मुख्य समाचार
पेनाल्टी सुटआउटका नायक मार्टिनेज
पेनाल्टी सुटआउटका नायक मार्टिनेज

। साविक विजेता अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा स्थान बनाउँदा गोलकिपर एमिलियानो मार्टिनेज नायक बने ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समय थप नगरी सिधै पेनाल्टी सुटआउट भएको थियो ।

अर्जेन्टिनाका लागि पहिलो पेनाल्टी प्रहार गरेका कप्तान लिओनल मेसी चुके । उनले हानेको पेनाल्टी क्रस बारमा लाग्यो । तर मार्टिनेजले अर्जेन्टिनालाई उद्दार गरे ।

उनले सुरुमा एन्जल मिनाको पेनाल्टी बचाए । त्यसपछि अर्जेन्टिनाका लागि दोस्रो पेनाल्टी हेनका जुलियन अल्भारेजले गोल गरेपछि अर्जेन्टिनालाई राहत भयो ।

इक्वेडरका लागि दोस्रो पेनाल्टी हानेका एलान मिन्डाको प्रहार पनि मार्टिनेजले बचाए ।

तेस्रो नम्बरमा आएका एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए ।

त्यसपछि अर्जेन्टिनाका लागि नाहुल मोनिला र निकोलस ओटामेन्डी दुवैले पेनाल्टीमा गोल गरे । इक्वेडरका लागि तेस्रो र चौथो नम्बरमा पेनाल्टी हानेका जोन येबोअह र जोर्डी काइसेडोले गोल गरे । इक्वेडरले अन्तिम पेनाल्टी हान्नु नै परेन ।

मेसी चुके पनि मार्टिनेजमा विश्वास

अर्जेन्टिनालाई अन्तिम चारमा पुर्‍याउन गोलकिपर मार्टिनेजको प्रदर्शन गज्जबको छ । अर्जेन्टिनाले समूहको तीनवटै खेल जित्यो, मार्टिनेजले पनि गोल खाएकै छैनन् ।

तीनवटै खेलमा गोल गरेका फरवार्ड लाउटारो मार्टिनेज ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको होडमा छन् । तर क्वाटरफाइनलमा भने गोलकिपर मार्टिनेज चम्किए ।

अझ इक्वेडरविरुद्ध नर्मल टाइममा अर्जेन्टिनाका लागि गोल गर्दै अग्रता दिलाउने खेलाडीको नाम पनि मार्टिनेज (लिसान्ड्रो) नै हो । तर इन्जुरी टाइममा अर्जेन्टिनाले गोल खान पुग्यो । अझ पेनाल्टी सुट आउटमा सुपर स्टार कप्तान नै मेसीले मिस गरेपछि अर्जेन्टाइन टोली दबाबमा आउनु स्वाभाविक थियो ।

तर प्रशिक्षक लियोनल स्कालोनी, खेलाडीहरूको किपर मार्टिनेजमाथि विश्वास थियो ।

‘पेनाल्टीमा टिमले आँखा चिम्लेर आफ्नो गोलकिपरमा विश्वास राखेको हुन्छ र त्यो नै महत्वपूर्ण हो’ अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, लियो (लिओनल मेस्सी) को मिसपछि पनि हाम्रो गोलकिपर लयमा आउनु महत्वपूर्ण थियो ।’



३१ वर्षीय गोलकिपर मार्टिनेजको रेकर्डले पनि त्यो विश्वास गर्न बाध्य बनाउँछ । उनले यसअघि कठिन अवस्थामा पेनाल्टी बचाएर अर्जेन्टिनालाई जित दिलाएका छन् ।

मार्टिनेजले अहिलेसम्म मुख्य प्रतियोगितामा चार पटक पेनाल्टी सुटआउट सामना गर्नुपरेको छ र, चारवटैमा अर्जेन्टिना विजयी भएको छ ।

२०२१ को कोपा अमेरिकामा सेमिफाइनलमा कोलम्बियाको तीन पेनाल्टी बचाएका थिए । त्यही कोपामा उनले चिलीविरुद्ध रेगुलर टाइममा पनि पेनाल्टी बचाएका थिए ।

२०२२ को कतार विश्वकपमा मार्टिनजले क्वाटरफाइनलमा नेदरल्याण्ड्सविरुद्ध दुई पेनाल्टी बचाउँदै अर्जेन्टिनालाई सेमिफाइनल पुर्‍याएका थिए । उनले भर्जिल भान डाइक र स्टेभेन बर्घुइसको पेनाल्टी रोकेका थिए ।

कतार विश्वकपकै फाइनलमा पनि मार्टिनजेल फ्रान्सविरुद्ध एक पेनाल्टी बचाएका थिए । उनले कोमनको पेनाल्टी बचाएका थिए भने अउरेलियन चुवामेनी मार्टिनजेविरुद्ध गोल गर्न चुकेका थिए ।

त्यसैले अर्जेन्टिनाविरुद्ध कुनै टिमको पेनाल्टी सुटआउट पर्‍यो भने मार्टिनज भन्दा पनि पेनाल्टी हान्ने खेलाडी दबाबमा पर्छन् ।

उनको सेलेब्रेसनले पनि अलि विशेष चर्चा पाउँछ । बेलाबेला त्यही सेलेब्रेसनले गर्दा उनको आलोचना पनि हुने गर्छ । तर उनलाई त्यसैले कुनै फरक पार्दैन ।

यही खेलमा पनि निर्धारित समयमा इक्वेडरका कप्तान इनर भ्यालेन्सिया मार्टिनेजविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलमा लागेर बाहिरिएको थियो ।

इक्वेडरका कप्तान इनर भ्यालेन्सिया पेनाल्टीमा गोल गर्न चुकेपछि ३१ वर्षीय गोलकिपर मार्टिनेजले टिममेटलाई भनिसकेका थिए कि हार स्वीकार्य छैन । दुई पेनाल्टी बचाएर प्लेअर अफ दि म्याच बनेका मार्टिनेजले, ‘हामी विश्व च्याम्पियन र साउथ अमेरिकाको पनि । यो टिमले अगाडि बढ्न योग्य छ ।’

मिडफिल्डर रोड्रिगो डे पउलले पनि पेनालटी सुटआउटमा शानदार प्रदर्शन टिममेट प्रशंसाका लागि लायक भएको बताए । ‘उनले जे गर्छन्, त्यो क्रेजी नै छ । उनी यसको लायक छन् । उनी यो रङको जर्सी लगाउन मन पराउँछन्’ डे पउलले भने, ‘उनले हामीलाई धेरै सुरक्षा दिन्छन् र दिमाखमा शान्ति पनि ।’

अर्जेन्टिनाले अब सेमिफाइनलमा भेनेजुएला र क्यानडाबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...