मुख्य समाचार
दुबईमा दुईतले बस हाँक्छिन् नेपाली महिला
दुबईमा दुईतले बस हाँक्छिन् नेपाली महिला

। सन् २०२३ को जून महिनाको एक दिन । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी शहरस्थित सिटी बस कम्पनीमा बस चालकको आवेदन दिनेहरुको भीड थियो ।

पुरुष बस चालकहरुको भीडमा हातमा लाइसेन्स र अरु आवश्यक कागजात बोकेर उभिएकी थिइन् एक नेपाली महिला, शान्ति भण्डारी । जब उनी आवेदन दिने ठाउँमा पुगिन्, कम्पनीका सुरक्षा गार्डले सोधे, ‘कहाँ जान लागेकी ?’




शान्तिले निर्धक्क जवाफ दिइन्, ‘बस चालकका लागि आवेदन दिन आएकी ।’

ती सुरक्षाकर्मीको मुहारको भाव फेरियो । उसले केहीबेर उनलाई हेरे र भने, ‘आबुधाबीमा महिलाले बस चलाएको इतिहास छैन ।’



शान्तिले पनि दृढता साथ बोलिन्, ‘इतिहास त बनाउने कुरा हो नि !’

त्यसपटक शान्ति बस चालकका रुपमा छनोट भइनन् । तर त्यसको एक वर्षपछि युएईकै दुबई शहरमा उनी दुईतले बस (डबल डेकर) चलाउने चालकमा छनोट भइन् । खाडीबाट प्रकाशित हुने पत्रिका ‘गल्फ न्युज’ ले गत असार १९ गते शान्तिले इतिहास कायम गरेको भनेर समाचार लेखेको छ ।


‘गल्फ न्युज’ले शान्तिबारे लेखेकाे समाचार (बायाँ) र शान्ति भण्डारी (दायाँ) ।
उक्त समाचारमा शान्तिले भनेकी छन्, ‘मलाई डबल डेकर पर्यटकीय बस चलाउने मध्यपूर्वकै पहिलो महिला हो भनेका छन् ।’

महिला टेम्पो चालकबाट प्रेरणा

ओखलढुंगाको लिखु तामाकोशी गाउँपालिका–२ को सिंहदेवीमा जन्मे हुर्केकी शान्ति भण्डारी सन् २००२ तिर पढ्न भनेर काठमाडौं आइन् । यहाँ आएर ललितपुरको श्रमजित किशोर माविमा पढ्न थालेकी उनी लगनखेल–जाउलाखेल रुटको टेम्पो चढ्थिन् ।

त्यतिबेला काठमाडौंमा फाट्टफुट्ट महिलाहरुले टेम्पो चलाउन थालेका थिए । उनलाई महिलाले चलाएको टेम्पो चढ्न मन पर्थ्यो । कहिलेकाहीं त उनी महिला चालक भएको टेम्पो पर्खेर बस्दा स्कुल नै ढिला पुग्थिन् ।

महिलाले टेम्पो चलाएको देख्दा उनमा अनौठो ऊर्जा भरिएर आउँथ्यो । ‘टेम्पो चलाउन उहाँहरुलाई पक्कै सजिलो थिएन, तर हिम्मतका साथ चलाएको देख्दा म एकदमै इन्सपायर हुन्थें’ उनी भन्छिन् ।

त्यतिबेलै उनले संकल्प लिएकी थिइन्, महिलाले गर्दै आएका कामभन्दा फरक काम गर्छु भनेर ।

युएईमा पहिले ट्याक्सी त्यसपछि डबल डेकर

सन् २०१५ मा शान्ति रोजगारीको अवसर खोज्दै भिजिट भिसामा युएई पुगिन् । दुबईमा उनकी बहिनी पार्लरमा काम गर्थिन् । युएई पुगेपछि उनले पनि ब्युटिसिएनको रुपमा बहिनीसँगै काम गरिन् । कमाइ राम्रै थियो, तर उनको मन यतिमै अडिरहेको थिएन ।

नेपालमा महिलाले टेम्पो चलाएको दृश्य मस्तिष्कमा घुमिरहन्थ्यो । युएईका चिल्ला सडकहरुमा गाडी गुडेको देख्दा उनलाई पनि गाडी चलाउन मन लाग्यो । तर परदेशमा गाडी चलाउने काम पाउनु त्यति सजिलो थिएन ।

सन् २०१६ मा शान्तिले युएईमा एउटा स्कुल बसमा सुपरभाइजरको काम पाइन् । उनको चाहना भने गाडी हाँक्ने नै थियो । त्यसका लागि पहिले त उनले ड्राइभिङ सिकिन् । २०१७ मा ट्याक्सीको लाइसेन्स निकालिन् ।

लाइसेन्स हात परेपछि शान्तिले अल गहजल नामक ट्याक्सी कम्पनीमा चालकको रुपमा आवेदन दिइन् । कम्पनीले जाँच लिएपछि उनलाई ट्याक्सी चालकको काम दियो ।

जसै ट्याक्सी हात पर्‍यो, दुबईका सडकमा गाडी लिएर निस्किन् शान्ति । ‘ट्याक्सी चलाउँदा, म शहरका हरेक गल्ली र चोकसँग परिचित भएँ’ सुरुवाती दिनहरु सम्झिइन्, ‘मैले पहिलो पटक सपनाको उडान भरें ।’

उनले युएईमा पाँच वर्ष ट्याक्सी नै चलाइन् । तर उनलाई यो भन्दा पनि ठूलो काम गर्न मन लागिरहेको थियो ।

महिला चालकको समाचारले लोभ्यायो

ट्याक्सी चलाउन थालेको दुई वर्षपछिको एक दिन खाडी क्षेत्रका पत्रपत्रिका गल्फ न्युज र खालिज टाइम्समा युएईमा पहिलो पटक महिला चालकले बस चलाएको समाचार प्रकाशित भएको थियो ।

उनलाई पनि बस चलाउने हुटहुटी जाग्यो । ‘उहाँहरु पनि महिला, म पनि महिला, समाचार पढेपछि यस्तै साहसिक काम मैले पनि किन नगर्ने त भन्ने लाग्यो’, शान्तिले भनिन् ।

उनले हेभी गाडी पनि चलाउन सिकिन्, लाइसेन्स परीक्षा दिन जाँदा एक्ली महिला थिइन् । त्यहाँ उनलाई ‘तिमीलाई लाइसेन्स किन चाहियो’ भनेर सोधियो । ‘तिमी सक्छौ’ जस्तो प्रश्न सोधियो । किनभने युएईमा महिला बस चालक निकै कम हुन्थे ।

अन्ततः उनले बस चलाउने लाइसेन्स परीक्षा पनि पास गरिन् । लाइसेन्स भए पनि धेरै कम्पनीहरूले उनलाई काम दिन मानेनन् । ‘सीभी बोकेर धेरै यातायात कम्पनीहरु धाएँ’, उनले ती दिनहरु सम्झँदै भनिन्, ‘महिला भनेर कसैले मलाई काम दिन मानेन ।’

अबुधाबीमा सिटी बस चालकमा आवेदन दिंदा सबै परीक्षा पास गरिन् । तर अन्तिममा अबुधाबीमा महिलाले बस चलाउने कानुनी प्रावधान छैन भनेर फालियो । ‘त्यहाँ मैले धेरै नै आश गरेकी थिएँ’ उनले भनिन्, ‘तर छनोट नहुँदा धेरै नै दुःखी भएँ ।’ तर उनले हिम्मत चाहि‌ं हारेकी थिइनन् ।

पछि उनले दुबई गएर बिग बस टुर्स कम्पनीमा आवेदन दिइन् । ‘आबुधाबीमा महिला चालक हुन पाउने कानुन नहुँदा काम पाएकी थिइन’ उनी भन्छिन्, ‘दुबईमा भने कानुनी बन्देज नभएकाले महिलाले पनि बस चलाउन पाउँथे ।’

आखिर भयो पनि त्यस्तै !

हेभी बस हाँक्ने उनको चाहना ‘बिग बस टुर्स कम्पनीले पूरा गरिदियो । सन् २०२३ मा कम्पनीले उनलाई दुबईमा पर्यटक घुमाउने दुई तले बस (डबल डेकर) चालकका रूपमा छनोट गर्‍यो ।



उनीभित्रको जुनुन् देखेर कम्पनीका क्षेत्रीय निर्देशक माइकल लिस उत्साहित हुँदै भण्डारीलाई यो अवसर दिए । तालिमको दौरानमा उनले पनि बस कुदाउन छिट्टै सिकिन् । त्यो देखेर माइकल नै उनलाई भेट्न आए र बधाइ दिए । ‘त्यो क्षण मेरो जीवनको सबैभन्दा सुन्दर क्षण थियो’ उनले भनिन्, ‘लाग्यो, मैले आकाश छोएँ ।’

एक वर्षदेखि शान्ति दुबईका सडकहरूमा दुईतले पर्यटकीय बस हाँकिरहेकी छन् । दुबई घुम्न आउनेहरु बस हाँकेको देखेर दंग पर्छन् ।

‘जब म बसको ढोका खोलेर यात्रुहरुलाई स्वागत गर्छु, उनीहरूको अनुहारमा अचम्मको भाव देख्छु’ उनी भन्छिन्, ‘त्यसपछि उनीहरू मसँग सेल्फी खिच्छन् । परदेशमा विदेशीबाट पाएको माया नै मेरो लागि ठूलो उपहार हो ।’

खाडीबाट प्रकाशित हुने पत्रिका गल्फ न्यूजले गत मंगलबार मध्यपूर्वमै दुईतले पर्यटकीय बस चलाउने अग्रणी महिला भनेर शान्तिको बारेमा समाचार लेखेको छ ।

विगतमा उनले यही पत्रिकामा महिला बस चालकबारे समाचार पढेर त्यसतर्फ पाइला चालेकी थिइन् । अहिले आफ्नोबारे पनि त्यसरी नै समाचार आउँदा उनी भन्छिन्, ‘नसोचेको भयो ।’

उक्त समाचारपछि सामाजिक सञ्जालहरुबाट उनले बधाई पाइरहेकी छन् । शान्तिलाई लाग्छ, जीवनमा असम्भव भन्ने कुरा केही छैन । तर त्यसका लागि दृढ संकल्प भने चाहिन्छ ।

थुप्रै महिलाहरुले म्यासेज गरेर उनको बारेमा जिज्ञासा राख्छन् । उनीहरुलाई सम्झाउँदै शान्ति भन्छिन्, ‘दुई चारवटा असफलताले हरेस नखानुस् । जे गर्नुहुन्छ, त्यसैमा दृढताका साथ लाग्नुस् । त्यसलाई निरन्तरता दिनुस् । के थाहा सफलताले तपाइलाई पर्खिरहेको पो छ कि ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली ...
: भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको प्रहरीले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली ...
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...