’ उनले भने, ‘हाम्रो अझै पनि ग्रसारुट त्यति राम्रो छैन । नेपालमा राष्ट्रिय टिमलाई मात्र हेरिएको छ । जिल्ला संघ प्रदेश संघहरुले पनि सक्रिएताका साथ काम गरिदिनुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...